बागमती


दसैँका १४ दिन : बागमतीमा १११ सवारी दुर्घटना, ११ जनाको मृत्यु

दसैँका १४ दिन : बागमतीमा १११ सवारी दुर्घटना, ११ जनाको मृत्यु

फाइल फोटो/ सिन्धुलीको हरिहरपुरगढी–५ मा असोज २१ गते भएको बस दुर्घटना


सुनिता विष्ट
कात्तिक १, २०८१ बिहिबार १९:२२, हेटौंडा

गत असोज २१ गते काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको हरिहरपुरगढी–५ द्धारेखोलामा दुर्घटना भयो। उक्त दुर्घटनामा परेर दुई जनाले घटनास्थलमै ज्यान गुमाए।

बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुवाहक बसमा ४० भन्दा बढी यात्रुहरू सवार थिए। दुर्घटनामा प्रायः सबै घाइते हुन पुगे।

यस्तै, असोज २३ गते रामेछापमा बस दुर्घटनामा परेर एक जनाको मृत्यु हुँदा १२ जना घाइते भए। खाँडादेवी गाँउपालिका–३ भीरपानीमा काठमाडौंबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिका स्थित अमारे जाँदै गरेको बागमती प्रदेश ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भयो।

दुर्घटनामा परेर सिन्धुलीको सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षीया युनिषा श्रेष्ठको मृत्यु भयो। दुर्घटनामा गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु हुन पुग्यो।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्।

दसैँको घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्ममा बागमती प्रदेशमा १ सय ११ सवारी दुर्घटना भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। जसबाट ११ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ।

बागमती प्रदेशको १३ जिल्लामध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लामा दसैँको १४ दिनको अवधिमा यो संख्यामा सवारी दुर्घटना भएको प्रहरीले जनाएको हो।

जसमा सबैभन्दा धेरै चितवनमा ४३ सवारी साधन दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। चितवनका विभिन्न स्थानमा भएको दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन् भने ६४ जना घाइते भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ।

मकवानपुरमा १३ वटा सवारी दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् भने ९७ जना घाइते भएको प्रहरीको तथ्यांक छ।

सिन्धुलीमा ११ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। यस्तै, ८३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

दोलखामा ६ वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ५ जना गम्भीर घाइते हुँदा ८३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै, रामेछापमा ६ वटा सवारी दुर्घटनामा पर्दा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएको प्रदेशको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

सिन्धुपाल्चोकमा पनि यो अवधिमा ६ वटा सवारी साधन दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते र ११ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काभ्रेमा ८ वटा सवारी साधन दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् भने २० जना सामान्य घाइते भएका छन्।

यस्तै, रसुवामा एक सवारी दुर्घटना हुँदा ५ जना समान्य घाइते भएका छन्।

नुवाकोटमा ६ वटा सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् भने १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घादिङमा ११ सवारी साधन दुर्घटना हुँदा २२ जना सामान्य घाइते भएका छन् भने ३ जना गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

प्रहरीका अनुसार यसअवधिमा सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad