ad ad

ब्लग


सहिद हुनुअघिका गंगालाल

सहिद हुनुअघिका गंगालाल

सहिद गंगालाल र नाटकमा उनको भूमिका खेलिरहेका निर्भीक भट्टराई


श्रीजु सरल
माघ १६, २०८० मंगलबार १६:४४, काठमाडौँ

हरियाली र एकान्तको भोक लागेपछि रत्नपार्कको गाडी चढेर म सहिदगेट ओर्लिएँ। त्यहाँबाट अब कीर्तिपुरको गाडी चढ्नु थियो। तर, मन भन्ने कुरा कति चञ्चल है? सहिद दिवसको पूर्वसन्ध्यामा भावुकतावश मन बहकियो। मनलाई बहकिन ठूलो कारण चाहिँदो रहेनछ।

सुनेथेँ सहिद दिवसको दिन राष्ट्रिय नाचघरमा गंगालाल नाटक देखाउँदैछन्। गंगालाल 'नाटक' देखाउँदैछन् या फेरि 'गंगालाल' नाटक देखाइँदैछ? जे पनि त हुन सक्छ। नहेरी, नबुझी कसरी भन्न सकिन्छ? हेर्न भोलिसम्म पर्खनुपर्छ, बुझ्न छिटो होला। सडक किनारामा गाडी पर्खिरहेको मान्छे

जति अधैर्य अरू को हुनसक्ला? अधैर्यको भरपर्दो साथी आजको दिनमा मोबाइल फोन नै त हो।

त्यसपछि, 'गंगालाल'का निर्देशक चे शङ्कर र उनको टिम दरबारमार्गस्थित माया आर्ट्समा रिहर्सलरत छन् भन्ने पत्ता लाग्यो। मनले कतिखेर कीर्तिपुर बिर्सिसकेछ। आँखालाई घण्टाघर खोज्ने जिम्मेवारी सुम्पिँदै गोडाहरू भद्रकाली हुँदै भृकुटीमण्डपतर्फ लम्किसकेछन्।

आजभन्दा ८३ वर्षअघिको कुरा हो। माघ महिनाकै १० गते तत्कालीन श्री ३ जुद्ध शमशेरका नाति नर शमशेरले नागरिक अधिकार समितिका नेता शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुमा लगी रूखमा झुण्ड्याएर मारेका थिए। आफ्नो सत्ताविरुद्ध धावा बोल्दै जनता र राजालाई समेत भड्काउन सफल भएको देखेर राणा शासक भित्रैदेखि हल्लिएका हुँदा हुन्। आखिर मान्छेले आफूलाई कमजोर भएको महसुस गरेपछि नै शक्तिको तुजुक देखाउने हो।

क्रान्तिकारीहरूको दलका लागि पर्चा छाप्न लिथो मेसिन किनिदिने राजा नै हुन् भन्ने थाहा पाएपछि भनिन्छ, जुद्ध शमशेरको रगत उम्लिएको थियो। आफ्नो शक्ति यथावत रहँदै क्रान्तिको त्यो झिल्को निभाउन नसके आफ्नो सत्ताभरि डढेलो फैलने डर थियो उनलाई।

लगत्तै ३ दिनपछि अर्का विद्रोही नेता धर्मभक्त माथेमालाई पनि सिफल पुर्‍याएर फाँसी दिइयो। त्यसको पर्सिपल्ट माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवती लगी विष्णुमतीको किनारमा गोली हानेर मारियो।

हुन त आजको दिनमा दल दर्ता गर्नु सिम कार्ड निकाल्नुजस्तै सामान्य बनिसकेको छ। तर, त्योबेला देशको पहिलो दल नेपाल प्रजा परिषद् सानो मूल्यले स्थापित भएको थिएन। राणाविरुद्ध लडौँ, प्रजा परिषद् स्थापना गरौँ भन्ने अर्का क्रान्तिकारी नेता टंकप्रसाद आचार्यको भने ब्राह्मण भएकै कारण राणाहरूले गोली हानेर वा फाँसी चढाएर ज्यान हरण गर्न सकेनन्। तर, शिर मुडेर सर्वस्वहरण गरी सडकमा मिल्क्याइदिए।

तर, क्रान्तिकारीले सडक पाउनु नै सर्वस्व पाउनु रहेछ कि? उनको आन्दोलन रोकिएन। त्यसको १ दशकपछि वि.सं. २००७ सालमा अन्तत: राणा शासनलाई प्रजाहरूले घुँडा टेकाएरै छाडे। यिनै टंकप्रसाद पछि गएर नेपालका प्रधानमन्त्री भए। उनैको कार्यकाल (वि.सं. २०१२ - वि.सं २०१४) मा माघ १० देखि माघ १६ सम्मलाई देश र जनताको स्वतन्त्रताका लागि ज्यान दिएका सहिदहरूको सम्झनामा सहिद सप्ताह मनाउने प्रचलन सुरु भयो भने माघ १६ गतेलाई सहिद दिवस घोषणा गरियो।

ती चार सहिदमध्ये सबैभन्दा कान्छा थिए, गंगालाल श्रेष्ठ। भनिन्छ, कलिलो उमेरको केटो देखेर राणाहरू पनि उनलाई मार्न हच्किएका थिए। एकपटक 'माफ गर्दिनुस्' मात्र भनिदिए छोडिदिन्छु भनेर पटकपटक फकाए। सुत्केरी पत्नी र भर्खरै जन्मिएको सन्तानको लागि भए पनि माफी मागेर ज्यान बचाउन उनलाई हरेकले सुझाए। तर, त्यसले जनतामाझ राम्रो सन्देश नजाने भन्दै उनी मर्नका लागि तयार भए।

२२ वर्षका गंगालालले स्वतन्त्रताका लागि मर्न पनि नडराउनु भन्ने सन्देश छोड्दै हाँसी हाँसीकन छातीमा गोली थापे।

त्यसो त त्यो निरङ्कुशता आजको सत्तामा पनि बाँचेकै छ। त्यति बासी पनि भएको छैन, काम गरिखान कोरिया जान पाऊँ भन्दा गणतान्त्रिक नेपालका युवाले ज्यान गुमाएको।

आज सहिद दिवस! गंगालाललाई २२ वर्षकै उमेरमा त्यो विद्रोही चेत कहाँबाट कसरी मिल्यो होला?

यति सोच्दासोच्दै म माला आर्ट्सको रिहर्सल हलमा पुगिसकेछु। हललाई मैले हल देखिनँ, सडक नै देखेँ। गंगालाल र उनका विद्रोही साथीहरू क्रान्तिका नारा लगाउँदै थिए। एक चरणको आन्दोलन सकिएपछि उनीहरू भुइँमा पलेँटी कसेर आँखा चिम्लिएर ध्यानमा बसे। पृष्ठभूमिमा मधुर धुन बजिरहेको थियो। क्रान्तिले विश्राम लिएर मनमा शान्तिले ठाउँ लिएपछि पो बल्ल मैले ठम्याएँ- ती विद्रोहीहरू त खासमा थिएटरका कलाकार पो रहेछन्।

चेको निर्देशनसँगै कलाकारको टोली ध्यानबाट उठ्यो र नाटकको पूर्ण रिहर्सलमा जुट्यो। गंगालाल र उनको भूमिकामा देखिएका निर्भीक भट्टराईमा कुनै भेद थियो होला? कमसेकम त्यो नाटक हेरुञ्जेल मैले त पत्ता लगाउन सकिनँ। रिहर्सल सकियो र फेरि पनि मैले निर्भीकलाई गंगालाल नै देखिरहेँ।

सहिद भन्नासाथै लाग्थ्यो उनीहरू असाधारण व्यक्तित्व हुन्, महान हुन्। त्यसैले तिनको आम दिनचर्या कस्तो थियो होला? तिनको रहनसहन, साथीसंगत, उठबस यी साधारण कुराहरूको कहिल्यै कल्पना नै गरिएनछ। कतिसम्म भने, तिनलाई त्यो विद्रोह गर्न कस्ता कुराले हौस्यायो होला भन्ने पनि यदाकदा सोचेर अचम्म पर्नुबाहेक खोतलेर जान्न बुझ्न प्रयास गरिएनछ।

र यो नाटकको रिहर्सल हेरेपछि भने कम्तीमा २२ वर्षीय उमेरमै सहिद भएका गंगालाल सहिद हुनुअघि कस्ता थिए? भन्ने जान्न बुझ्न पाएँ। त्यस्तै अरू धेरैधेरै कुरा पनि। जस्तो कि, आम जनताले चिनेको सहिद गंगालाल र युगले चिनेका कवि सिद्धिचरण श्रेष्ठबीचको गुमनाम दोस्ती, त्यो दोस्तीले गंगालालको विद्रोही स्वभावमा थपेको इँट्टा, धर्मभक्तसँगको उनको भेट, प्रजा परिषद्सँगको उनको सम्बन्ध, गणेशमान सिंहसँगको उनको मतभाजन! यस्तै, पत्नीसँगको उनको प्रेम र भाइ पुष्पको काँधमा उनले सुम्पिएको जिम्मेवारी। जीवन र मृत्युलाई हेर्ने २२ वर्षीय सहिदको दृष्टिकोण, राजनीति, देश र जनताप्रतिको उनको बुझाइ।

अलिकति कविता, अलिकति मार्क्स, अलिकति रंगमञ्चसँगको सम्बन्ध। अमेरिका पत्ता लगाउने कोलम्बससँगको उनको मितेरी साइनो!

निर्देशक चे भन्छन्, 'गंगालाल फाउन्डेसनमार्फत् उनको परिवारसँग सम्पर्क, बातचित गरेर, अन्य थुप्रै अध्ययन गरेर उनको 'स्पाइन' छाम्ने कोसिस गर्यौँ। बाँकी त त्यो स्पाइनमा कलाकार साथीहरूले आकार दिने, प्राण हाल्ने काम गर्नुभयो।'

म कलाकार साथीहरूतिर हेर्छु। नामजस्तै निर्भीक देखिएका निर्भीकलाई सोध्छु, 'गंगालालको मेरुदण्डमा प्राण र आकार कसरी हाल्नुभयो? यो प्रक्रियामा त्यो प्राण थोरै आफूभित्र पनि पसेको महसुस भयो कि?'

उनी भन्छन्, 'यो नाटकमा जोडिनुअघि ममा राजनीतिक चेत उति थिएन। सहिदहरूबारे पढेको थिएँ तर, भित्री कुराहरू केही पनि थाहा थिएन। त्यसकारण रोल गर्नकै लागि पनि गंगालालबारे सक्दो सबै कुरा खोज्ने बुझ्ने कोसिस गरेँ। उनको समयमा विश्वमा के चलिरहेको थियो? त्यतिबेलाको विश्व राजनीति र दर्शनबारे खोजेँ। त्यस अध्ययनले उनी कस्तो चेतना राख्थे भन्ने बुझ्न सहयोग गर्यो। अनि, आफूमा पनि त्यो चेतनाको विकास हुँदै जाने नै भयो। यो बुझ्नुपर्ने कुरा रहेछजस्तो लाग्न थालेको छ।"

हाल २१ वर्षीय उनी थप्छन्, 'फेरि उमेर र अलिअलि साथीसंगत पनि मिल्नेजस्तो हुँदा गंगालालसँग नजिक 'फिल' गर्न पनि सजिलो भएको छ।'

गंगालालले आम जनतामा पनि चेतना आओस् भनेरै गोली खाए। दबिनु थिचिनु

हुँदैन, मर्नुपरे पनि दमनको विरुद्ध बोल्न छोड्नुहुँदैन भन्दै प्राण त्यागे। के उनले दिन खोजेको सन्देश त्यतिबेलाका आम जनतासम्म पुगेको थियो त?

म गंगालालको समयकी आम सर्वसाधारणको भूमिका निभाइरहेकी कलाकार शकु शाहलाई सोध्छु, 'कस्तो अनुभव भयो त्यो समयमा बाँच्दा? के फरक लाग्यो तत्कालीन र वर्तमान व्यवस्थामा आम जनता हुनुमा?'

उनी भन्छिन्, 'ओहो! कसरी मान्छे यति क्रुर हुनसक्छ जस्तो लाग्यो। डरलाग्दो समय रहेछ त्योबेला। त्यो समयमा बाँच्दा बोल्न पनि डराउनुपर्ने अवस्था रहेछ। फरक त एकदमै फरक छ त्यतिबेला र अहिले। अहिलेको व्यवस्थाले बोल्ने हक दिएको छ। म अहिले मलाई मन नपरेको कुरा खुलेर राख्न सक्छु। त्यो हक मलाई प्राप्त छ। तर, त्यतिबेला आफ्नै परिवारभित्रै बसेर बोल्न पनि डराउनुपर्ने अवस्था रहेछ।'

सडक किनारामा हिँड्ने आम मान्छेपछि म मझधारमा उभिएको सिपाहीलाई सोध्छु, 'तपाईं त पात्रमा छिर्दा राणाहरूकै नुन खाएर ज्यान पाल्नुपर्ने मान्छे। गंगालालहरूको छातीमा गोली दाग्ने मान्छे। नढाँटी भन्नुपर्दा अन्तिममा गंगालालको छातीमा गोली हानिसकेपछि कुनातिर गएर भए पनि त्यो सिपाहीले टोपी फुकाल्यो कि फुकालेन होला? कि राणाहरूको विजयको खुसियाली मनाउनमै मस्त भयो?'

कलाकार रेवन राई आफ्नो पात्रलाई सम्झिँदै भन्छन्, 'त्यो त अवश्य पनि त्यति त गर्यो होला। किनभने, त्यतिखेरसम्म उसलाई पनि भित्रभित्रै गाह्रो भइसकेको छ। उसलाई पनि गाह्रो छ नि। नखानु राणाहरूको दरबारमा जागिर खाइहाल्यो। जे अह्रायो, त्यो गरेन भने आफैलाई खतरा हुने। उसको परिवार छ छ, आफ्नै दु:ख छ। मालिकको नुनको सोझो गर्नैपर्यो। तर, गंगालालहरूप्रति उसलाई सहानुभूति अवश्य छ। माफी मात्र मागिदिएको भए ज्यान बच्नेथ्यो जस्तो उसलाई लागिरहन्छ। ऊ एउटा विवश पात्र हो।'

फेरि सोध्छु, 'यो विवश पात्र बाँचिसकेर बाहिर निस्किसकेपछि कस्तो लाग्छ? आजको व्यवस्थामा कत्तिको स्वतन्त्र महसुस गर्नुहुन्छ?'

भन्छन्, 'मैले यो रोल गर्ने क्रममा राणाहरूबारे खोजेँ, बुझेँ। त्यतिबेला अरूअरू के कति काम भएको थियो। विकासको कामहरू, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति आदि विभिन्न क्षेत्रमा के के गरेका रहेछन् थाहा पाएँ। र अहिलेको व्यवस्थासँग तुलना गरेर हेर्दा विकास त राणाहरूले नै गरेका रहेछन् जस्तो लाग्छ। अहिले व्यवस्था फेरिएको त छ, स्वतन्त्रता पनि दिएको त छ। तर, अहिलेको जनताले नबुझेको कुरा के हो जस्तो लाग्छ भने स्वतन्त्रता दिए पनि अड्कलेर यति मात्र है भनेर दिएको छ जस्तो लाग्छ। विकासको काम गरेको छैन। तर, ठूलो बाल्टीभित्रअलिकति स्वतन्त्रता पाउँदैमा आजको आम मान्छे मक्ख छन्। तुलना गरेर हेर्दा आजको समयमा 'ठूलो बाल्टी देखाइदिएपछि सबै जनता चुप, अनि नेताहरूको चाहिँ बसीबसी लुट!' चलिरहेजस्तो लाग्छ। जति कडाइ भए पनि काम त त्यतिबेलै भएको हो कि?'

साँच्चै, नेपाल यतिबेला कहाँ छ? नेपाल यतिबेला कहाँ छ भन्नेबारे चिन्तनमनन गर्नसक्ने दशरथहरू कहाँ छन्? ठूलो बाल्टीभित्र कति हक-अधिकार सुनिश्चित छ, नाप्नसक्ने धर्मभक्तहरू कहाँ छन्? लुट मच्चाइरहेका नेताहरूको विरुद्ध धावा बोल्नसक्ने शुक्रराजहरू कहाँ छन्? र कहाँ छन् पर्यो भने देशका लागि गोली खानसक्ने गंगालालहरू?

साँच्चै, गंगालाल सहिद हुनुअघि कस्ता थिए होलान्? कस्ता किताब पढ्थे होलान्? कस्ता चिन्तन राख्थे होलान्? भनिन्छ, गोली ठोक्नुअघि राणाहरूले उनलाई उनकै घरको बाटो हुँदै लगेका थिए रे विष्णुमती किनार! भर्खर जन्मिएको छोरोलाई हातमा खेलाउँजस्तो पटक्क लागेन होला उनलाई?

नाटक 'गंगालाल'को आज यतिबेला जमलस्थित राष्ट्रिय नाचघरमा सहिद दिवसका अवसरमा विशेष मञ्चन हुँदैछ। हप्तौँ अघिदेखि होली र तिज मनाउने हामीलाई शिल्पी थिएटरले यसपटक (माघ १९ गतेदेखि) हप्तौँ पछिसम्म सहिद दिवस मनाउने अवसर दिएको छ।

कम्तीमा आजको पुस्ताले सहिद गंगालाललाई मात्र होइन सहिद हुनुअघिको गंगालाललाई पनि चिन्न जरुरी छ। गंगालाल आखिर कसरी गंगालाल भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .