हालसालै हङकङको तुङचुङ सहर पश्चिमपट्टि यात्तुङनजिकै मुनिको बाटो हिँड्दै गर्दा ह्वास्स बाख्राको खोरको गन्ध आयो। यसो वरिपरि हेरेको त एकजना चिनियाँ दिदी घाँसका हाँगा छिमल्दै रहिछन्। घाँसको गन्ध पाएर होला – बाख्राहरू टिनले बारेको खोरमाथि टाउको निकालेर ‘म्याँम्याँ’ गर्दै हेरिरहेका थिए।
टक्क अडिएर मैले सोधेँ, ‘ले हो मा?’ (तपाईंलाई कस्तो छ?)
पुलुक्क हेरेर ‘आई एम गुड गुड’ भन्दै फेरि स्याउला छिमल्न एकाग्र भइन्। उनी अंग्रेजी पनि बोल्दिरहिछन् भन्ने लख काटेँ मैले।
हुन त हङकङका अन्य गाउँले भेगमा पदयात्रा गर्दा पनि व्यावसायिक वा निजी बाख्रापालन गर्नेहरू भेटिन्छन्। दसैँमा र अन्य चाडबाडमा पनि खसी–बोका किन्ने हङकङे नेपाली - उनीहरूका पहिलो रोजाइका ग्राहक हुन्। अस्ति भर्खरैको पदयात्रामा सामचेङमाथिको गाउँले होटलमा खाजा खाएर सुस्ताउँदै गर्दा चरिरहेका खसी-बोका देखाएर चिनियाँ साहुजीले ‘इफ यु वान्ट टु बाई गिभ यु गुड प्राइस’ भनेका थिए।
तर तुङचुङको यो ठाउँ अन्तजस्तो व्यवस्थित थिएन। करिब–करिब नेपालको जस्तै भएकाले बाल्यकालको धादिङ केवलपुर नै पुगेँ, म केही बेर।
सफा नीलो आकास, चिसो-चिसो मौसम र खोरको गन्धले दसैँ सम्झिएँ मैले। हङकङ बसाइको ३३ वर्षपछि पनि मेरो बाल्यकालले मलाई छाडेको छैन।
अझ दसैँ – नयाँ नाना, चिची, टीका, दक्षिणा, भए भरका रोटे, जाँते, लिङ्गे, लठ्ठे पिङहरू, ओखर, तास, कौडा लङ्गुरबुर्जा एकैचोटि सम्झिन पुगेँ, खासगरी खोरको बोके गन्धले।
मलाई उनीसँग अझै बहकिन मन लाग्यो। गफ गर्ने बाहना खोज्दै भनेँ, ‘बाई द वे हाउ मेनी गोट यु ह्याभ?’
अलि रुखो रुखो स्वरमा ‘ओ यु वान्ट टु बाई? सरी नट फर सेल’ उनले भनिन्।
मैले भनेँ, ‘किन्नका लागि हैन, हैन। मेरो देशमा मेरो गाउँले बाल्यकाल पनि बिलकुल यस्तै परिवेशमा हुर्किएकाले जान्न मन लागेको मात्र हो।’
उनी एप्रोन टकटक्याउँदै उठिन् र भनिन्, ‘ओके, जस्ट वेट।’
बाख्रालाई स्याउला दिइन्, अनि मतिर फर्किएर सोधिन्, ‘तिमी कुन देशका हौ?’
‘नेपालको’, मैले भनेँ।
‘ओ मि जेनी’, उनले भनिन्।
‘आई एम कमल’, मैले भनेँ।
‘ओ मैले त तिमी पाकिस्तानका हौ कि भनेर त्यति वास्ता नगरेको। उनीहरू किन्न दे कि दे भनेर हैरान पार्छन् सधैँ। हेर्दा त तिमी पनि उस्तै देखिन्छौ त्यै भएर’, उनले भनिन्।
‘अनि किन पालेको त यतिका बाख्राहरू’, मैले सोधेँ।
उनले भनिन्, ‘म शुद्ध शाकाहारी हुँ। करिब ८ वर्ष पहिला यहीँ पर चउरमा सायद कुकुरले टोकेर घाइते भएको ब्याउनी बाख्री मेरो गोडामा आएर लुटपुटियो। कसको हो, थाहा भएन। माया लाग्यो, घर ल्याएर मल्हमपट्टी गरेर पालेँ। कोही खोज्न पनि आएनन्। दुई महिना पछि त तीनवटा पाठा पायो। अहिले बढ्दै बढ्दै एघारवटा छन् जम्मा। मेरो जीवनसाथी बालबच्चा हुन् – यिनीहरू। असाध्यै माया लाग्छ, बाँचुन्जेल पाल्छु, मरेपछि सदगद् गर्छु।’
‘अनि किन त शाकाहारी, धार्मिक कारण?’
‘हैन, यिनीहरूलाई मारेर नखाए पनि बाँचिन्छ त खानेहरु बाँचेजत्तिकै! हाम्रा कारण कुनै पनि जीवात्माले दुःख पाउनु हुँदैन, त्यही नै धर्म हो।’
‘ग्रेट थट जेनी, आई एम अल्सो हाफ भेजिटेरिएन नाउ अ डेज’, मैले हो मा हो मिलाएँ।
यत्तिकैमा यौटा जखमले बोको घाँस खान छाडेर जेनीतिर आयो। जेनीले सायद यो तिर्खाएको हुनुपर्छ भन्दै पानी दिइन्।
मेरो हात सगसगायो।
‘क्यान आई टच हिम?’, मैले सोधेँ।
‘एस, यु क्यान बट’ भन्दै उनले मेरो हातमा स्प्रे हालिदिइन्।
मैले हातले उसको गर्धन कन्याइदिएँ, मुसारेँ निकैबेर, ऊ लुटपुटियो, लहसियो मसँग।
यो त करिब–करिब हाम्रो जमानामा काठमाडौं गणेशथान र कालभैरव वा मनकामना मन्दिर वरिपरि घुम्ने पूजा गरेर छाडिएको जत्तिकै ठूलो र बोके गन्धयुक्त थियो।
जेनीलाई सान्त्वना दिन मैले भनेँ, ‘हाम्रो देशमा पनि कतिले त यस्ता बोका र साँढेहरूलाई सानैमा मन्दिरमा लगेर पनि चढाउँछन्।
ठूलो भएपछि पनि कसैले मारेर खाँदैनन्। अनि कतिपयले मन्दिरमा परेवा पूजा गरेर पनि छाड्छन्, उडाउँछन्।
‘वाउ ग्रेट द्याट्स सो नाइस्’, उनले भनिन्।
‘एनिवे नाइस टु मिट यु, आइ विल कम नेक्स्ट् टाइम विथ माई फेमेली, थ्याङ्क्यु सो मच’ भन्दै आफ्नो बाटो लागेँ।
बाटामा पालैपालो दुवै हात सुँघेँ – उही बोकाको तीखो गन्धले म फेरि अतीतमा डुबेँ।
दसैँमा काँसको थालमा बोकाको मासु, भित्र्याँस, चिउरा वा भात, मासको दाल, काँक्रोको खल्पी, कचौरामा एकराते दही याद आयो। अझ हात धुने साबुन हुन्थेन, त्यो बेला। दिनभरि हात सुँघ्दा उही बोके गन्ध – अहिलेको महँगो अत्तरभन्दा सुगन्धित लाग्थ्यो।
पेटभरि मासु खान दसैँ नै आउनुपर्ने जमानामा हिजोआजजस्तो सहरबाट जिउँदा पशुपन्छी वा मासु अड्कलेर किनेर ल्याउने चलन थिएन। किनेर ल्याउने भनेको नुन, जिरा र गरम मसाला मात्रै हो। बारीकै खुर्सानी, अदुवा, लसुन, बेसार र तोरीको तेल दसैँका लागि छुट्याएर जोगाड गर्नुहुन्थ्यो आमाले। अहिलेजस्तो मासुमा प्याज र गोलभेँडा हाल्ने चलन थिएन।
दसैँका बेला महँगो हुने हुनाले गाउँभरि धेरै पहिलादेखि नै खसी–बोकाको जोहो गर्थे गाउँलेले – आआफ्नै घरमा पालेर वा किनेर। परिवार र पाहुनाको संख्याअनुसार सानो, मझौलादेखि ठूलोसम्म हुन्थे – खसी-बोका। कतिपयले ठूलै खसी काटेर दामासहीले मासु भाग लगाउँथे।
हाम्रो सानो परिवार र पाहुना पनि कम आउने भएकाले अक्सर बोको किनेर ल्याउनुहुन्थ्यो बाले।
दसैँ आउनै लाग्दा चोटाबाट बिहान उठेर काठे भर्याङ ओर्लिएर बाख्राको खोरमा बसेर बोके बोके भन्दै म पटकपटक उसको अण्डकोष सुम्सुम्याउँथे। बोको मलाई हान्न आउँथ्यो।
आमाले ‘ल हेर यल्ले उठ्नीबित्तिकै फेरि बोकालाई दुःख दियो’ भन्दै मलाई लखेटनुहुन्थ्यो। म भागेर आगनमा पुग्थेँ।
बोको काटेपछि त्यसको राजखानी वा पुरुषग्रन्थी के कारणले हो, महिलाले खाने चलन थिएन। आमाले सानो दिउरेमा भुटिदिपछि बा र मैले मात्रै खान्थ्यौँ। यसैले मेरो बाल मष्तिस्कमा मैले नै खाने हो पछि भनेर सुम्सुम्याउने लागेको बानी मौका परे अझै पनि गएको छैन।
केवलपुरको बस्तीमा गाउँको उत्तर–पश्चिममा स्याङ्तान थरका तमाङहरू गाउँको पुछारको तल्लो पीपलमा फूलपातीको दिउँसो थारो भैँसी वा राङो काट्थे सबै मिलेर। त्यो बाहेक खसी–बोका, कुखुरा–हाँस पनि गच्छेअनुसार काट्थे अष्टमीको दिन।
पूर्वपट्टिको सेते मिजारको घरको आँगनमा भैँसी काटेको हेर्न पनि गाउँभरिका उरन्ठेउला केटा घरमाथि बारीको डिलमा जम्मा हुन्थे।
ठूलो पोखरीमा नेवार मूलका मानिसले पाडो वा राङो काट्थे खाने मानिसको संख्याअनुसार। सानो संख्यामा रहेका परियार, सुनार अनि कुँवर, जोगी र घर्ती समुदायका मानिसले पनि खसी–बोका र कुखुरा खान्थे। बाहुन–क्षत्रीहरूले बोका–खसीबाहेक भीमसेनथानमै भाकल गरेको जोडी परेवा पनि मिसाउँथे।
अष्टमीको दिन बिहानैदेखि गाउँमाथिको भीमसेनथानमा लाइन लागेर बोका, राङा, हाँस, कुखुरा, परेवा बलि चढाइन्थ्यो। मार हान्न सौखिन गाँउले युवा चम्किलो खुकुरी दापमा हालेर गाउँ घुम्थे।
आँनमा खड्कौलोमा पानी तताएर, खुकुरी उध्याउँदै तेल, बेसार र ढोडको अचानु तयार भएपछि मार हानेको हेर्न भने सक्तिनथेँ म। तर काटिसकेपछि खुइल्याएर तेल, बेसार दल्दै गर्दा हामी बच्चाहरू बोकाको कान पोलेर खान भने रमाउँथ्यौँ।
आंशिक वा पाक्षीक मांशाहारी भए पनि बलिप्रथा र जातीय विभेद बालाई मन पर्दैनथ्यो।
‘खान मन लागे त्यसै खाए भैगो नि! ढुंगामा रगत छर्किएर केको भाकल न साकल, अन्धविश्वास हो यो’, उहाँ भन्नुहुन्थ्यो।
घरमा जमरा राख्ने वा पूजा गर्ने चलन थिएन। विजया दशमीका दिन छिमेकी वा मन्दिरबाट जमरा ल्याएर आमाले सबै तयार गरेपछि टीका भने लाइदिनुहुन्थ्यो बाले।
कतिपय धार्मिक विश्लेषकका अनुसार इतिहासको कालखण्डमा भारत हुँदै नेपाल प्रवेश गरेका आर्यन सुरुमा शाकाहारी थिए। कम कृषि उब्जनी र बढदो जनसंख्याले उनीहरू सिकार पनि खेलेर बाँच्न बाध्य भए। त्यसलाई कालान्तरमा काल्पनिक भगवान् वा देवताको नाममा बलि दिएर खाँदा न्यायोचित हुने ठहरसँगै बलिप्रथा सुरु भएको र उनीहरू मांशाहारी बनेको विश्लेषण धार्मिक विश्लेषकहरूले गरेका छन्।
हङकङमा मेरो चिनजानका धेरैजसो भारतीय हिन्दू मित्रहरू नवरात्रीदेखि पूर्णिमासम्म शाकाहारी हुन्छन् भने कतिपय त उपवास बसेर दारी नकाटी अलिनो खान्छन्। यस विषयमा साहित्यकार मोदनाथ प्रश्रितले आफ्नो पुस्तक ‘विचार र अन्तरद्वन्द्व’मा गहिरो र तार्किक विश्लेषण गरेका छन्।
जे भए पनि यात्तुङको खोरको बोके गन्धले मलाई भने मेरो अतीतमा डुलायो बेस्कन।
दसैँको अर्को रमाइलो पक्ष नाना अथवा नयाँ कपडा हुन्थ्यो।
आकाश उघ्रिएर मकैबारी सुकेर धान, कोदो झुल्दै गर्दा गाउँका दर्जीहरू बिहानैदेखि काँधमा लुगा सिउने कल बोकेर पालैपालो गाउँका घरघर पुग्थे। लुगा सिलाएको नगद दिने चलन थिएन। घरका जहानको संख्या अनुसार अन्न दिने चलन थियो – एकमुस्ट सिजनअनुसार।
गाउँकै टाउके साहुको पसलबाट बाले टेलरिङको बुसट र खद्दडको हाफप्यान्ट अगाडि दुईतिर र पछाडि पनि बगली हाल्ने भनेर सिलाउन दिँदा कति खुसी भइन्थ्यो।
अहिले कतै जाँदा दराज खोलेर कुन लुगा लाऊँ भनेर एकछिन सोच्नपर्छ।
भदौ लाग्नेबित्तिकै धार्के छापका जेठा मिजार आशा चुरोटको पेटीमा अँगारले कोर्दै गोडाको नाप लिएर जान्थे। अनि नौरथा भित्रमा बाँसबारी छालाको जुत्ता सिलाएर ल्याइदिन्थे मलाई। बानी नपरुन्जेल गोडामा फोका उठेर हैरान भइन्थ्यो। जुत्ता, मोजा लाएर गोडामा हेर्दै हिँड्दाको मजै अर्काे हुन्थ्यो।
अहिले परिवारका सबैको गरेर उतिबेलाका जुत्ता पसलजत्तिकै घरमा जुत्ता हुन्छन्।
अक्सर मकै, गहुँ, भटमास, रोटी वा बासी भात खाजा खाइने जमानामा चिउरा खान या त विवाह, व्रतबन्ध वा दसैँ नै आउनपर्थ्यो। धेरै खेत हुनेहरूले असारमा बेठी हालेर (पञ्चे बाजा बजाउँदै) रोपाइँ गर्दाचाहिँ गहुँ, भटमास, काँचो आँपको अमिलो फाँडोसँगै चिउरा पनि खाजामा दिइन्थ्यो।
तर दसैँको चिउरा विशेष लाग्थ्यो। आमा र हजुरआमाले बेलुका आँगनमा चुलाढुंगा लाएर ठूलठूला खड्कौंलोमा धान उसिन्नु हुन्थ्यो। बेलुकै ढिकीमा फलामको काँजो भएको धान कुट्ने मुसल निकालेर चिउरा कुट्ने काठको बोधो मुसल फेरिन्थ्यो।
बिहान ४ बजेदेखि पिँढीमा चिउरा कुट्दा घरै थर्किन्थ्यो। म पनि उठेर हेर्थेँ।
हजुरआमा उसिनेर नाङ्लोमा तर्याएको धान हाँडीमा भुट्नुहुन्थ्यो। पारि घरकी भाउजु ढिकीको पुछारमा अनि आमा दाबिलो र नाङ्लो लिएर ओखलको साइडमा।
आमाले एकाग्र भएर तीनवटा काम भ्याउनुहुन्थ्यो। दाबिलोले ओखलमा चिउरा चलाउने, तयार भएपछि ढिकी चल्दा चल्दै हातैले निकाल्ने अनि निफनेर डालोमा राख्ने।
घरैभरि चिउराको बास्ना छाउँथ्यो। अहिले सम्झिँदा कचौरामा दूध वा दही वा घिउ, चिउराको बास्ना, स्वाद अहिले हङकङमा खाइने अस्ट्रेलियन दूध र अमेरिकी कर्नफ्लेक्सभन्दा कताकता स्वादिलो र स्वस्थकर हुन्थे।
फूलपातीको रात कहिले उज्यालो होला भन्ने हुन्थ्यो। अष्टमीको दिन बिहानै नयाँ लुगा, जुत्ता, मोजा लाएर दुईवटा बगलीभरि चिउरा भरेर ठूलो पोखरीको लट्ठे पिङमा पुगिन्थ्यो।
चिउरीपाटीको लिङ्गे पिङ पनि खेलेर तल्लो चउरको काठको रोटे पिङमा पुगिन्थ्यो। यसमा भने लामै लाइन बस्नुपर्थ्यो।
टीकाको दिनमा छोरीहरूलाई मात्रै दक्षिणा दिने चलन भएकाले अलि मजा आउँदैनथ्यो। दक्षिणा आउने मामाघर मैले थाहा पाइनँ। बाइस वर्षमा मामा बितेपछि सबै जायजेथा लिएर हाम्रै घरमा बस्न आउनु भएको मावलीको हजुरआमाले भने टीका लाएर सुका, मोहोर दिनुहुन्थ्यो।
गाउँको माथि भीमसेनथानमा नेवारमूलका पुजारीले भेटी सोहोरेको देखेर लोभ लाग्थ्यो।
पुजारी नबस्ने गढीको गणेशथान, कटवालेको घरमुनिको देवीथान, जम्भोथान र महाङ्कालथानमा भने म बिहानै ४/५ चक्कर लाउँथे। दुई, पाँच र बढीमा दस पैसा टिपेर तीनसुका वा कहिले त एक रुपियाँ नै पुग्थ्यो।
टीकाको दिन हाम्रो आगनभरि गुन्द्री ओछ्याएर गाउँभरिका मानिस जम्मा भएर तास खेल्थे। हामी केटाकेटी भने साइडमा लङ्गुरबुर्जामा झुम्मिन्थ्यौँ। टीकाको दिन र भोलिपल्टदेखि गाउँभरि रातै, पहेँलै टीका, जमरा लाएर आउने/जानेको भीड पूर्णिमासम्म हुन्थ्यो। यसरी यौटा रमाइलो मौसम, खुसी र मनोरञ्जनको बहार लिएर दसैँ आउँथ्यो र जान्थ्यो, हरेक वर्ष।
हङकङ बसाइमा उमेर र मनले खाएका पुजनीय वृद्ध बा वा आमा भेटे टीका थाप्न रमाइलो लाग्छ। नभए मलाई पहिला छोरीले लगाइदिन्छिन्, अनि म सबैलाई। हरेक वर्ष मौसम, परिवेश र समयले दसैँ मनाएर, सम्झाएर जान्छ – सात समुद्रपारि पनि।
यसरी बोके गन्धको हात सुँघ्दै दसैँ सम्झिँदै अन्तरमनमा गुनगुनाउँदै यात्तुङबाट तुङचुङको घर आइपुगेको पत्तै भएन।
घरको दैलो छिरेर बेन्जुको नाकमा हात सुघाँइदिएँ। जन्मस्थान एउटै जिल्ला र परिवेशमा हुर्केकी उनले भनिन्, ‘हैन के अचम्म! काँबाट यस्तो छिप्पिएको बोकाको कडा गन्ध तपाईंको हातमा?’
छोरी कायाले ममी के भयो भन्दै गर्दा उनलाई पनि सुघाँइदिएँ।
‘ओ, नो सो डिस्कस्टिङ’ याने कि ‘सो ब्याड स्मेल’ भन्दै उनी भागिन्।
अनि परैबाट भनिन्, ‘ल हेर्नु मलाईचाहिँ स्कुलबाट आएर हात नधोई कतै नछुनू भन्नी अनि आफूले चाहिँ जे गरे नि हुनि यो घरमा?’
‘सरी! छोरी इट्स लाइभ अ मेल गोट स्मेल नियर यात्तुङ आई टच हिम लाइक माई चाइल्डहुड’, भनेँ।
फेरि दुवै हात अन्तिमपटक सुँघेर धोएँ साबुनले।
‘दसैँ आउँदै छ, थाहा होला नि?’, छोरीलाई भनेँ।
‘अँ, अँ...के बार, कैले’ भन्दै मसँगै टाँस्सिन आइपुगिन् उनी।
‘बुधबार’, मैले भनेँ।
हिसाब गर्न थालिन् र भनिन्, ‘यसपालि पनि बाउ १ सय, ममी १ सय अनि विराज हङकङमा छैन यसपालि भन्दै दक्षिणा र न्यास्रो दुवै कारण अलि दुःखी भइन्।
‘क्रिसमसमा आउँदा दिइहाल्छ नि दादाले’, मैले भनेँ।
हाम्रो पुस्ताको मन–मष्तिकमा यसरी गढेको दसैँको महत्त्व पछिल्लो पुस्तामा कम हुँदै गइरहेको देखिन्छ। अझ दसैँ आउनै लाग्दा सामाजिक सञ्जालमा बहिष्कार, स्वीकार, हाम्रो हो, होइन, मनाउनु पर्छ, खबदार पर्दैन भन्ने वादविवादबारे तर्क र बहसभन्दा हाल अमेरिकावासी कवि पेशल पोखरेलको कविता गुनगुनाएँ – हङकङको आकासमुनि :
मैले भनेको मान्छौ भने
यसलाई हिन्दूको नभन
नेपालीको भन
धार्मिक नभन
सांस्कृतिक भन
कसैको विजय–पराजयसँग जोड्दै नजोड यसलाई
बरु आत्मीयतासँग जोड
पारिवारिक सम्मिलनसँग जोड
हार्दिक बनाऊ
सामाजिक बनाऊ
कुनै तिथि, कुनै विजय–कथामा नखुम्च्याऊ यसलाई
संकीर्णताको कुरा गर्दै नगर
यसलाई उज्यालो संस्कृति मान्छौ भने
सुन्दै दम्भ, अहंकार सुनिने
‘विजयादशमी’को शुभकामना नपठाऊ मलाई
बिन्ती
यसलाई ‘दसैँ’ भन
समग्र नेपालीको दसैँ
मौलिक दसैँ
र, दसैँ र बडादसैँको शुभकामना, सद्भाव पठाऊ।
प्रतिक्रिया