बागमती


मनहरी गाउँपालिकाले खरिद गर्न थाल्यो दूध, भुक्तानी नपाएका किसानलाई राहत

मनहरी गाउँपालिकाले खरिद गर्न थाल्यो दूध, भुक्तानी नपाएका किसानलाई राहत

नेपालखबर
असोज २३, २०८१ बुधबार १६:१६, हेटौंडा

मकवानपुरको मनहरी गाउँपालिकाले कृषकको दूधको भुक्तानीको सुनिश्चिततासँगै सहकारी मार्फत दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाउने भएको छ।

विगत २ महिनादेखि कार्यविधी निर्माण तथा उद्योग र सहकारीसँगको छलफल पछि गाउँपालिकाले मंगलबार हेटौँडा डेरी इन्डस्ट्रीजसँग दूध बजारीकरणको सम्झौता गरेको हो।

सम्झौता अनुरुप गाउँपालिकाले कृषीउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दूध खरीद गर्ने र उद्योगलाई बिक्री गर्ने भएको छ।

हाल मनहरी गाउँपालिकामा क्रियाशील ६ वटा सहकारीमार्फत दैनिक ७ हजार लिटर भन्दा बढी दूध संकलन भईरहेको छ।

संकलन भएको दूध मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ मार्फत विभिन्न उद्योगहरूमा बिक्री वितरण भईरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। तर विविध कारणले कृषकहरुले ३ महिनासम्मको भुक्तानी पाएका छैनन्।

पशुलाई आहारसँगै जिविकोपार्जनमा समेत सहयोग पुग्ने यो व्यवसाय समयमा दूधको भुक्तानी नपाएकै कारण धेरै कृषकहरु पलायन हुने अवस्था आएपछि गाउँपालिकाले कार्यविधि नै बनाएर दूधको बजारीकरणमा चासो देखाएको हो।

यो सम्झौता मार्फत कृषकहरूले सहकारीमार्फत् बिक्री गरेको दूधको रकम भुक्तानीको सुनिश्चितता गाउँपालिकाले नै गर्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती बताउँछन्।

उनका अनुसार आगामी कात्तिक १ गतेदेखि लागू हुने सम्झौता अनुरुप गाउँपालिकाले पाक्षिक (१५/१५ दिन) रुपमा सहकारीमार्फत् कृषकलाई दूधको रकम भुक्तानी दिनेछ।

यसरी समयमै रकम भुक्तानी पाउँदा कृषकहरुलाई ठूलो राहत मिल्ने गाउँपालिका अध्यक्ष कालाखेती बताउँछ्न्।

‘जसको जिविकोपार्जनको स्रोत नै दूध बिक्री वितरण हो, अध्यक्ष कालाखेतीले भने, ३/४ महिनासम्म संघले भुक्तानी नदिँदा अप्ठ्यारो हुन्छ। अब सम्झौता अनुरुप कात्तिक देखि डेरीले दूध खरिद गर्छ र मंसिरदेखि पाक्षिक रुपमा गाउँपालिकाबाट भुक्तानी दिने व्यवस्था मिलाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad