बागमती


गोजीमा सामूहिक राजीनामापत्र बोकेर देउवा निवास जाँदै लामा समूह

मुख्यमन्त्री बानियाँको पद संकटमा, आफ्नै पार्टीका १४ सांसद विश्वासको मत नदिने अडानमा
गोजीमा सामूहिक राजीनामापत्र बोकेर देउवा निवास जाँदै लामा समूह

बागमतीका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ


सुनिता विष्ट
साउन २५, २०८२ आइतबार ८:५२, हेटौँडा

आफ्नै पार्टी नेपाली कांग्रेसभित्रको झगडाले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पद धरापमा देखिएको छ।

मुख्यमन्त्री र कांग्रेस बागमती संसदीय दलको नेताबाट विस्थापित बहादुरसिंह लामा पक्षका सांसदले विश्वासको मत नदिने तयारी गरेपछि साता पनि पूरा नहुँदै बानियाँको मुख्यमन्त्री यात्रा टुंगिने जोखिम देखिएको हो। 

कांग्रेस बागमती संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री बानियाँले नियुक्तिको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने स‌ंवैधानिक व्यवस्थाअनुसार पर्सि (मंगलबार) नै विश्वासको मत लिँदै छन्। 

यसका लागि ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार दिउँसो बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँका पक्षमा मत दिन आफ्ना सबै सांसदलाई ह्विप पनि जारी गरिसकेको छ। 

तर आफ्ना पक्षका ३ जनलाई मन्त्री नबनाइएको भन्दै रुष्ट निवर्तमान मुख्यमन्त्री लामा पक्षका १४ सांसदले पार्टीको ह्विप नमान्ने चेतावनी दिएका हुन्।

लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुअघि आफूपक्षीय ३ प्रदेश सांसदलाई मन्त्रीमा नियुक्ति गरेका थिए। तर विवादका कारण उनीहरूको शपथ हुन सकेन। पछि पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको निवासमा दुई पक्षबीच भएको छलफलमा ती ३ जनालाई नयाँ सरकारमा पनि मन्त्री बनाउने भनी बानियाँले सहमति जनाएकाले लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन राजी भएका थिए। 

तर अहिले उक्त सहमति कार्यान्वयन नगरिएको भन्दै लामा समूह मुख्यमन्त्री एवं आफ्नो संसदीय दलका नेता बानियाँसँग रिसाएको हो। 

मुख्यमन्त्री बानियाँले आफ्नै समूहका सांसदलाई मात्रै अवसर दिएको, आफूले सिफारिस गरेको तीन सांसदलाई मन्त्री नबनाएको तथा बानियाँ समूहले आफूहरूसँग कुनै संवाद नै नगरेकाले विश्वासको मत नदिने विचार गरिएको निर्वतमान मुख्यमन्त्री लामाले बताए। 

तर यस विषयमा निष्कर्षमा पुग्न अहिले दिउँसोका लागि १४ सांसदको भेला बोलाइएको लामानिकट प्रदेश सांसद गोविन्द लम्सालले नेपालखबरलाई जानकारी दिए। 

‘मुख्यमन्त्रीले विश्वासको मतका लागि ह्विप जारी गर्नुभएको छ, सो सम्बन्धमा छलफल गर्नका लागि हामीले भेलाको अयोजना गरेका छौँ,’ लम्सालले भने, ‘भेलामा हामी कसरी अघि बढ्ने भनेर छलफल गर्छौं।’

यसपछि पार्टी सभापति देउवालाई भेट्न काठमाडौँ जाने तयारी पनि रहेको उनले बताए। 

‘बैठकपश्चात् सभापतिज्यूलाई भेट्न जाने तयारी छ। उहाँसँग बसेर हाम्रो रणनीति सुनाउनेछौँ। उहाँ सकारात्मक हुनुभयो र हाम्रो माग कार्यान्वयन गराउन मुख्यमन्त्रीलाई निर्देशन दिनुभयो, माग सम्बोधन भएर तीन मन्त्री नियुक्त गरियो भने विश्वासको मत दिन्छौँ। नत्र सभापतिलाई राजीनामापत्र बुझाएर फर्कन्छौँ’, सांसद लम्सालले नेपालखबरसँग भने। 

लामा समूहका १४ सांसदले सामूहिक हस्ताक्षर गरेको राजीनामापत्र तयार रहेको उनको भनाइ छ। 

बानियाँलाई पर्न सक्छ संकट
लामा समूहका सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री बानियाँलाई संकट पर्ने देखिन्छ। 

११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा कांग्रेसका ३७ र सत्ता साझेदार एमालेका २७ सांसद छन्। सत्तारुढ दुवै दलका गर्दा सांसदको कुल संख्या ६४ हुन्छ। 

यसमा लामा समूहका १४ सांसद सामेल भएनन् भने बानियाँका पक्षमा ५० जना मात्रै हुन्छ। जसका कारण उनी विश्वासको मतमा फेल हुन सक्छन्। र, मुख्यमन्त्री यात्रा एक सातामै टुंगिन सक्छ। 

प्रदेश सभामा रहेका प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलगायत अन्य दलले पनि अहिलेसम्म बानियाँलाई विश्वासको मत दिने संकेत गरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad