तराई-मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटारमा निर्माणाधीन सुरुङमा काम गर्ने क्रममा फलामे उपकरण खस्दा एक कामदारको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
सोमबार राति ९:४५ बजेतिर सुरुङभित्र काम भइरहेका बेला ‘रिपिट’ नामको फलामबाट बनेको उपकरण अचानक खस्दा बर्दिया घर भएका अन्दाजी ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए।
त्यसपछि उनलाई हेटौँडा-११ थानाभर्याङस्थित सीएमसी चुरेहिल अस्पताल ल्याइए पनि उपचारका क्रममा सोमबार राति ११:४० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीसँगै घाइते भएका मकवानपुरको थाहा नगरपालिका-५ सानोपाखा निवासी २२ वर्षीय सन्तोष बम्जनको भने त्यही अस्पतालमा उपचार जारी छ। उनको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दोभासेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, निवासी ३० वर्षीय बेनु परियारले उनीहरूलाई अस्पताल पुर्याएका थिए।
घटनाबारे अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक प्रमोद प्रसाद साह तेलीको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
अनुसन्धानमा मद्दतका दोभासे बेनु परियारलाई पनि जिल्ला प्रहरी कार्यालय, मकवानपुर ल्याइएको छ।
चौधरीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया