बागमती


बागमतीमा कांग्रेस किचलो जारी : पाँच मन्त्री पदका लागि १३ आकांक्षी

बागमतीमा कांग्रेस किचलो जारी : पाँच मन्त्री पदका लागि १३ आकांक्षी

बागमतीमा मन्त्री बन्न तम्सिएका कांग्रेस नेताहरू। यिनैमध्ये ५ जना मन्त्री बन्ने बताइएको छ।


सुनिता विष्ट
साउन २९, २०८२ बिहिबार ११:१९, हेटौँडा

बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सदनबाट विश्वासका मत प्राप्त गरेसँगै अब आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट नियुक्ति गर्न बाँकी ५ मन्त्री छनोटमा जुटेका छन्।

सत्ता साझेदार नेकपा एमालेसँगको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीका अलावा ७ मन्त्री पद पाएको छ। एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रालयमा मन्त्री पठाइसक्दा सरकार नेतृत्वकर्ता कांग्रेसले भने आन्तरिक लुछाचुँडीका कारण मुख्यमन्त्रीले शपथ खाएको दिन साउन २० गते २ मन्त्री मात्र नियुक्ति गर्न सक्यो। त्यसमा पनि अझ एकजनाको मन्त्रालय तोक्न बाँकी नै छ। कांग्रेसले कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिँदा शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्री बनाएको हो। 

अब उसले बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्दै अरू ५ मन्त्री नियुक्ति गर्नुपर्नेछ। तर भावी ५ मन्त्रीमा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले आफ्ना ३ जना पर्नुपर्ने अडान राखिरहेको छ। यही सर्तमा लामा पक्षका १३ सांसदले मंगलबार आफ्नो संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएका थिए। यसमा सहमतिका लागि पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै निर्देशन दिनुपरेको थियो। 

केन्द्रको निर्देशनअनुसार नै अघि बढ्ने बताएका मुख्यमन्त्री बानियाँले एक/दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन्। यसका लागि उनले पार्टीभित्र छलफल सुरु गरेका छन्। तर ५ मन्त्री पदमा १३ जनाले आकांक्षा देखाएका छन्। ‍

मन्त्री पदका लागि बानियाँलाई संसदीय दलको नेता बन्न सघाएका काभ्रे प्रदेश निर्वाचन क्षेत्र २(२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ र काठमाडौँ १ (४) बाट निर्वाचित सांसद श्रीराम लामिछाने पार्टी केन्द्रमा धाइरहेका छन्। 

यस्तै भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठसहित बानियाँलाई दल नेता बनाउन यसअघि मन्त्री पदबाट राजीनामा दिएका काठमाडौँ निर्वाचन क्षेत्र २ (५) बाट निर्वाचित प्रदेशसभा सदस्य श्यामबहादुर खड्का, काठमाडौँ २ (१) बाट निर्वाचित सुरजचन्द्र लामिछाने र काठमाडौँ २ (३) बाट निर्वाचित विमल ठकुरी पनि मन्त्री बन्न शक्तिकेन्द्र गुहारिरहेका छन्।

पहिले मन्त्री पदबाट राजीनामा दिएकाहरूले बानियाँले आफू नेतृत्वको सरकारमा सहभागी गराउने सहमति गरेको बताएका छन्।स्रोतका अनुसार लामिछानेलाई आर्थिक मामिला तथा योजना, ठकुरीलाई यसअघिकै संस्कृति तथा पर्यटन र खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय नै दिने आश्वासन बानियाँले दिएका थिए। तर खानेपानी मन्त्रालयमा साउन २० गते नै कृष्णकुमार तामाङ नियुक्ति गरेपछि पूर्वमन्त्री खड्का बानियाँसँग रुष्ट भएका छन्। 

यता महिलातर्फ काठमाडौँबाट समानुपातिक सांसद सुना परियार, ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझी, काठमाडौँबाटै समानुपातिक सांसद मीना पराजुली पोखरेल पनि मन्त्री बन्न नेताहरूसँग भेटघाट गरिरहेका छन्। रायमाझी बानियाँलाई संसदीय दलको नेता बनाउन लागिपरेकी सांसद हुन् भने परियार पनि अन्तिम समय लामाको साथ छाड्दै बानियाँलाई समर्थन गरेकी थिइन्। बानियाँ समूहबाट बाहिरिँदै बहादुर समूहमै रहेको भनी प्रेस विज्ञप्ति जारी गरेकी मीना पराजुलीलाई पनि अहिले मन्त्री बनाउने सर्तमा बानियाँले फिर्ता बोलाएको चर्चा छ। 

अब बन्ने पाँच मन्त्रीमध्ये लामा समूहले धादिङको प्रदेश निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित सांसद गोविन्द लम्साल र चितवनबाट समानुपातिक प्रदेशसभा सदस्य माया श्रेष्ठ र गीता गुरुङ पर्नुपर्ने माग पहिलेदेखि छँदै छ। 

तर पछिल्लो राजनीतिक परिदृश्य हेर्दा यी तीनैजना मन्त्री बन्ने सम्भावना न्यून देखिन्छ।

किनकि चितवनबाट महिला कोटामा बानियाँनिकट बिनु रायमाझी मन्त्री बन्ने पक्कापक्कीजस्तै छ। धादिङबाट शिवराज अधिकारी मन्त्री भइसकेकाले फेरि त्यही जिल्लाबाट अर्को मन्त्री बन्ने सम्भावना कम देखिन्छ। तथापि पार्टीका शीर्ष नेताहरूले सहमति कार्यान्वयन गर्न निर्देशन दिएमा लम्साल मन्त्री बन्ने सम्भावना रहेको दाबी प्रदेशका कांग्रेस नेताहरू गर्छन्। 

लामा समूहका सिन्धुली निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित सांसद छेत्रबहादुर बम्जन र नुवाकोट प्रदेश निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित सांसद रमेशकुमार महत पनि मन्त्री बन्ने चर्चा छ। भूगोल मिलाउने हो भने लामा समूहले यसअघि अघि सारेका सांसदलाई 'ब्याक' गराएर उल्लिखित दुई जनालाई मन्त्री बनाउने पक्कापक्कीजस्तै भएको दाबी मुख्यमन्त्री बानियाँनिकट एक सांसदले नेपालखबरसँग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad