संसारमा अर्काे त्यस्तो धर्म सायदै होला, जसले आफ्नै अनुयायीलाई ‘अछूत’को दर्जामा राखेर हदैसम्मको हेला गर्छ! विश्वमा त्यस्ता ‘देउता’ दुर्लभै होलान्, जसलाई आफ्नै भक्तले छुन मिल्दैन। छोए वा छुन खोजे उसको हत्यै गरिन्छ!
तर हिन्दू धर्म एउटा त्यस्तो ‘धर्म’ हो, जसले माथि उल्लिखित ‘विशेषता’ बोकेको छ। अर्थात् यसका एकथरी अनुयायी जन्मनासाथ ‘अछूत’ हुन्छन्, घृणा, अवहेलना र हिंसाका भागीदार हुन्छन्। अनि हिन्दू देवी–देवता, यो दुनियाँका त्यस्ता अभूतपूर्व ‘भगवान्’ हुन्, जसलाई एकथरी भक्तले पुज्न/ढोग्न त परै जाओस्, छुनसमेत मिल्दैन। कसैले पुज्न/ढोग्न पाउनुपर्छ भनेर जबर्जस्ती गर्न खाेजे उसले ज्यानै गुमाउनुपर्ने हुन्छ।
भर्खरै चितवनको भरतपुरमा भएको दलितको हत्याले यसलाई पुनः पुष्टि गरेको छ।
हिन्दू धर्मको अलिकता मात्र पनि आलोचना भयो भने हामीमध्ये कतिपयको चित्त कम्ता चहर्याउँदैन! आलोचना गर्नेलाई हामी अधर्मी, पापी, डलरे, क्रिश्चियनको एजेन्ट के के हो के के, आरोपको ओइरो लगाइहाल्छौं। तर त्यही धर्मका नाममा मानिसको हत्या नै हुँदा भने हाम्रो ‘धर्माती’ मन पटक्कै दुख्दैन!
नत्र हिन्दू धर्मको थोरै विरोध हुँदा पनि तीन हात उफ्रिनेहरू एउटा हिन्दुले हिन्दूकै मन्दिरमा पूजाआजा गर्न पाउनुपर्छ भन्दा उसको हत्या नै हुँदा किन चुइँक्क बोल्दैनन्? किन भन्दैनन्– यो गलत हो। हिन्दू धर्ममा छुवाछूत छैन। मान्छे मार्नु धर्म हुँदै होइन!
दसैं मूलतः हिन्दू धर्मावलम्बीको महान् चाड हो। अपवादबाहेक दलित समुदायका मानिस पनि हिन्दू धर्मावलम्बी नै हुन्। उनीहरूको अर्काे धर्म छैन। यसर्थ यिनको धार्मिक–सांस्कृतिक विधि–विधान अन्य हिन्दूको जस्तो हो, त्यस्तै हो। त्यसैले अन्य हिन्दूले दसैंमा जुन जुन देवी–देवताका पूजा/आराधना गर्छन्, दलित समुदायका भक्तजनले पनि तिनैतिनै देवी–देवताका पूजा गर्छन्/गर्न चाहन्छन्।
विडम्बना! दलित समुदायका मानिसलाई आफ्ना भगवान् पुज्ने तथा तिनका मन्दिरमा छिर्ने अधिकार छैन। किनकि हिन्दू धर्ममा निश्चित ‘जात’लाई मात्र एकलौटी अधिकार छ, आरक्षण छ। यसैले हिन्दू धर्मावलम्बी नै भए पनि उनीहरूबाहेक जब अन्यले हिन्दू धर्ममा समान अधिकार खोज्न थाल्छन्, तब तिनको हालत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको जस्तो हुनेछ।
भरतपुर–४ मा हिन्दूकी देवी दुर्गाको मन्दिर छ (तल तस्बिर : महावीर विश्वकर्माबाट)। दसैंमा विशेषगरी दुर्गाकै बढी पूजाआजा हुन्छ। तर त्यहाँ हिन्दू धर्मकै भक्तजन दलितले छिर्नसमेत पाउँदैनन्।
घटना विवरणअनुसार भर्खरै बिदा भएको दसैंको महाअष्टमी (असोज २७ गते) का दिन बिहान त्यस मन्दिरमा पशुपन्छीको बलि दिनेहरूको भीड लागेको हुन्छ (बलि दिनु बेठीक हो भन्ने सन्दर्भ बेग्लै हो)। जहाँ स्थानीय भीमबहादुर विश्वकर्मा पुग्छन्। (विपक्षीको आरोपअनुसार) रक्सी खाएरै सही, उनले वर्षाैंदेखि मनमा गुम्स्याएर राखेको पीडा ओकल्छन्– ‘यस मन्दिरमा हामी दलितलेचाहिँ बलि चढाउन किन नपाउने!’
एउटा हिन्दूले हिन्दूकै देवीस्थानमा पूजा गर्न पाउनुपर्छ भन्नु धार्मिक–सांस्कृतिक हिसाबले पनि कुनै अन्यायपूर्ण कुरा हो र!
तर हिन्दू दर्शनले दीक्षित सीताराम बस्नेतलाई सहिनसक्नु हुन्छ। मानौं, भीमबहादुरले ‘महापाप’को कुरा बोले। त्यसैले ‘धर्माती’ सीतारामले ‘पापी’ भीमबहादुरलाई तत्काल पाइपै पाइपले बजाउन थाले। उनी घाइते भए। र, नजिकैको औषधि पसल (पल्लवी फार्मेसी) मा छिरे, उपचार पाउँछु कि भनेर। तर त्यहाँ पनि हिन्दू विचारले ओतप्रोत त्यस्तै महान् ‘धार्मिक’ थिए– दिलीप श्रेष्ठ (फार्मेसी सञ्चालक), त्यसैले उनले एैया एैया भन्दै पुगेका घाइते भीमबहादुरलाई औषधि होइन, मुक्का दिए र भुइँमा ढाले। सायद यतिन्जेल यी दुई पात्रलाई आफूले कुनै ‘पाप’ होइन, हिन्दु धर्मशास्त्रअनुसार ठूलो ‘धर्म’ गरेको अनुभूति भइरहेको हुँदो हो।
सम्भवतः भीमबहादुरको प्राण लगभग घटनास्थलमै गइसकेको थियो। त्यसैले चितवन मेडिकल कलेज पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरे।
दलित अधिकारकर्मी एवं नेकपा एकीकृत समाजवादीनिकट नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले आफ्नो पार्टी एवं संगठनका पदाधिकारीको टोलीले स्थलगत अध्ययन गर्दा मन्दिर प्रवेशकै निहुँमा भीमबहादुरको हत्या भएको पुष्टि भएको दाबी गरेका छन्।
याे पनि : भीमबहादुरका हत्यारालाई कारबाही गर्न दलित मुक्ति संगठनको माग
यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीनिकट जात व्यवस्था उन्मूलन मोर्चाका सचिव महावीर विश्वकर्माले पनि आफूहरूले स्थलगत अवलोकन गर्दा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेर आवाज उठाएकै कारण भीमबहादुरको हत्या भएको पाइएको दाबी गरेका छन्।
‘स्मरण रहोस्, यो त्यही ठाउँ हो, जहाँबाट करिब १ किमिजति पर बैंकटेश्वर मन्दिर छ र केही वर्ष पहिले दलितहरूलाई त्यो मन्दिर प्रवेश गर्न नदिने चलनविरुद्ध ठूलो आन्दोलन भएको थियो’, विश्वकर्मा भन्छन्, ‘जुन आन्दोलन दलित संघर्षको एक महत्त्वपूर्ण आन्दोलनका रूपमा दर्ज छ। त्यो इतिहासलाई रिफ्रेन्सका रूपमा हेर्दा पनि अहिलेको घटना र यहाँको जातीय विभेदको अवस्था बुझ्न थप सहयोग मिल्ला भन्ने लाग्छ।’
पीडित परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई पक्राउ गरिसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यो कानुनी पाटो कानुनबमोजिम नै अघि बढ्दै गर्ला। हामी भने हिन्दू धर्मकै विडम्बनातर्फ लागौं।
धर्म के हो?
‘धर्म’ आफैंमा नराम्रो शब्द लाग्दैन; होइन पनि। तर संसारमा धर्मका नाममा गरिने सबै कर्म राम्रा छैनन्; बरु कतिपय त अमानवीय र जघन्य अपराधकै स्तरमा छन्।
तिनैमध्ये एक हो– जातीय भेदभाव र छुवाछूत। मानिसले यो अमानवीय हर्कत मूलतः ‘धर्म’कै नाममा जारी राखेका छन्। मान्छेले मान्छेलाई जन्मकै आधारमा ‘अछूत’ भन्दै घृणा र बहिष्कार गर्नु धर्म हुन सक्ला? आफूजस्तै मान्छेको मनलाई कुल्चेर, आत्मालाई जलाएर पनि धर्म कमाइएला? हाम्रो हिन्दू धर्मले हामीलाई बुझाएको धर्मको परिभाषा यही हो? दिएको शिक्षा यस्तै हो? हो भने त गम्भीर प्रश्न उठ्छ– हाम्रो धर्म साँच्चै ‘धर्म’ हो कि यसको उल्टो? अनि मान्छेलाई अनाहकमा अछूत भन्दै हेला गर्दै, कुट्दै, मार्दै गरेर हामीले स्वर्ग पुग्ने काम गरिरहेका छौं कि नर्क?
एकपल्ट गम्भीर भएर सोच्ने हो कि ‘धार्मिक’हरू हो?
उसो त हाम्रो संविधानले मात्र होइन, विश्वव्यापी कानुनले नै जातीय छुवाछूत ‘अपराध’ भनेको छ। अपराध भनेको पाप होइन र? पाप गरेर धर्मको डम्फु कहिलेसम्म बजाउने?
जति ‘धार्मिक’, उति छुवाछूती!
गाउँमा होस् वा सहरमा। जो जति आफूलाई ‘धार्मिक’ ठान्छ, भगवानको ‘भक्त’ ठान्छ, ऊ उति नै छुवाछूती भएको पाइन्छ। धारा–इनारमा ‘चोखो पानी’ नाममा तिनैले बढी दलितलाई छिः छिः र दूरदूर् गर्छन्। मठ–मन्दिरमा ‘पूजापाठ’ का नाउँमा तिनैले दलितलाई बहिष्कार गर्छन्। गर्न सिकाउँछन्।
हिन्दू धर्ममा यस्तो लाग्छ– ‘धार्मिक’ हुनुको मुख्य मापदण्ड नै मान्छे (दलित) लाई हेला गर्नु हो, कुट्नु हो, मार्नु हो। यो कस्तो धर्म हो?
चितवन घटना त पछिल्लो उदाहरण मात्र हो।
दलितले हिन्दू धर्मसँग सम्बन्ध विच्छेद गर्नैपर्ने हो?
माथि नै भनियो– अपवादबाहेक दलितहरूको धर्म पनि हिन्दू नै हो। तर यिनलाई यो धर्मले आजका मितिसम्म ‘मान्छे’ भएर बाँच्न दिएको छैन; कहिले देलाजस्तो पनि लाग्दैन। विडम्बना यस्तो छ– कुनै दलितले आफू हिन्दू हुँ भन्नु आफैंले आफूलाई कुकुरभन्दा तल्लो दर्जाको प्राणी स्वीकार गर्नु हो। जसले यसबाट आफूलाई माथि सम्झिने ‘दुष्प्रयास’ गर्छ, त्यसले चितवनका भीमबहादुर बन्नुपर्ने हुन्छ।
अतः गम्भीर भएर सोच्नैपर्ने भएको छ– जुन धर्मभित्र आफूलाई ‘मान्छे’ मानिँदैन। जुन धर्मका देवी–देवता, मन्दिर छुन पाइँदैन, छुन खोज्दा वा छुँदा ज्यानै गुमाउनुपर्छ, त्यस्तो धर्म र भगवान् दलितले कहिलेसम्म मानिरहने?
कि दलित समुदायले हिन्दू धर्मसँग सम्बन्ध विच्छेद गर्नुपर्ने हो?
हिन्दू धर्मका ठेकेदार, संरक्षक र ज्ञाता बोल!
यहाँसम्म आइपुग्दा कतिपयले मलाई यो पक्कै अर्कै धर्मको मानिस हुनुपर्छ भन्ने ठानिसके होलान्। किनकि हाम्रो विशेषतै के हो भने आफ्नो आङको भैंसी नदेख्ने, अरूको आङको जुम्रा! आफूभित्रको कमजोरी केलाउनुभन्दा हतपति अरूलाई आरोप लगाउन तम्सिहाल्ने।
तर ढुक्क हुनुस् म हिन्दू धर्मावलम्बी नै हुँ, भर्खरै निधारभरि टीको लगाएर दसैं मानें। ससुराली गएँ। अब आउँदै गरेको तिहार मनाउने तयारीमा छु।
प्रतिक्रिया