ad ad

ब्लग


जनरल खत्री : जसले एकै समय रक्षा र परराष्ट्र सचिवको जिम्मेवारी सम्हाले

जनरल खत्री : जसले एकै समय रक्षा र परराष्ट्र सचिवको जिम्मेवारी सम्हाले

संयुक्त राष्ट्रसंघको एक कार्यक्रमलाई सम्बोधन गर्दै खत्री


डा. मदनकुमार भट्टराई
असार १४, २०८० बिहिबार १६:०, काठमाडौँ

सन् १९३९ मा सुरू भएको दोस्रो विश्वयुद्धका बेला ब्रिटिस साम्राज्यको अनुरोधमा नेपाली सेनाका जवानलाई भारतमा ग्यारिजन ड्युटीमा परिचालन गरिएको थियो। यही सिलसिलामा अन्य कतिपय सैनिक अधिकारी खटाइए सरह पद्मबहादुर खत्रीले अविभाजित भारतको उत्तरपश्चिम सीमान्त प्रदेश, आसाम र बर्माको युद्धमोर्चामा रही ६ वर्ष सेवा गरे। 

नेपाल फर्केको केही समयपछि उनी लन्डनस्थित नेपाली राजदूतावासको सैनिक सहचारीको जिम्मेवारीमा खटिए। यस बेला उनको दर्जा कप्तानस्तरको थियो। पहिले विदेश विभागको तालुकवाला र छिट्टै लन्डनमा राजदूत भएका जनरल केशरशमशेरको विशेष सिफारिसमा उनलाई त्यहाँ पठाइएको थियो।  

खत्री नेपालको सैनिक सेवाबाट परराष्ट्र सेवामा प्रवेश गरेका शोभागजङ्ग थापापछि दोस्रो र हालसम्मका तेस्रा कूटनीतिज्ञमा पर्छन्। १ अगस्ट १९६२ मा भएको हवाई दुर्घटनामा भारतका लागि राजदूत नरप्रतापशमशेर थापाको निधन भएपछि सरकारले तत्कालीन परराष्ट्र सचिव प्रा. यदुनाथ खनाललाई भारतका लागि राजदूतमा पठाउने निर्णय गर्यो। त्यसपछि मेजर जनरल खत्रीलाई रक्षा मन्त्रालयको सचिव पदको कार्यका अतिरिक्त परराष्ट्र सचिव पदको जिम्मा दिइएको थियो। तर कूटनीतिक क्षेत्र खत्रीका लागि नौलो थिएन। 

पदीय हिसाबले तुलनात्मक रुपमा सैनिक सेवामा खत्रीको बढुवा छिटोछिटो भएको देखिन्छ ।

१९४५ देखि १९४७ सम्म लन्डनस्थित नेपाली राजदूतावासको सैनिक सहचारीका रुपमा कार्यरत खत्रीले क.प. दर्जा (उनलाई पाँच महिनाभित्रै डिसेम्बर २२, १९४७ मा मे.क.मा बढुवा गरिएको थियो) बाट यसरी आफ्नो कूटनीतिक यात्रा सुरू गरेका थिए। उक्त पदको आफ्नो अवधि सकिनासाथ लण्डनस्थित नेपाली राजदूतावासमै मुकाम राखी नेपाललाई संयुक्त राष्ट्रसङ्घमा सदस्यता दिलाउने अभियानमा खत्रीले लेखापढी लगायतका काम गरे।  

सन् १९४९ मा नेपालको संयुक्त राष्ट्रसङ्घमा प्रवेश प्रयास सुरु भयो। यस अन्तर्गत तत्कालीन विदेश विभागका महानिर्देशक मेजर जनरल विजयशमशेरद्वारा केही विदेशी विशेषज्ञसहितको टोलीलाई विस्तृत प्रतिवेदन तयार गर्न लगाए। यसरी तयार पारिएको विस्तृत प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको लेक सक्सेसमा भएको चौथो अधिवेशनमा खत्रीले पढेर सुनाएका थिए। 

केही समयसम्म यस सम्बन्धमा भएको सुनुवाइ र छलफलमा यदाकदा आफूलाई पनि सहभागी हुन बोलाउने गरेको तथ्य खत्रीले १९८१ सालमा परराष्ट्र मन्त्रालयको विशेष सल्लाहकारमा रहँदा मलाई विस्तारमा बताएका थिए।  

उक्त अधिवेशनको अध्यक्षता फिलिपिन्सका नाम चलेका कूटनीतिज्ञ, लेखक, पत्रकार, सैनिक र पछि लामो समय परराष्ट्रमन्त्री भएका कार्लस पी रोमुलो (१९९८–१९८५)ले गरेका थिए। आफ्नो आदर्श पात्र भएकाले होला, खत्रीले रोमुलोको नाम बरोबर लिइरहन्थे। खत्रीका अन्य आदर्श कूटनीतिज्ञमा सैनिक सेवाका र पछि विदेशमन्त्री भएका जर्ज मार्सल (१८८०–१९५९), अलेक्जेन्डर  हेग  (१९२९–२०१०) र मोसे दायन (१९१५–१९८१) पर्थे।

पछि तत्कालीन सोभियत सङ्घको विशेषाधिकार (भिटो) प्रयोगबाट सबै सकारात्मक  राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासका बाबजुद नेपाल त्यस समय संयुक्त राष्ट्रसङ्घमा प्रवेश हुन पाएन। कूटनीतिक प्रतिनिधित्वका हिसाबले राष्ट्रसङ्घमा खत्रीको संलग्नता यसअघि पनि थियो। सन् १९४५ को संयुक्त राष्ट्रसङ्घको स्थापनापछि बोलाइएको पहिलो साधारणसभामै उनले पर्यवेक्षकका रुपमा भाग लिएका थिए। 

खत्रीले ६ डिसेम्बर १९६२ देखि प्रा. खनालको उत्तराधिकारीका रुपमा परराष्ट्र सचिवको कार्यभार सम्हाले। त्यो बेला उनी रक्षा सचिव थिए। केही समय (एक वर्ष चार महिनाभन्दा बढी) उनले रक्षा सचिव र परराष्ट्र सचिव दुवै पद सम्हाले। 

१९६२ को अन्त्यमा परराष्ट्र सचिव प्रा. यदुनाथ खनाललाई भारतका लागि राजदूत नियुक्त गरिएपछि खाली भएको परराष्ट्र सचिवको पदसमेत हेर्ने गरी तोकिने जनरल खत्रीलाई ९ अप्रिल १९६४ मा नेपाल सरकारको निर्णयअनुसार रक्षा मन्त्रालयको सचिवको कार्यभारबाट मुक्त गरियो। अब उनको परराष्ट्र सचिवको पद मात्र कायम रह्यो। 

संयुक्त राज्य अमेरिकाका लागि राजदूत र संयुक्त राष्ट्रसङ्घका निमित्त स्थायी प्रतिनिधिमा नियुक्त भई अमेरिका जानुअघिसम्म जनरल खत्री परराष्ट्र सचिव पदमा आसीन रहे।

यसैबीच अमेरिकाका लागि राजदूत तथा दुई पटक प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाले आफ्नो कूटनीतिक जिम्मेवारीबाट राजीनामा गरेपछि त्यहाँ पद खाली भयो। राजदरबारको विज्ञप्ति अनुसार ‘महारथी श्री मातृकाप्रसाद कोइरालाले दिएको राजीनामा मे १८, १९६४ देखि लागू’ हुने गरी स्वीकृत भएको थियो। 

राजदूत कोइरालाका स्थानमा झन्डै साढे पाँच महिनाको अन्तरालमा खत्रीलाई ८ नोभेम्बर१९६४ मा अमेरिकाका लागि राजदूतमा नियुक्त गरिएको थियो। त्यो बेला उनको उमेर ४९ वर्ष थियो। 

खत्रीले १६ नोभेम्बर १९६४ मा संयुक्त राष्ट्रसङ्घका महासचिव उथान्तसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए। अमेरिकी राष्ट्रपति लिन्डन बी जोन्सनसमक्ष ओहदाको प्रमाणपत्र १३ डिसेम्बर १९६४ मा पेस गरेका थिए। 

एकै पटक परराष्ट्र र रक्षा जस्ता महत्वपूर्ण दुई मन्त्रालयमा लामो समय सचिव भएका खत्री पहिलो र हालसम्मकै एक मात्र उदाहरण हुन्। परराष्ट्र सचिवको पहिलो कार्यकालमा उनलाई केही समयदेखि सम्हालिरहेको रक्षा सचिवको कार्यभारमा पनि निरन्तरता दिइयो। दुवै मन्त्रालयमा उनको संयुक्त सुपरिवेक्षण १६ महिना जारी रह्यो। राजदूत नियुक्त हुनुअघिका पछिल्ला सात महिना उनी केवल परराष्ट्र सचिवको जिम्मेवारीमा मात्र थिए।

खत्रीलाई सेनाबाट पुरस्कृत गरी निजामती सेवामा ल्याइएको हो वा उनको कथित राजनीतिक वा अन्य ‘आकाङ्क्षा’का कारण सेनामा राख्न सरकारले नचाहेको हो, स्पष्ट छैन। लन्डनस्थित नेपाली राजदूतावासको सैनिक सहचारी पदको कार्यविधि र संयुक्त राष्ट्रसङ्घको सदस्यताका लागि देशलाई ‘भर्ना’ गराउनेबारेको सम्पर्क अधिकृतको कामपछि डिसेम्बर १९४९ को अन्त्यमा उनले लन्डन छाड्नु र काठमाडौं फर्कनुअगावै उनले एक साता स्विट्जरल्यान्ड र इटालीमा बिताउन खोजेका थिए। इटालीको बन्दरगाहबाट पानीजहाजको टिकट पाउन केही समय लाग्ने भएकाले उनलाई स्विट्जरल्यान्ड र इटाली भई हवाइमार्गद्वारा फर्काउन राजदूत शङ्करशमशेरले स्वीकृतिका लागि काठमाडौं लेखी पठाएका थिए।

लन्डनस्थित नेपाली राजदूतावासमा आफ्नो सेवा पूरा गरी काठमाडौं फर्किएपछि खत्री नेपालको अर्को अर्ध–कूटनीतिक नियोगको जिम्मेवारी सम्हाल्न मलायातर्फ लागे। १९५० को अन्त्यतिर उनी मलाया (हालको मलेसिया)मा रहेको ब्रिगेड अफ गोर्खाजका लागि नेपाली सेनाको सम्पर्क अधिकृतको पद सम्हाल्न त्यसतर्फ गएका थिए। त्यति बेला खत्रीको उमेर ३४ वर्ष थियो। 

यो नियुक्तिपछि उनले नयाँ पद सम्हालेको विषयले सञ्चारमाध्यममा राम्रो चर्चा पाएको थियो। खत्रीको नयाँ पदको कार्यप्रकृति र उनको पृष्ठभूमिबारे प्रमुखतासाथ समाचार छापिएका थिए। ‘ब्रिगेड अफ गोर्खाज’ का मेजर जनरल तथा दक्षिण मलाया जिल्लाका जनरल अफिसर कमान्डिङ (जिओसी) मेजर जनरल आरसीओ हेडले नेतृत्व गरेको सिविक डीएसओको मुख्यालयका लागि नेपालका प्रधानमन्त्रीको सैनिक सम्पर्क अधिकारीमा खत्रीको नियुक्ति भएको थियो।

ब्रिटिस सेनाको मलाया, सिङ्गापुर र हङकङमा कार्यरत गोर्खा सैनिकको नैतिक, आध्यात्मिक र शारीरिक कल्याणका निम्ति नेपालका प्रधानमन्त्री र जीओसीबीच प्रत्यक्ष सम्पर्क गर्नु उनको मुख्य जिम्मेवारी थियो। गोर्खा सैनिकको व्यक्तिगत मामिला छिनोफानो गर्नुपर्ने अवस्थामा नेपाल सरकार र ब्रिगेड अफ गोर्खाजबीच सम्पर्कसेतुको काम पनि उनको काम, कर्तव्य र अधिकारभित्र पथ्र्यो। 

सैनिक सम्पर्क अधिकृतका हैसियतले गोर्खाहरुको कल्याण र हितसँग सरोकार राख्ने कुनै विषय आफ्नो जानकारीमा आए ब्रिगेड अफ गोर्खाजका कमान्डरको ध्यानाकर्षण गर्नु उनको दायित्व थियो। गोर्खा एकाइ र त्यसलाई काम लगाउने अन्य एकाइको स्थलगत सल्लाह दिने अधिकार पनि उनलाई थियो।

सन् १९३६ मा नेपाली सेनाको शमशेर दल रेजिमेन्टमा प्रवेश गरी सरकारी सेवा सुरू गरेका खत्री युद्धकालमा उत्तरपश्चिम फ्रन्टियरमा खटिएका थिए। यसैबीच उनी कालीबहादुर रेजिमेन्टमा सरूवा भए। यो रेजिमेन्ट भारत–बर्मा फ्रन्टियरमा जापानी सेनासँग लडेको थियो। क्वेटामा स्टाफ कलेज गरेका खत्री लन्डनस्थित नेपाली राजदूतावासको सैनिक सहचारीमा नियुक्त भएका थिए। यस अवधिमा नेपालले संयुक्त राष्ट्रसङ्घको लेक सक्सेसमा भएको संयुक्त राष्ट्रसङ्घीय महाधिवेशनमा सहभागिता जनाउँदा उनी नेपालका प्रतिनिधि पनि रहे।

उनको सेवाको कदर गर्दै नेपाल सरकारले ‘नेपाल तारा’ उपाधिबाट विभूषित गरेको थियो। 

उपयुक्त संयोगको कुरा के थियो भने, नेपाल अधिराज्य र संयुक्त अधिराज्यबीच ३० अक्टोबर १९५० मा शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएकै दिन खत्री विभूषित भएका थिए। 

(शुक्रबार विमोचन हुन लागेको पूर्वपरराष्ट्र सचिव डा. भट्टराईको पुस्तक चार कूटनीतिज्ञको एक अंश)  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .