बागमती


सन्तानको पर्खाइमै बित्यो दसैँ : न लिन आए, न टीका थाप्न

सन्तानको पर्खाइमै बित्यो दसैँ : न लिन आए, न टीका थाप्न

सुनिता विष्ट
असोज २७, २०८१ आइतबार १८:३५, हेटौंडा

हरेक वर्ष आउने दसैँ यो वर्ष पनि आयो। अघिल्लो वर्षहरूमा पो आफ्ना सन्तान टीका थाप्न आएनन्, यो वर्ष त आउलान् नि भन्दै बाटो हेर्दा हेर्दै टीकाको दिन सकियो।

आश्रम नजिकै रहेक घरहरूमा राता पहेँला भएर मानिसहरू आउजाउ गरेको देख्दा आफ्ना छोरा बुहारीहरू आए कि? भन्ने लागेर आँखा तन्काउँदै बाटो हेरिरहेका छन् सय वर्ष नाघेका काजीलाल श्रेष्ठ र उनकी ९१ वर्षकी श्रीमती कृष्णकुमारी श्रेष्ठ।

१० जना सन्तानका आमा बुवा काजीलाल र कृष्णकुमारी अहिले वृद्धाश्रममा बस्छन्। चार छोरा र तीन छोरी अहिले पनि छन्। छारीहरू बेला/बेलामा भेट्न आश्रममै आइपुग्छन्। तर छोरा र छोराको परिवारसँग बोली नमिसिएको १२/१३ वर्ष भयो।

‘जस्तो भएपनि छोराछोरीको याद नआउने बा आमा को होला र! हामी पनि सम्झिन त सम्झन्छौं,’ काजीलालले भने, ‘तर उनीहरूले हामीलाई कहिल्यै सम्झिदैनन्। छोराको पनि नाती नातीना जन्मिसके। तर दसैँको टीका थाप्न कोही आएनन्। दसैँमा घर लान त के आउँथे र!’

हेटौंडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा बस्दै आएका काजीलाल १ सय १ वर्षका भए। राम्ररी कान नसुन्ने उनी गते तिथि मिति भने राम्ररी जान्दछन्। घटस्थापनाको दिन देखि नै फूलपातीसम्म कोही न कोही त आउलान् भन्ने प्रतिक्षामा बसेका थिए। तर दसैँको टीकाको दिन सकियो तर कोही आएनन्।

‘साना हुँदा दु:ख गरेर हुर्कायौं, बढायौं। अहिले उनीहरूका पखेँटा लागेका छन्। कोही जापानमा छन् रे। कोही अमेरिकातिर छन् रे। खनातीसम्म जन्मिसक्यो रे। हामीले नभेटेको १२/१३ वर्ष भयो,’ काजीलालले अनुहार मलिनो बनाउँदै दुखेसो पोखे।

उमेरको अंक बढेसँगै आँखाको पावर घट्दै जाँदा साहारा बनेको प्लस ५ नम्बरको पावरवाला चस्माबाट आँखा तनक्क तन्काउँदै काजिलाल भन्छन्, ‘छोरा भन्दा छोरीले माया गर्दा रहेछन्। चारवटा छोरा छन्। उनीहरूको अनुहार नदेखेको वर्षौं भैसक्यो। सम्पत्ति कुम्ल्याएर हिँडे। दु:ख बिमार हुँदा छोरीहरू भेट्न आइपुग्छन्।’

हेटौंडा–५ पिप्पलेका काजीलालको सोही स्थानमा कच्ची घर थियो। १२ वैशाख २०७२ मा आएको भूकम्पले त्यही घर पनि भत्काइदियो।

‘आफ्नो नाममा भएका २/३ कठ्ठा जग्गा छोराहरूलाई भाग लगाइदिएर आफूले ६ धुरमा घर बनाएर बसेका थियौं। त्यो पनि २०७२ सालको भुकम्पले भत्कियो। अहिले यहीँ बस्छौं,’ उनले भने।

एकातिर भएका ४ जना छोराहरू नै हेटौंडा बाहिर थिए। भएको एउटा घर पनि भत्किएपछि वृद्धाश्रमको सहारामा आइपुगेका श्रेष्ठ दम्पतीको हात छोरा बुहारी र उनका सन्तानहरूको निधारमा नपुगेको पनि वर्षौं बित्यो। छोरीहरू भने बेलाबेलामा भेट्न आउने गरेको उनी बताउँछन्।

‘कोख च्यातेर १० वटा छाराछोरी पाएँ, कृष्णमाया भन्छिन्, ‘तीनजना सानैमा बिते। अहिले ७ जना छोराछोरी छन्। तर अहिले कसैको साथमा बस्न पाएनौं। दसैँमा टीका थाप्न आइपुग्लान् कि जस्तो लागेको थियो। तर कोही आएनन्। हुन त पहिले/पहिले पनि आउने गरेका त थिएनन्। सञ्चो बिसञ्चो, चाडपर्व केहीमा कसैले पनि फोन गर्दैनन्। भेट्न त के आउँथे?’

दसैँको बेला छोरा बुहारीहरूको याद त आइरहेको होला है? यो प्रश्नमा कृष्णमाया भावुक बनिन्, ‘हामीलाई मात्रै याद आएर के हुँदो रैछ र? उनीहरूले फोन त गर्दैनन्। सञ्चो बिसञ्चो केही सोध्दैनन्। कहाँ छ भन्नेसम्म पनि थाहा छैन।’

मन बलियो पारेको भावमा उनले थपिन्, ‘बुवाआमा भन्दा सन्तानलाई सम्पत्ति प्यारो हुँदो रहेछ। अहिले त याद आए पनि यही भनेर मन बुझाउँछौं। दसैँको टीका लगाएर आर्शिवाद दिने आमा बावु छन् भन्ने सोचेनन् उनीहरूले। जो सुकैसँग टीका लगाउन्। मतलब नै भएन अब।’

कुल २१ जना वृद्धवृद्धा रहेका यस आश्रमका आमाबुवाहरू हरेक पर्वमा आफ्ना छोराछोरी र सन्तानहरूलाई निकै याद गर्ने गर्छन्। त्यसो त, चाडपर्वको समयमा आश्रममै रमाइलो गर्ने, पर्व मनाउने र मिठो खुवाउने भने गर्ने गरिएको आश्रम सञ्चालक बताउँछन्।

‘के गर्नु अरुको लाख र सन्तानको काख भन्ने उखान नै छ नि। याद त परिवारकै आइहाल्छ। हामीले त याद भुलाउनको लागि भूमिका खेल्ने न हो,’ आश्रम सञ्चालक समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठले भने।

उनका अनुसार काजीलालका दम्पतीले ५ लाख रुपैयाँ तिरेर आश्रमको कोठामा बस्दै आएका हुन्। जग्गा बेचबिखन गरेर छोराहरूले आफ्नो भागको सम्पत्ति लगेपछि आफ्नो भागको सम्पत्ति आश्रममा दिएर बस्दै आएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad