कात्तिक ५ गते सोमबार चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत भेटियो। नवलपरासी पूर्व नवलपुरमा गैँडा मृत फेला परेको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१२ मा मृत भेटिएको उक्त पोथी गैँडा झण्डै चार वर्षको थियो।
स्थानीय अरुण खोला दोभानमा मृत फेला परेको गैँडा अर्को गैँडासँग जुध्दा मृत्यु भएको अनुमान निकुञ्जले गरेको छ। मृत गैँडाको शरीरमा लागेको चोटपटक तथा खाग र खुर सुरक्षित रहेको आधारमा अर्को गैँडासँग जुधेर मृत्यु भएको हुन सक्ने आकलन गरिएको मगरले बताए।
गएको असोज महिनामा निकुञ्जका तीनवटा गैँडा मृत भेटिएका थिए। जसमा दुईवटा बाढीमा परेर र एउटा करेन्ट लागेर मरेको निकुञ्जको भनाइ छ।
यी त गैँडा मृत्युका केही प्रतिनिधि घटना मात्रै हुन्। सबैभन्दा धेरै गैँडा रहेको यस राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष (गत साउनयता) को अवधिमा मात्र ९ वटा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरको भनाइ छ।
उनका अनुसार २ वटा गैँडाको प्राकृतिक अर्थात् बुढो भएका कारण मृत्यु भएको छ भने २ वटा बाघको आक्रमणबाट मारिएका हुन्। यस्तै, एउटा गैँडाको करेन्टको पासोमा परेर मृत्यु भएको, अर्को एउटा खाल्टोमा परेर र दुईवटा बाढीका कारण मरेका हुन्।
गत वर्षको अवस्था
त्यसो त गत आर्थिक वर्ष २०८०/८१ मा यस चितवन राष्ट्रिय निकुञ्जमा २१ वटा गैँडाको मृत्यु भएको निकुञ्जको तथ्यांक छ। जसमा ३ वटा गैँडाको चोरी सिकारीको क्रममा मृत्यु भएको थियो भने बाँकी १८ वटा गैँडाको अन्य कारण मृत्यु भएको निकुञ्जले जनाएको छ।
जसमा ९ वटाको प्राकृतिक कारण मृत्यु भएको छ भने ४ वटा गैँडा बाघको आक्रमणबाट मारिएका छन्। यस्तै ५ वटा गैँडा एक आपसमा जुध्दा मृत्यु भएको निकुञ्जको तथ्यांक छ।
‘मत्यु भएको २१ गैँडामध्ये तीनवटा चोरी सिकारीका क्रममा मृत्यु भएको र दुईवटा गैँडाको खाक खुर समेत चोरी भएको थियो,’ सूचना अधिकारी थापामगरले नेपालखबरसँग भने, ‘सिकार गरेको ९ दिनपछि एउटा ठूलै समूह पक्राउ गरेर उक्त सिकार भएको खाक खुर बरामद गर्न सफल भयौँ। तर एउटा गैँडाको मृत्यु भएको धेरै समयपछि फेला परेको कारण खाक खुर हरायो। त्यसको पत्ता लाग्न सकेन।’
किन मर्छन् गैँडा?
गैँडाको मृत्यु हुनुमा धेरै कारण छन्। ती कारण मध्येको प्रमुख कारण प्राकृतिक कारण नै भएको निकुञ्जको दाबी छ। गैँडा। गैँडा बूढो भएर, एकापसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेको बताइएको छ। जसका कारण गैँडा संरक्षणमा चुनौती थपिएको सूचना अधिकारी थापमगरले बताए।
‘प्राकृतिक कारणले मर्ने गैँडालाई हामीले रोक्नै सक्दैनौँ, उनले भने, ‘सिमसार क्षेत्रको दलदलमा फसेर र बाढीले बगाएर अधिकांश गैँडा मर्ने गर्दछन्। बाढीले बगाउँदा पनि मर्छन्। त्यससँगै एक आपसमा जुधेर पनि गैँडा मर्ने गरेका छन्।’
गत आर्थिक बर्षभर २१ वटा गैँडाको मृत्यु भएकोमा चालु आर्थिक वर्षको पछिल्लो तथ्यांक हेर्दा गैँडाको मृत्युदर बढ्ने प्रक्षेपण गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
बढ्दो क्रममा गैँडाको संख्या
चितवन राष्ट्रिय निकुञ्ज धेरै गैँडा भएको निकुञ्ज हो। २०२१ मा गरिएको गैँडा गणनाको तथ्यांक अनुसार यस निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैँडा छन्। जसमा १ सय २८ वटा भाले, १७४ वटा पोथी गैँडा, लिंग नछुट्टिएको ३ सय ९२ र गैँडाको बच्चा १२५ वटा रहेको तथ्यांक छ।
यसअघि २०१५ मा गरिएको गैँडा गणनामा ६ सय ५ गैँडा थिए। यो तथ्यांक हेर्दा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या बढ्दो क्रममा छ।
सन् २०२१ को गणनामा देशभर ७ सय ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ वटा गैँडा रहेको तथ्यांक थियो। यस्तै, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैँडा छन्। अब आउँदो २०२५ मा गैँडा गणना गरिने समेत बताइएको छ।
यसरी गैँडाको संख्या बढ्दा मानव वस्तीमा समेत आउने गरेका छन्। जसले मानव र गैँडाबीच द्वन्द्व बढ्दै गएको छ। यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरिचरणको व्यवस्थापन र चोरी सिकारी नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर बताउँछन्।
Shares

प्रतिक्रिया