बागमती


विद्यालय आउजाउ गर्नै ४ घण्टा, बिहान पाँचै बजे उठ्दा पनि भ्याइन्न पढ्न

पीडित विद्यार्थी भन्छन्: सहरतिरजस्तै बसको सुविधा भइदिए हुन्थ्यो
विद्यालय आउजाउ गर्नै ४ घण्टा, बिहान पाँचै बजे उठ्दा पनि भ्याइन्न पढ्न

मकवानपुरको कैलाश गाउँपालिका-३ स्थित श्री भवानी माध्यमिक विद्यालयबाट घर फर्किंदै गरेका विद्यार्थी।


सुनिता विष्ट
जेठ ४, २०८२ आइतबार ११:३०, हेटौँडा

जमिन नै थर्काउने गरी आकाश गर्जिरहेको छ। भुइँ नै छोएजस्तै बिजुली चम्किरहेको छ। हुन्डरी सुरु हुनै लागेको कालोमैलो दृश्य। सिमसिम पानी पर्न सुरु भइसकेको छ। थाहा छैन- बीच बाटोमा ठुलो पानी पर्‍यो भने कहाँ ओत लाग्ने हो?

काँधै तानिरहेको किताबले भरिएको ठुलो ब्याग। थाकेका गोडा। त्रसित मनस्थितिमा हतार-हतार हिँडिरहेका थिए- विद्यार्थीहरू। 

उनीहरू मकवानपुरको कैलाश गाउँपालिका-३ स्थित श्री भवानी माध्यमिक विद्यालयबाट घर फर्किंदै थिए बुधबार (वैशाख ३१) अपराह्न। 

त्यही समूहमा थिइन्- कैलाश गाउँपालिका-२ टकुवा भन्ने स्थानमा घर भएकी १४ वर्षीया स्मृति मोक्तान।

उनको अनुहार रातो भएको थियो।अनुहारबाट धारोझैँ घाँटीमा झरिरहेको थियो पसिना। पसिनाले निथ्रुक्क भिजेको थियो उनले लगाएको सर्ट।

काँधको झोला भारी भएर बेलाबेला ढाडमा उफारिरहेकी थिइन्- पुस्तकले भरिएको ब्याग। 

निधारदेखि चिउँडोसम्मको पसिना दाहिने हातले पुछ्दै स्मृतिले आफ्नो घर भएको पाखोतिर देखाउँदै भनिन्, ‘ऊ...त्यहाँ पुग्नुपर्छ। भर्खर त आधा घण्टाको बाटो सकियो। अझै २ घण्टा हिँडेपछि मात्रै पुगिन्छ।’

स्मृति मोक्तान

आफू विद्यालय आउन बिहान ५ बजे नै उठ्ने गरेको उनी बताउँछिन्। बिहान सबेरै नउठे घरको काम भ्याएर १० बज्दा विद्यालय पुग्न नभ्याइने उनले बताइन्। 

‘घर पुग्दा ७ बज्न लाइसक्छ। हिँडेको थकाइले किताब पल्टाउन मन लाग्दैन’, उनले नेपालखबरसँग भनिन्, ‘जसोतसो होमवर्क गर्‍यो। अरू पढ्न त भ्याइँदैन। बिहान उठेर घरको काम गर्नुपर्छ ८ बजे त स्कुल हिँड्नपर्छ।’

बिहान उठेपछि उनको काम कि घाँस काट्ने कि त खाना बनाउने हुन्छ। आमा घाँस काट्न गए स्मृति खाना बनाउँछिन्, आमाले खाना बनाए उनी घाँस काट्न जान्छिन्।

बायाँबाट क्रमश: अम्बिका स्याङ्बो, स्मृति मोक्तान र सोनिका स्याङ्बो

कक्षा ९ मा अध्ययनरत स्मृति कक्षा १० मा पढ्ने आफ्ना दाइ र गाउँका अन्य साथीसँग विद्यालय आउँछिन्। विद्यालय टाढा भएकै कारण पढ्न भन्दा आउजाउमा बढी समय र श्रम पर्ने दु:खेसो उनले गरिन्। 

उनीहरूसँगै आउजाउ गर्छिन्- त्यही गाउँकी १५ वर्षीया अम्बिका स्याङ्बो। कक्षा १० मै पढ्ने उनी पनि विद्यालय निकै टाढा रहेका कारण गाह्रो भइरहेको गुनासो गरिन्। 

‘गोडाहरू करकर दुख्छ। पिँडुला बट्टारिन्छ। राति घर पुग्दा त लखतरान हुन्छ’, हिँडाइको दु:ख सुनाउँदै अम्बिकाले भनिन्, ‘कुन बेला घर पुगेर भात खानुजस्तै गरी भोक पनि लाग्छ। फेरि थाकेका बेला तातो भात खाएपछि पढ्न मनै लाग्दैन।’

कक्षा ५ सम्म घरनजिकै रहेको डिलेश्वर आधारभूत विद्यालयमा पढेका उनीहरू त्यसमाथिका कक्षा (माध्यमिक शिक्षा) पढ्न त्यति टाढा छिमेकी वडामा रहेको विद्यालय जानुपरेको हो। 

त्यसरी पढ्नुपर्ने बाध्यताका विद्यार्थी करिब २० जना छन्। 

कैलाश गाउँपालिका-२, टकुवा घर भएका उनीहरूलाई विद्यालय जाँदा २ घण्टा र फर्कंदा त्यति नै लाग्छ।

सोही समूहमा रहेकी सोनिका स्याङ्बोले किताब धेरै भएका कारण बाटोमा धेरै थकाइ लाग्ने बताइन्।

ढाडमा बोकेको कालो रङको ब्याग देखाउँदै उनले भनिन्, ‘७ वटा किताब छन्। कापी पनि ७/८ वटै छन्। व्याकरण र हाम्रो कैलाश विषयको किताब आइपुगेको छैन। त्यो पनि आएपछि ९ वटा हुन्छन्। ज्यान नै गलाउने त यो झोलाले हो। रित्तै हिँड्न पाउने भए त गाह्रो पनि हुन्नथ्यो होला!’

विद्यालय जाउजाउ गर्न सहरतिरजस्तै बसको सुविधा भइदिए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको छ।

‘बस अथवा भ्यानको सुविधा भए त स्कुल पुग्ने बेलामै भोक लाग्ने गरी बिहानै खाना पनि खान पर्दैनथ्यो होला’, सोनिकाले भनिन्, ‘अहिले त बिहान साढे ७ बजे नै खानुपर्छ। ८ बजे निस्कँदा पनि बाटोमा अलमल गरियो भने हाजिर गर्ने पहिलो क्लास नै छुट्छ। कक्षामा पुग्ने बेलामै भोक लागिसक्छ।’

कैलाश गाउँपालिकाका शिक्षा शाखा अधिकृत समीर जोशीले सबै वडा र गाउँमा सडक सञ्जाल नजोडिएकाले गाउँपालिकाले प्रदेश सरकारसँग विद्यालय बसको माग गर्न नसकेको बताए। 

‘सबै वडामा बस पुग्दैन, बस गुड्ने खालको सडक बन्न पनि बाँकी नै छ’, शिक्षा शाखा अधिकृत जोशीले नेपालखबरलाई सुनाए, ‘विद्यार्थीहरूलाई सहजताका लागि विकल्प नसोचिएको त होइन, तर यातायात सञ्चालनका लागि आवश्यक सडक सञ्जाल नभएकै कारण विद्यालय बसको प्रस्ताव प्रदेश सरकारसमक्ष लगिएकै छैन।’

मकवानपुरका स्थानीय तहमध्ये कैलाश गाउँपालिका सबैभन्दा विकट पालिका हो। १० वटा वडा रहेको यस गाउँपालिकाभित्र जम्मा ४३ विद्यालय छन्। तीमध्ये १७ वटा माध्यमिक तह र बाँकी २६ वटा प्राथमिक तहका स्कुल रहेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत जोशीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाभरिमा कैलाश-९, नामटारमा रहेको श्री कालिका माध्यमिक विद्यालयमा मात्रै कक्षा १२ सम्म पढाइ हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad