ब्लग


‘छोरीलाई डन बनाउनुपर्छ है दाइ!’

‘छोरीलाई  डन बनाउनुपर्छ है दाइ!’

अमृत बानियाँ
काठमाडौँ, साउन १३

‘तपाईंको छोरीलाई चाहिँ डन बनाउनुपर्छ है दाइ, एकदम हिम्मत दिनू।’ सामाजिक सञ्जालमा जोडिएकी बहिनीले एक दिन मेसेन्जरमा लेखिन्। 

‘हिम्मत दिने कुरा त छँदै छ, छोरी आफैं कस्तो बन्छिन् भन्नेचाहिँ मुख्य हो। मैले मेरो तर्फबाट सक्ने त गरिहाल्छु।’ मैले जवाफमा भनें। 

ती बहिनीले ‘डन’ बनाउनुपर्छ है भन्नुको अर्थ आत्मविश्वासी, निडर, जुझारु र स्वावलम्बी बनाउनु भन्ने हो भनेर सजिलै बुझिन्छ। बहिनीसँग कहिलेकाहीं मेसेजमा कुरा हुन्छ। हाम्रो कुराकानीको विषय भनेको सामाजिक मुद्दा हो। तीमध्ये पनि महिला हिंसा र यसका प्रकार र असरबारे धेरै कुरा हुन्छ। 

महिलाविरुद्ध हुने शारीरिक हिंसा, यौन हिंसा, मानसिक हिंसा, कार्यस्थलमा हुने यौन तथा शारीरिक दुर्व्यवहार र शोषण बारेमा हामी कुरा गर्छाैं। पछिल्लो समय अधिकतर यस्ता घटना  सामाजिक सञ्जालबाट बाहिरिन्छन् र गरमागरम बहस पनि सामाजिक सञ्जालमै हुन्छन्। किनकि सबैको पहुँच भएको प्लेटफर्म यही हो। यसरी बाहिरिने घटनामध्ये केही घटना मिडियासम्म पुग्छ र एकदम थोरै घटना कानुनी प्रक्रियामासम्म पुग्छ।

मसँग वास्तविक तथ्यांक त छैन र सम्भवतः तथ्यांक निकाल्नेगरी अध्ययन भएको पनि छैन। तर जति महिला हिंसाका घटना हुन्छन्, त्यसको एक प्रतिशत पनि बाहिर आउँदैनन्। जति आउछन्, तिनले पनि न्याय पाएको अनुभूति कम छ। बरु थप हिंसा र व्यक्तिगत, सामाजिक र सार्वजनिक जीवन झन् कठिन भएको अवस्था छ। कतिलाई त आफूविरुद्ध भइरहेको हिंसा हिंसा हो भन्नेसम्म पनि थाहा छैन। थाहा पाएर पनि मेरो नियति वा भाग्य यस्तै रहेछ भनेर सहने वा घर बिग्रन्छ वा घरपरिवारको इज्जत जान्छ र सामाजिक बहिष्करणमा परिन्छ भनेर चुप बस्नुपर्ने अर्को दुर्भाग्यपूर्ण अवस्था छ। 

पछिल्लो समय केही दिदीबहिनी आफूविरुद्ध भएका हिंसा र दुर्व्यवहार सार्वजनिक गर्न तथा अन्यायबारे बोल्न थालेका छन्। जब यस्ता कुरा सार्वजनिक हुन्छन्, तब सबैभन्दा पहिलो चुनौती प्रमाणको हुन जान्छ। बिनाप्रमाण कसरी पत्याउनु? प्रमाण के छ, देखा भन्दै पीडक र सम्भावित पीडितको एक स्वरमा हुँइया सुरु भइहाल्छ।

एक त हिंसापीडित मलाई कति बेला हिंसा होला भनेर प्रमाण बटुल्न अडिओ÷भिडिओ रेकर्डर तयार गरेर हिँड्ने कुरा पनि हुँदैन। आफूविरुद्ध हिंसा वा अपराध हुँदै छ भन्ने पूर्वजानकारी हुने कुरा पनि भएन। कथम् आफूविरुद्ध कुनै अपराध हुँदै छ भन्ने संकेत पाइहाले पनि तत्काल प्रमाण सुरक्षित गर्न सक्ने अवस्था हुँदैन। यस्ता घटनामा पहिलो आधार नै पीडितको कुरा सुन्ने, उसलाई विश्वास गर्ने र सोही आधारमा अनुसन्धान गर्ने हो। तर हाम्रा प्रहरी र न्यायालय भौतिक प्रमाणलाई मात्र प्रमाण मान्ने गर्छन्। अझ न्याय माग्न प्रहरी र अदालत पुग्दा अनुसन्धान वा बयानमा सोधिने कतिपय प्रश्न यति असंवेदनशील हुन्छन् की त्यसले पीडितलाई थप मानसिक आघात हुने अवस्थामै  पु¥याइदिन्छ।

तर अहिले यस्ता सारा सम्भावित जोखिम मोलेरै पनि केहीले आफूविरुद्ध भएका सबै खाले हिंसाबारे बोल्न थालेका छन्। सामाजिक सञ्जालमै सही, पीडकहरूको कल आउट गरेका छन्। यसरी कल आउट गर्दा माथि भनेजस्तै पीडक र सम्भावित पीडकको दसी÷प्रमाण खै भनेर जाइलाग्ने र पीडितको मुख बन्द गराउन आफ्नो आर्थिक, सामाजिक, राजनीतिक वा कथित बौद्धिक शक्ति प्रयोग गर्ने गरे पनि तिनको वास्तविकता उदांगिँदै गएको पनि छ। थोरै नै सही, पीडितको विश्वास गर्नुपर्छ र न्यायका लागि साथ दिनुपर्छ भन्नेको संख्या पनि बढ्दै गएको छ। 

केही समयअघि सामाजिक सञ्जालमा ती बहिनीको निराशाजनक अभिव्यक्ति देखेपछि मैले इन्बक्समा गएर यसरी निराश हुनु हुँदैन बहिनी। तिमी त भोलि मैले मेरो छोरीलाई उदाहरण दिँदा देखाउने मान्छे पो हो त! आज तिमीहरू थोरै नै सही हिंसा र दुर्व्यवहारविरुद्ध बोल्दै छौ। हिंसापीडितका पक्षमा आवाज बुलन्द पार्दै छौ। भोलि यो संख्या बढ्दै जान्छ। तिमीले नै यस्तो निराशा व्यक्त गरेपछि त थोरै आवाज निकाल्ने मान्छे पनि कम हुन्छ र पीडितहरूको मनोबल कमजोर र पीडकहरूको मनोबल थप बढ्छ भनेर सम्झाएको थिएँ। 

उसो त बहिनी मैले सम्झाउन/सिकाउन पर्ने व्यक्ति होइनन्। बरु मैले यस्ता विषयमा उनीबाट धेरै कुरा सिकेको छु। कतिपय विषयबारे के भएको हो? के हुनुपर्ने हो भनेर सोध्ने गर्छु र आफूलाई लागेका कति शंका निवारण पनि गर्छु। तर कहिलेकाहीं मनमा विभिन्न कारण नकारात्मक भाव पैदा भइदिँदा अलिकति भए पनि सकारात्मक र आशावादी कुराले मनका विषाक्त विकार निकालेर फाल्न सहयोग पुग्छ। मैले ती बहिनीलाई मेसेज गर्नाको कारण त्यति मात्र थियो। 
त्यतिबेला बहिनीले दाइ यो समाजमा यति धेरै विषाक्त विचार भएका मान्छे रहेछन् कि कतिसँग मात्र जुध्नु? कहिलेकाहीं त अब जुध्न सकिन्न जस्तो लागेर आउने रहेछ, अनि त के के सोचिने सोचिने! त्यही कुरा सामाजिक सञ्जालमा व्यक्त गरेको भनिन्। 

त्यही प्रसंग सम्झेर होला– अलि पछि उनले ‘दाइ तपाईँको छोरीलाई चाहिँ डन बनाउनुपर्छ है, निकै हिम्मत दिनू’ भनेकी थिइन्। ‘डन’ बनाउनुपर्छ है भन्नुको अर्थ आत्मविश्वासी बनाउनु है भन्नु हो। साहसी बनाउुन है भन्नु हो। र, ‘निकै हिम्मत दिनू है’ भन्नुको अर्थ जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई सामना गर्न सक्ने बनाउनु है भन्ने हो। 

ती बहिनीको मेसेज पढेपछि मेरो मनमा धेरै कुरा खेल्न थाले। हाम्री छोरी हामीले बनाउन चाहेजस्तो बन्लिन् त? अहिले ४ वर्ष पूरागरी ५ वर्षमा हिँड्दैगरेकी छोरी भविष्यमा कस्तो बन्लिन्, त्यो भविष्यले नै बताउला। छोरीको वर्तमानको स्वभावबारे म निकै कम जानकार छु। करिब साढे ४ वर्षको अवधिमा मैले छोरीसँग प्रत्यक्ष बिताएको भनेको लगभग ४० दिन हो। त्यसबाहेक दिनहुँ फोनमा केही मिनेट कुरा हुने मात्र हो। त्यसो त बालबालिको स्वभाव छिटोछिटो परिवर्तन भइरहन्छ। 

तर छोरीको अहिलेको स्वभाव एकदमै अन्तर्मुखी खालको छ। खासै केही कुरा मुखले व्यक्त नगर्ने। व्यवहारले देखाउने। आफूलाई सकेसम्म कम अभिव्यक्त गर्ने। धेरै साथी नबनाउने वा निकै थोरैसँग मात्र खुल्ने। हल्लाखल्ला वा आवाजबाट इरिटेड हुने। चर्को बोल्ने वा धेरै चुलबुल गर्ने कोही व्यक्ति अगाडि प¥यो भने छिट्टै उक्त व्यक्तिको स्वभाव पहिचान गरेर आफू अलग भइहाल्ने। एक्लै दिनभरि बस्न सक्ने, एक्लै खेलेर भुल्ने, रमाउन सक्ने। आफ्नो शरीर र सामानको उच्चतम जतन गर्ने। आफूलाई मन लागेको काम एकोहोरो भएर गर्ने। मन नलागेको कुरा जसले जति कर गरे पनि चासो नदिने। मुड स्विङ तुरुन्त भइहाल्ने। एकदमै मुडी स्वभाव। यी छोरीका अहिलेका स्वभाव हुन्।

यस्तो स्वभावको छोरीको म सँग मिल्ने एउटै कुरा हो रिस । हामी दुबैको रिसको उच्चतम बिन्दु सायद एकै होला । र रिसाउन लाग्ने समय पनि एकै होला । त्यसैले यस्तो स्वभाव भएकी छोरी भोली कस्तो बन्छिन् म अहिले भन्न सक्दिन । तर म छोरीको हुर्काइको समयसँगै यो समाज चिनाउँदै लैजानेछु । यो समाजमा रहेको विभेदको बारे मेरो ज्ञान र क्षमताले भ्याएसम्म बुझाउने छु । र ति विभेद विरुद्ध लड्न अग्रसर गराउने छु ।

विभेद र हिंसा के हो ? के होइन ? त्यो सिकाउने छु । कुन कुरा सामान्य हो र कुन असामान्य हो भनेर छुट्याउन सिकाउँछु । कुन कुन कुरामा प्रतिक्रिया दिने ? कुन कुरामा प्रतिकार गर्ने भनेर मेरो क्षमताले भ्याएसम्म बुझाउने छु । हामी बाँचेको समाज कति विषाक्त छ र त्यो विष के के हो भनेर चिनाउने छु । यो विषाक्त समाज परिवर्तन गर्न एउटा व्यक्तिले गर्न सक्ने सिमा र परिधि कति हो आफूले जाने बुझेसम्म बुझाउँछु ।

कुनै पनि प्रकारको हिंसा र विभेद गर्नु हुन्न र सहनु पनि हुन्न भनेर सिकाउँदै बुझाउँदै लैजाने छु । कुनै असहज परिस्थितिको सामना गर्न परेको अवस्थामा त्यो परिस्थितिसँग जुध्न दरिलो साथ दिनेछु । र सबै भन्दा महत्वपूर्ण समयको चेत चिन्न र समयसँग हिड्न सक्ने बनाउन मैले सकेको प्रयत्न गर्ने छु । यो सबैका लागि पहिलो कुरा शिक्षित बनाउनु पर्छ । त्यसको लागि मैले मेरो पुरा सामर्थ्य लगाउने छु ।

औपचारिक शिक्षाले मात्र समयको चेत बुझाउन सक्दैन भन्ने मैले बुझेको छु । त्यसलै समयको चेत पनि बुझ्नुपर्छ भन्ने चेतना छोरीको उमेर सँगसँगै बुझाउँदै लैजानेछु । यि त सबै मैले गर्न सक्ने कुरा हुन । यि कुरा पुरा गर्न म मेरो तर्फबाट पुरा कोसिस गर्नेछु । बालबालिकालाई सानै देखी उनीहरूको उमेर अनुसार बुझाउँदै लग्यो भने माथी उल्लेखित कुरा बुझाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

मेरो विश्वासमा म कति खरो उत्रन्छु यो मेरो पनि परिक्षा हुने नै छ । नतिजा समयले नै देखाउला । अहिले चाहिँ यत्ति भन्छु सबैका छोराछोरी समयको चेत बुझ्न सक्ने बनून् । हाम्रो बुबा आमाहरूले चाहेर पनि हाम्रो समयको चेत बुझ्न सकेनन् । हामी भन्दा हाम्रो छोराछोरीको पुस्ता झन तिब्र गतिको परिवर्तनको बहावमा छन् ।

यसमा दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुन्छ । दुर्घटनाबाट जोगिँदै समयको रफ्तार पनि पक्रिएर सन्तुलन बनाएर अघि बढ्न सक्ने बनून् । मेरो छोरी प्रतिको चाहाना यत्ति हो । मलाई आदर्श बाबु बन्ने चाहाना छैन । थोरै भएपनि व्यवहारिक बाबु बन्न सकें भने मेरो लागि पर्याप्त हुनेछ । छोरीलाई शुभकामना ।

 

 

साउन १३, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .