बेइजिङको मियाओइङ मन्दिर अगाडि उभिएको अरनिकोको सालिक, जहाँ पुग्ने हरेक नेपालीको छाती गर्वले फुल्छ

बेइजिङको मियाओइङ मन्दिर अगाडि उभिएको अरनिकोको सालिक, जहाँ पुग्ने हरेक नेपालीको छाती गर्वले फुल्छ

इन्दर पुन
असोज ५, २०८२ आइतबार १२:२६, हङकङ

चौथौ पटकको बेइजिङ यात्रामा बल्लतल्ल राष्ट्रिय विभूति अरनिकोको सालिक दर्शन गर्ने शुभसाइत जुर्‍यो। साँच्चै, यस्ता विशेष स्थानको भ्रमण चाहेर मात्र नहुने रहेछ, समय र संयोग दुवै मिल्नुपर्ने रहेछ। यो अनुभवले मेरो मनमा गौरव र इतिहासप्रति सम्मानको एउटा गहिरो छाप छोडेको छ, जुन मेरा विगतका यात्राभन्दा बिल्कुलै फरक थियो।

विगतका यात्रा र पहिचानको खोजी
मैले सन् २०१७ मा पहिलो पटक बेइजिङ टेकेको थिएँ। त्यतिबेला ठूलो समूहलाई व्यवस्थापन गर्ने पर्याप्त अनुभव नहुँदा म आफैँभित्र हराएको थिएँ। केही सहभागी बिरामी पर्दाको तनाव, ठूलो समूहलाई सम्हाल्नुपर्ने चुनौती, यी सबैले मलाई अल्झाएको थियो। त्यो यात्राबाट मलाई याद रहेको भनेको ‘फरबिडन सिटी’को सुनौलो रङको न्यानोपन र त्यसको अर्थपूर्ण कथाले भरिएको समृद्ध इतिहास मात्र हो, जुन कुरा म आज पनि त्यहाँ पुग्दा महसुस गर्छु।

सन् २०२४ मा दुई पटक बेइजिङ पुग्दा मैले ‘ग्रेट वाल’को जुयोङ पास र बाडालिङ खण्डको भरपुर आनन्द लिएँ। तर, अरनिकोको सालिक रहेको स्थानमा जाने सोचसम्म आएन। हामीले किन आफ्नो यात्रा तालिकामा यो महत्त्वपूर्ण ठाउँलाई बिर्सियौँ? आज यो प्रश्नले मलाई झस्काउँछ।

यो यात्राको अनुभव मेरो व्यक्तिगत जागरणसँग पनि जोडिएको छ। म मगर समुदायबाट हुँ, तर मेरो ठाउँ (पर्वत) मा मगर परम्परा लगभग हराइसकेको छ। जान्ने-बुझ्नेहरू भन्छन्, त्यस भेगका मल्ल राजाहरूले हाम्रो भाषा बोल्न दिँदैनथे, दण्डित गर्थे र उत्पीडनमा पार्थे। हिन्दूकरण तथा सोही उत्पीडनमा पर्दा न हाम्रो भाषा बच्यो, न त मौलिक संस्कृति। सायद त्यसैले होला, हाम्रो संस्कृति कमजोर भयो वा हेपिन पुग्यो। हाम्रा धेरैजसो परम्परा झाँक्रीले भन्ने गरेका मौखिक कथन (ओंखा) मा आधारित छन्।

मलाई बाल्यकालको एउटा घटना याद आउँछ। हाम्रो छिमेकी गाउँ काफलडाँडामा हामीले पुज्ने कुलदेवता ‘करकेली बाबा’ को बारेमा एउटा अनुसन्धान भएको थियो। त्यहाँको एउटा ठूलो पहरामा, आफ्नै छोराहरूले मह काढ्ने निहुँमा भर्‍याङ काटेर अड्काइदिएका करकेली बाबालाई गरुडले बचाएको भन्ने झाँक्रीको कथन छ। त्यतिबेला म सानै थिएँ र त्यो कार्यक्रम त्यही कथनको अनुसन्धान र अवलोकनको लागि गरिएको थियो। अहिले आएर बल्ल महसुस हुँदैछ, त्यो वास्तवमा लेखिन नसकेको हाम्रै इतिहास बुझ्ने एउटा प्रयास रहेछ।

अहिले मलाई बारम्बार एउटा प्रश्नले घोच्छ- हाम्रो लिखित इतिहास खोइ? हाम्रो उत्पत्ति कसरी भयो, हाम्रा पुर्खाहरू कहाँबाट आए? हालसालै केही पुस्तक लेखिएका छन्, तर ती हाम्रै समकालीन अग्रजहरूको अनुसन्धानमा आधारित छन्, कुनै वैज्ञानिक रूपमा प्रमाणित इतिहास छैन। यही अभावले गर्दा होला, मेरो भित्रभित्रै ‘हाम्रो वास्तविक पहिचान के थियो?’ भन्ने जागरण सुरु भएको।

सायद आफ्नो इतिहासको यही खोजले मलाई अरूका जीवन्त र लिखित इतिहासप्रति झनै आकर्षित गर्‍यो। पहिले म मानिसहरूलाई रमाइलो र जीवनभरको बिर्सन नसकिने पल संगाल्नको लागि घुम्नुपर्छ भन्थेँ। तर आज, मेरो यात्राको उद्देश्य बदलिएको छ। म गन्तव्यको संस्कृति, इतिहास, कला, खाना र भाषाको गहिरो खोजी गर्छु र आफ्ना सहयात्रीहरूलाई पनि त्यसै गर्न प्रेरित गर्छु। यही बदलिएको दृष्टिकोणले मलाई यसपटक अरनिकोको दैलोसम्म डोहोर्‍यायो।

चिनियाँ भूमिमा नेपाली गौरव: अरनिको
उक्त सालिक बेइजिङको प्रसिद्ध मियाओइङ मन्दिर परिसरमा रहेको विशाल सेतो चैत्यको प्राङ्गणमा छ। यो त्यही चैत्य हो, जसको निर्माण अरनिको आफैँले गरेका थिए। आफ्नो महान् सिर्जनाको अगाडि उभिएको उनको सालिक देख्दा हरेक नेपालीको छाती गर्वले फुल्छ।

को हुन् अरनिको? केही ऐतिहासिक तथ्य
चीन यात्रा र योगदान: सन् १२६० मा प्रसिद्ध नेपाली कलाकार अरनिको चीन आएका थिए। युआन राजवंशको दरबारमा ४० वर्षभन्दा बढी समय सेवा गर्दा, उनले आफूलाई चिनियाँ र नेपाली संस्कृतिबीचको आदानप्रदान र प्रसारमा पूर्ण रूपमा समर्पित गरे।

नेपाली कलाको विस्तार: उनले नेपाली कलालाई चीनमा भित्र्याए र ‘बुद्धज् एपिअरेन्स फ्रम द वेस्टर्न प्याराडाइज’ नामक एक कला विद्यालयको स्थापना गरे, जसले पछिका पुस्तामा दूरगामी प्रभाव पार्‍यो।

विशाल सिर्जनाहरू: आफ्नो जीवनकालमा, उनले ३ वटा विशाल चैत्य र ९ वटा गुम्बाको निर्माण कार्य सम्पन्न गरे।

सेतो चैत्यको महत्त्व: मियाओइङ मन्दिरको सेतो चैत्य अरनिकोको सिर्जनाको सबैभन्दा उत्कृष्ट नमुना मात्र होइन, यो चीनको मातृभूमिको पुनर्मिलन, राष्ट्रिय एकता र चीन तथा नेपालबीचको मित्रताको प्रतीक पनि हो।

सालिकको कथा र मेरो अनुभव
सालिकमा अंकित विवरणअनुसार, सन् २००१ मा नेपाल अरनिको समाजले चीन-नेपाल सांस्कृतिक दूतको रूपमा उनको यो तामाको सालिक बेइजिङको सेतो चैत्य मन्दिरलाई उपहार स्वरूप प्रदान गरेको थियो। त्यो सालिक केवल एक मूर्ति मात्र थिएन, त्यो त नेपालको गौरवशाली, लिखित र प्रमाणित इतिहास, कला र विश्वमा नेपालीले छोडेको अमिट छापको जीवन्त प्रतीक थियो। आफ्नो इतिहास खोजिरहेको मजस्तो व्यक्तिका लागि योभन्दा ठूलो प्रेरणा के हुन सक्थ्यो र?

मन्दिरभित्रको बौद्ध दर्शन र नयाँ ज्ञान
अरनिकोको सालिक दर्शन गरेपछि मन्दिरभित्र प्रवेश गर्दा मैले जीवनमा पहिलो पटक सिद्धार्थ गौतमको यथार्थ मूर्ति देखेँ। त्यहाँ सिद्धार्थ गौतम, अमिताभ बुद्ध र भैषज्यगुरुका मूर्तिहरू थिए, जुन नेपाली शैलीमा बनेका छन्।

त्यस दिन बेलुका होटलमा आएर मैले मेरा साथी विश्वनाथ घिसिङलाई सोधेँ, ‘आज मन्दिरमा देखेको के हो, कसो हो?’ उहाँले बुद्ध धर्मको ‘महायान’ सम्प्रदायबारे विस्तृत जानकारी दिनुभयो र मेरो ज्ञानमा थप प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, ‘तपाईँहरूले त्यहाँ देखेको महायान बुद्ध धर्म हो तर हामी तामाङहरूले मान्ने चाहिँ तिब्बती बुद्ध धर्मको सबैभन्दा पुरानो ङिङ्मा सम्प्रदाय हो।’ यो कुराकानीले मेरो लागि बुद्ध धर्मभित्रको विविधताको नयाँ ढोका खोलिदियो।

नेपालमा अरनिकोको खोजी र हाम्रो दायित्व
अरनिकोको बारेमा स्कुलमा पढेको मधुरो याद थियो तर नेपालमा उहाँसँग जोडिएका यस्ता ठाउँ घुम्ने मौका कहिल्यै मिलेको थिएन। त्यो अवसर सिधै बेइजिङमा आएर प्राप्त भयो। यो देख्दा मनमा एउटा प्रश्न उठ्छ- सायद हामी आफ्नै इतिहास राम्रोसँग संरक्षण गर्न जान्दैनौँ वा हाम्रो पुरातत्व विभागले प्रभावकारी रूपमा काम गरेको छैन।

वास्तवमा, यस्तै ऐतिहासिक कथाहरू नै पर्यटनका लागि प्रमुख आकर्षण हुन्। यसले त्यो देशको गहिरो इतिहास बोकेको हुन्छ। यस्ता सम्पदाको राम्रो संरक्षण तथा सही प्रवर्द्धन गर्न सक्ने हो भने यसले पर्यटन क्षेत्रलाई ठूलो योगदान दिनुका साथै पर्यटकलाई एउटा भिन्न र बलियो आकर्षण प्रदान गर्दछ। अरनिकोको बारेमा नेपालमा के-कहाँ छ, त्यो त थाहा भएन, तर उहाँको महान् कीर्ति बेइजिङमा आएर देख्नु मेरो भाग्यमा लेखेको रहेछ।

बेइजिङ यात्राका लागि मेरा केही सुझाव
मेरो अनुभवको आधारमा, बेइजिङ घुम्न जाने जोकोहीलाई म यी स्थान नछुट्याउन सुझाव दिन्छु:

  • फरबिडन सिटी र तियानमेन स्क्वायर: इतिहास र वास्तुकलाको अनुपम संगम
  • टेम्पल अफ हेभन र समर प्यालेस: शान्त र मनमोहक शाही बगैँचाहरू।
  • ग्रेट वाल: यसका तीनवटै खण्डको आ-आफ्नै महत्त्व छ, तर यदि एक रोज्नुपर्‍यो भने म मुतिआन्याउ खण्ड सिफारिस गर्छु।
  • ओलम्पिक स्टेडियम (बर्ड्स नेस्ट): आधुनिक वास्तुकलाको उत्कृष्ट नमुना
  • स्थानीय खानाको स्वाद: बेइजिङको स्थानीय खाना, विशेषगरी पेकिङ रोस्ट डक को स्वाद लिन नबिर्सनुहोस्।
  • हुतोङमा स्थानीय जीवनशैली: पुरानो बेइजिङको अनुभव लिन साँघुरो गल्लीहरू (हुतोङ) मा घुम्नुहोस् र त्यहाँका स्थानीय वृद्धवृद्धाको दैनिक क्रियाकलापमा सहभागी हुने प्रयास गर्नुहोस्।
  • रेड थिएटर शो: बेइजिङको प्रसिद्ध रेड थिएटरमा हुने एक्रोब्याटिक्स शो हेर्नुहोस्, यो साँच्चै रोमाञ्चक हुन्छ।

र सबैभन्दा महत्त्वपूर्ण, अब मेरो लागि बेइजिङको यात्रा सूचीमा अनिवार्य रूपमा समावेश भएको स्थान हो- मियाओइङ मन्दिर र त्यहाँ रहेको राष्ट्रिय विभूति अरनिकोको सालिक। यो हरेक नेपालीले हेर्नैपर्ने र गर्व गर्नैपर्ने ठाउँ हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .