ब्लग


आफ्नै टाउकोको मूल्य तोक्नेसँग प्रचण्डले किन गरे गठबन्धन?

आफ्नै टाउकोको मूल्य तोक्नेसँग प्रचण्डले किन गरे गठबन्धन?

रूपबहादुर विश्वकर्मा
बैशाख ४ , काठमाडौँ

‘राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने भनाइको अपव्याख्या गरेर....आफू र आफ्नै सहकर्मीको टाउकोको मूल्य तोक्ने वर्गशत्रुसँग घाँटी जोड्नेहरू....नेकपाको सरकार ढालेर उनीहरूले नै भन्ने गरेका वर्गशत्रुहरूसँग अनैतिक साँठगाँठ गर्ने...!’

दुर्गा प्रसाईंको मुखबाट बकाइएको प्रस्तुत पंक्ति खासमा पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष हो।

हालै भक्तपुरमा सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि उद्घाटन समारोहमा एमाले नेता दुर्गा प्रसाईं लिखित मन्तव्य पढेर सुनाइरहेका थिए। प्रचण्ड र एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विष वमन गरिएको त्यो मन्तव्य खासमा मुख प्रसाईंको थियो, बोली ओलीको भन्ने कुरा राजनीतिप्रति चासो राख्ने सामान्यजनले पनि सहजै अनुमान गर्न सक्थ्यो। किनकि विरोधीलाई प्रयोग गरिएका शब्द ठ्याक्कै ओलीका जस्तै थिए। 

खैर, जे होस्, यो आलेखको उद्देश्य त्यो लिखित मन्तव्य कसले लेखेको थियो भनेर पत्ता लगाउनु होइन, बरु हिजोका दिनमा आफ्नै टाउकाको मूल्य तोकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै आज ‘घाँटी जोड्न’ साँच्चै प्रचण्ड किन पुगे, यसको खोजी गर्नु हो।

कांग्रेस र कम्युनिस्टसहितको गठबन्धनमा संयुक्त सरकार बनेयता एमालेले आफूलाई कम्युनिस्ट भन्ने प्रचण्ड र माधव नेपालले कम्युनिस्टकै सरकार ढालेर सत्तामा वर्गशत्रुलाई पुर्याएको आरोप लगाइरहेको छ।

हुन पनि हो, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता गरी नेकपा बनाइएपछि नेपालमा इतिहासमै पहिलोपटक कम्युनिस्टको झन्डै दुईतिहाइ बहुमतको सरकार बनेको थियो। तर पाँच वर्षका लागि निर्वाचित त्यो शक्तिशाली कम्युनिस्ट सरकार तीन वर्ष पनि नपुग्दै गर्लम्म ढल्यो र कांग्रेसले कल्पनै नगरेको कुरा सत्ताको नेतृत्व पायो। र, हिजो आफैंले वर्गशत्रु भनेको दलको नेतृत्वमा यतिबेला नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासमेत तीन/तीनवटा कम्युनिस्ट पार्टी सत्ता गठबन्धनमा छन्। पक्कै पनि यो अनौठै अवस्था हो। एमालेले यसलाई ‘अनैतिक साँठगाँठ’ भन्नु आफैंमा अस्वाभाविक होइन। 

तर वर्गमित्र छाडेर वर्गशत्रुसँग मिल्नुपर्ने परिस्थिति किन र कसरी सिर्जना भयो? यसको जवाफ दिने जिम्मेवारी त स्वयं एमाले त्यसमा पनि विशेषगरी यसका अध्यक्ष केपी शर्मा ओलीको बढी हुन्छ होला। छँदाखाँदाको दुईतिहाइ बहुमतको बलियो सरकारबाट बाहिरिँदै प्रमुख प्रतिपक्षी सत्ता पक्ष र आफू (एमाले) प्रमुख प्रतिपक्षका रूपमा परिणत हुनुपर्ने परिस्थिति आउनुमा केपी ओलीचाहिँ कम जिम्मेवार छन् र? कि सबैभन्दा बढी जिम्मेवार? 

त्यसैले आफू ‘कम्युनिस्ट’लाई छाडेर प्रचण्ड र माधव नेपाल ‘वर्गशत्रु’ कांग्रेससँग मिले भनेर नेपाली जनताको कान टट्टाउने गरी कराउनु भनेको ‘नाच्न नजान्ने, आँगन टेढो’ उक्ति चरितार्थ गर्नु हो। आखिर हिजोका दिनमा आफ्नै टाउको काट्न तम्सिएको कांग्रेसभन्दा डरलाग्दो एमाले (कम्युनिस्ट) किन लाग्यो, प्रचण्डलाई? यो त स्वयं एमाले तथा यसका अध्यक्ष ओलीले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने विषय होइन र? 

माओवादी केन्द्र त  पहिले पनि अलग्गै पार्टी थियो, ऊ छुट्टियो; खासै अचम्म होइन। तर आफ्नै पार्टी (एमाले) समेत किन (नेकपा एकीकृत समाजवादी जन्मेर) दुईटुक्रा भयो? 

उत्तर खोज्न एमाले अध्यक्ष केपी ओलीले दुई/दुईपटक चालेका असंवैधानिक कदम (अदालतले ठहर गरेको कुरा हो) बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गरेको प्रकरणसम्म पुग्नुपर्ने हुन्छ। जसको कथाले बताउनेछ– आज एउटा कम्युनिस्ट पार्टीलाई आफूजस्तै कम्युनिस्ट (एमाले) भन्दा कांग्रेस किन ठीक लाग्यो? 

ती दिन केपी ओलीका ‘शत्रु’ प्रचण्ड र माधव नेपालहरू मात्र विरोधमा उत्रिएका थिएनन्, एमालेकै पनि ‘बा’ (केपी ओली) समर्थकबाहेक लगभग सबै सडकमा निस्किएका थिए, संविधान र गणतन्त्र रक्षाका लागि। जसै सर्वाेच्च अदालतले दोस्रोपटक प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न आदेश दियो, बल्ल देशले शान्तिको सास फेर्न पाएको थियो।

त्यसयता अध्यक्ष ओलीसहित एमालेका नेताहरूले आफ्ना हरेक भाषणमा ‘परमादेश’ शब्द छुटाउने गरेका छैनन्। ‘परमादेशबाट बनेको सरकार’, ‘परमादेशी सरकार’ आदि। तर गठबन्धन सरकारलाई यस्तो आरोप लगाइरहँदा एमाले नेताहरूले के भुसुक्कै बिर्सेका छन् भने उनीहरूको पार्टी (एमाले) पनि त्यही अदालतको आदेशबाट पुनःस्थापना भएको हो। नत्र त एमालेको अस्तित्व माओवादी केन्द्रसँग एकता गर्नासाथ सकिएको थियो। 

कताबाट ऋषि कट्टेलले आफ्नो पार्टीको नाम (नेकपा) सँग जुधाएर अर्काे दल निर्वाचनमा आयोगमा दर्ता गरियो भनेर सर्वाेच्च अदालत मुद्दा हालिराखेका थिए र ऐन मौकामा फैसला पनि उनकै पक्षमा आएका कारण एमालेले पुनर्जीवन पाएको होइन र? अहिलेको एमाले उसैले भन्ने गरेको जनादेशबाट होइन, अदालतकै आदेशबाट जन्मेको हो। आफैं अदालतको आदेशबाट उत्पन्न भएर अरूलाई ‘परमादेशबाट बनेको’ भन्दै खिसिटिउरी गर्नु सुहाउने कुरा हो र?

प्रचण्ड, माधवकुमार नेपाल वा शेरबहादुर देउवाचाहिँ मुलुक र जनताका लागि ‘एकदमै ठीक’ व्यक्तिहरू पक्कै होइनन्; उनीहरूको कार्यशैली कसलाई थाहा छैन र? प्रचण्ड, माधवकुमार नेपालहरूले चाहिँ आजका दिनसम्म देश र जनताको हितमा मात्रै काम गरेका छन् भन्ने पटक्कै होइन; उनीहरूले पनि थुप्रै गल्ती, कमीकमजोरी गरेका छन्, गरिरहेका छन्, जसविरुद्ध नागरिक–नागरिक समाजले निरन्तर खबरदारी गरिरहन आवश्यक छ। 

यसअघि चार/चारचोटि प्रधानमन्त्री भइसकेका देउवा ‘एकदमै असल’ भएका कारण ओलीलाई हटाईहटाई प्रधानमन्त्री बनाउनुपरेको पक्कै होइन। तर खराबहरूमध्ये कम खराब रोज्नैपर्ने बाध्यता देश र जनतालाई थियो, छ। 

व्यवस्थाअनुरूप जनताको अवस्था बदलिन बाँकी नै छ। तर नेपाली नागरिकको लामो संघर्ष र ठूलो बलिदानीपछि प्राप्त संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता- दलित, शोषित, उत्पीडितको मुक्ति र परिवर्तनका जग हुन्। जग भए न पिलर उठाउने हो, तला थप्ने हाे, तसर्थ जगै भत्काउने केपी ओलीभन्दा कम्तीमा जग जोगाउनसम्म सहमत शेरबहादुर देउवा ‘अग्रगामी’ हुन्, यसैकारण संविधान, गणतन्त्र नै गुम्न दिनुभन्दा ‘कांग्रेसकै पुच्छर समाएर’ भए पनि त्यसको रक्षा गर्नु देश र जनताका लागि हितकर हाे। 

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने कुरा त कांग्रेस र शेरबहादुर देउवाले नै प्रमाणित गरिसकेका छन्। हिजो जुन संविधान र व्यवस्था आउनबाट रोक्न देउवा प्रचण्डको टाउको काट्न कस्सिएका थिए, आज उनै गणतन्त्रको शिर बचाउन प्रचण्डलाई साथ दिइरहेका छन्। मान्छेले परिवर्तन हुन त पाउँछ नि! जसरी कुनै बेला सबैभन्दा बढी राजतन्त्रको वकालत गर्ने कमल थापा आज ‘गणतन्त्रवादी’ भएका छन्। 

अँ साँच्ची, ‘सिंगल सिंगल भिड्ने’ भनिरहेको एमालेले पनि अन्ततः ‘बदलिएको’ त्यही राप्रपा नेपालसँग गठबन्धन गरेको छ। योसँगै एमालेले आफ्नो वास्तविक हैसियत र रूप देखाएको छ भन्न हिचकिचाउनु पर्दैन। हिजो गठबन्धनको विरोध त बरा कसैको साथ नपाएर पो गरेको रहेछ, नत्र ता आफूसँग मिल्ने र आफूलाई पत्याउने साथी पाए त ऊ आफैं गठबन्धन गर्न कति आतुर रहेछ! राप्रपा नेपालसँगकाे ‘साँगगाँठ’ फगत चुनावी तालमेल मात्र नभएर एमाले अध्यक्ष ओलीको हिन्दुवादी यात्रा पनि हो। किनकि केही समययता ओली ‘रामभक्त’ भएका छन् भने राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्रसँग रिसाउँदै राजतन्त्रको मुद्दा मात्र छाडेका हुन्, हिन्दू राष्ट्र छाडेका छैनन्। प्रकारान्तरले थापाको राप्रपा नेपाल एमालेको जबज पथमा होइन, एमालेचाहिँ राप्रपा नेपालको बाटोमा अघि बढेको आभास हुन्छ। 

आफैंजस्तो कम्युनिस्ट पार्टीबाट बहिष्कृत एमालेले अब जनतालाई जवाफ दिनुपर्ने भएको छ– एउटा हिन्दुवादी दलसँग गठबन्धन गर्नुचाहिँ कसरी कम्युनिस्ट सिद्धान्त हो, ‘नैतिक साँठगाँठ’ हो त? कसबाट के जोगाउन एमालेले राप्रपा नेपालसँग गठबन्धन गरेको? 

यसर्थ तमाम कमजोरीका बीच प्रचण्डले हिजो आफ्नो टाउकै काटिने जोखिम मोलेर जुन व्यवस्था ल्याए, आज त्यो पुरानो कुरा नबिर्सिने हो भने संविधान र गणतन्त्रकै मुन्टो निमोठिने अवस्थामा ‘वर्गशत्रु’ नै सही, कांग्रेससँग गठबन्धन गर्नु अग्रगामी कदम नै मान्नुपर्छ। आखिर व्यक्तिको टाउको भन्दा त देश र गणतन्त्रकै टाउको मूल्यवान् हुन्छ, होइन र? त्यही टाउको बचाउन त सयौं सहिदले आफ्ना टाउका गुमाएका हुन्।

वर्तमान गठबन्धन सरकारले पनि नागरिकको जीवनमा उलटपुलट ल्याउने त्यस्ताे केही गरेको छैन, गर्दैन पनि।  सर्वसाधारणका लागि त यो सरकार पनि ‘जुन जोगी आए पनि कानै चिरेका’जस्तै हो।

तर यहाँनेर के बिर्सन हुँदैन भने देशको मूल कानुन (संविधान) नै नमान्ने, शक्तिको आडमा मैले जे गर्दा पनि हुन्छ भन्ने ओली अराजकता रोकिएको छ, देशलाई कम्तीमा पद्धति र विधिमा ल्याएको छ, मुलुक विधिवत् निर्वाचनतर्फ अगाडि बढेकाे छ। यसका लागि पाँच दलीय गठबन्धनलाई नेपाली जनताले धन्यवाद नै भन्नुपर्छ। 

तर देश र जनताका लागि गठबन्धन गरेका हौं भन्ने दलका शीर्ष नेता पनि ‘वंशवाद’तिर लाग्न थालेको देख्दा भने नेपाली जनता झस्किएका छन्; यसलाई बेलैमा नसच्याए वैशाख ३० गते पक्कै जवाफ दिनेछन्। 

बैशाख ४, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad