बागमती


जेनजी आन्दोलनमा बेपत्ता विकास: जानुअघि आमासँग भनेका थिए- केही गर्दिनँ, टाढैबाट हेरेर फर्किहाल्छु

कोटेश्वरको भाटभटेनीमा भेटिएको शवछेउमा पाइयो विकासले बोक्ने मोबाइल
जेनजी आन्दोलनमा बेपत्ता विकास: जानुअघि आमासँग भनेका थिए- केही गर्दिनँ, टाढैबाट हेरेर फर्किहाल्छु

फाइल तस्बिर : विकास रसाइली


सुनिता विष्ट
असोज २, २०८२ बिहिबार १५:१७, हेटौँडा

अघिल्लो दिन भदौ २३ गतेको जेनजी प्रदर्शनमा सरकारले दमन गर्दा १९ युवा मारिएपछि भदौ २४ गते आन्दोलन अझ उग्र बनेको थियो।बानेश्वरसहित काठमाडाैँका विभिन्न स्थानमा बिहानैदेखि तोडफोड र आगजनी भइरहेको थियो।

रामेछापको खडादेवी गाउँपालिका-६ स्थायी घर भई ललितपुर बस्ने २२ वर्षीय विकास रसाइली पनि आमालाई ‘केही गर्दिनँ, एकैछिन टाढैबाट हेरेर फर्किहाल्छु’ भनेर बिहान १० बजेतिर घरबाट निस्किए। 

तर साँझ परिसक्दा पनि छोरो नफर्केपछि सानु रसाइली चिन्तामा परिन्। 

त्यसपछि उनले विकासलाई फोन गरिन्। धेरैपटकको प्रयासपछि बल्लबल्ल फोन उठ्यो। 

अनि भनिन्, ‘छिटो घर आइज, बाहिर हिँड्न डरमर्दो छ। दिनभर कता हराइराको?’

विकासले जवाफ दिए, ‘ममी म आउँदै छु। साथीहरू पनि छन्। साँझ ७ बजेसम्ममा आइसक्छु। यतै नजिकै छौँ।’

तर ७ बज्यो। विकास घर आइपुगेनन्।

यसपछि बुवा रामकृष्णले फोन लगाए। एकछिन फोनको घण्टी गयो। तर रिसिभ भएन। फोन गरिरहे।

केही बेरमा विकासको मोबाइलमा फोन लाग्नै छाड्यो।

त्यसपछि आत्तिएका रामकृष्णले विकाससँगै गएका साथीलाई फोन गरे।

‘छोराको फोन लाग्न छाडेपछि सँगै गएका एउटा साथीलाई फोन गरेँ’, रामकृष्णले नेपालखबरलाई सुनाए, ‘उसले अंकल विकास भाटभटेनीमा थियो। त्यसपछि भेटेका छैनौँ भन्ने जवाफ दियो। त्यसपछि त्यो केटाको पनि फोन लागेन।’

फोनबाट पार नलागेपछि रामकृष्ण छोरा खोज्न भोलिपल्ट २५ गते बिहान २ नबज्दै घरबाट निस्किए। 

उज्यालो हुने बेलासम्म उनले आन्दोलनका घाइतेहरू लगिएका लगभग सबै अस्पताल चहारिसकेका थिए। घाइते राखिएका बेडदेखि शवगृहसम्म खोजीनिती गरे तर विकासको पत्तो लागेन।

विकास कोटेश्वरको भाटभटेनी भवनमा थिए भनेर उनका साथीले फोनमा भनेका आधारमा रामकृष्ण त्यता पनि गए। तर उनी भेटिएनन्।

उनले खोजी जारी नै राखे। 

यसैबीच भदौ ३१ गते मंगलबार भाटभटेनीको चौथो तलामा एउटा शव फेला पर्‍यो। 

यो खबर सुन्नेबित्तिकै बुधबार बिहानै रामकृष्ण त्यहाँ पुगे। 

उनलाई शंका लागिसकेको थियो- त्यो शव आफ्नो छोराकै हुनुपर्छ। तर शव चिन्ने कुनै चिह्न थिएन। 

अन्तत: विकासले बोक्ने गरेको मोबाइल फेला पर्‍यो। आगोमा परेर ब्याट्री पड्किसकेको त्यस मोबाइलमा विकासले चलाउने नम्बरकै सिम भेटियो। 

सिमका आधारमा त्यो शव विकासकै भएको अनुमान गरिएको उनका मामा राकेश दर्नालले बताए। 

‘प्रहरीले टिचिङ अस्पतालमा शव राखेको ठाउँमा गएर हेर्‍यौँ। शव चिनिने अवस्थामा रहेनछ’, दर्नालले भने, ‘सिमका आधारमा हाम्रै भान्जा हुन् कि भनेका हौँ। तर प्रहरीले सँगै गएको अर्को एउटा साथी पनि हराइरहेको भनेको छ। उसले भान्जाको मोबाइल बोकेको पनि हुनसक्ने भन्दै प्रहरीले शव दिएको छैन। डीएनए टेस्ट गरेपछि मात्रै भान्जा हो कि अरू भन्ने खुल्ने बताएको छ। तर भान्जाका साथीहरूले चौथो तलामा थियो भनेको आधारमा भान्जा नै हुन् भन्ने हामीलाई लागेको छ।’

त्यसो त डीएनए रिपोर्टबाट पुष्टि नहुँदासम्म भान्जा अझै जीवित पो छन् कि भन्ने आश पनि लागेको उनले बताए। 

परिवारका अनुसार विकास ललितपुरमै रहेको पिनाकल क्याम्पसमा स्नातक दोस्रो वर्षमा पढ्दै थिए। उनकी एउटी बहिनी छिन्।

घरका एक्लो छोराको अवस्था एकिन नहुँदा रसाइली परिवार ठूलो चिन्तामा परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad