ad ad

ब्लग


शंकरको ठाउँमा जेरीले यस्ता आक्षेप लगाएको भए ...

शंकरको ठाउँमा जेरीले यस्ता आक्षेप लगाएको भए ...

राधिका अधिकारी
कात्तिक १७, २०७९ बिहिबार ८:१९, काठमाडौँ

पछिल्लो केही सातायता चर्चामा छन् - नेपाली लोक संगीतका क्षेत्रमा चिनिएका बबिता बानियाँ (जेरी) र उनका श्रीमान् शंकर क्षेत्री। दुई वर्षअघि मात्रै वैवाहिक जीवनको सुरुवात गरेका यी दुईको सम्बन्ध लगभग सकिएको छ। सम्बन्धविच्छेदका लागि शंकरले पेस गरेको उजुरी पत्र काठमाडौं जिल्ला अदालतमा छ। शंकरले पारपाचुकेका लागि उजुरी दर्ता गरेपछि यी दुईका जीवनका अन्तरकुन्तरका कुरा सार्वजनिक भैरहेका छन्। 

लोक गायनमा बोल्ड देखिएकी जेरीले सम्बन्ध टुट्ने भएपछि आफूलाई निकै कमजोर रुपमा प्रस्तुत गरिन्। उनले वैवाहिक जीवन सकिँदा आफ्नो जीवननै सकिएको भान पर्ने खालका टिकटक बनाइन्। आँसु बगाइन्। निकै टुटेको प्रतिक्रिया सामाजिक सञ्जालमा पनि दिइन्। सबैले उनलाई सहानुभूति दिए। एउटा सम्बन्ध सकिँदैमा जेरीले यसरी आँसु नदेखाएको भए हुन्थ्यो भन्ने लागिरह्यो। तर सम्बन्धले दिएको चोट पैतालाको खिल जस्तै हो, जुन हरेक पाइला चाल्न खोज्दा दुखिरन्छ भन्ने कुरासँग म धेरथोर जानकार नै छु। त्यसैले पनि उनका आँसुमा धेरैको सहानुभूति देखिनुलाई सामान्य रुपमै लिएँ।

सम्बन्ध धरापमा परेकै बेला शंकर र जेरीले सँगै जेरीको जन्मदिन मनाए। शंकरले जुनकिरी रोधी क्लबमा श्रीमती तथा सम्बन्धविच्छेद मुद्दाकी प्रतिवादी जेरीको जन्मदिन समारोह भव्य रुपमा आयोजना गरे। सहयात्रा थालेको दुई वर्षमै अलग बाटो रोज्न तत्पर शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो। जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन्। शंकरले पनि जेरीलाई केक खुवाए। तर, उनीहरुको सम्बन्ध टुट्न मोडमा पुगेका कारण खुसी सेलिब्रेसनका लागि आयोजना गरिएको यो समारोह निकै भावुक बनिदियो। 

जेरी र शंकरले भने एक अर्काप्रति सहानुभूति र सौहाद्र्रता देखाए। केही महिनादेखि एक्लाएक्लै बस्दै आएका जेरी र शंकरको यो भेटमा जेरीको अनुहारले भने धेरैलाई भावुक बनायो। आँसु खस्न नसकेको उनको अनुहार निकै मायालाग्दो देखिएको थियो। त्यसबेला डेङ्गुका कारण थलिएकी उनी भर्खर उठेकी थिइन्। उनीहरुको सम्बन्धमा आएको दरारको खबर सार्वजनिक भएसँगै शंकरले सामाजिक सञ्जालमा निकै गाली खाइरहेका थिए। जेरीले शंकरप्रति प्रेम दर्शाउँदै भनिन्, ‘आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएको हो। शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनुहोला।’ उनले त्यसबेला भनेकी थिइन्, ‘मसँग डिभोर्स गर्ने उहाँको चाहाना पुरा गरिदिन चाहन्छु।’ उनको यो भनाइले धेरैको मन कुँडियो। डिभोर्सपछि देशमा नबस्ने बताएकी जेरी त्यसयता सामाजिक सञ्जालबाट अलप छिन्। 

यता, शंकरको भने सञ्चारमाध्यममा अलाप सुरु भएको छ। उनी ५ वर्षसम्म प्रेममा रहेर बिहे गरेकी श्रीमतीका कमजोरी केलाउँदै हिँडिरहेका छन्। शंकरले बबितालाई बुँदागत रुपमै थुप्रै आरोप लगाएका छन्। उनले भनेका कुरामा कत्तिको सत्यता छ, उनी आफैँ जानुन्। तर घरबार बिग्रिएपछि महिलालाई आक्षेप लगाउने पहिलो पुरुष शंकर होइनन्। नेपाली समाजमा अधिकांश सम्बन्धको विराम महिलालाई आक्षेप लगाएर नै हुने गरेका छन्। 

केही दिनअघि मात्रै पारपाचुकेको २० वर्षपछि अभिनेता भुवन केसीले सुष्मिता केसीलाई विभिन्न आक्षेप लगाए। आफूले जन्माएको छोरा पनि उनैलाई छोडेर एक्लै हिँडेकी सुस्मिताले २० वर्षपछि मुख खोल्नु पर्यो। उनले भुवनको प्रतिवाद गरिन्। शंकरले पछिल्ला केही दिनयता मिडियामा दिँदै आएको प्रतिक्रिया पनि यसैको निरन्तरता हो। 

उनले आफूसँग विवाह नगरे आत्महत्या गर्ने जेरीको धम्कीपछि मात्रै प्रेम गरेको बताएका छन्। धम्कीबाट कस्तो प्रेम उत्पन्न भयो होला, अहिले सामाजिक सञ्जालमा प्रश्न सुरु भएका छन्। शंकरले लगाएका केही आरोप बबिताको चरित्रहत्या हुने खालका छन्। उनले भनेका छन्, ‘मैले प्रेम सम्बन्ध स्वीकार नगर्दा पनि उहाँ मेरो रुममा बारम्बार आउनुहुन्थ्यो। मलाई अप्ठेरो लाग्थ्यो। यसरी रुममा आइराख्नु हुँदैन, आफ्नै ठाउँमा बस भन्थेँ। उहाँ चाहिँ होइन म त तपाईंलाई माया गर्छु, अलग्गिएर किन बस्ने भन्नुहुन्थ्यो। एकदमै जिद्दीपन देखाउनुभो। अनि मलाई पनि विस्तारै साँच्चै माया नै गर्दोरहेछ भन्ने फिल भयो।’ 

उनले एक भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘हामी २÷३ वर्ष लिभ इनमा बस्यौं। उहाँ एकदम अल्छी मान्छे हुनुहुन्छ। मैले धेरै ‘इन्करेज’ गर्ने गर्थें। तिमीले अल्छी गर्नु हुँदैन भनेर काम गर्न प्रेरित गर्थें। पर्दाखेरी आर्थिक रुपमा पनि सहयोग गर्थें। मेरै सहयोग र प्रेरणाका कारण उहाँ अघि बढ्नुभयो र अलिअलि दर्शकले चिन्न थाल्नुभो।’ तर यो जोडीलाई नजिकबाट चिन्नेहरु जेरीका कारण शंकर चर्चामा आएको बताउँछन्। जेरीसँगको प्रेम सम्बन्ध सार्वजनिक भएपछि मात्रै शंकरको चर्चा सुरु भएको थियो। 

जेरीले घरप्रतिको जिम्मेवारी बहन नगरेको, बारम्बार माइतीमा गएको, घरमा पर्दा एकबोरा चामल पनि नकिनिदिएको, सधैं झुट बोलेको, बुहारीको भूमिका निर्वाह नगरेको लगायतका आरोप लगाएका छन्। उनले जेरीका नाममा पोखेको आरोप ठ्याक्कै नेपालमा सम्बन्धविच्छेदका लागि तयार पारिएको पारपाचुके पत्र जस्तै छ। श्रीमान्–श्रीमतीमा जे–जे घटना परिघटना भएर सम्बन्धविच्छेदको अवस्थामा पुगे पनि सम्बन्धविच्छेद पत्रमा यस्तै व्यहोरा उल्लेख गरिएको हुन्छ। 

आफैँले अदालत पुगेर सम्बन्धविच्छेदको मुद्दा हालेका शंकर भनिरहेका छन्, ‘मेरो चाहना अहिले पनि डिभोर्स होइन। उसलाई छोडौं भन्ने होइन। उनले यदि आफ्ना नराम्रा कुराहरु सुधार्छु भने म अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार छु। तर, उहाँले त्यो गर्नुहुन्न। उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ मलाई थाहा छ।’ 

शंकरका जेरी माथिका आक्षेप यतिमै सकिएका छैनन्, उनले थुप्रै कुरा पारपाचुकेपछि बोल्न थाती राखेका छन्। भनेका छन्, ‘मैले देखाएको कारणभन्दा धेरै आन्तरिक कारण छन्। डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरु खोल्नेछु। प्रमाणसहितका कारणहरु बताउनेछु।’

जेरीले जन्मदिन मनाउने क्रममा भनेकी थिइन्, ‘डिभोर्सपछि म देशमा बस्दिनँ।’ यसैलाई घुमाएर शंकरले भनेका छन्, ‘मिडियामा बिहे गरेर विदेश जान्छु भन्नुभएको रहेछ। पहिले पनि मसित सम्बन्धमा रहँदा कसैसँग पेपर म्यारिज गरेर जापान जान लाग्नुभएको थियो। मैले नै सम्झाएर रोकेको हुँ।’

शंकरको ठाउँमा जेरीले यस्ता आक्षेप लगाएको भए यो समाजले हिजै भनिसक्ने थियो, ‘तिमी मानसिक विचलनको सिकार भएकी छौ। शंकरलाई यसरी नंग्याउनु तिम्रो बदलाको भावनाबाहेक अरू केही होइन।’ तर शंकरहरु भने सदियौंदेखि महिलालाई हिलो छ्यापेर आफू सफा देखिने दौडमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .