ad ad

ब्लग


घरेलु संरचना परिमार्जन गरेर उकास्न सकिन्छ नेपाली क्रिकेट

अब क्यानले काम गर्ने समय आयो
घरेलु संरचना परिमार्जन गरेर उकास्न सकिन्छ नेपाली क्रिकेट

फाइल तस्बिर


अमृत आचार्य
असोज १५, २०८० सोमबार १७:४३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनःनिर्वाचित भएपछि चतुरबहादुर चन्दले ३ महिनामा घरेलु संरचना खडा गर्ने घोषणा गरे।

क्यानको पहिलो बैठकबाट केही आशालाग्दा निर्णय पनि भए। प्रधानमन्त्री कपलाई राउन्ड रोबिनमा सञ्चालन गर्ने, सेमिफाइनल दुई दिवसीय र फाइनल तीन दिवसीय फरम्याटमा गर्ने घोषणा भएको छ। तर संरचना भने पुरानै देखिन्छ।

नेपाली क्रिकेट टोलीले एसिया कप खेलेपश्चात क्रिकेटप्रति नेपाली समर्थक, कर्पोरेट हाउसदेखि अन्तर्राष्ट्रिय क्रिकेट जगतका हस्तीहरुको चासो बढेको छ। नेपाली क्रिकेटका लागि यो वर्ष सुखद छ। एक दिवसीय मान्यता, ५० ओभर विश्वकप कप छनोट, एसीसी कप विजेतासँगै एसिया कपमा छनोट भएर भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन।

खेलाडीबाट सबथोक भयो, अब पालो व्यवस्थापकको। क्यानको भर्खरै नयाँ कार्यसमिति आएको छ। क्यानमा खेलाडी हुँदा क्यानको भूमिकाप्रति प्रश्न गर्ने क्रिकेटका सर्वकालिन खेलाडी पारस खड्का सचिव पदमा निर्वाचित भएका छन्। अब क्रिकेटमा पारसले केही पक्कै गर्ने छन् भन्ने समर्थक र नेता सबैको ठूलो आशा छ।

नेपाली क्रिकेट बलियो स्थितिमा हुन जिल्ला र प्रदेश क्रिकेट चलायमान हुनुपर्छ। जिल्ला र प्रदेश क्रिकेट चलायमान हुन घरेलु संरचना बलियो हुनुपर्छ। घरेलु संरचना बलियो बनाउने पहिलो दायित्व हो वर्तमान कार्य समितिको। आगामी लक्ष क्यानले घरेलु लिग खेलेर पनि खेलाडीको जीवन चल्न सक्छ भन्ने स्थिति निर्माण गर्नु हो।

आधुनिक क्रिकेटको मेरुदण्ड नै लिग हो। लिगलाई प्रभावकारी बनाउन सके राष्ट्रिय टिम बलियो हुन्छ नै, नेपाली क्रिकेट क्लब पनि व्यावसायिकतातर्फ अगाडि बढ्ने निश्चित छ।

क्लब क्रिकेटका लागि सबैभन्दा ठूलो कुरा समर्थक हुन्। जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो हुन्छ। जुन नेपाली क्रिकेटसँग छ। क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट सेक्टरले क्लबलाई प्रायोजन गर्छन्।

क्लबले समर्थक बढाउन तब मात्र सम्भव छ, जब लिग खेल्ने क्लबहरू काठमाडौंमा मात्र सीमित नभएर देशभरका समर्थकलाई पनि समेट्न सक्षम हुन्छन्। काठमाडौं बाहिर पोखरा, धनगढी लगायत स्थानमा लिग खेलाउन सकिन्छ। यसरी लिगलाई होम् एन्ड अवे फर्म्याटमा परिवर्तन गरेर काठमाडौं बाहिर गर्नसके टिकटबाट प्रशस्त आम्दानी गर्न सकिन्छ।

टिकट र प्रायोजन नै क्लबको प्रमुख आम्दानीको स्रोत हो। यसले नेपाली क्रिकेट यावसायिक बनाउने नयाँ आधारस्तम्भ खडा हुनेछ। नेपाली क्रिकेटको लागि घरेलु संरचना परिवर्तन गर्ने समय सुरु भइसकेको छ।

अफगानिस्तान क्रिकेटमा नयाँ क्षमतावान् खेलाडी आउनुको मुख्य कारण त्यहाँको घरेलु संरचना पनि हो। क्यानले एकै पटक तीनै संरचनाको घरेलु लिग गर्न सक्छ। लिग टी२० कप, वन डे कप, फर्स्ट क्लास क्रिकेट कप तिनै संरचनामा गर्नु पर्छ। आधुनिक क्लब क्रिकेटमा एकै क्लबले तीनै श्रेणीको क्रिकेट खेल्नु-खेलाउनु पर्छ। क्लबलाई उद्योगका रुपमा लैजानु पर्छ।  

७ प्रदेशको नाम वा प्रदेशभित्र रहेका मुख्य सहर वा क्षेत्र भूभागलाई समेटेर ७ वटा क्वब स्थापना गरेर क्लब कर्पोरेट हाउसलाई  सन्चालन गर्ने वा व्यक्तिले खरिद गर्ने ‘अक्सन’ गरेर बेच्न कुनै एक विकल्पसहित जानुपर्छ। क्लबको स्वामित्व खरिदकर्तालाई दिइ लिगको म्याद कम्तीमा १० वर्ष रहने गरि दिनुपर्छ। लिग टी२० पहिलो वर्ष एक महिना लामो, वन डे कप दुई महिना लामो, फर्स्ट क्लास क्रिकेट दुई महिना गरि हाम्रो घरेलु लिग ५ महिना लामो गर्ने वातावरण क्यानले गर्नु पर्छ।

पहिलो वर्ष सबै खेल त्रिवि र मूलपानीमा सम्भव नभए पोखरा र धनगढीमा गर्न सकिन्छ। पोखरा र धनगढी मैदान राम्रो बनाएर लिग गर्नु पर्छ। लिग सञ्चालन गर्ने पैसा टिकटमार्फत, स्पोनसर र नयाँ विधि अपनाउन सकिन्छ। या त टिकटको स्थानमा फन्ड स्थापना गरौँ। जति सकिन्छ पहिलो वर्ष त्यो फन्डमा सहयोग गर्न आह्वान गरौँ। साथै राज्यसँगै सहयोग रकम माग्न सकिन्छ।

लिगबाट छानिएर आएका उत्कृष्ट खेलाडी लाई नेपाल ‘ए’ टिम बनाएर भारत र पाकिस्तानका ए लिग खेल्ने टिमसँग मैत्रीपूर्ण खेल खेल्ने वातावरण बनाउनु पर्छ। अब काम गर्ने समय आएको छ। नेपाली क्रिकेटका लागि सुरुवात गर्ने समय यही नै हो।

अन्त्यमा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले जग्गा उपलब्ध गराए स्टेडियम महानगरले बनाउने घोषणा गरेका थिए। महानगरसँग बजेटको समस्या छैन। स्टेडियम बनेपछि अहिलेको लगानी महानगरलाई दीर्घकालीन आयश्रोत बन्ने छ।

त्यसैले क्यानले पहल गर्नुपर्छ। मेयर बालेनलाई नयाँ होइन, पुरानो कुनै एक ग्राउन्डलाई स्टेडियमको स्वरुप दिन हामीसँग मूलपानी र त्रिवि मैदान छन्। दुईमध्ये एकलाई स्वरुप बदलेर बनाउँदा महानगर र क्यान दुवैलाई फाइदा पुग्नेछ।

‘जय नेपाली क्रिकेट’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .