ad ad

ब्लग


छोराको उपचार गर्न पुग्दा जब त्रिविका डाक्टरको दुर्व्यवहार भोगेर फर्किएँ

छोराको उपचार गर्न पुग्दा जब त्रिविका डाक्टरको दुर्व्यवहार भोगेर फर्किएँ

त्रिवि शिक्षण अस्पताल र इन्सेटमा डा. सुधांशु द्विवेदी


विद्यानाथ अधिकारी
बैशाख २९, २०८० शुक्रबार १७:३२, काठमाडौँ

स्वास्थ्यकर्मी र चिकित्सकमाथि बिरामीका आफन्तले बेलाबेला दुर्व्यवहार गरेको  र कुटपिट भएको घटना सार्वजनिक भइरहन्छन्। खासगरी सरकारी अस्पतालका चिकित्सक र बिरामीका आफन्तबीच तनावका घटना सुन्नु परिरहन्छ।

डाक्टरमाथि दुर्व्यवहारका घटनामा प्रायःजसो जिम्मेवार चिकित्सक र कर्मचारी नै हुने गर्दछन्। अधिकांश दुर्व्यवहारका घटनामा सेवाग्राही चुपचाप घर फर्कन्छन्, घटना बाहिर आउँदैनन्। केही घटनामा तनाव बढ्दा अप्रिय घटना पनि हुन्छन्। 

चिकित्सक तथा बिरामी र उनका आफन्तबीचको तनाव सञ्चारमाध्यममा त्यतिबेला आउँछन्, जब बिरामीका आफन्त प्रतिकारमा उत्रिन्छन्।

प्रायजसो बिरामीका आफन्त अस्पतालमा व्यहोरेका दुःखद व्यवहार बोकेर चुपचाप घर फर्कंदा त्यस्ता घटना त्यत्तिकै सामसुम हुने गर्दछन्।

सरकारी अस्पतालका कर्मचारी र डाक्टरहरुको व्यवहार कतिसम्म रुखो हुन्छ भन्ने थाहा पाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गए हुन्छ। 

हरेक पटक आफैं र आफन्तको उपचारमा पुग्दा मैले तितो अनुभव गरेको छु। आजको दिन (वैशाख २९) गते सुनेभन्दा तितो व्यवहार मैले चिकित्सकबाट भोग्नुपर्यो। उपचार होइन, डाक्टरको अत्यन्त रुखो र गुण्डागर्दी शैलीको व्यवहार भोगेर घर फर्किन बाध्य भएँ। 

ती डाक्टरको रुखो व्यवहारको तत्कालै प्रतिकार गर्न नसक्ने त होइन, तर मर्यादा भुलेर गुण्डागर्दीमा उत्रेका उनीसँग उस्तै व्यवहारले जवाफ फर्काएर जाइलाग्न मेरो स्वभावले दिएन। 

डाक्टरको त्यो अभद्र व्यवहारको प्रतिकार गर्दा अरु बिरामी र आफन्तलाई समेत असर पर्ने र अस्पतालको वातावरण बिथोलिने सम्भावना थियो। त्यहीकारण ती डाक्टरलाई कारबाही गर्ने निकायलाई गुहार्ने संकल्पसहित म अस्पतालबाट निराश हुँदै बाहिरिएँ। 

मेरो १५ महिने छोराको कानमा समस्या देखिएपछि उपचारका लागि हामी बाबुआमा दुवै उसलाई लिएर सुरुमा कान्ति बाल अस्पताल पुग्यौँ।

तर, त्यहाँ नाक, कान, घाँटीको उपचार नहुने रहेछ। त्यसपछि नजिकैको शिक्षण अस्पतालमा लग्यौँ। बच्चा जाँच्ने गणेशमान भवनमा टिकट काटी पालो पर्खिएरै डाक्टरलाई देखायौँ। 

बच्चाको डाक्टर एकजना महिला हुनुहुन्थ्यो। उहाँले कानको विषय सम्बन्धित डाक्टरलाई नै देखाउन सुझाउनु भयो। त्यसपछि छोरालाई कानका डाक्टरको कोठातिर लग्यौँ। केहीबेर पालो पर्खिएपछि कर्मचारीको निर्देशनअनुसार डाक्टरकहाँ पस्यौँ। 

भित्र डाक्टर सुधांशु द्विवेदी एकजना बच्चा हेर्दै थिए। हामी छेउमा उभिएर पालो पर्खियौँ।

हामी पस्नासाथ डाक्टरले, ‘किन आउनुभयो?’ भन्दै चर्को स्वरले सोधे। 

छोराकी आमाले भनिन्, ‘डाक्टर सा’व बाबुको कानमा अलिक समस्या छ, त्यही भएर।’

डाक्टरले फेरि भने, ‘बाहिर जानुस्।’ 

पालो आएपछि बाहिरबाट कर्मचारीले भित्र जानु भनेका थिए, त्यसकारण हामी बच्चा बोकेर कोठाभित्रै ढोका छेउमा बस्यौँ। 

डाक्टरले फेरि जोडले भने, ‘बाहिर जानुस्। सुन्नुहुन्न ? यहाँ बिरामी हेरिराखेको देख्नुहुन्न ?’

डाक्टरको रुखो व्यवहार र चर्काे स्वर सुनेर मुखामुख गर्दै ढोका बाहिर निस्कियौँ। 

एकैछिनमा भित्र बच्चा जचाउन गएका पनि बाहिर निस्किए। अनि हामी भित्र पस्यौँ। 

डाक्टरको हातमा पर्चा दिएर बच्चाकी आमा कुर्सीमा बसिन्, उनकै काखमा बच्चा थियो। म नजिकै उभिएँ। 

हप्कीदप्कीमा उत्रिएका डा. सुधांशु द्विवेदी

डाक्टरले सोधे– ‘के भयो ?’

बच्चाकी आमाले भनिन्, ‘डाक्टर सा’व, बाबुको कानमा फोहोर जमेजस्तो छ, औँलाले कन्याइराख्छ।’

डाक्टरले खल्तीबाट टर्चलाइट निकालेर कान हेर्न खोजे, बच्चाले मानेन। उनले बच्चालाई राम्रोसँग समात्न भने। बच्चा चल्दै थियो, डाक्टरले भने, ‘हातखुट्टा, टाउको सबै ससमात्नुस्। एउटा बच्चा पनि हेर्न सक्नुहुन्न?’

आमाले सकेसम्म बच्चालाई नचल्ने गरी समात्न खोज्दैथिइन्। बच्चा मानेन।

अनि म कुर्सीमा बसेर फकाउँदै बच्चाको कान डाक्टरतिर फर्काएर हातखुट्टा समातेँ।

त्यसपछि डाक्टरले बच्चाको टाउको जोडले अँठ्याएर हामीलाई हप्काउन थाले, ‘एउटा बच्चा पनि राम्रोसँग हेर्न सकिन्नँ? बेस्सरी अँठ्याउनुस्।’

डाक्टरको रुखो बोली र व्यवहार देखेपछि बच्चाकी आमा बोलिन्, ‘बिस्तारै गर्नुस् न डाक्टर सा’व। बच्चालाई जबरस्ती अँठ्याएर त कहाँ मान्छ र ?’

ती डाक्टरको व्यवहार यस्तो थियो, मानौँ उनी एउटा बच्चा हेरिरहेका थिएनन्। उनी कुनै पशुको डाक्टर थिए, पशुलाई जबरजस्ती अँठ्याएर सुई लगाउन खोज्दै थिए।

बच्चाकी आमाको कुरा सुनेपछि डाक्टर थप जंगिए, ‘अन्तै जानुस्, म उपचार गर्दिनँ।’

हामीले अनुरोध गर्यौँ, ‘डाक्टर सा’व, हेरिदिनुस् न, अब कता जाने ?’ 

तर, डाक्टर एकोहोरो बर्बराइरहे, ‘बाहिर जानुस्, म उपचार गर्दिनँ।’

त्यसपछि मैले भनेँ, ‘किन उपचार गर्नुहुन्न? लेखेर दिनुस् न त।’

अनि डाक्टरले पर्चामा केही लेखेर हामीलाई दिए। डाक्टरले लखेको अक्षर त बुझिएन तर, भाव भने बुझियो। 

मैले फेरि विनम्र भएर भनेँ, ‘यो बच्चालाई हामी अर्कै अस्पतालमा लैजाउँला डाक्टरसा’व, तर तपाईंको व्यवहार ठीक भएन।’

त्यसपछि डाक्टर आफ्नो कुर्सीबाट जुरुक्क उठरे भन्न थाले, ‘खुरुक्क बाहिर जान्छस् कि गार्ड बोलाऊँ ?’

मैले भनेँ, ‘ल बोलाउनुस्।’

त्यसपछि डाक्टर आफैँ बाहिर आए। हामी पनि बाहिर आयौँ। 

मैले फेरि भनेँ, ‘तपाईंको यो व्यवहार चाहिँ ठीक भएन।’

डाक्टर चिच्याए, ‘के गर्छस्, कुट्छस्, ल कुट।’

त्यहाँ अरु बिरामी, उनीहरुका आफन्त र नजिकै अरु डाक्टर, कर्मचारी पनि ट्वाल्ल परेर उनको व्यवहार हेर्दै थिए। हाम्राबीच विवाद भइरहेको थियो। डाक्टर निकै आक्रामक देखिन्थे। 

‘तपाईंहरु हामीले तिरेको करबाट तलब खानुहुन्छ, अनि बिरामीको उपचार गर्दिनँ भन्नुहुन्छ। व्यवहार पनि यस्तो रुखो गर्ने?’ हामी भन्दै थियौँ। उता ती  डाक्टरले, ‘मैले पनि कर तिरेको छु’, भन्दै भित्र पसेर ड्याम्म ढोका लगाए।

बाहिर रहेका अरु डाक्टर ‘के भयो र? अर्को डाक्टरलाई देखाउनु न !’ भन्दै थिए। त्यो व्यवहारपछि हामीलाई शिक्षण अस्पतालका डाक्टरलाई बच्चा देखाउन ठीक लागेन र निस्कियौँ।

शिक्षण अस्पतालका डाक्टर सुधांशु द्विवेदीको व्यवहारले बिरामी बच्चाका बाबुआमा हामी दुवै स्तब्ध भयौँ। हामी दुवैजना सञ्चारकर्मीका रुपमा काम गर्छौँ। कसैसँग वैरभाव वा झगडा गर्ने न नियत छ, न त स्वभाव, त्यसमाथि डाक्टरसँग झगडा गर्नु कल्पना बाहिरको कुरा हो। समाजका अन्य वर्गभन्दा चिकित्सकहरु अझ विशिष्ट हुन्छन् भन्ने हाम्रो बुझाइ छ। 

तर, ती डाक्टरले कित त्यस्तो व्यवहार देखाए होलान्? उनको स्वभाव नै त्यस्तै हो कि हामीसँग त्यस्तो व्यवहार गरेको होला ? अथवा साथीसँग वा घरमा कसैसँग झगडा भएर त्यसको रिस हामीमाथि पो पोखेको हो कि? अथवा सेवाग्राहीमाथि दुर्व्यवहार गरेर बिरामी निजी क्लिनिकतिर जाउन् भन्ने नियत पो हो कि ?

जे होस्, जुनसुकै बहानामा अस्पतालका कर्मचारी वा चिकित्सकले बिरामी र आफन्तमाथि गर्ने व्यवहार यस्तो घृणित हुनु दुःखद हो। त्यसमाथि शिक्षण अस्पतालमा जाने अधिकांशले डाक्टर र कर्मचारीको दुर्व्यवहार सहेकै हुन्छन्। 

डाक्टरको यस्तै, व्यवहारले कतिपय सेवाग्राहीबाट उनीहरु कुटिने र अस्पतालमा तोडफोड हुने गरेका छन्। लाखौँ खर्च गरेर पढेका चिकित्सकहरुले सेवाग्राहीसँग तल्लोस्तरको व्यवहार गर्ने हो भने उनीहरुप्रतिको सम्मान र इज्जत कसरी जोगिएला? सम्बन्धित निकायले आफ्ना कर्मचारीलाई सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने भन्ने प्रशिक्षण ती डाक्टरलाई पनि दिए हुने।

त्रिवि शिक्षण अस्पतालले हामीमाथि गरेको त्यो अपमानजनक व्यवहारका लागि उचित कारबाही गरेको सुन्न पाऊँ। ती डाक्टर विरामी र आफन्तमाथिको त्यो व्यवहार लागि दण्डित हुन योग्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .