ad ad

ब्लग


ती किशोरीको भाइरल स्ट्यान्ड अप कमेडी, अनि यो अपूर्व प्रकरण

ती किशोरीको भाइरल स्ट्यान्ड अप कमेडी, अनि यो अपूर्व प्रकरण

जस्मिन ओझा
कात्तिक ११, २०७९ शुक्रबार १३:१८, काठमाडौँ

कलाकारितालाई देश र समाजको ऐना भन्ने गरिन्छ। यसका विभिन्न आयाम र विधाहरु हुन्छन्। त्यसमध्येको एउटा बलियो विधा हो– हास्यव्यंग्य। 

हास्यव्यंग्यलाई कलाकारिताभित्रकै सबैभन्दा कठिन विधाको रूपमा हेरिन्छ। वास्तवमा मान्छेलाई हँसाउन त्यति सजिलो काम होइन, बरु रुवाउन सजिलो होला। हास्यव्यंग्यमा फगत हाँसो सिर्जना गरेर मात्र पुग्दैन, त्यसमा पर्याप्त संवेदनशीलता पनि हुनुपर्छ। कुनै पनि कलाकारले हास्यव्यंग्य सामग्री प्रस्तुत गर्दा देशको सामाजिक परिवेश, रीतिरिवाज, धर्मसंस्कृति, राष्ट्रियता लगायतका कुराहरुमा निकै सोचविचार गर्नुपर्छ। अन्यथा त्यो व्यंग्य व्यंग्यमा सिमित नरहेर विद्वेष भड्काउने धारिलो हतियार जस्तो बन्न पुग्छ। 

हास्यव्यंग्यमा पर्याप्त संवेदनशीलता अपनाउन नसकेकै कारण हाल एकजना युवा स्ट्यान्डअप कमेडीयन अपूर्व क्षितिज सिंह नचाहिँदो कानुनी झमेला व्यहोरिरहेका छन्। हास्यव्यंग्यका नाममा आफूहरुको भावनामाथि चोट पुर्याउने काम गरेको भन्दै क्रुद्ध काठमाडौंको रैथाने नेवार समुदायका व्यक्तिहरुले उनीविरुद्ध कानुनी उपचार खोजेका थिए। उनीहरुको उजुरीका आधारमा सिंहलाई प्रहरीले दुई पटक पक्राउ गरी हिरासतमा राखेपछि यसलाई लिएर थुप्रै आलोचनाका स्वरहरु तरंगित भइरहेका छन्। पक्ष र विपक्षमा बहस जारी छ। 

म उनको पक्ष वा विपक्षमा वकालत गर्नका निम्ति यो लेख लेखिरहेको छैन। बरु एउटा हास्यव्यंग्यको पारखीको रुपमा नेपालको हास्यव्यंग्य क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुमाथि अलिकति चिरफार गर्ने जमर्को गरेकी हुँ। अपूर्व सिंहमाथि आज राज्यको कारबाही ज्यादतीपूर्ण नै छ, तर उनले गरेको कमेडी पनि सहजै पचाउन सकिने खालको चाहिँ थिएन। एउटा जातविशेषलाई मात्रै निसाना बनाउँदा उनले यसबाट उत्पन्न हुन सक्ने सम्भावित प्रतिक्रियाको हेक्का राख्न नसकेकै हुन्। तर, अपूर्व पहिलो कमेडियन होइनन्, जसले यो गल्ति गरे। 

हामीले महजोडी र सन्तोष पन्तदेखि आजका हिमेश पन्तसम्मका कमेडी हेर्दै आएका छौँ। विगतमा नेपालको कमेडी क्षेत्र टेलिचित्र र स्टेज शोमा बढी केन्द्रित थियो। अहिले चाहिँ टेलिभिजन रियालिटी शोमा बढी केन्द्रित छ। रियालिटी शोको भेलबाढीका कारण स्ट्यान्ड अप कमेडी निकै मौलाएको छ। र, सबैभन्दा बढी विकृति पनि स्ट्यान्डअप कमेडीमै छ। यहाँ रोस्टका नाममा प्रतिष्ठित व्यक्तिहरुमाथि चारित्रिक प्रहार गर्ने, हँसाउने धुनमा भद्दा र अश्लील मजाक गर्ने कलाकारहरु स्ट्यान्डअप कमेडीमा हावी छन्। हिजो मह जोडीले गर्ने हास्यव्यंग्य जति स्वस्थकर थियो, आजका स्ट्न्यान्डअप कमेडियनहरुको कमेडी त्यत्तिकै अस्वस्थकर छ। 

हालै मात्र एउटा टेलिभिजन रियालिटी शो बन्द भयो, जसको नाम थियो– आमा कसम यहाँ दुख्छ। उक्त कथित रियालिटी शोको कन्सेप्ट नै थियो, बोलाएका गेस्टहरुलाई सकेसम्म मानमर्दन र बेइज्जती गर्ने। कलाकारितामा लामो समयदेखि योगदान गरेका हस्तीहरुलाई निम्त्याएर रोस्टका नाममा उनीहरुमाथि अपमानजनक शब्दहरु वर्षाउने कार्यक्रम जतिसक्दो चाँडो बन्द हुनुपर्थ्यो। बन्द भयो, राम्रो भयो। तर, अहिले पनि युट्युबमा धेरै स्ट्यान्डअप कमेडीहरु आइरहेका हुन्छन्, जसलाई सहजै पचाउन सकिँदैन। 

करिब दुई वर्षअघि एक किशोरीको स्ट्यान्ड अप कमेडी भाइरल भएको थियो। अहिले पनि टिकटकमा फाट्टफुट्ट आइरहेको हुन्छ। उनले त्यस प्रस्तुतिमा पुरुषको यौनाङ्गलाई हास्यव्यंग्यको विषय बनाएकी छन्। उनको प्रस्तुति युट्युबको एक नम्बर ट्रेन्डिङमा नै पुग्यो। तर, त्यसले कस्तो सन्देश दियो त समाजलाई? के अहिलेको पुस्ताका किशोरीको सोचाइको स्तर यही नै हो त? यदि कुनै पुरुषले महिलाको शरीरलाई लिएर यस्तो टिप्पणी गरेको भए अवश्य पनि त्यो निकै ठूलो मुद्दा बन्न सक्थ्यो। तर, स्त्रीले पुरुषको शरीरमाथि टिप्पणी गर्दा त्यस्तो ठूलो इस्यु बनेन। त्यसलाई हेरेर पुरुषहरुले नै मनोरञ्जन लिए। 

त्यसो त अहिले नेपालको हास्यव्यंग्य क्षेत्र निकै फस्टाइरहेको छ। नयाँ–नयाँ प्रतिभावान कलाकारहरु जन्मिरहेका छन्। 

उनीहरुले दर्शकको भरपुर मनोरञ्जन गराइरहेका छन्। रियालिटी शोले पनि यस्ता कलाकारहरु जन्माउनमा ठूलो मद्दत गरेको छ। तर, सँगसँगै विकृति–विसंगतिको पनि चाङ लागेको छ। यसतर्फ कमेडियनहरुले पक्कै ध्यान दिनुपर्छ। 

अब फर्किन्छु अपूर्व क्षितिजकै कमेडीमा। उनको त्यो विवादित प्रस्तुति मैले पनि हेरेँ। यदि उनले अन्य विषयवस्तुहरुमा मिसाएर नेवार समुदायका पनि केही प्रसंग प्रस्तुत गरेको भए त्यो आपत्तिको कुरा नहुन सक्थ्यो। तर, सुरुदेखि अन्त्यसम्म नेवार समूदायलाई नै व्यंग्यको निसाना बनाउँदा उनीहरुको भावनामा चोट पुगेको हो। नेवारको खानापान, रहनसहनदेखि बोलिचालीमाथि व्यंग्य गरेका छन्। जबकि यस्ता कुराहरुमा व्यंग्य गर्नु त्यति जायज ठानिँदैन। सबै समूदायलाई आफ्नो संस्कृति, रीतिरिवाजमाथि गर्व हुन्छ। र, यस्ता विषयमा अरु समूदायका व्यक्तिले प्रहार गर्दा चोट पुग्छ नै। 

यद्यपि, यो कुनै कानुनी उपचारको विषय भने बन्नु हुँदैनथ्यो। यसकारण पनि कि, अपूर्व क्षितिजले आफ्नो गल्ती महसुस गरेर सार्वजनिक रुपमा माफी मागिसकेका थिए। उक्त समुदायका व्यक्तिले उनीसँग आइन्दा यस्तो खालको कमेडी नगर्ने भनेर लिखित सहमति गरेको भए मामला सल्टिन सक्थ्यो। तर, यहाँ इगोको लडाईं भइरहेको छ। जातको राजनीति गर्ने केही व्यक्तिहरु धमिलो पानीमा जाल फ्याँक्न खोजिरहेका छन्। उनीहरुलाई जातीय एजेन्डा बेचेर चुनावमा भोट बटुल्ने भुत सवार छ। यसर्थ यसलाई अनावश्यक रुपमा चर्काइएको हो कि जस्तो पनि लाग्छ। 

अपूर्व प्रकरण एउटा पाठ पनि हो। अरु हास्यकलाकारहरुलाई पनि यसले अवश्य सचेत गराउने छ। धेरै दिग्गज कलाकारहरुले पनि कमेडीमा जातीय तथा धार्मिक संवेदनशीलताको ख्याल नगरेको हामीले देखेका छौं। केही दिनअघि मात्रै एउटा रियालिटी शोमा हिन्दु धर्मका सबैभन्दा ठूला देवता महादेवलाई नै हास्यव्यंग्यको विषय बनाइएपछि विवाद भएको थियो। अन्ततः उक्त कार्यक्रमको प्रशारण रोक्न टेलिभिजन बाध्य भयो। यस्ता धेरै प्रसंगहरु छन्। तर, कमेडी गरेकै कारण कलाकार हिरासत पुग्नु परेको चाहिँ दुखद घटना नै हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .