सेलेब्रिटी बैंकर रविना देशराजले केही दिनअघि जीवनको नयाँ अध्याय सुरु गरिन्। जीवनको नयाँ यात्रामा निस्कनुअघि उनले आफ्नो ३२ वर्ष लामो बैंकिङ करिअरको बिट मारेकी थिइन्। जागिरे जीवन छोडेर प्रेमिल यात्रामा निस्किएकी रविनाले आफ्नो प्रेम सार्वजनिक गर्न हिच्किचाइननन्। जागिर छाडेको केही दिनमै प्रेमीसँगका तस्बिर सार्वजनिक गरिन्। उनले नयाँ यात्रा सुरु गरेको घोषणा गरिन्। रविनाको यो पोस्टले सामाजिक सञ्जालको एक वृत्तमा सानोतिनो भूकम्प नै गयो।
सञ्जालमा उनलाई समर्थन गर्ने पनि देखिन्थे। उनको प्रेम यात्राको खिसी गर्ने पनि भेटिए। कतिपयले उनको टीकाटिप्पणी गरिरहेकै छन्। धेरैले हुर्कंदै गरेकी नातिनीकी हजुरआमा भएर यो के चटक गरेको भनेर प्रश्न उठाए। रविनामाथि प्रश्न गर्नेहरु मलाई नौला लागेनन्। अचम्म त उनको समर्थन गर्ने नाउँमा हरिवंश आचार्य, मनोज गजुरेलहरुको विरोध गर्नेहरु देखेर लागिरहेको छ।
रविनाले सुरु गरेको नयाँ जीवनलाई लिएर म निकै खुसी छु। यो खुसी मैले केही वर्षअघि अभिनेत्री प्रियंका कार्कीले दोस्रो वैवाहिक जीवन प्रारम्भ गर्दैगर्दा पनि व्यक्त गरेकी थिएँ। समाजको आलोचनालाई बेवास्ता गर्दै परिवर्तनको एक फड्को मारेर आयुष्मानले एक एकल महिलाको हात समाएको त्यो समय खास थियो मेरा लागि। त्योभन्दा खास लागिरहेको छ रविनाले सुरु गरेको जीवन यात्रा।
पाँच दशक उमेर पार गरेका विधुर छोराका लागि केटी खोज्न हिँड्ने समाजले जिम्मेवारी र समाजका नाममा कति बाल–विधवाहरुलाई मर्दै बाँच्न विवश पार्यो, त्यसको कुनै तथ्यांक छैन। आज पनि एकल महिलाको जीवनयापन कति असहज छ, त्यसको आकलन केही सेलेब्रिटीले बाँचेको रंगीन जीवनलाई हेरेर गर्न सकिँदैन। फेरि जीवनको उत्तराद्र्धमा पुगिसकेका एकल महिलाले बाँकी जीवनका लागि साथी खोज्नु र आफ्नो जीवन बाँच्नुले मेरो समाजको जिब्रो बाहिर निस्कनुलाई मैले अन्यथा लिएकै छैन। यो समाज त आज पनि एक्लो जीवन बाँच्न पुरुषहरुलाई जस्तो असहज महिलालाई हुँदैन भनेर नै बहस गरिरहेछ। महिलाले त छोराछोरी, समाज र परिवारको इज्जत धानेर बस्नु पर्छ भन्ने मान्यता आज पनि उस्तै छ। झन रविनाले त यो समाजका लागि नातिनी खेलाएर बस्नु पथ्र्यो। उनले आफ्नो जीवन आफ्नो मर्जीले बाँच्ने निधो गरिन्। समाजको टाउको दुखाइ सुरु भयो। कोही सभ्य, कोही असभ्य भाषामै उनीमाथि विष वमन गरिरहेकै छन्।
सञ्जालमा अर्काथरी भेटिन्छन्। उनीहरु रविनाको समर्थन गर्ने नाममा जोडिरहेछन् दोस्रो विवाह गरेर आफ्नो जीवन बाँचिरहेका पुरुष कलाकारको नाम। र, उनीहरुलाई गाली गरिरहेका छन्। उनीहरुलाई हरिवंश आचार्यहरुले बाँचेको जीवनसँग गुनासो छ, गुनासो पोखिरहेकै छन्। भनिरहेछन्, ‘हरिवंशहरुले दोस्रो विवाह गर्दा किन गाली गरेनौ? रविनाको किन विरोध गरिरहेछौ? रविनाले आफ्नो जीवन बाँच्न नपाउनु?’
यी यावत प्रश्न गर्ने भीडमा देखिने कयौँ थान अनुहारले एकल महिलालाई हेर्ने दृष्टिकोण, गर्ने दुव्र्यवहार र हिंसाका बारेमा म राम्रोसँग जानकार छु। सञ्जालमा आदर्शको मुखौटो लगाएर समाजमा उनीहरुले कुल्चिरहेको धरातल समयले ढिलोचाँडो देखाउला। उनीहरु वर्षौंदेखि यस्तै चरित्र निर्माण गरेर बाँचिरहेका छन्। के उनीहरुलाई थाहा छ, कसैलाई समर्थन गर्ने बहानामा अर्को मान्छेलाई गाली गरिरहनु उनीहरुप्रतिको अन्याय हो भन्ने कुरा? उनीहरुलाई एउटाको समर्थनका लागि अर्कोको विरोध गर्ने हक कसले दियो? एउटाको भलोका लागि अर्काको कुभलो चिताउने हाम्रो संवेदना कस्तो हो?
केही समयअघिको कुरा गरौँ न! सञ्चारकर्मी जीपी तिमिल्सिनाले दोस्रो विवाह गरे। पूर्व मिस नेपाल उषा खड्गीसँग पारपाचुके गरेको केही महिनामै दोस्रो विवाह गरेका जीपीको समाजले विरोध गर्यो। डिभोर्सपछि महिलाको जीवन असहज हुने भएकाले पुरुषको जीवन पनि असहज हुनु पर्छ भन्ने कित्ताबाट बहस गरियो।
उनीहरुको यो डिभोर्स र जीपीको दोस्रो विवाहले उषाको जीवनमा पारेको प्रभाव यो समाजले कठै बिचरा भनिदिएको भरमा छोपिने खालको छैन। एकै घरमा बसेका बुबाको दोस्रो विवाह, दिनहुँ सानिआमासँगको जम्काभेट, आफ्नी आमाको अनुहारमा पोतिने उदासीले उनका छोराछोरीमा पर्ने मानसिक अन्यायको पनि यो दुनियाँले एक दिन कोकोहोलो गरिदिएकै भरमा न्याय पाउने देखिँदैन। देख्नुभएकै होला मानिसहरु कसरी नयाँ हुटिङमा दौडिरहेका छन्। उनीहरुले हिजो जीपीका विरुद्ध ओकलेको आगो आज हरिवंश र मनोज गजुरेलहरुमाथि ओकलिरहेछन्। हिजो उषाको पक्षमा उभिएको आधा हिस्सा आज रविनाको पक्षमा वकालत गर्दै बसिरहेछ। यो समय पनि बितेर जाने छ, उनीहरुले पुनः कित्ता परिवर्तन गर्नेछन्। र अर्को नयाँ घटनाको पछि लाग्नेछन्।
उषा र रविनाको सहज र असहज जीवनलाई लिएर हरिवंश र जीपीहरुको असहज जीवनका लागि बहस गरिरहेको यो समाजले यतिबेला बहस गर्ने अरु थुप्रै विषय हुन सक्थे। सम्बन्धविच्छेद पछि अंश मुद्दा चलिरहेकै अवस्थामा जीपीले दोस्रो विवाह गरे। यो विवाहपछि पनि उषासँग उनले अंश मुद्दा लड्न पाउने कानुनी प्रावधान रहेछ। तर यही अवस्थामा उषाले दोस्रो विवाह गरेको खण्डमा उनले अंश मुद्दा लडेर अंश लिनसक्ने कानुनी प्रावधान छैन। कानुनको यो पाटोमाथि कसैले बहस गरेको देखिएन। मात्रै बहस एकल पुरुषको असज जीवनमा मात्रै केन्द्रित देखिन्थ्यो।
हो, पारपाचुके गरेपछि महिलालाई पुरुषलाई जस्तो नयाँ जीवन सुरु गर्न सजिलो छैन। डिभोर्सपछि पुरुषहरु नै अर्की डिभोर्सी महिलासँग नयाँ जीवन सुरु गर्न चाहँदैनन्। अविवाहित केटाहरुले उनीसँग विवाह गर्ने, नयाँ जीवन सुरु गर्ने कुरा मेरो समाजको शिक्षित वर्गको हिम्मत भित्र पर्दैन। केही व्यापारिक घरानाका युवाले केही अभिनेत्रीसँग जीवन यात्रा सुरु गरे, त्यो अर्कै कुरा। त्यसैले समाजमा एकल महिलाको विवाह सहज हुनु पर्छ भनेर बहस हुनु जरुरी छ। यही बहसले गर्दा थोरै भए पनि सहज हुँदै गएको कुरा नकार्न सकिँदैन।
तर एकल महिलाको सहज विवाहको बहस हुँदैगर्दा एकल भएका पुरुषको विवाह वा जीवन असहज हुनुपर्छ भनेर गरिने बहस कुण्ठाबाहेक अरु केही होइनन। सबैको जीवनको सहजता खोज्ने हो, न कि एउटाको सहज जीवनको बहस हुँदै गर्दा अर्कोको असहज जीवनको कामना।
आज रविनालाई समर्थन गर्ने बहानामा हरिवंशको विवाहमाथि प्रश्न उठाउने जमात होस् अथवा उषाको सजह जीवनको पक्षमा बहस गर्दै गर्दा जीपीको असहज जीवनको कामना गर्ने जमात होस्, यी दुवै उस्तै हुन्।
प्रतिक्रिया