सुपर टाइफुन रागासा हङकङतर्फ तीव्र गतिमा अघि बढेको भन्दै उच्च सतर्कता अपनाइने भएको छ।
आँधीकै कारण अब्जर्भेटरीले सोमबार दिउँसो १२:२० मा टाइफुन संकेत नम्बर १ लागू गरिसकेको छ भने आज राति ३ नम्बर र भोलि दिउँसो ८ नम्बर संकेत जारी गरिनसक्नेतर्फ औँल्याएको छ।
रागासाले यसअघिका विनाशकारी आँधी हातो र माङखुटले जस्तै विपत्त निम्त्याउन सक्नेतर्फ अब्जर्भेटरीले सचेत गराएको छ।
अहिले लुजोन स्ट्रेट पार गर्दै तुलनात्मक रूपमा उच्च गतिमा अघि बढिरहेको रागासा आज पछि दक्षिण चीन सागरको उत्तरी भागमा प्रवेश गर्ने र बुधबार हङकङ आइपुग्ने पूर्वानुमान गरिएको छ।
खतरनाक आँधी आउँदै गरेको यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला काउन्सिलरहरूलाई अलर्ट रहन र सहयोगको आवश्यकता परेका बासिन्दालाई यथोचित सहयोग गर्न सरकारले भनेको छ।
जिल्ला परिषद् सदस्य हो सिउलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार आइतबार गृह मामिला विभागका अधिकारीहरूले सम्पर्क गरेर सावधानी अपनाउन भनेका थिए।
विभागको यो निर्देशनपछि आफूहरू यसतर्फ लागिसकेको उनले बताए। जोताई ओ ग्रामीण समितिका अध्यक्षसमेत रहेका होले भने– स्वयंसेवकहरू र समितिका कर्मचारीले आज स्टिल्ट घरका बासिन्दालाई भेट्नेछन्। उनीहरूलाई आफ्ना सामान प्याक गर्न र अस्थायी आश्रयहरूमा स्थानान्तरणको तयारी गर्न आग्रह गर्नेछन्।
बाढीको जोखिम भएका क्षेत्रहरूमध्ये एकताई ओबाट गाउँलेहरूलाई खाली गर्ने योजना बनाइएको छ।
शक्तिशाली आँधी आउने बताइएसँगै यतिखेर सामाजिक सञ्जालहरूमा यसअघिका खतरनाक आँधी हातो र माङखुटका तस्बिर/भिडिओहरू पोस्ट भइरहेका छन्।
हङकङले सन् २०१७ मा हातो र २०१८ मा माङखुट आँधीको सामना गरेको थियो।
शक्तिशाली आँधी आउने हल्ला भएपछि यतिखेर हङकङमा खाद्यान्नको जोहो गर्नेको भिड लागेको छ। सुपरमार्केटहरूमा लामो लाइन देखिएका छन्। ताजा तरकारीको मूल्य सामान्य अवस्थाभन्दा ३ गुणा बढी लिइएको पनि उपभोक्ता गुनासो सुनिएको छ।
यसैबीच आँधी रागासाका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले उडानहरू ३६ घण्टाका लागि स्थगित गर्ने योजना बनाएको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ।
रिपोर्टका अनुसार, मंगलबार साँझ ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म सबै उडानहरू बन्द गर्ने तयारी गरिएको हो।
उडान बन्दबारे सोमबार आधिकारिक घोषणा हुने दाबी रिपोर्टमा गरिएको छ।
क्याथे प्यासिफिक एयरवेजले पनि सम्भावित प्रभावलाई नजिकबाट निगरानी गरिरहेको, हाल उडानहरू प्रभावित नभए पनि विकसित परिस्थितिलाई मध्यनजर गर्दै अघि बढ्ने बताएको छ।
Shares

प्रतिक्रिया