ad ad

ब्लग


पार्किङ नभए न्युरोडका १५ हजार ग्राहक घट्छन्

पार्किङ नभए न्युरोडका १५ हजार ग्राहक घट्छन्

दीपककुमार श्रेष्ठ
माघ १०, २०८० बुधबार १७:२६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरिदिएको छ। सवारी आवागमन सहज पार्न पार्न भन्दै महानगरले पार्किङ हटाएको छ। 

तर, यसले हामी व्यापारीहरुलाई ठूलो मार परेको छ। त्यसैले न्युरोड क्षेत्रका व्यापारीहरु विरोधमा उत्रेका छन्। उनीहरुले मंगलबार नै सटर बन्द गरेर यसको विरोध जनाए।

व्यापारीहरुको विरोधलाई लिएर आम मानिसले अनेक धारणा बनाएका छन्। व्यापारीहरुले आवागमन अस्तव्यस्त हुनेगरी सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने माग राखे भन्ने कतिपयको बुझाइ देखियो। तर, त्यो गलत बुझाइ हो। यो निर्णयलाई लिएर व्यापारीहरुको विरोध किन? म यो कुरा स्पष्ट पार्न चाहन्छु।

सबैभन्दा पहिले न्युरोड क्षेत्रका हामी व्यापारीलाई पार्किङ कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न जरुरी छ।

न्युरोड क्षेत्रमा यसभन्दा अगाडि धेरै पार्किङ हुने भनेको मोटरसाइकल नै हो। धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो। करिब १८–२० हजार सवारी व्यवस्थित रुपमै यो क्षेत्रमा पार्किङ हुन्थे। तर, ती मोटरसाइकल बजारमा आउने ग्राहकका मात्र होइनन्। बैंक तथा वित्तीय कम्पनी, अन्य अफिस, सहकारीका कर्मचारीहरुको पनि हो। तर, अधिकांश चाहिँ सामान खरिद गर्न आउनेहरुको नै हो।

महानगरले पार्किङ गर्न नदिँदा दैनिक करिब १५ हजार ग्राहक कम हुने हाम्रो आकलन छ। त्यो भनेको ठूलो संख्या हो। यसले व्यापारमा गर्ने क्षति अत्यन्तै ठूलो हुनेछ। यसै पनि पछिल्लो समय बजार चलायमान भइरहेको छैन। यही समयमा ग्राहक घटाइदिने हो भने व्यापारीहरुलाई ठूलो मार पर्छ। त्यसकारणले व्यापारीहरु विरोधमा उत्रिएका हुन्।

दोस्रो, महानगरले दिएको विकल्प उचित छैन। महानगरले न्युरोड आउने सवारी धनीलाई साबिकको पुरानो बसपार्कस्थित काठमाडौँ टावरमा लैजान भनेको छ। त्यहाँ तीन सय वटा चारपांग्रे र सात सय वटा दुई पांग्रेका लागि पार्किङ छुट्याइएको महानगरको भनाइ छ। तर, त्यहाँ जति पार्किङ सुविधा भए पनि त्यसले न्युरोड क्षेत्रको समस्या समाधान गर्दैन। त्यो एकदमै टाढा भयो।

हाम्रो माग के हो भने बढीमा ५ मिनेटको दुरीमा न्यून शुल्कमा पार्किङको व्यवस्था होस्। त्यो व्यवस्था नहुन्जेल न्युरोडमा मोटरसाइकललाई मात्रै भए पनि पार्किङको व्यवस्था गनुप¥यो। व्यापारीहरुको स्पष्ट कुरा के हो भने हामीलाई पार्किङ चाहियो। यसमा खिचापोखरी व्यापार संघ, वडा, महासंघ सबैको चित्त बुझाएर यो माग पूरा गर्नुपर्छ।  यो माग पूरा गर्नैपर्छ। नभए आन्दोलन जारी रहन्छ।

यसको अर्थ सडकमै पार्किङ गर्न पाउनुपर्छ भनेको होइन। सडकमा पार्किङको माग जायज होइन। यो कुरा हामीले बुझेका छौँ। अन्यत्र पनि महानगरले सडकमा पार्किङ निषेध गरिसकेको छ। बागबजार, पुतलीसडक, दरबारमार्गलगायत स्थानमा। त्यहाँ पनि विरोध भयो। महिनौँसम्म। तर, सुनुवाइ भएन। किनभने सडकको पार्किङ हटाउँदा आवतजावतमा सुविधा भएको छ। न्युरोडमै पनि हिजोभन्दा आज हिँडडुलमा सहज भएको छ। हेर्दा पनि राम्रो देखिएको छ। यसलाई उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग होइन। 

महानगरको कार्यशैलीमा पनि हाम्रो प्रश्न छ। महानगरले पहिले व्यापारीहरुसँग राय बुझेर यो निर्णय लिन पनि सक्थ्यो। त्यसो गरेको भएको उचित विकल्प भेटिन सक्थ्यो। तर, महानगरले त्यसो गरेन। अचानक निर्णय गर्दा अहिले हामीले विरोध गर्नुपर्ने अवस्था आइप¥यो।

व्यापार संघ र महासंघका तर्फबाट मैले भन्नुपर्दा हाम्रो माग यति मात्रै हो, पार्किङको उचित विकल्प होस्। पसलमा आउने मान्छेहरुले पार्किङ कहाँ छ भन्दा पसलबाट बढीमा पाँच मिनेट वा दस मिनेटको दुरीमा पार्किङ छ भन्न सकियोस्। 

यस्तो विकल्प कहाँ हुनसक्छ त?

मेरो विचारमा यो विकल्प धरहरा बन्न सक्छ। तत्काल धरहरा खुला गर्ने हो भने यो समस्या धेरै हदसम्म समाधान हुन्छ। त्यो ठाउँ नजिक पनि छ र पार्किङका लागि ठाउँ पनि छ। त्यसैले चाँडोभन्दा चाँडो धरहराको पार्किङ खुला गरेर महानगरले यो समस्या समाधान गरोस्।

(दीपककुमार श्रेष्ठ खिचापोखरी व्यापार संघको कार्यसमिति सदस्य र नेपाल राष्ट्रिय व्यवसायी महासंघको केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .