पहिलो त्यो रेल यात्रामा जब कफीको कप उचालेँ, होसै उड्यो!

पहिलो त्यो रेल यात्रामा जब कफीको कप उचालेँ, होसै उड्यो!

इन्दर पुन
जेठ १३, २०८३ बुधबार १३:२८, हङकङ

म बाल्यकालमा एकदमै सोझो थिएँ। तीन कक्षासम्म सरकारी स्कुलमा पढिसक्दा, गाउँमा भर्खरै बोर्डिङ स्कुल खुलेको थियो। धेरै जना त्यतै जान थालेपछि र मैले पनि धेरै कर गरेपछि आमाबुबाले त्यतै भर्ना गरिदिनुभयो। यहाँ सुरु चाहिँ ‘ब्याक टु युकेजी’ बाट गरेँ। यसरी विभिन्न ५ वटा स्कुल हुँदै २०६०/६१ सालमा एसएलसी सकेको हुँ।

लाहुरे परम्परा हाबी भएको हाम्रो समुदायमा, पढाइलाई नै अगाडि बढाउने माहोल थिएन। न त कोही त्यस्ता उदाहरणीय व्यक्ति थिए, न त पढ्नु पर्छ भनेर प्रेरणा दिने कोही नै।

साथीभाइ पनि लाहुरे हुने सुरसारमै थिए। मलाई भने लाहुरे हुने खासै रहर थिएन। ‘लाहुरे हुनुपर्छ’ भनेर सबैले कर गरेकाले र पछि पछुतो नहोस् भनेर दुई पटकसम्म भिड्न गएँ।

पहिलो पटक अलिअलि तयारी थियो, तर ‘Inder’ र ‘इन्द्र’ का कारण कागज मिलेन भन्दै चेकजाँचमा बसेका एक मामाले गेटबाटै फर्काइदिए। म मुरमुरिँदै हिँडेँ। अर्को पटक भने तयारी नै थिएन, कस्ता-कस्ता बलिया प्रतिस्पर्धी भएको ठाउँमा म लाहुरे हुन कसरी सक्नु!

अँ, तपाईँ अचम्मित हुनु पर्दैन। पर्वत जिल्ला, साविकको बाँसखर्क गाविस-५, हालको जलजला गाउँपालिका-१ को म इन्द्र पुर्जा पुन नै हो तर अंग्रेजीमा ‘Inder’ लेखिएको छ, यसको आफ्नै कथा छ, पछि सेयर गरौँला। हो, यही दुईतिरको भेदले ती मामाले मलाई गेटबाटै घरतर्फको बाटो देखाइदिए।

यही बेला पोखराको एसओएस हर्मन जिमाइनर स्कुलबाट प्लस टु सकेँ। खासमा एसओएस पढेको एमबीबीएस गर्ने सोचले थियो तर प्लस टु सकेपछि डाक्टर हुने रहर हरायो। इन्जिनियरिङबारे खासै रुचि थिएन। के गर्ने, कसो गर्ने भन्दाभन्दै ब्याचलर भर्ना हुने समय पनि बितिसकेछ।

एक अप्रत्याशित मोड : बेलायत यात्रा
यस्तै उतारचढावबीच, काठमाडौँमा एसीसीए पढिरहेको प्लस टुको साथी सरोज बरालसँग सल्लाह लिन पुगेँ। उसको सुझाव ठिक लाग्यो र एसीसीए पढ्ने निधो गरेँ।

त्यतिबेला युकेको को लागि टियर ४ भिसा सजिलो भएको कुरा व्यापक थियो। अहिले ‘भाइरल’ भनिएजस्तै। मलाई बेलायत जाने खासै रहर त थिएन तर साथीभाइको प्रभावले ‘लौ त गरि हेरौँ’ भनेर प्रोसेसिङमा लागेँ। मलाई उस्काउने सरोज लगायतका साथीहरूको भन्दा पहिले नै पो मेरो भिसा लाग्यो। अनि, सन् २००९ मा लन्डन पुगेँ।

टिभीमा देखिएजस्तै, विदेशमा ठुला-ठुला बिल्डिङ, भिडभाड, रङ्गीचङ्गी होला भन्ने सोचेको थिएँ तर बेलायत त्यस्तो रहेनछ। नेपालकै जस्ता साना-साना तर व्यवस्थित घर थिए। एयरपोर्टदेखि मित्र रामराज तिमिल्सिनाले व्यवस्थापन गरेको कोठासम्म पुग्दा ‘कस्तो ठाउँमा आइएछ’ भनेर निराश भएको थिएँ।

‘संगत गुनाको फल’ भन्ने कुरा मेरो जीवनमा साबित भयो। डाक्टर बन्ने सोचले प्लस टु पढाइ सुरु गरेको मान्छे, संगत र परिस्थितिले बेलायतमा एसीसीए पढ्न पुगेँ। आफूले सोचेको एउटा हुन्छ, तर आफ्नो वरिपरिको वातावरण र साथीभाइको प्रभावले नतिजा फरक परिदिँदो रहेछ।

विदेश नजाने भनेर पढाइ सुरु गरेको अन्त्यमा बेलायततिर लागेँ। आजभोलि व्यापार-व्यवसाय, उद्यमशीलता तथा अन्य धेरै कुरामा ‘मेन्टरसिप’को भूमिका कति महत्त्वपूर्ण रहेछ भन्ने लाग्छ।

सायद यही कारणले पश्चिमा मुलुकमा यसको ठूलो महत्त्व छ। जे होस्, यही अनुभवका कारण आजभोलि कुनै युवा मसँग परामर्श लिन आउँदा, म उनीहरूको व्यक्तिगत रुचि, शिक्षा र दक्षतालाई आधार मानेर रचनात्मक मार्गनिर्देशन दिनुका साथै आफ्नो मूल उद्देश्य नछोड्न सुझाउँछु।

पहिलो रेल यात्रा र अपरिचित ‘गोरा’
म अलि बढी नै आत्मविश्वासी थिएँ। मेरो भेना ब्रिटिस लाहुरे हुनुहुन्थ्यो। त्यसैले लन्डन पुगेको धेरै नहुँदै, क्लास सुरु हुनुअघि नै म दिदीको घर चिपेनहम जान निस्किएँ। लन्डन प्याडिङ्टन स्टेसनबाट विल्टसायर हुँदै गएँ। त्यो मेरो पहिलो रेल यात्रा थियो। 

यात्रामा मसँगै बसेको एक ‘गोरा’ ल्यापटपमा केही बनाउँदै थियो। मैले सोधेँ, ‘आर यु अ डिजाइनर?’ उसले खासै वास्ता गरेन, ‘नो’ मात्र भन्यो र ल्यापटप लुकायो। मलाई पनि के बाल भयो र! बाहिरको दृश्य हेर्दै चुपचाप बसेँ।

जब पहिलो कफी अर्डर गर्दा ठगिएँ जस्तो लाग्यो
रेल कुदिरहेको थियो। दिनभरि केही खाएको थिइनँ क्यारे, बेस्सरी भोक लागेको थियो। यसो यताउता हेर्दा रेस्टुरेन्टको संकेत देखेँ र केही खानुपर्‍यो भनेर त्यतै लागेँ।

त्यहाँ कफी र खाजा पाइने सानो क्याफे रहेछ। लाइनमा बसेँ। अर्डर गर्ने बेला आयो अनि म झसङ्गै भएँ। कफी कहीँकतै खाइयो होला तर मेनुमा यति धेरै विकल्प देख्दा कुनचाहिँ ठीक हो, पत्ता लगाउनै सकिनँ। सायद त्यो मेरो पहिलो ‘फेस-टु-फेस’ कफी अर्डर थियो।

सरर मेनु हेरेँ। ‘एस्प्रेसो’ अलि सुनेको जस्तो लाग्यो र त्यही अर्डर गरेँ, साथमा एउटा स्यान्डविच पनि किनेँ।

केहीबेरमा उसले भन्यो, ‘योर कफी इज रेडी सर’ म लिन गएँ। कफीको कप उचाल्दा भने मेरो होसै उड्यो! यत्रो ठूलो कपमा पिँधमा अलिकति मात्र कफी!

मलाई लाग्यो, ‘यसले मलाई गिज्यायो!’ पहिलो पटक रेल चढेको, अर्डर गर्दा अलमलिएको देखेर यसले पक्कै मलाई मजाक गर्‍यो भन्ने मनमा आयो। तर, केही भन्न सकिनँ। चुपचाप कप लिएर पानी थप्ने ठाउँ होला कि भनेर यताउता हेरेँ केही देखिनँ। छेउछाउका गोराले मेरो हस्याङफस्याङ देखेर झन् जिस्काउलान् भन्ने डरले आफ्नो सिटमा गएर बसेँ।

स्यान्डविच खाएँ र कफी पिएँ।

आम्मा हो, कस्तो तितो! मनमनै सोच्न थालेँ, ‘यति जाबो दुई थोपा, नमिठो कफीलाई पनि कति पैसा परेको होला? यसले मलाई मजाक नै गरेको हो!’

त्यही तितो अनुभव र ठगिएको महसुस गर्दै म दिदीको घरतिर लागेँ।

यो मेरो जीवनको एउटा बिर्सन नसक्ने क्षण हो, बेला-बेला सम्झन्छु अनि मुसुक्क हाँस्छु।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .