बागमती प्रदेशको राजधानी हेटौँडा देशकै सफा सहरको रुपमा परिचित सहर हो। हेटौँडा पटक–पटक सफा सहरको रुपमा पुरस्कृत भएको छ। ग्रिन एण्ड क्लिन सिटी नामले परिचित हेटौँडामा पछिल्ला केहीदिन सडकमा फोहोर थुप्रँदा दुर्गन्धित बन्दै गएको छ।
हेटौँडाका १९ वटै वडाहरूबाट संकलित फोहोर व्यवस्थापन गर्न हेटौँडा १० स्थित सिसौघारीलाई डम्पिङ साइडको रुपमा प्रयोग गरिँदै आएको छ। हाल फोहोर फालिरहेको स्थानमा फोहोर नफाल्न अदालतले आदेश दिएसँगै हेटौँडा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको अन्य उपायबारे केही नसोची फोहार संकलनलाई नै स्थगन गर्यो।
जसकारण पछिल्लो केही दिनयता हेटौँडाका सडकमै फोहोरको डंगुर लागेको छ। फोहोर नउठाएपछि हेटौँडा दुर्गन्धित बनेको छ।
हेटौँडामा बस्दै आएको वर्षौं बितेपनि हेटौँडाका सडक यतिधेरै फोहोर आफूहरूले कहिल्यै नदेखेको हेटौँडा १० का चुँडा उप्रेती बताउँछन्। हेटौँडाका जनप्रतिनिधिहरूको कमजोरीका कारण फोहोरमा राजनीति सुरु भएको उनले बताए।

‘जनजीविकामा प्रत्यक्ष असर पर्ने यस्तो फोहोरको सवालमा हेटौँडाकी मेयर आफैंले पनि सम्बोधन गर्नुपर्ने हो,’ उप्रेतीले भने, ‘न्यायिक प्रकृयालाई दुरुपयोग गरेर स्थानीयबासीहरूलाई फोहोरसँगको सम्पर्कमा राखिरहने वातावरणको अन्त्य गरिनुपर्छ।’
दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने हेटौँडामा फोहोर संकलन रोकिँदा सडकमा फोहोर थुप्रिएर वातावरण दूर्गन्धित हुँदै गएको छ। तैपनि उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था गर्नेबारे कुनै उपाय अपनाएको छैन।
फोहोर फाल्ने उक्त स्थानमा प्रत्येक वर्ष प्लाष्टिकजन्य फोहोरमा आगो लगाएर मानव स्वास्थ्यमा असर पर्ने काम गरेको भन्दै स्थानीयहरूले उक्त स्थानमा फोहोर फाल्न नदिन संघर्ष समिति नै बनाएर आवाज उठाइरहेका छन्।
पटक/पटक गोरक्षेश्वर क्षेत्रमा बनाइएको डम्पिङ साइडमा आगो लगाइँदा त्यहाँ आसपास बसोबास गर्ने मानिसहरूलाई समस्या परेको भन्दै डम्पिङ साइड दीर्घकालिन समस्या समाधान संघर्ष समिति, हेटौँडा नै बनाएर यस क्षेत्रबाट डम्पिङ साइड हटाइनुपर्ने माग आफूहरूले राख्दै आएको संघर्ष समितिका अध्यक्ष सोम हादुर लामाले बताए।
उनका अनुसार वर्षौंदेखि एउटै ठाउँमा फोहोर फाल्ने र त्यसको उचित व्यवस्थापन समेत नगरिँदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको लामाको भनाइ छ।

‘विसं २०२६ सालदेखि हेटौँडाको फोहोर सोही स्थानमा बिसर्जन गरिँदै आएको छ,’ उनले भने, ‘हेटौँडा सानो हुँदा, थोरै फोहोर मात्रै संकलन हुने बेलामा पनि फोहोर व्यवस्थापन गर्ने थलो उही थियो। अहिले हेटौँडामा बस्ती बढे। दिनहुँ टनका टन फोहोर संकलन हुने स्थितीमा पनि ठाउँ फेरिएन। फोहोर राख्ने ठाउँ नभएपछि रातिको समयमा बर्षेनी आगो लगाइदिने गर्दा प्लाष्टिकजन्य फोहोरको धुँवाले बस्तीमै बस्न नसक्ने भएपछि हामीले त्यहाँबाट डम्पिङ साइड हटाइनुपर्छ भनेर आवाज उठाएका हौँ।’
उच्च अदालत हेटौँडा इजलासले उक्त स्थानमा फोहोर नफाल्न स्टे अर्डर दिएपछि हेटौँडा उपमहानगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापन कार्य नै रोकेको छ।
अदालतले वैकल्पिक स्थानको खोजी गरेर फोहोर व्यवस्थापन गर्न भनेकोमा नगरपालिकाले फोहोर सडकबाटै नउठाउनु गैरजिम्मेवारीपन भएको आवाज उठिरहेको छ।
जनप्रतिनिधिहरू भने त्यस स्थानबाहेक अन्य स्थानको विकल्प नै नभएका कारण फोहोर संकलन नै रोकेको दाबी गर्छन्।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपाने अदालतले उक्त स्थानमा फोहोर नफाल्न स्टे अर्डर दिएपछि अन्य ठाउँको विकल्प नभएकै कारण फोहोर संकलन नै रोक्नुपरेको बताउँछन्।

‘हेटौँडा उपमहानगरपालिकाले दीर्घकालिन फोहोर व्यवस्थापनका लागि विभिन्न उपायहरू खोजिरहेको छ,’ न्यौपानेले भने, ‘जसका कारण विभिन्न दातृ निकायहरूसँग समन्य गरेर हेटौँडा–१५ को चित्रेपानी क्षेत्र, १९ नम्बर वडाको केही क्षेत्र, १८ नम्बर वडाको पूर्व पश्चिम दक्षिण सबैतिर हुनेगरी फोहोरलाई एकैठाउँमा केन्द्रीत गर्नुभन्दा पनि सानो/सानो डम्पिङ साइड भयो भने सजिलो हुन्छ भन्ने हिसाबले ठाउँहरूको अध्ययन गरिरहेका छौं। प्राविधिक टोलीहरूबाट त्यसको निरिक्षण भैसकेको छ।’
फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौँडा इजलासमा रिट निवेदन दिएका थिए। सो निवेदनमाथि न्यायाधीश डा निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरीम आदेश जारी गरेकी हुन्।
उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते (भोलि) दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ।
Shares

प्रतिक्रिया