बागमती


मत बदर हुन नदिन मकवानपुरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम

‘पढेलेखेका मतदातालाई समेत भोट हाल्ने सही तरिका थाहा रहेनछ’
मत बदर हुन नदिन मकवानपुरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम

सुनिता विष्ट
फागुन ९, २०८२ शनिबार १३:५०, हेटौँडा

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा पनि तीव्र रूपमा तयारी भइरहेको छ। 

दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाखभन्दा बढी मतदाता छन्। तर भोट हाल्ने सही तरिका जानकारी नहुँदा गत निर्वाचनमा कुल मतको ४.४६ प्रतिशत मत बदर भए।

यसपटक त्यस्तो नहोस् भनेर यतिबेला जिल्लाका १०२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।

सकेसम्म मत बदर हुने अवस्था नआओस् भन्ने उद्देश्यले सञ्चालित अभियानअन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहका सबै वडामा मतदाता शिक्षा स्वयंसेवक खटिएका छन्। 

यसअघि प्रत्येक पालिकाबाट एक-एकजना अनुगमनकर्तालाई तालिम दिइएको थियो। तालिमप्राप्त अनुगमनकर्ताले आफ्ना पालिकाका प्रत्येक वडाबाट एक-एकजनालाई तालिम दिएपछि वडा तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो।

प्रत्येक वडामा बालविकास सहजकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा परिचालन गरिएको छ।

मतदाता शिक्षा स्वयंसेवकका अनुसार पढेलेखेका मतदातालाई समेत मतदान गर्ने सही प्रक्रिया थाहा नभएको पाइएको छ।

मतपत्रमा सही स्थानमा छाप नलगाउने, छाप लगाउँदा चिह्नभन्दा बाहिर जाने, वा मतपत्र गलत तरिकाले पट्याउने जस्ता ससाना त्रुटिले पनि मत बदर हुने मतदाता शिक्षाका लागि खटिएकी स्वयंसेवक सपना लामिछाने बताउँछिन्।

‘पढेलेखेका र वर्षौंदेखि राजनीतिमै लाग्नुभएकाहरूले पनि मतदान गर्ने सही तरिका जान्नु भएको पाइएन’, उनले भनिन्, ‘छाप लगाउँदा मधुरो भए दोहोर्‍याउने, छाप लगाइसकेपछि लतपतिने गरी मतपत्र पट्याउने जस्ता समस्या धेरै देखियो।’

मत हाल्ने सही तरिका थाहा पाउँदा वर्षौँदेखि मतदान गरिरहेका मतदाताहरू समेत छक्क परेका छन्।

सानो गल्तीले पनि आफ्नो अमूल्य मत बदर हुने र त्यो गन्ती नहुने कुरा थाहा पाएपछि मतदाता शिक्षा लिन उत्साहित देखिएका छन्।

उम्मेदवारहरूले आफ्नो चुनाव चिह्नमा मात्रै मत हाल्न सिकाए पनि बदर नहुने तरिका नसिकाउँदा मतदाताहरू अझ अन्योलमा पाइएको प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए। 

जसकारण स्वयंसेवकहरूले घरदैलोमै पुगेर मतदातालाई नमुना मतपत्रका साथ मतपत्रमा सही तरिकाले छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाइरहेका छन्।

मतदाता शिक्षाले मत बदर हुने सम्भावना घटाउनुका साथै निर्वाचनमा सहभागिता पनि बढाउने ढकाल बताउँछन्। 

उनका अनुसार मत बदरलाई शून्यमा झार्न नसकिए पनि अघिल्लो निर्वाचनको तुलनामा केही प्रतिशत घटाउने लक्ष्य छ।

यसपटकको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी बनाउन मतदाता शिक्षा अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad