बागमती


बागमतीमा ‘हेलो सिएम’ सेवा सुरु, नागरिकका गुनासा अब सिधै मुख्यमन्त्री कार्यालयमा

बागमतीमा ‘हेलो सिएम’ सेवा सुरु, नागरिकका गुनासा अब सिधै मुख्यमन्त्री कार्यालयमा

नेपालखबर
साउन ७, २०८३ बिहिबार १७:४८, काठमाडौँ

बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई प्रत्यक्ष रूपमा सरकारसम्म पुर्‍याएर प्रभावकारी सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यले ‘हेलो सीएम’ सेवा सञ्चालनमा ल्याएको छ।

बागमती प्रदेश सरकारसँग भएका गुनासो टिपाउनका लागि ‘हेलो सीएम डेस्क’ स्थापना गरिएको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको ‘हेलो सीएम डेस्क’ को बुधबार (आज) उद्घाटन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अब प्रदेशवासीले दैनिक जीवनमा भोगिरहेका समस्या, गुनासा र उजुरी सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र त्यसको समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइने बताए। सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुवात भएको उनले बताए।

उनले सरकार जनताबाट टाढा नभई जनताकै बीचमा हुनुपर्ने उल्लेख गर्दै नागरिकले उठाएका हरेक जायज माग र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ हुने बताए। ‘हेलो सीएम डेस्क’ को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सरकार जनताबाट टाढा होइन, जनताकै बीचमा हुनुपर्छ भन्ने कुरालाई प्राथमिकता दिइएको बताए। ‘नागरिकले उठाएका हरेक जायज गुनासा र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइनेछ,’ मुख्यमन्त्री बानियाँले भने।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ‘हेलो सीएम’मा प्राप्त हुने गुनासाको प्रकृतिअनुसार सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायमा तत्काल पठाइने व्यवस्था गरिएको छ। गुनासाको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिनेछ भने आवश्यक समन्वय र सहजीकरणसमेत मुख्यमन्त्री कार्यालयले गर्ने जनाएको छ।

मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषय भने सोही कार्यालयबाट नै सम्बोधन गरिनेछ। शुभारम्भ कार्यक्रमका क्रममा मुख्यमन्त्री बानियाँले जनताका समस्यालाई उच्च प्राथमिकतामा राखेर छिटो समाधान गर्न सम्बन्धित मन्त्रालयका कर्मचारी तथा पदाधिकारीलाई निर्देशनसमेत दिएका छन्।

प्रदेश सरकारले ‘हेलो सीएम’ लाई जनगुनासो व्यवस्थापनको प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ। ‘हेलो सीएम’ सेवा सञ्चालनसँगै प्रदेश सरकार र नागरिकबीचको प्रत्यक्ष संवाद बढ्ने, सेवा प्रवाहमा देखिएका कमजोरी पहिचान गर्न सहज हुने तथा सरकारी निकायको जवाफदेहिता थप मजबुत हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad