बागमती


बागमतीका २२ लाख सवारी ‘डिजिटलाइज’ हुँदै, ३४ हजार फाइल ‘अनलाइन इन्ट्री’

बागमतीका २२ लाख सवारी ‘डिजिटलाइज’ हुँदै, ३४ हजार फाइल ‘अनलाइन इन्ट्री’

सुनिता विष्ट
बैशाख २६, २०८२ शुक्रबार १९:५३, हेटौँडा

विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ। 

यातायात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्नसके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाटै फाइल हराउने समस्याको अन्त्य हुने लक्ष्य लिएर बागमती प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयका फाइल ‘डिजिटलाइज’ गर्न थालेको हो।

यसअन्तर्गत बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयले सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेका हुन्। हाल यस्ता फाइल व्यवस्थित गर्न नसक्दा कार्यसम्पादनमा धेरै समय लाग्ने र कतिपय फाइल त कार्यालयबाटै हराउने समस्या छ। जसलाई मध्यनजर गरेर बागमती प्रदेशमा दर्ता भएका सवारीहरूको फाइल डिजिटलाइज अर्थात् अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यलाई तीव्रता दिइएको हो।

गत फागुनबाट औपचारिक रुपमा सुरु भएको डिजिटलाइज प्रणालीबाट हालसम्म ३४ हजार बढी फाइलहरू अनलाइन इन्ट्री गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। करिब १६ लाख दुईपाङ्ग्रे र ६ लाख चारपाङ्ग्रे सवारी दर्ता रहेको बागमतीमा ती सबै सवारीसाधनको फाइल अनलाइन प्रणालीमा प्रविष्ट गर्न लागिएको हो।

डाटा इन्ट्रीका लागि बागमती प्रदेश सरकारले एक सय जना डाटा इन्ट्रीकर्ता भर्ना गरेको छ। करारमा भर्ना भएका उनीहरूले पुराना फाइलहरूलाई स्क्यान गरेर डिजिटलाइज गर्ने काम गर्दै आएका छन्। यस अवधिसम्म आइपुग्दा हाल ३४ हजार भन्दा बढी ढड्ढाहरू डिजिटलाइज गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार २२ लाख सवारी साधनका फाइलहरूलाई अनलाइन प्रणालीमा प्रविष्ट गरिने मन्त्रालयले लक्ष्य लिएको छ। जसका लागि करिब २/३ वर्ष समय लाग्न सक्ने उनको भनाइ छ। यातायात क्षेत्रको डाटा सिस्टममा सुधार ल्याउने अपेक्षाका साथ सुरुवात गरिएको कार्यले यतिबेला तीव्रता पाएको पौडेलले बताए।

उनका अनुसार गत फागुनबाट डाटा इन्ट्रीकर्तालाई यातायात कार्यालयहरूमा खटाइएको हो। यातायात व्यवस्था कार्यालय, हेटौँडा सहित गुर्जुधारा, एकान्तकुना, चितवन, बनेपा तथा खुर्काेटमा डाटा इन्ट्रीका लागि करारका कर्मचारी खटाइएका हुन्।

हालसम्म प्रदेशका ६ वटा यातायात कार्यालयहरूमा खटिएका सय जना डाटा इन्ट्रीकर्ताहरूले ३४ हजार ६७९ फाइल अनलाइनमा इन्ट्री गराएका छन्। 

जसमा सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय मोटरसाईकल काठमाडौँमा १७ हजार ५८३ सवारीको फाइल इन्ट्री गरिएको मन्त्रालयको तथ्यांक छ। यस्तै, यातायात व्यवस्था कार्यालय ठूला साना ललितपुरमा ११ हजार ९५६, यातायात सेवा व्यवस्था कार्यालय भरतपुरमा ३ हजार ५७८, यातायात सेवा व्यवस्था कार्यालय भक्त्तपुरमा २, यातायात व्यवस्था सेवा कार्यालय हेटौँडामा १ हजार ४४५ र यातायात व्यवस्था कार्यालय सानो भर्याङमा ५ फाइल अनलाइन डाटा इन्ट्री गरिएको मन्त्रालयको तथ्यांक छ।

बागमतीमा दर्ता रहेर अन्य कार्यक्षेत्रमा सञ्चालन गर्दै आएका करिब १ सय सवारीको फाइल समेत इन्ट्री गरिएको मन्त्रालयले जनाएको छ। डाटा स्टोरेजका लागि सिंहदरबारस्थित एकीकृत डेटा व्यवस्थापन केन्द्रमा स्पेस लिएको छ भने ब्याकअप डाटा हेटौँडामा रहने गरी करिब ६५ टेराबाइट स्टोरेज लिइएको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जनाएको छ।

सवारीको फाइल अनलाइन प्रणलीमा लगिएपछि कस्ता सवारीहरू कति दर्ता छन् भन्ने तथ्यांक एक क्लिकको भरमा निकाल्न सकिने यातायात व्यवस्था, कार्यालय, हेटौँडाका प्रमुख प्रविण श्रेष्ठ बताउँछन्। उनका अनुसार यातायात व्यवस्था कार्यालय, हेटौँडामा १४ सय फाइलहरू अनलाइनमा प्रविष्ट गरिएको छ। जसका लागि ७ जना डाटा इन्ट्रीकर्ता खटिएका छन्।

यता, प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी ढड्ढा डिजिटलाइजसँगै नागरिक एपमै इ–ब्लुबुकको सुविधा प्रदान गर्ने कार्यको समेत केही दिन अघिमात्रै सुभारम्भ गरेको थियो। 

नागरिक एपमै क्यूआर कोड सहितको डिजिटल लाइसेन्स, नागरिक एपमै ब्लु बुकको सेवा दिन थालेको यातायात मन्त्रालयले, यातायात कार्यालयहरूलाई प्रविधिमैत्री बनाउन फाइल अनलाइन प्रणालीमा राखेर तथ्यांक संकलन गर्न थालिएको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन बताउँछन्।

चालु आर्थिक वर्षबाट सुरुवात भएको यस कामलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै कागजी ढड्ढाको प्रयोग हटाएर डिजिटल प्रविधिबाट काम गर्नका लागि नीति, कार्यक्रम तथा बजेट बनाइने मन्त्री महर्जनको भनाइ छ। 

‘अब एकपटक सुरु भएको कामलाई निरन्तरता नदिने भन्ने हुँदैन,’ उनले भने, ‘चालु आर्थिक वर्षबाट सुरु गरिएको छ। यसलाई आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिने गरी हामी नीति कार्यक्रम बनाउँछौँ। सोही अनुसारको बजेट निर्माण गर्छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad