गत असोज १२ गते बिहानको ८ बजेतिरको समय। घर नजिकै रहेको सिस्नेरी खोला यसै उर्लिरहेकै थियो। १० गते दिउँसोदेखि नै परेको पानीले सिस्नेरी खोलाको रंग धमिलो देखिन्थ्यो। ११ गते पनि घरबाट निस्किन सक्ने अवस्था नै थिएन। बेला/बेलामा दर्किएको पानीले खोलाको गति बढेको थियो। तर घरभन्दा झण्डै १ सय मिटर पर रहेको खोलासँग ३८ वर्षका सानुकान्छा दोङ डराएका भने थिएनन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी नजिकै रहेको कुनियोटारका सानुकान्छाले खोलाले खेत र घर बगाउला भन्ने सोचेकै थिएनन्। घडीमा बिहानको करिब ८ः३० जति बजेको थियो। घरको आँगनको डिलमा उभिएर हेर्दाहेर्दै घरभन्दा अलि पर रहेको दुईवटा माछाको पोखरी बगायो। त्यो माछाको पोखरी भने उनको छिमेकीको थियो। माछा पोखरीसँगै रहेको धान लहलह भएको खेत बगायो। सुसाउँदै आएको खोलाले हेर्दाहेर्दै सानुकान्छाको घरसँगै जोडिएको आफ्नै खेत पनि बगायो। खेत बगेपछि बाढी उनकै आँगनमा प्रवेश गर्यो। 
बाढीले घर बगाउने देखेपछि उनले छोराछोरी र श्रीमतीलाई लिएर घरमाथि रहेको बारीको कान्लो उक्लिए। एकातिर आकाशबाट दर्किरहेको पानीले भिजिरहेका परिवार। अर्कातिर बाढीले बगाउँदै लगेका आफ्नो टाउको लुकाउने छहारी। उनले हार गुहार गर्दागर्दै बाढी घरभित्रै पस्यो। अन्नपात, लत्ताकपडा केही झिक्नै भ्याएनन्। बाढीले घर र जमिन बगायो। बाढीसँगै बगे सानुकान्छाका परिवारको सपना र हातमुख जोड्ने थलो।
तीन दिनको स्मरण गर्दै उनी भन्छन्, ‘धन्न बालबच्चालाई जोगाउन भने सकेँ। अन्नपाततिर त ध्यान दिनै सकिएन। एकैछिनमा आएको बाढीले सबै सोहोरेर लग्यो। अहिले न घर छ। न अन्नपात । न त अन्न उब्जाउने खेत नै बाँकी छ। सबैकुरा भएर पनि बाढी लागेपछि सुकुम्बासी बन्न परेको छ।’
सानुकान्छा मात्रै होइन, सोही बाढीका कारण उनको छिमेकी राधिका ठकुरीको पनि उठिबास नै लाग्यो। खोला नजिकै रहेको १३ रोपनी भन्दा बढी खेत बाढीले बगायो। बर्षमा २० मुरी धान फल्ने खेत बाढीले लगेपछि राधिकाको परिवारमा मानसिक तनाव थपिएको उनको दुखेसो छ।
‘हातमा खेतको पुर्जा छ। तर पुर्जामा भएको खेत बगरमा परिणत भएको छ,’ सेता ढुंगा र बालुवाको थुप्रो लागेको खोला हेर्दै राधिका टोलाइरहन्छिन्। घरमा अपाङ्गता भएको भाईबुहारी स्याहार्दै बसेकी उनलाई अब कसरी पेट पालौंरु भन्ने चिन्ता छ। ‘ढुंगा पन्छ्याएर खेत बनाउन पनि नक्सा नै मेटिएको छ,’ निराश हुँदै उनले भन्छिन्, ‘बर्षको २० मुरी धान फल्थ्यो। जसोतसो खेति गरेर परिवार पालिएका थियौं। त्यो खेतमा अहिले खोला हिडेँको छ। हातमा लालपुर्जा त छ नि। अब भएर के गर्नु?’
११ गते राति ८ बजेतिर कुलेखानी जलविद्युत् आयोजनाले कुलेखानी ताल भरिएको र पानी खोल्न पर्ने स्थिती आउनसक्ने भन्दै माइकिङ गर्दै हिड्यो। त्यो सूचना स्थानीयहरुले नसुनेका भने होइनन्। तर रातको समयमा घर छोडेर जाने स्थिती नै नभए पछि बाढीको त्रास हुँदाहुँदै पनि सोही स्थानमा बस्न परेको स्थानीय ५२ बर्षका चन्द्रबहादुर वाइवा बताउँछन् ।
२०५० सालको बाढीमा पनि गाउँमै कुनै क्षति नगरेकोले उनीहरु ढुक्क जस्तै थिए। ‘५० सालको जस्तै गरी थोरै/थोरै मात्रै पानी छोड्ला भन्ने सोचेका थियौं,’ चन्द्रबहादुरले भने, ‘बिहानैदेखि आकाशको पानी पनि दर्कियो। खोलामा बाढी आउन थाल्यो। भएको खेतबारी बगायो। बसिरहेको घर पनि छोडेर भागेर ज्यान जोगायौं।’
भएका जायजेथा बाढीले बगाएपछि छाक टार्न धौ धौ भैरहेको उनी गुनासो गर्छन्। विपद्ले सबै सम्पत्ति बगाएपछि दुई÷चार बोरा चामल र पाल बोकेर विभिन्न संघ संस्थाहरु र स्थानीय जनप्रतिनिधिहरु आइपुगे। त्यसबाहेक तीनै तहको सरकारले आफूहरुलाई नहेरेको उनी बताउँछन्।
१२ असोज २०८१ मा अविरल बर्षाका कारण मकवानपुरसहित अन्य जिल्लाहरुले पनि विपद्को सामना गर्नुपर्यो। १० स्थानीय तह रहेको मकवानपुरमा सबैभन्दा ठूलो घटना इन्द्रसरोवरको सिस्नेरीले व्यहोर्न पर्यो। इन्द्रसरोवर गाउँपालिका १ र २ मा पर्ने कुलेखानी जलाशाय भरिएपछि बाँध फुट्ने त्रासले जलाशायको ढोका खोलिदाँ कुलेखानीको पानीको बहावले सिस्नेरी, टेकर, कुनियोटार लगाएतका क्षेत्र प्रभावित बन्न पुगेको थियो। यस क्षेत्रका करिब ३० घर बाढीले बगाएको थियो भने ६० घर डुबानमा परेका थिए। 
कोहीको घर खेत त कोहीको पसल, गाडी र घर नै बाढीमा बग्यो। प्रहरी चौकी देखि एम्बुलेन्ससम्म बाढीले बगायो। अघिल्लो वर्षको विपद्को सामना गरेर थकित भएका अनुहारमा अब फेरि आउँदो बर्खाको चिन्ताले छोपेको छ। भए भरका सम्पत्ति र अन्नपात बाढीले बगाए पनि बाढीबाट ज्यान जोगाएका उनीहरुलाई अबको बर्खा कसरी काटौंरु भन्ने चिन्ता छ। वारपार खोला हिडेँर बनाएको बगरको छेउछाउमा जोगिएका घर आफूहरुको लागि सुरक्षित छैन भन्ने ज्ञान हुँदाहुँदै पनि उनीहरुको लागि त्यसबाहेकको विकल्प नै छैन।
‘अगुल्टोले हानेको कुुकुर बिजुली चम्कँदा पनि तर्सन्छ’ भने झै भएको छ यहाँका बाढी पीडित स्थानीयहरुको लागि। सिस्नेरीकी ६७ बर्षकी भवानी ठकुरीलाई बर्खा सुरु भएसँगै घरमा बस्नै डर लाग्न थालेको सुनाउँछिन्। ४५ बर्षदेखि खनजोत गरेर बाली लगाउँदै आएको खेत बाढीले बगाइदिएपछि त्यो खेतसँगै उनको गाँस बगायो। घरमा एक्लै बस्दै आएकी उनको घरको एकपाखो बाढीले हानेर कमजोर बनेको छ।
‘पानी पर्न थालेपछि औधि डर लागेर आउँछ,’ बगरतिर हेर्दै उनले भनिन्, ‘यही खेतमा धान रोपेर भात खान्थेँ, मकै रोपेर आँटो खान्थेँ। जेनतेन दुखसुख चलेकै थियो। त्यो पनि खोलोले देख्न सकेन। बर्खा सुरु भयो। अब भत्कनै लागेको यो एउटा बास पनि यो साल लाने होला।’
त्यसोत, बाढीले कटान गरेर जाखिम बनेको घरहरु जोगाउन बाँध लगाइएको छैन। खोलामा ढुंगा गिट्टी भरिएर बस्ती सरहकै अग्लो बनेको छ। बाढीले खण्डहर बनेको यहाँका भूगोल जोगाउन तीन तहकै सरकारको ध्यान नगएको उनीहरुको गुनासो छ।
विपत्तिमा परेर जग्गा जमिन र घर बगाए पनि अब भने आफ्नो पुर्जामा भएको जग्गा लिन पाउने गरी साँध सीमाना स्थानीय सरकारले छुट्याइदिनुपर्ने स्थानीयहरुको माग छ। त्यसबाहेक जोखिममा रहेका घर जोगाउन बाँध र घर भत्किएर जस्ताको टहरामा बास बसेकाहरुलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराइदिए आउँदो बर्खामा पीर कम हुने स्थानीय ७० बर्षका प्रताप सिंह वाइबा बताउँछन्।
अघिल्लो वर्ष दशैंको मुखमा घरबार बिहिन बस्नुपरेको उनीहरुको अवस्था अहिले पनि उस्तै छ। बाढी पीडित भेट्न आउने सरकोकारवाला निकायहरु पनि सिस्नेरी बजारसम्म आउने गरेको तर त्यसभन्दा करिब २ किलोमिटर तल रहेको आफूहरु बस्ने गाउँ कुनियोटारसम्म भने आउँदै नआउने उनले बताए। जसका कारण कसैको नजर आफूहरुमाथि नपरेको वाइवाको गुनासो छ।
त्यसोत, इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनका अनुसार यस वडामा विपद्पछि थुप्रै पूर्वाधारहरु निर्माण गरिएको बताउँछन्। त्यसबाहेक स्थानीयहरुको लागि तत्कालिन अवस्थामा राहतको व्यवस्थापन, सुरक्षित स्थानमा स्थानान्तरण देखि अस्थायी बसोबासका लागि आवश्यक सामाग्रीहरु वितरण गरिएको उनको भनाइ छ।
गाउँपालिकामा बजेट अभावका कारण बाढी पीडित स्थानीयहरुको लागि ठूला काम गर्न नसकिएको बताउँदै वडाध्यक्ष भोम्जनले भने, ‘हाम्रो स्रोत र साधनले भ्याएजति गरेकै हौं। आगामी आर्थिक वर्षमा भने बाढी पीडित स्थानीयहरुलाई समेट्ने गरी बजेट बनाउने सोचेका छौं। त्यस बजेटबाट उहाँहरुको लागि काम गर्छौं।’
यता, यहाँका स्थानीय जनप्रतिनिधिहरुका अनुसार गत असोजको बाढीले यस गाउँपालिकामा मात्रै झण्डै १ सय भन्दा बढी घरधुरी प्रभावित बनेको बताउँछन्। ५ वटा वडा रहेको यहाँ सबैभन्दा बढी क्षति २ र ३ नम्बर वडामा भएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए। उनका अनुसार २ नम्बर वडाको महालक्ष्मी खोला, फाखेल र ३ नम्बर वडामा पर्ने सिस्नेरी, खानीखेत, टेकरदेखि कुनियोटारसम्मका स्थानीयहरु प्रभावित बनेको अध्यक्ष पुडासैनीको भनाइ छ।
Shares

प्रतिक्रिया