चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड बन्द भएको छ।
मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको हो।
मंगलबार राति ८ः५० बजेतिर इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको हो।
अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ भने थप लोडर र एक्साभेटर लैजाने तयारी गरिएको छ।
यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ।
नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको छ।
अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। पहिरोलाई अहिले हटाउने काम भइरहेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।
यसैबीच कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोलामा गएराति पहिरो खस्दा कर्णाली राजमार्ग पनि बन्द भएको छ।
कर्णाली राजमार्गको गगनेखोला क्षेत्रमा पटकपटक पहिरो खस्ने गरेको छ। यो राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो।
अविरल वर्षाका कारण खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। पहिरो पन्छाउन समय लाग्ने उनले बताए। रासस
Shares

प्रतिक्रिया