बागमती प्रदेशको पाँच जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको छ।
देशभर महामारीको रूपमा देखिएको बर्ड फ्लू संक्रमण बागमतीका पाँच जिल्लामा फैलिएको हो।
प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा बर्ड फ्लू संक्रमण देखिएको छ।
यी पाँच जिल्लामा गत चैत ११ देखि हालसम्म २ लाख ८ हजार २५२ पन्छी नष्ट गरिएको छ। यस अवधिमा ती फार्महरुमा रहेका ५ लाख ५ वटा अण्डा र ८८ हजार ६ सय केजी दाना नष्ट गरिएको छ।
निर्देशनलायका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार संक्रमण पुष्टि भएको चितवनको खैरहनी नगरपालिका–१ मा ३८ हजार २ सय कुखुरा नष्ट गरिएको छ भने २ लाख ९५ हजार ५० वटा अण्डा र १२ हजार केजी दाना नष्ट गरिएको छ।
चितवनकै भरतपुर महानगरपालिका–४ मा रहेको फार्मबाट १८ हजार ८६३ कुखुरा, ५५ हजार ४४० अण्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको छ।
यस्तै, काभ्रेका दुईवटा स्थानीय तहमा बर्ड फ्लू संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। काभ्रेको बनेपा नगरपालिकाको दुईवटा वडा र पनौती नगरपालिकाको तीनवटा वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएर पन्छी नष्ट गरिएको हो।
डा. घिमिरेका अनुसार बनेपा नगरपालिका–६ मा ५ हजार २१ कुखुरा, १ हजार ५ सयवटा अण्डा नष्ट गरिएको छ भने बनेपा नगरपालिका–१३ मा १ हजार ४५७ वटा कुखुरा, २ हजार ८ सय अण्डा र १ हजार २५० केजी दाना नष्ट गरिएको छ।
पनौती नगरपालिका–९ मा रहेको फार्मबाट ९ हजार ३९१ कुखुरा, ५ सयवटा अण्डा र ५ सय केजी दाना नष्ट गरिएको छ।
पनौती नगरपालिका–७ मा रहेको फार्मबाट २७९ वटा कुखुरा, १६ वटा अण्डा र ५० केजी दाना नष्ट गरिएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. घिमिरेले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ लाख ३५ हजार ४१ कुखुरा नष्ट गरिएको तथ्यांक छ।
त्यस्तै १ लाख ४४ हजार ७४४ वटा अण्डा र ६१ हजार ७५० केजी दाना नष्ट गरिएको छ।
डा. घिमिरेका अनुसार बागमती प्रदेशका अन्य जिल्लामा बर्ड फ्लू नदेखिए पनि हाल देखिएका जिल्लाहरुमा भने संक्रमण नियन्त्रण बाहिर गएको छ।
हरेक दिन फरक/फरक फार्महरुमा बर्ड फ्लू पुस्ति भइरहेको उनको भनाइ छ।
निर्देशनालय, प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जिल्लास्थित पशु सेवा कार्यालयले संक्रमण फैलिएको क्षेत्रका पन्छी नष्ट गर्ने, क्षति विवरण संकलन गर्ने तथा संक्रमण फैलिएको स्थानलाई सुरक्षित गर्ने गरिरहेका छन्।
Shares

प्रतिक्रिया