ब्लग


डीआईजीको भनाइपछि ती युवतीबारे सञ्जालभरि मजाक किन?

डीआईजीको भनाइपछि ती युवतीबारे सञ्जालभरि मजाक किन?

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिलाई स्वस्थ तब मात्रै मानिन्छ जब ऊ शारीरिक, सामाजिक, मानसिक तवरले सन्तुलित रहन्छ। तर, यसको मर्मविपरीत हामी व्यवहारिक जीवनमा मानसिक स्वास्थ्यलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनौँ। 

यतिबेला सामाजिक सञ्जालमा डीआईजी उत्तमराज सुवेदीले कुनै टेलिभिजन कार्यक्रममा आत्महत्यासम्बन्धी एउटा प्रसंगमा गरेको टिप्पणी भाइरल भएको छ। 

उनले भनेका छन्, ‘एक जना २० वर्षीया युवती आत्महत्याको प्रयास गर्दागर्दै घरबेटीको सहयोगले वहाँले त्यस्तो गर्न पाउनु भएन। अनि घरपरिवार र आफन्तले सम्झाउने प्रयास गर्दा सम्झिनु भएन र हामी कहाँ आउनुभयो। प्लस टु पास गरिसकेको, मोडलिङको कोर्स पनि गरेको, २० वर्षकी युवतीले किन आत्महत्या प्रयास गरेको भनेर हामीले सोध्दा वहाँको जवाफ के थियो थाहा छ? मेरो ब्वाइफ्रेन्डले मेरो बर्थडे बिर्सिने र आउन सकिनँ भन्ने, अनि सरी भन भन्दा सरी नभन्ने! अब म बाँचेर के गर्ने?’

ती युवतीको कन्फेसनलाई डीआईजीले अति सामान्यीकरण गरेर प्रस्तुत गरिदिए। त्यसैले यसमाथि अहिले सामाजिक सञ्जालमा अट्टाहस भइरहेको छ। यसमा म दुई वटा कुरा भन्न चाहन्छु। पहिलो– कानुनी प्रक्रियामा प्रत्यक्ष संलग्न प्रहरी अफिसरहरुको मानसिक स्वास्थ्य र यसको संवेदनशीलताप्रतिको शून्य चेतना र दोस्रो– मानसिक स्वास्थ्ययबारे समाजले निर्माण गरेको भाष्य।

जब आत्महत्या प्रयास गरेकाहरुले आफ्नो अनुभूति वा आफूलाई आत्महत्या गर्न प्रेरित गर्ने कारक तत्वहरुको बारेमा बोल्छन्, तब हामी उनीहरुलाई अझै हीनताबोध गराउने, उनीहरुको मानसिक स्वास्थ्यलाई कमजोर बनाउने संवेदनहीन र अति सतही टिप्पणी गर्छौं। उल्लिखित युवतीलाई हामी उनको अनुभूतिको खिल्ली उडाएर अझै मानसिक आघातमा धकेलिरहेका छौँ भन्ने चेतना एकदम कम मान्छेलाई मात्र्र थाहा छ भन्ने सामाजिक सञ्जालमा आइरहेका ट्रोल, मिम, टिप्पणीहरुले देखाउँछ। 

डीआईजीका भनाइ यतिबेला फेसबुकका वालमा निरन्तर पोस्ट भइरहेका छन्। त्यहाँ हाँस्नेहरुले जाबो यति कुरामा आत्महत्या गर्ने भन्दै मजाक उडाइरहेका छन्। यसबाट उनीहरु मनोरञ्जन लिइरहेका छन्, मानौँ यो कुनै मजाक हो। यो कसैले आफ्नो अदृश्य पीडाहरुसँग गरिरहेको संघर्ष हो। सकसहरुको सामना हो भन्ने हामीलाई थाहा छैन।

कोही मान्छे आत्महत्या गर्ने स्थितिमा कसरी पुग्छ? त्यो मनोविज्ञान निर्माण हुनुअघि ऊ के कस्ता अवस्थाहरुबाट गुज्रिएको होला? हामी एकछिन पनि घोत्लिएर सोच्दैनौँ। सोध्दैनौँ। हामी कसैलाई बुझ्नुभन्दा पहिले मूल्यांकन गर्नतर्फ लाग्छौँ। उसमा भए/नभएका खोट औँल्याउन केन्द्रित हुन्छौँ। 

मानसिक स्वास्थ्य अत्यन्तै जटिल कुरा हो। ज्यानमा लागेको चोट निको भएपछि दुख्दैन। मनमा लागेको चोट निकै लामो समय दुखिरहन्छ। कुनै उस्तै अप्रिय घटना दोहोरिएको खण्डमा बर्षौँ पुरानो आघात आलो भएर बल्झिन्छ। बेचैनी बढाउँछ र अझै सकसहरुको चंगुलमा हुत्याउँछ। यो कति अत्यासलाग्दो हुन्छ भन्ने कुरा कि आफैँ यस्ता पीडा भोगेकाहरुले थाहा पाउँछन्, कि मानसिक स्वास्थ्य र मनोविज्ञानका क्षेत्रमा काम गरेका मनोचिकित्सकहरुले बोध गर्न सक्लान्। जर्नल, पत्रपत्रिका, पुस्तकहरु पढेको भरमा हामी कसैको मानसिक स्वास्थ्ययप्रति सचेत र संवेदनशील रहन त सक्छौँ, यद्यपि उनीहरुको अनुभूतिलाई व्याख्या, विश्लेषण र मूल्यांकन गर्न सक्दैनौँ। यस्तो गर्न खोज्नु भनेको हामीले अझै पीडा थपिदिनु मात्रै हो। 

आत्महत्या प्रयास गर्नेहरुको तत्कालीन कारण ठूलो नहुन सक्छ। उनीहरुले विगतमा भोगेका दुव्र्यवहार, हिंसा, मानसिक आघातजस्ता अप्रिय अनुभूतिहरुलाई ट्रिगर गर्ने ससाना घटनाहरु पनि हुनसक्छन् भन्ने मेरो अनुभूति छ। जसले हामीलाई अपत्यारिलो ढंगले विक्षिप्त बनाउँछ। 

हामी हरेक दिन केही न केही समस्याहरुसँग जुधिरहेका हुन्छौँ। सबैको सहनशक्ति र परिस्थिति उस्तै हुँदैन। सानासाना घटनाहरुले ट्रमा ट्रिगर गराउँदा हुने मानसिक पीडाले दिने हतोत्साह, अस्थिरता, उदासी, निराशाआदिले जुन भावावेशमा हामी बाँच्छौँ, त्यसैले हामीलाई अकल्पनीय निर्णयतिर धकेल्छ भन्ने मेरो अनुभूति हो। म पनि यस्ता अवस्थाहरुबाट गुज्रिएको छु कयौँपटक। शारीरिक स्वस्थ्यभन्दा मानसिक स्वास्थ्य किन पनि जटिल छ भने हामी आफूलाई भइरहेको शारीरिक पीडा यस्तो हो भनेर खुलेर भन्न सक्छौँ। मानसिक पीडाबारे चाहिँ यही नै हो भनेर यकिन गर्न आफैँ पनि सकिरहेका हुन्नौँ। त्यसमाथि आफ्नो समस्या सुनाउँदै गर्दा अरुले गर्ने जजमेन्ट र लगाइदिने ट्यागको भयले गर्दा एन्जाइटी बढ्ने समस्या अझ विकराल हुनसक्छ।

धेरैले आत्महत्या समाधान होइन, कायरहरुले आत्महत्या गर्छन् भन्दैगर्दा त्यसको कारक मानसिक स्वास्थ्यको बारेमा बहस हुँदैन। सामान्य रुघाखोकी वा ज्वरो आउँदा मेडिकल जाऊ, औषधि खाऊ, आफ्नो ख्याल गर भनेर सिकाउनेहरु नै कसैले आफ्नो मानसिक स्वास्थ्यको कुरा गर्यो भने पागल, दिमाग खुस्केको, सन्तुलन गुमेको आदि इत्यादि भनेर अझै प्रताडित गर्छन्। जसरी शारीरिक स्वास्थ्यको बारेमा सिकाइन्छ र बुझाइन्छ त्यसरी नै मानसिक स्वास्थ्यको बारेमा विमर्श र स्वस्थ बहस गर्ने वातावरण नबनुन्जेल कसैलाई सुनिदिनु मात्रै पनि पर्याप्त हुँदैन।

जब कोही आफ्नो मानसिक स्वास्थ्यको बारेमा प्रशासनसामु बोल्छ उसलाई कति सतही रुपमा लिइन्छ भन्ने कुराको गतिलो उदाहरण हो डीआईजीको अभिव्यक्ति। यो उनको मात्र नभएर हाम्रो प्रहरी प्रशासन, कानुनी निकायहरुको आम प्रवृत्ति हो। पछिल्लो समय म विभिन्न कारणहरुले प्रहरी प्रशासन, कानुनी निकायहरुमा धाउने क्रममा देखेको प्रशासनको अत्यन्तै असंवेदनशील व्यवहार र बोलीले मलाई कयौँ दिन बिथोलेको छ। प्रहरी प्रशासन, जहाँ दैनिक सयौँ घरेलु हिंसा, दुव्र्यवहार, बलात्कारका उजुरी आउँछन्, प्रभावित व्यक्तिको मानसिक स्वास्थ्यको ख्याल त्यहाँ थोरै पनि गरिँदैन। ऊ कुन मनस्थितिबाट गुज्रिरहेको छ भन्ने हेक्का राखिँदैन। प्रभावित व्यक्तिहरुलाई यसरी प्रश्न सोधिन्छ, ऊ नै अपराधी हो। हुन त प्रहरी प्रशासनको स्पष्टीकरणमा हामीले तथ्य मात्रै हेर्ने हो भन्ने हुन्छ। तर, तथ्य उजागर गराउने प्रक्रियाले प्रभावित व्यक्तिलाई अझै मनोवैज्ञानिक प्रताडना हुन्छ भने त्यसको बारेमा सोच्नु पर्दैन? 

पछिल्लोपटक जावलाखेल प्रहरीमा नुमा सुब्बा र मैले जे देख्यौँ, त्यसले हामीलाई साह्रै विचलित बनाएको थियो। कोही हिंसापीडित महिलाले उजुरी लिइदिन अनुरोध गर्दा त्यहाँ भएका प्रहरीहरुले उल्टो हप्किदप्की गर्दै ‘नीलडाम छ? छ भने देखाऊ, नत्र उजुरी लिन मिल्दैन,’ भनेको सुनेर हाम्रो दिमाग रन्थनिएको थियो भने पीडित महिलाको मनोदशा के भएको थियो होला, अनुमान मात्र लगाउन सकिन्छ। प्रहरी प्रशासन, न्यायीक प्रक्रिया जस्तो आम मानिसले सहारा खोजेर पुग्ने संस्थाहरुमा नै पीडितको मनोविज्ञानलाई गिजोल्ने गरिन्छ। 

साथी समूह, घरपरिवार, विद्यालय, समाजको हेर्ने दृस्टिकोणले पनि अधिकांश मानसिक समस्यसँग जुधिरहेकाहरुलाई दुत्कारेको, छिछिदुरदुर गरेको देख्दै हुर्किएका हामीले मानसिक स्वास्थ्यको बारेमा कहिल्यै सकारात्मक कुराहरू सिक्ने वातावरण पाएनौँ। मानसिक अस्वस्थताका विभिन्न प्रकारहरु हुन्छन् भन्ने पनि हामीलाई सिकाइएन। अझ सकेसम्म नियमित काउन्सेलिङ र थेरापीले निको हुने समस्याहरु पनि परिवारको दबाबमा लुकाएर, समाजले के भन्ला भन्ने भयले थिचिएर अझै बिकराल बनेका उदाहरणहरु छन्। अस्पताल र उपचारको पहुँचबाट वञ्चित गराइएर घरमै बाँधेर, खोरमा थुनेर राखिएका त कति हो कति छन्। मानसिक अस्वस्थता भनेको ‘बहुलाउनुु’ हो भन्ने भाष्य समाजमा यसरी व्याप्त छ कि कसैले म मनोपरामर्शदाताकहाँ जाँदैछु मात्रै भने पनि वरपर भएकाहरुले उसलाई घुरेर हेर्ने, अनुहारको भावभंगी बिगार्ने गरेको हामी देख्छौँ।

नजिकका साथीहरूले पनि किन जानुपर्यो थेरापी? के के न भएको जस्तो! यस्तो जाबो कुरा यतिकै पचाउने हो! जस्ता अभिव्यक्ति दिएर काउन्सेलिङ वा थेरापीमा गइरहेकाहरुलाई अझै हीनताबोध गराउने गरेको देखिन्छ। प्रमुख कुरा त हामीले मनोचिकित्सक भेट्नुपर्छ, मनोवैज्ञानिक परामर्श लिनुपर्छ, आवश्यक परेको खण्डमा चिकित्सकको सल्लाहअनुसार औषधि पनि सेवन गर्नुपर्छ भन्ने बुझ्न र बुझाउन नसक्नु हो। समाधानका बाटो खोजेर पीडाबाट बाहिर निस्किन गरिरहेको कसैको प्रयासलाई हामी नजरअन्दाज गर्छौं। 

जब उसको सहनशक्ति र धैर्यको बाँध भत्किएर उस्ले आत्महत्या प्रयास गर्छ र जीवन समाप्त गर्छ तब हामी पाठ पढाउन थाल्छौँ। त्यसबेला हामी अर्तीउपदेश थोपर्छौँ। के गर्नुहुन्थ्यो, के गर्न हुन्नथ्यो भनेर सञ्जालको भित्ता भर्छौँ। तर, आफ्ना नजिकका कुनै व्यक्तिले त्यसरी ज्यान दिनुअघि हामी उसलाई भेट्ने, कुराकानी गर्ने, हालखबर बुझ्ने, सुनिदिने गर्छौँ? उसले हामीलाई भरोसा गरेर आफ्नो गन्थन, निराशा पोख्ने सहज स्पेस कति बनाइदिन्छौँ? आफ्नो असुरक्षा, अनुभूतिहरुलाई बिसाउने मौका दिन्छौँ?

मानसिक अस्वस्थता डिप्रेसन हुनु, मानसिक सन्तुलन गुमाउनु मात्रै होइन। उदासीपन, असन्तुष्टि, एन्जाइटी, डर, फ्रस्टेसन, मुड स्विङ, बोर्डर लाइन पर्सनालिटी डिसर्डर, पोस्ट ट्रमाटिक डिसर्डरजस्ता थुप्रै मानसिक अस्वस्थताहरु हुन्छन्, जसमा हामीलाई सहयोग र चिकित्सकीय परामर्श चाहिन्छ। तर, समस्याको पहिचान गर्ने प्रक्रियामा पनि नपुगी हामी आफैँ ठिक हुन्छ भन्ने निष्कर्ष निकालिदिन्छौँ।

केही हप्तादेखि म पनि शिक्षण अस्पताल महाराजगन्जमा मनोचिकित्सक र परामर्शदातासँग नियमित सम्पर्क र थेरापीमा छु। म त्यहाँ सजिलै पुगेको होइन। विभिन्न कालखण्डमा घट्ने घटनाहरुले छाड्ने अप्रिय अनुभूतिहरुलाई हामी यस्तै हो, सबैलाई ठिक भइजान्छ नि भनेर, आफैँलाई अस्तव्यस्त छाडेर अघि बढ्ने चेष्टा गर्दा रहेछौंँ।

