ad ad

ब्लग


मोहनचन्द्र अधिकारीको सम्झना– केपी ओलीसँग हिँड्दै गर्दा पक्राउ परेँ, १७ दसैँ जेलमै मनाएँ

मोहनचन्द्र अधिकारीको सम्झना– केपी ओलीसँग हिँड्दै गर्दा पक्राउ परेँ, १७ दसैँ जेलमै मनाएँ

मोहनचन्द्र अधिकारी
कात्तिक ६, २०८० सोमबार १६:३१, काठमाडौँ

म २०३० सालको दसैँको टीकाको भोलिपल्ट अर्थात् एकादशीको दिन पक्राउ परेको हुँ। अष्टमीको दिन माधव कुमार नेपालकहाँ गएको थिएँ। वारेन्टेड भएको हुनाले साथीहरुले मलाई गाउँमा लुकाएर राख्नुभएको थियो।

दसैँको बेला माधव नेपाल, केपी ओली र मेरो भेट भयो। केपीसँग भेट भएपछि माधव आफ्नै घरतिर फर्किनुभयो। रौतहटकै इनरवाडीमा केपी एउटा प्रधानपञ्चकोमा बस्नुहुदोँ रहेछ, उहाँले मलाई त्यहीँ लिएर जानुभयो। खाना खाएर त्यहीँ बास बस्यौँ। भोलिपल्ट खाना खाने बेलामा हामी हिँड्यौँ र त्यही दिन पक्राउ पर्‍यौँ।

त्यसपछि ६ ओटा दसैँ मैले गोलघरमा बिताएँ। अहिले उतिसारो याद त छैन, तर गोलघरको जेलजीवन निकै कडा थियो। पक्राउ पर्ने बित्तिकै दिइएको यातनाका कारण म बेलाबेलामा बिरामी भइराख्थेँ।

गोलघरमा छँदा वंशीधर मिश्र र उहाँकी पत्नी टीका लगाउन आउनुभएको थियो। उहाँहरुलाई मैले टीका लगाइदिएँ। त्यहाँ सप्तमी, अष्टमी भनेर पूजापाठ गर्ने त हुदैँनथ्यो। प्रशासनले दसैँका लागि भनेर कुनै सुविधा उपलब्ध गराउँदैनथ्यो। हामी आफैँ जेजस्तो हुन्छ, तयारी गरेर रमाइलो गर्थ्यौं। खसी काट्ने मार हान्ने हाम्रो हैसियत हुदैँनथ्यो, यसोउसो काम चलाइन्थ्यो। भेट्न आएका मान्छेलाई जेल प्रशासनले भेट गर्न चाहिँ दिन्थ्यो।

३० सालमै बुबाआमा एक पटक जेलमा भेट्न आउनुभएको थियो, त्यसपछि उँहाहरु आउन सक्नुभएन। परिवारका अरु सदस्यहरु चाडबाडको मौका पारेर आउनुहुन्थ्यो। कहिलेकाहीँ भेटघाट अलि पातलो हुदाँ अलिअलि नरमाइलो त लाग्थ्यो तर जीवनमा त्योभन्दा धेरै पीडा सहिसकेको मान्छेलाई चाडबाडकै चिन्ताले उति पिरोल्दैनथ्यो। गोलघरमा हाम्रो जेलजीवन कष्टदायी भएकाले सम्झिनलायक दसैँ मनाउन पाइएन।

हाम्रा केही साथीहरु सेन्ट्रल जेलमा थिए, कोही गोलघरमा त कोही नख्खुमा। ३६ सालपछि हामीलाई ज्यानमुद्दा लगाइयो। सँगसँगै जेल पनि सारियो। मलाई नख्खु कारागार पुर्‍याइयो। त्यस बेलासम्म पार्टी माले बनिसकेको थियो। नख्खुमा सरिसकेपछि कार्यकर्ताहरु भेट्न आउनुहुन्थ्यो। पार्टीसँग सम्पर्क बनेको थियो, त्यसैले अलि सहज महसुस भयो।

नख्खुमा एक पटक निर्मल लामा पनि हामीसँगै हुनुहुन्थ्यो। त्यो सालको दसैँमा उहाँसमेत हामीलाई भेट्न लामाकी पत्नी र पारिजात दिदी आउनुभएको थियो। मैले मिति बिर्सिएँ तर निर्मल लामाको आमाले एक पटक जेलमा रहेका हामी सबैलाई टीका लगाइदिनुभएको थियो।

पार्टीका कार्यकर्ताहरु टीका थाप्न आएका घटना पनि मलाई याद आउँछ। जेलभित्रै पनि सगोलमा टीका लगाइन्थ्यो। परिवारबाट काकाकाकी भेट्न आउनुभएको थियो। मनमोहन अधिकारी र भरतमोहन अधिकारी पनि भेट्न आउनुहुन्थ्यो। पछिपछि त दसैँतिहार राम्रैसँग बित्न थाले। अलिकति खुकुलो भएको थियो।

२०४२ सालको दसैँमा म राजविराजको जेलमा थिएँ। मेरो स्वास्थ्य एकदमै कमजोर भइसकेको थियो। कहिलेकाहीँ मुटु नै चल्दैन कि जस्तो लाग्थ्यो। त्यसपछि मलाई अस्पताल लगियो। एउटा डाक्टरले हेरेर केही भएको छैन, फिर्ता लैजाऊ भन्यो। त्यहीबेला डा. अशोकानन्द मिश्र त्यहाँ आइपुग्नुभयो र उहाँले जाँचेर व्यथा पत्ता लगाउनुभयो। उहाँले म तपाईंको उपचार गरिदिन्छु भन्नुभयो। अस्पतालमा बेड पनि खाली थिएन, तै पनि स्टोरमै एउटा बेड बनाएर मलाई उपचार गर्नुभयो। दसैँभरि म अस्पतालमै बसेँ। त्यहीँ फुपाजूहरु भेट्न आउनुभएको थियो। उहाँको नाम विश्वप्रकाश पौडेल थियो। उहाँले मीठोमसिनो बनाएर ल्याइदिनुहुन्थ्यो। त्यो सालको दसैँ अस्पतालमा बितेको हुनाले अविस्मरणीय छ।

त्यसपछि डा. सुन्दरमणि दीक्षितलाई पनि डा. मिश्रले सम्पर्क गर्नुभयो। सरकारलाई नै चार ओटा चिठी लेख्नुभयो, मान्छे मर्न लागेको छ, तुरुन्त उपचार गरियोस्, केही भइहाल्यो भने म जिम्मेवार हुन्नँ भनेर।

जेलमा बसेका हामीलाई नियमित अखबार पठाउने व्यवस्था पार्टीले नै गरेको थियो। कुनै न कुनै माध्यमले हामीसम्म ती आइपुग्थे। दसैँतिहार भन्दा पनि यस्ता कुराले चाहीँ बढी खुसी दिन्थ्यो।

१७ वर्षको जेल जीवनमा कोही भेट्नै नआएर दुःखी हुनुपर्ने अवस्था आएन। कोही न कोही मनपरेका मान्छे, साथीभाइ वा परिवारका सदस्य आइहाल्थे। मन भुलाउने बाटो बनिहाल्थ्यो। मान्छे आउँदा खाली हात आउने कुरा पनि भएन। मीठो मसिनो साथमा ल्याएकै हुन्थे। त्यस्तै हिसाबले चाडबाड बित्थ्यो। सबैको एकएक जना मात्रै भेट्न आउँदा पनि रमाइलो माहौल बनिहाल्थ्यो। जेलमा परेकालाई खुसी हुन, रमाइलो मान्न स्वतन्त्र मान्छेलाईजस्तो धेरै ठूलो कारण चाहिदैँनथ्यो। आफ्नै मान्छे भेट्न आएनन् भने पनि साथीहरुका आफन्त आउँदा खुसी लाग्थ्यो।

तर जेलमा परिवारका मान्छेभन्दा पार्टीका मान्छे भेट्न धेरै आउँथे। हामीलाई पनि पार्टीकै मान्छे आउँदा बढी खुसी लाग्थ्यो।

जेलभित्र पनि साथीभाइसँग राम्रै सम्बन्ध हुनाले धेरैजसो एउटै परिवारजस्तो गरेर बसिन्थ्यो। बाँकी जेलका कठिनाइ त आफ्नै ठाउँमा भइहाल्यो।

(मोहनचन्द्र अधिकारीको यो संस्मरण नेपालखबरमा पहिलो पटक २०७३ असोजमा प्रकाशित भएको थियो) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .