‘इन्द्रेणी रङ्गको सपना’सँग साक्षात्कार भइसकेपछि मन-मस्तिष्क एकाग्र हुन सकेन। निकै पटक यसका पन्ना वल्टाउँदै पल्टाउँदै गरिसकेपछि ती प्रत्येक पन्नाका शब्द र वाक्यसँग समीप भएर बुझ्ने प्रयत्न गर्दा अनेकन् भाव मभित्र पैदा हुन थाले।
धरानका हिमाल लिम्बुले लेखेको यो पुस्तक हङकङकी सारा राईले प्रकाशन गरेको पाएँ।
केही क्षण त यो किताब हिमालले किन लेखेको होला? उ रहरे हो या साँच्चै अध्ययनशील लेखक नै हो? या आत्मरतिका लागि आफैँले आफैँलाई ढाँटेर झुटको हल्ला गर्दै सामाजिक प्रतिष्ठा कमाउन खोज्ने लाइनमा उभिएका हुन्। खास उनको प्रतिभा के हो ?
फेरि उनको नाम पनि कतै सुन्नमा आएको थिएन। तथापि सय पेजको यत्रो किताब नै लेखेर सार्वजनिक गरिसकेपछि पक्कै हिमाल केही खास हो भन्ने लाग्यो। र, ‘इन्द्रेणी रङ्गको सपना’सँग अक्षरश: भएँ। तत्पश्चात् मात्र मभित्र उठेका तमाम प्रश्नका केही उत्तर मिले।
‘डोन्ट जर्ज अ बुक वाई इट्स कभर’ भन्ने उक्ति सम्झेर, मनलाई मस्तिष्कले बाँधेर, आँखाको ज्योतिलाई तनाव दिएर मैले यो पुस्तक छिचोलेको हुँ। झट्ट हेर्दा त यो पुस्तक कुनै धार्मिक प्रचार-प्रसारको निम्ति प्रकाशन गरिएको हो जस्तो लाग्यो। त्योमाथि यसको कभर र यसभित्रका रङ्गीन अमूर्त चित्रकलाले ‘हेवेन्ली पाथ’ भनेर दौडिनेहरूको जुलुसलाई बाँधी राख्न प्रयोग गरिएका मन लुट्ने हेप्नोटाइज्ड प्रवचनहरूको संगालो हो कि क्या हो जस्तो लाग्यो। जसको स्पन्दनमा यथार्थता हुँदैन। तर मन लुट्ने वाणीहरू हुन्छन्। मनै लुटिएपछि मान्छेले थाहै नपाई बडो राजीखुशीले आफ्नो सर्वस्व सुम्पिन केही जस्तो मान्दैन। वा, त्यस्ता अलौकिक प्रेमवादी सपनाको कथित शान्तिमय आकाशगंगामा मस्तले सयर गरिरहेको बेला आफ्नो सम्पूर्णता सकिएको थाहै पाउँदैनन् मान्छेले।
अझ यसो भनौँ- आफ्नो यथार्थताको धरातल आफ्नै पाइतालाबाट भासिएको र आफ्नै थाप्लोमा आफ्नै आकाश खसेको थाहा पाउँदैनन् मान्छेले। यस पुस्तकले यस्ता धेरै कुराको गहिरो समीक्षा गरेको छ।
यसो लेख्दै गर्दा यो पुस्तकले कुनै पाथमार्गीको विरुद्ध द्वन्द्व ओकल्ने वा वादविवाद गर्न उक्साउने कुनै पनि कुरा पकाएको छैन। केवल ज्ञान, विज्ञान, दर्शन, जीवन, भोगाई र मानवीय चेतनाको अलिक गहिरो रूपमा स-विस्तार मात्रै गरेको छ।
मैले उल्लेख गरिसकेँ कि यस पुस्तकका लेखक म चिन्दिनँ। जान्दिनँ। तर, यस पुस्तकका लेखक जो भए पनि निकै अध्ययनशील, विचारशील साथै सिर्जनशील व्यक्तित्व रहेछन् भन्ने बुझ्न कठिन परेन।
यसभित्रका केही लेख सञ्चारमाध्यममा छापिसकेको लेखकले आफ्नो भनाइमा राखेका रहेछन्। हरेक विषयको गहिराइसम्म पुगेर मोती टिप्न खोज्ने हिम्मतिला यी लेखकको यो स्वीकारोक्ति मनासिव छ।
आफ्नो प्रकाशन भएका सिर्जनाहरू सबैले पढेका होलान् भन्ने हुँदैन। र, पढेका भए पनि सम्झना हुन्छ नै भन्ने हुँदैन। सम्झना भए पनि बुझेका होलान् भन्ने हुँदैन। यस्ता भ्रमहरू एउटा सचेत लेखकभित्र द्विविधा रहनु हुँदैन। हल्ला नै त केहीलाई प्रभावमा पारेर आफ्नो क्षमताभन्दा बढी बोल्न लगाउनेहरूको पनि हुन्छ। तर त्यो बाँदरलाई पगरी जस्तो मात्रै हुन्छ। यस्ता भ्रमलाई बुझेकाहरू मात्रै विचारशील लेखक कहलिन्छन्।
भ्रमकै विषयमा लेखक स्वयं यसरी बोल्छन्, ‘भुलैया र भ्रममा अल्मलिनु नै जीवनको साहसिक रोमाञ्चकता हो। ...भ्रममा अल्मलिनु अल्झिरहनु पनि भ्रम नै हो।’ यस्ता गहन कथन धेरै छन् पुस्तकभित्र।
लेखक हिमालले यस पुस्तकमा आदम, हब्बा र सृष्टि निर्माणका विषय प्रस्तुत गरेका छन्। तर, ख्रिष्टीनिटीको घोकाइ बोलेका छैनन्। कामवासना, शारीरिक भोगविलास र इच्छा प्राप्तिपछिको शून्य ऊर्जाको विषयमा लेखेका छन्। तर, उनी यौन गुरु र शिष्य पनि होइनन्।
‘हिमालका स्वच्छ प्रेमसँग डिभोर्स गरेर हृदयहरू एक्लिएछन्। किन हो? भूमिको न्यानोसँग डिभोर्स गरेर शरीरहरू पनि एक्लिएछन्। अनि एक्लिएका यी सब जीव अजीवहरू कसरी कसरी एकै स्थानमा भेला भएछन्। यसरी आफूलाई किताबमा पस्कँदै गर्दा भावनाले चाहनाको तृष्णा गर्छ। शरीरले भोकको तृष्णा गर्छ।’ भन्ने सत्य ओकल्न पनि छाडेका छैनन्।
मान्छेका देख्दा सानातिना लाग्ने रहर र आवश्यकताहरू पूर्ति नहुँदा देशै छोड्नु पर्दासम्मका कुरा र त्यसले पारेका समस्यालाई कोमल ढङ्गले उठाएका छन्। हिमाल यस पुस्तकमा कतै उग्र छैनन्। आग्रही छैनन्। पूर्वाग्रही छैनन्। जीवन र जगतसँग निराशा छैनन्।
आफूले भोगेको र आफ्नो आत्मज्ञानबाट लेखक प्रार्थनीय छन्। अनुशील छन्। बरु सांसारिक रहस्यको कोलाजभित्र आफू छिरेर जीवनको गतिशीलता निकाल्ने सोच भएको देखिन्छ।
२७ वटा लेख राखिएको यो ‘इन्द्रेणी रङ्गको सपनाभित्र’का कतिपय लेख पढ्दा मैले ‘ह्वाइट बटरफ्लाई म्यान’ भनेर संसारले चिनिरहेको धरानका युवा मिलन राईलाई सम्झेँ।
उनले विश्व शान्तिको खोजलाई ‘सेतो पुतली अर्थात् ह्वाइट बटरफ्लाई’ को आलङ्कारिक बिम्बमार्फत उठान गरेका छन्। सुरुआतमा धेरैले त्यसको अर्थ चाहेर/नचाहेर बुझेनन्। शायद म जस्तै बुझ्न आवश्यक पनि ठानेनन्। तर आज त्यसैले पनि नेपाल चिनाउँदैछ। संसारले चिन्दैछ। यो किताबभित्रका कुरा पढ्दा विचारका हिसाबले कहीँ कतै त्यस्तै जस्तो भान हुन्छ।
‘सृष्टि हुनुको कुनै न कुनै कारण हुनुपर्छ। ईश्वर नै कारण नभए पनि त्यो कारण नै ईश्वर हुन सक्छ। ईश्वर छ विश्वास गर्नेको लागि। ईश्वर छैन अविश्वास गर्नेको लागि।’ यस्ता अरू धेरै कथनले लेखकको अध्ययनशील क्षमतालाई प्रष्ट पार्दछ।
‘स्वदेश फर्केको दुई वर्षपछि म आधा मानिस पूर्ण रूपले सिङ्गो मानिस भएँ।’ बाध्यात्मक भोगाइको बन्दी शिविरबाट जिन्दगी निस्किसकेपछि आएको अभिव्यक्ति हो यो। हिमालभित्र हिमाल आफैँले उत्खनन गरेको उत्कृष्ट ओसिरिस हो यो।
ओसिरिस, इजिप्सियन अर्थात् मिस्र पौराणिक कथाका सर्वमान्य देव पात्र हुन्। कथाअनुसार प्राचीन इजिप्टमा ओसिरिस राजा हुँदा कृषिमा क्रान्ति ल्याएका थिए। जनजीवन समृद्ध र सुखी बनाएका थिए। तर पनि आफ्नै भाइले उनको हत्या गरेर इजिप्टभरि उनको शरीरका टुक्रा फैलाए। यद्यपि, ओसिरिस आफैँले आफ्नो शरीरका टुक्रा खोजेर जोडे। एउटा स्वरुप बनाए। र, ‘गड अफ अन्डरवर्ड’ ले विभूषित भए। मिस्र माइथोलोजीमा ओसिरिस ज्यान र जीवन, प्राण र दानका सर्वोच्च नायक हुन्। उनलाई नयाँ सृष्टि पनि गर्न सक्ने र चाहेमा त्यसलाई समाप्त गर्न पनि सक्ने अन्तिम महाशक्तिको रूपमा आराधना गरिन्छ। यस्तो विश्व प्रसिद्ध मिथ क्यारेक्टरलाई यस पुस्तकका लेखक हिमाल लिम्बुले यस पुस्तकको कभरमै जोडेका छन्। यस्तै उनको अरू लेखमा उल्लेखित कुराहरू हेर्दा उनले पौराणिक किताबहरू अलिक बढी पढ्छन् कि जस्तो लाग्दछ।
यस पुस्तकको आवरण शीर्षक ‘इन्द्रेणी रङ्गको सपना’ र आफैँले कोरेका रङ्गीन चित्रले पनि यो पुस्तकभित्र केही चाहिँ छ नै भन्ने लाग्छ। पुस्तकको आवरणमा मात्र होइन हरेक लेखमा उनको चित्रकला छ। जसलाई बुझ्न साधारण मानिसले सक्दैनन्। विचार र भाव उत्तेजना अधिक भए पनि के भन्न खोजेको हो? कुन विधाअन्तर्गत लेखिएको हो? पुस्तकले के दावी गर्दछ? भन्ने जस्ता द्विविधा पाठकलाई पर्छ नै। साहित्य, पौराणिक ग्रन्थ र कुनै विशेष लेख-रचनालाई स्पष्टोक्ति साथै रुचिकर बनाउन चित्र राख्ने चलन नभएको होइन। तर, ती चित्र करिब करिब मूर्त हुन्छन्। साधारण पाठकलाई समस्या होइन साधारण बनाउनका लागि चित्र प्रयोग गरिएका हुन्छन्। सम्भवत: यस पुस्तकभित्र लेखकले पनि त्यही अर्थमा चित्र राखेका होलान्। तर यहाँ शब्द र अक्षरलाई बुझौँ? या चित्रलाई बुझौँ? भन्ने पाठकीय द्वन्द्व आउँछ।
यस्तो परिस्थितिमा पुस्तक प्रकाशनको प्राविधिक पक्षतिर नजाऊँ भन्दाभन्दै पनि अरू पाठकप्रति अन्याय होला जस्तो लाग्यो। विशेष गरेर स्पोर्ट्स, मोडलिङ, ग्लामरका साथै कुनै संघसंस्थाका फोटोजेनिक विशेष स्मारिका प्रकाशन गर्दा प्रयोग गरिने चिल्लो हेवी वेट पेपरको प्रयोग पनि यो पुस्तकलाई ज्यानभन्दा जामा ठूलो जस्तो भएको छ। प्रत्येक पन्नालाई ठूलो बोर्डर लाइनले जाँजेर लेखको साइजलाई घटाइएको छ। त्यो भित्र सानासाना अक्षर खचाखच छन्। ती अक्षर पढ्न गाह्रो लाग्छ। वाक्यका कति अनुच्छेद सही ठाउँमा छैनन्। प्रत्येक लेखको अन्त्यमा राखिएको रङ्गीन चित्रतिर आँखा जाँदा उतै ध्यान खिचिन्छ। पाठकले यो पुस्तक आँखाले भन्दा आत्माले पढ्नुपर्ने हुन्छ। र, पढ्दै गरेको लेखको आशय ओझेलमा पर्छ। मलाई भने यस्ता अप्ठ्याराहरूले यो पुस्तक अध्ययन गर्न रोकेन। त्यसको कारण थियो- हङकङ साहित्यिक साझा शृङ्खलाका सहसंयोजक तथा कवि रोशन यक्सो। उनैले यो पुस्तक उपलब्ध गराएका हुन्। र, पढेपछि आफ्नो धारणा राखिदिन भनेका हुन्। यो पुस्तकप्रति मैले राखेको विचार र पाठकहरूले भोलि बोल्ने कुरा कति मेल हुन्छन्। त्यो भोलि ले नै भन्ला। आज चाहिँ लेखक हिमाललाई आफ्नो कमी-कमजोरीहरू पहिचान गर्दै लेखन निरन्तरता गर्ने सकारात्मक ऊर्जा रहोस् भन्ने शुभेच्छा दिन चाहन्छु।
(शामशोइ पो, हङकङ)
Shares

प्रतिक्रिया