अलिक समय आफूलाई अलमल्याएपछि यी पीडाबाट छुटकारा पाइयोजस्तो लाग्दो रहेछ। तर, फेरि कुनै न कुनै समयमा त्यस्तै प्रकृतिका घटना दोहोरिँदा पुरानो पीडा पनि पुनः बल्झिँदो रहेछ, त्यत्तिकै सकस पर्दो रहेछ। यसरी हामीले बेवास्ता गर्दै गएका समस्याहरुको चाङले हामीलाई नजानिँदो पाराले गलाइसकेको हुनेरहेछ। जुन साँच्चिकै निको पार्न जरुरी हुन्छ। 

पहिलोपटक अस्पताल पुग्दा मैले के देखेँ भने मानसिक स्वास्थ्य अत्यन्तै बिग्रिएर शारीरिक दुर्बलता सुरु भएपछि मात्रै अधिकांश उपचारका लागि आउने रहेछन्। यसो हुनुको पछाडिको एउटा कारण हो मानसिक स्वास्थ्यलाई वर्जित विषय मान्नु। 

कसैले आफ्नो मनमा धेरै कुराहरू खेल्ने गरेको, अलिक धेरै उदासीनता महसुस गरेको सुनाउँदा यस्तो त सबैलाई हुन्छ भनेर एकदमै सामान्यीकरण गर्छौं र उसलाई ध्यान दिनुको सट्टा झर्को मानेर पन्छिन्छौँ। कमसेकम धैर्यपूर्वक उसको कुरा सुनेर धाप मात्रै मार्न पनि सक्ने समानुभूति हामी राख्दैनौँ। कसैले आफ्नो कुरा राख्दाराख्दै हामी बीचैमा आफ्नो कुराहरू प्वाक्व घुसाउँछौ। ए फलानोलाई पनि यस्तै भएको थियो, यतिकै ठिक भयो तैँले धेरै सोचेर हो भनेर उल्टो आरोप लगाउँछौँ। 

टिचिङमा काउन्सेलिङमा जाँदैगर्दा १२ कक्षामा पढ्ने बहिनी भेटेकी थिएँ जो आफ्नो बुबासँग आएकी थिइन्। उनी एकदम चुलबुले, उत्साहित स्वाभावको र बोलिरहनुपर्ने खालकी थिइन्। कुराकानीको क्रममा उनले आफूलाई प्यानिक अट्याक हुने गरेको र सात महिनादेखि निरन्तर थेरापीमा आइरहेको सुनाइन्। उनी र उनका बुबाबीचको कुराकानी सुन्दा पनि मलाई एकदमै सहज भएको थियो। तर, त्यस्ता बुबाहरु कति हुन्छन्?

स्कुल पढ्दै गरेका भाइबहिनीहरुले आफूलाई तनाव भएको, समस्यामा रहेको कुरा जब सेयर गर्छन्, उनीहरुको अनुभूतिलाई सिधै खारेज गरिन्छ। केटाकेटीलाई पनि टेन्सन हुन्छ? यत्रो उमेरमा के को तनाव हौ भनेर उनीहरुलाई सुन्दै सुनिन्न। दुई वर्षअघि मात्रै मैले पढाइरहेको एउटा संस्थामा भेटिएकी बहिनीले आत्महत्या गरेको खबरले स्तब्ध बनायो। पछि थाहा भयो, उनलाई आफ्नै काकाले यौन दुर्व्यवहार गरेका रहेछन्। घरमा अरुलाई सुनाउँदा पनि कसैले विश्वास नगर्ने गरेको उनले स्कुलमा साथीहरूलाई सुनाएकी रहिछन्। १३ वर्षकै उमेरमा आत्महत्या रोज्ने मनोदशामा पुग्न उनले कति अकल्पनीय प्रताडना सहनुपर्यो होला। आफ्नो गुनासो र समस्या सुनुवाइ नहुनुले अझै कति ऐठन पार्यो होला?

कम उमेरका बालिकाहरु यौन दुव्र्यवहार र हिंसामा पर्ने जोखिम अत्यन्तै उच्च हुन्छ। यस्तोमा उनीहरुको कुरालाई नसुनिदिनु, बेवास्ता गरिदिनुले उनीहरुमा पुग्ने मानसिक आघात अकल्पनीय हुन्छ। विद्यालय भित्रै पनि उनीहरु साथीहरूले गर्ने बुलिङ, सिनियरहरुको हेपाइ, शिक्षकहरुबाट हुने विभेदपूर्ण व्यवहार, अभिभावकले परीक्षाको नतिजालाई लिएर गर्ने तुलना र आलोचना जस्ता कुराहरूले बालबालिकाको मानसिक स्वास्थ्य बिगारिरहेको हुन्छ। 

थेरापी र काउन्सेलिङ सुलभ छ त? पहिलो कुरा त हामी मनोपरामर्शका लागि कि अत्यन्तै जटिल अवस्था भएपछि जान्छौँ या त उपचारका लागि जाने कुरामा ध्यानै पुग्दैन।

त्यसमाथि काउन्सेलिङ जस्तो आधारभूत र महत्त्वपूर्ण आवश्यकताको लागि हामीले महंगो शुल्क तिर्नुपर्ने रहेछ। पहिले निजी अस्पतालमा जान खोजेकी थिएँ। तर, चारपाँच सेसनकै महंगो शुल्क थाहा पाएर साथीहरुलाई भनेकी थिएँ, ‘समस्या भएर काउन्सेलिङ जानुपर्ने तर काउन्सेलिङ लिएर फी तिर्ने बेला अर्को काउन्सेलिङ लिनुपर्ने रहेछ!’ यस्तोमा कुन अस्पतालमा मनोपरामर्श सहज र सर्वसुलभ छ भनेर बुझाउन सकियो भने पनि धेरैलाई सहयोग हुन्छ।

धेरैतिर बुझिसकेपछि र केही साथीहरूको सल्लाहलाई पछ्याउँदै अन्तिममा म शिक्षण अस्पताल महाराजगन्ज पुगेँ। त्यहाँ पुगेपछि मलाई साँच्चिकै राहत महसुस भएको थियो। मेरो एन्जाइटीको समाधान भेटियो। मनोपरामर्शदाता र मनोचिकित्सकको व्यवहारले मलाई आधा समस्या त पहिलो दिन नै हल भएको जस्तो महसुस भएको थियो। न कुनै हस्तक्षेप न कुनै प्रतिप्रश्न। वहाँहरुले एकदम धैर्य राखेर, समय दिएर सुनिदिनुले मात्रै पनि कति हो कति हलुका बनाएको थियो। म पहिल्यै यहाँनेर किन आइनछु जस्तो पनि लागेको थियो। मलाई घच्घच्याएर थेरापी सम्म लैजाने नुमा, बृगिड, कृतिका, सम्पदा, मिरा, बिन्नी, सबैलाई आभार अनि प्रेम।

सधैँ दुखाइहरुमा अल्झेर, पीडाबोध गरेर, आफ्नो दैनिकी र जिन्दगी बिगारेर, पुग्नुपर्ने गन्तव्य भुलेर आफैंलाई अस्तव्यस्त, लथालिङ्ग, भताभुङ्ग पार्नेहरुलाई सम्हाल्ने डाक्टर लीला देवकोटा, सानी बहिनीको बुबा र मेरा साथीहरुजस्तै बन्ने प्रयत्न गर्नुस् ल तपाईंहरु पनि!

असोज ४, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .