ad ad

ब्लग


‘भाइबरमा तस्बिर : तस्बिरमा कविता’को कथा

पहरी बस्तीका ती ५ दिन
‘भाइबरमा तस्बिर : तस्बिरमा कविता’को कथा

इन्द्रबहादुर देवकोटा
माघ २०, २०८० शनिबार ११:४, काठमाडौँ

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) द्वारा सञ्‍चालित 'मध्यमस्तरका व्यवस्थापकहरूका लागि व्यवस्थापन र विकाससम्बन्धी उच्चस्तरीय तालिम कार्यक्रम' मा सहभागी हुने अवसर मलाई पनि मिल्यो। २०७९ साउन १९ गतेदेखि २०७९ भाद्र ३० गतेसम्म सञ्चालित उक्त तालिम कार्यक्रमको पाठ्यक्रमका विभिन्न भागमध्ये एउटा 'समुदायसँग सम्मिलन हुने (सीटुसी)' थियो। यसमा हामी तोकिएको समुदायमा गएर ५ दिनसम्म उनीहरूका हरेक दैनन्दिनी गतिविधिसँग संलग्न हुने र समुदायसँग सम्मिलन भई समानुभूति गर्नुपर्ने थियो।

तालिममा हामी विभिन्न निकायबाट २९ जना सहभागी थियौँ। हामीलाई चितवन, नवलपरासी, मकवानपुर जिल्लाका विभिन्न स्थानीय समुदायको आर्थिक, समाजिक, साँस्कृतिक लगायत विभिन्न पक्षमा अध्ययन गर्न समुदायमै बसी समानुभूति गर्न समूह बनाई खटाइएको थियो। हाम्रो समूहलाई मकवानपूरको बाग्मती गाउँपालिकाको पिछडिएको समुदायका समस्याहरूको समानुभूति गर्ने जिम्मा थियो।

यो जिम्मा हामीलाई ठूलो अवसरको रूपमा रहन गयो। हामी विभिन्न स्थानमा खटिए पनि स्टाफ कलेजबाट सामाजिक सञ्‍जाल भाइबरमा समूह बनाई हामीलाई आवद्ध गरिएको थियो र यसै मार्फत दैनिक आ-आफ्नो समूहले दिनभरि गरेका कामको जानकारी गराउनुपर्ने थियो। यसको नियमन र समन्वय स्टाफ कलेजबाट शैलेन्द्र सर र शैलजा म्याडमले गरिरहनु भएको थियो। उहाँहरूको व्यवहार र समन्वय गर्ने कला ज्यादै नै प्रशंसनीय थियो, असल थियो र अनुकरणीय थियो। 

हामी सबै भाइबर समूह मार्फत स्टाफ कलेजमा आवद्ध भई सञ्‍जालित थियौँ, दैनिक गतिविधि, अध्ययनको क्रममा भएका प्रगति, भेटेका विशिष्ट अवस्था र त्यस क्रममा लिइएका तस्बिर भाइबरमा प्रविष्ट गर्दथ्यौँ। यो कार्य सबै समूहले गरिरहेका थियौँ। यसरी प्रविष्ट गरिएका तस्बिरमा प्रतिक्रिया दिने अभ्यास सुरु भयो। केही साथीहरूले हाइकु लेखेर पनि प्रतिक्रिया प्रविष्ट गर्नु भयो। विभिन्न समूहका साथीहरूले प्रविष्ट गर्नु भएका तस्बिरका सम्बन्धमा मैले कवितात्मक शैलीमा प्रतिक्रिया दिन थालेँ। हाम्रो भाइबर पाना कवितामय भयो। आज तिनै कविताका सन्दर्भमा यहाँ लेख्दै छु।

हाम्रो समूहमा दुर्गा म्याडम, शिरिष सर र म थियौँ। हामी बाग्मती गाउँपालिकाको झुरझुरेमा पुगेर त्यहाँको एउटा समुदाय छनौट गरी अध्ययन सुरु गर्नु थियो। बाटोमा नै विभिन्न स्रोत तथा त्यहाँको स्थानीय तहका पदाधिकारीको समन्वयमा अध्ययनका लागि समुदाय पनि करिब निश्चित गरिसकेका थियौँ। हामीले तोकिएको स्थान झुरझुरेमा पुगेर त्यहाँको सामान्य वस्तुस्थिति बुझ्यौँ।

हामी तोकिएको स्थानमा पुगेर कार्य सुरु गरेको जनाउ दिन हाम्रो समूहबाट त्यहाँको एउटा तस्बिर भाइबरमा प्रविष्ट भयो। तस्बिर बाग्मती गाउँपालिकाको सदरमुकाम झुरझुरे नजिकैको 'भैँसे' नामक गाउँको पहरी समुदायको बस्ती, वासस्थान र पहरी समुदायका सदस्यहरूको थियो। राज्यबाट उनीहरूलाई केन्द्रविन्दुमा राखेर उत्थान तथा सबलीकरणका कार्यक्रम प्रभावकारी रूपले सञ्चालन नभएको कारण विकासको प्रतिफल उपभोग गर्न पाउने अवसरबाट बञ्‍चितिकरणमा परेका, न्यूनतम आधारभूत सेवासुविधा नपाएका, कठिन जीवनयापन गरिरहेका कारण कमजोर परिस्थितिमा रहेको समुदायको अवस्था उक्त तस्बिरमा झल्कन्थ्यो। त्यो तस्बिरका बारेमा अन्य समूहका साथीहरूबाट विविध प्रतिक्रिया आए। मैले नि एउटा प्रतिक्रिया कवितात्मक शैलीमा यसरी लेखेँ-

     बाग्मतीको झुरझुरेमा पहरी यो बस्ती
     उत्थान भए राज्यबाट हुन्थ्यो कति मस्ती।
     थोरैमा नि सन्तुष्ट छन् छैन क्यै गुनासो
     समावेशी राज्यभित्र समृद्धिको हाँसो।।

हाम्रो समूहले पहरी समुदायसँग विविध विषयमा छलफल गरेको थियो। सरकारबाट तपाईंहरूको लागि के-के काम भइदिए हुन्थ्यो जस्तो लाग्छ, के-कस्ता सेवासुविधा तपाईंहरूलाई चाहिन्छ, सरकारबाट नागरिकलाई उपलब्ध गराइएका सेवा सुविधाका बारेमा के थाहा छ, ती सेवा सुविधा कत्तिको उपयोग गर्नु भएको छ, सेवा सुविधा पाउन के कस्ता कठिनाइ छन्, स्थानीय तहबाट कसरी सेवाप्रवाह भएको छ लगायतका विविध पक्षमा जिज्ञासा राखेका थियौँ। समुदायका सदस्यहरूले सरकारले खानेपानीको व्यवस्था गरिदिने, इलम गर्न थोरै ऋण दिने र व्यवसाय गर्न सीप सिकाइदिए मात्र पुग्छ भनेका थिए।

हामी बसेको जग्गाको पुर्जा बनाइदिनुपर्‍यो। यसबाहेक हामीलाई अरू केही चाहिदैन, हामी आफै गरी खाना सक्छौं भनेका थिए। पहरी बस्तीमा खानेपानीको ज्यादै नै समस्या रहेछ। उद्यम गर्न सीप रहेनछ। इलम गर्न पुँजी रहेनछ। भुइँमान्छेको राज्यसँग त्यति ठूलो माग हुँदैन रहेछ। यिनीहरूको ठूलो माग रहेनछ। न्युनतम आवश्यकताका सेवा सुविधा उपलब्ध गराउने, उद्यम गर्ने सहज वातावरण बनाइदिने र शान्ति सुरक्षाको सुनिश्चितता गरिदिने हो भने नागरिक आत्मनिर्भर हुने कार्यमा आफै लाग्छन् भन्ने सन्देश उनीहरूले दिए। यसै सिलसिलामा लिइएको अर्को तस्बिरको सन्दर्भमा मैले यसप्रकार कवितात्मक विचार प्रविष्ट गरेँ-

   माग छ यिनको सीप र पानी
   क्षमता बढाए हुन्थे भाग्यमानी।
   सबै लागौँ यिनलाई उठाउन
   देशप्रति यिनको स्वामित्व बढाउन।।

छलफल गर्दै जाँदा थाहा भयो, पहरी वस्तीका झण्डै ३५ घरपरिवारको अहिलेसम्म पनि बसेको जग्गाको लालपुर्जा रहेनछ। उनीहरू सुकुमवासी रहेछन्। पालिकाले जग्गाधनी पुर्जा दिलाउन निकै प्रयास गरेको रहेछ तर नीतिगत र प्राविधिक कारणले सम्भव हुन सकेको रहेनछ। इलम गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितो राख्ने सम्पत्ति रहेनछ। ती मध्ये कतिका त अहिलेसम्म पनि नागरिकता नै छैनन्। यसै सन्दर्भको अर्को तस्बिरमा मैले यसप्रकार कवितात्मक अंश लेखेँ-

    न त छ जग्गा न त छ पुर्जा
    उन्नति गर्न केले दिने ऊर्जा।
    राज्यका नागरिक राज्यविहीन
    हेर्दैन यिनलाई यो राज्य किन?

पहरी समुदायसँगको लामो छलफलपछि हाम्रो समूहलाई उनीहरूका समस्या, आर्थिक-सामाजिक अवस्था, सेवा-सुविधामा पहुँच, रोजगारीको अवस्था, शिक्षामा पहुँच, जनचेतनाको स्तर, विकासको प्रतिफलको उपयोग गर्ने अवसर, मानव विकासको अवस्था लगायतका विविध विषयमा जानकारी भयो। यसबाट हामीलाई नागरिकको अवस्था के छ, राज्यबाट भुइँमान्छेले के अपेक्षा गरेको छ भन्ने विषयमा सोच्न बाध्य गरायो। स्टाफ कलेजले हामीलाई किन समुदायसँग घुलमिल हुन पठायो भन्ने बारेमा थप स्पष्ट भयौँ।

मध्यमस्तरका व्यवस्थापकहरू जो नीति निर्माण र नीति कार्यान्वयनमा प्रत्यक्ष संलग्न हुन्छन्, उनीहरूले नागरिकका विविध समस्यालाई आत्मसात गर्नुपर्दछ। समुदायका समस्यालाई समानुभूति गरेमा नीति तथा कार्यक्रम बनाउँदा, सेवा प्रवाहका माध्यम तथा प्रणाली बनाउँदा नागरिकका समस्यालाई हेरी भुइँमान्छेको आवश्यकता एवं क्षमतालाई पूरा गर्ने तवरले उनीहरूको उत्थान हुने गरी बनाउन सकून् भन्ने मूल उदेश्यले हामीलाई समुदायसँग जोडेको अनुभूति हुन गयो। पहरी समुदायको अवस्थालाई नजिकबाट समानुभूति गरेपछि भाइबरमा प्रविष्ट भएका तस्बिरका बारेमा मैले यसप्रकार कवितात्मक अंश तयार पारी प्रविष्ट गरेँ-

     पहरी बस्तीको विशिष्ट चिनारी
     हातमुख जोर्न सधैँ छ भारी।
     राज्यले यिनलाई चुनावमा खोज्ने
     भन अब यिनले कसलाई हो रोज्ने?

     म सधैँ पछाडि भाग र भोगमा
     कसले पो हेर्ने म पर्दा रोगमा।
     शिक्षा र स्वास्थ्य कता छन् कता
     वितरा परेको छु म बबुरो यता।।

     म नि नागरिक हुँ यही देशको
     विशिष्ट पहिचान विशिष्ट भेषको।

     न छ जमिन मेरो न त बसोवास
     न विशेष अधिकार न प्राथमिकता खास।।

पहरी बस्तीमा पहिलो दिन लामो छलफल भयो। ऐलानी खेतबरीमा लहलह गर्ने धानबाली, छेवैमा सेताम्य फुलेको तिलबारी र बारीका छेउछेउमा बनाइएका सामान्य काठ र खरबाट बनेका स-साना घरमा बसेर त्यहाँको रहनसहन, संस्कार, चाडपर्व, धार्मिक तथा जीवन प्रणाली लगायतका विषयमा लामै कुराकानी भए। समुदायका बारेमा जान्नु सिक्नु पर्ने अझै धेरै विषय थिए। हामी साँझसम्म अध्ययनमै रह्यौँ। हामीलाई सकभर आफू आवद्ध समुदायमै उनीहरूकै अवस्थामा रहने भनिएको थियो तर यो सम्भव हुन सकेन।

समस्या के भने हामीलाई त्यो समुदायमा बस्न सहज नहुने देखियो अथवा भनौँ बस्नलाई कहीँकतै स्थान भएन। कहिलेकाँही अपवादात्मक समस्याले परिस्थितिलाई मोडिदिन्छ। त्यसैले उनीहरूको साँझको अबेरसम्मको क्रियाकलापको अध्ययन गरी बस्न हामी नजिकैको पालिकाको अतिथि घरमा आउनै पर्ने अवस्था आइपर्‍यो। यस परिस्थितिलाई स्वीकार्नै पर्ने भयो। बिहान उठेदेखिका सामाजिक क्रियाकलाप, आर्थिक क्रियाकलाप हेर्न, अनुभूति गर्न ती क्रियाकलापबाट समानुभूति गर्न भोलिपल्ट बिहानै पहरी बस्ती फर्किने गरी हामी साँझमा बिदा भयौँ। हामी समुदायबाट बिदा हुने क्रममा समुदायले हामीप्रति देखाएको आत्मीयताबाट मैले निम्न अंश भाइबरमा प्रविष्ट गरेँ-

   त्यही खेतमा धान हजुर त्यही खेतमा तिल
   चौडा चौडा खेतभन्दा झनै चौडा दिल।
   पीडै पीडा सहेर नि कति खुसी मन
   गाउँमा पाउने जति खुसी अन्त कहाँ छ भन।।

भाइबरमा तस्बिर प्रविष्ट गर्ने कार्य सबै समूहबाट भइरहेको थियो। यसैक्रममा चितवनको राप्ती, भण्डारा क्षेत्रमा खटिनुभएका साथी अनन्त सर, सुनिलबाबु सरको समूहले पानी परेको वेलामा पनि खेतबारीमा काम गरिरहेका समुदायको तस्बिर प्रविष्ट गर्नु भयो। यस तस्बिरप्रति मैले यसरी प्रतिक्रिया लेखेँ-

    कहिले भारी वर्षा कहिले टनटलापुर घाम
    पसिनाले पूरै भिज्यो तैपनि गर्नुपर्ने छ काम
    मेहनती यी समुदाय पसिनामा सुन फलाउने
    यिनकै परिश्रमले हो यो देश धनी कहलाउने।।

त्यस्तै, अनन्त सरको समूहबाट अरू तीनवटा तस्बिर प्रविष्ट भए जसमा ढिकी कुटेको, जाँतोमा पिठो पिसेको र तेल पेल्ने कोल देखिन्थे। विज्ञान प्रविधिको युगमा पनि अहिलेसम्म हाम्रा पुर्खाले सिर्जना गरेका रैथाने विशिष्ट घरेलु प्रविधि अझै ग्रामीण समुदायमा प्रयोगमा रहेको पाउँदा खुसी लाग्यो। यी पौराणिक प्रविधि हाम्रा पुर्खाको मौलिकता हो। हाम्रो इतिहास हो र चिनारी हो। हाम्रो सभ्यता हो, जग हो। यी तस्बिरका सम्बन्धमा मैले यसरी प्रतिक्रिया लेखेँ-

     स्थानीय प्रविधि यो परिवेश सुहाउँदो
     विशिष्ट चिनारी यसको आफ्नो कहलाउँदो।
     पुर्खाले दिएको चिनो यो संरक्षण गर्नुछ
     माटो सुहाउँदो प्रविधिले यो देश भर्नुछ।।

त्यस्तै, सुनिलबाबु सरले अर्को तस्बिर पनि प्रविष्ट गर्नुभयो जसमा अनन्त सरले 'खप्टेनी' लेखेको साइनबोर्डमा एकटकले गहिरिएर हेरिरहनु भएको थियो। खप्टेनी भन्ने ठाउँको नाम हुनुपर्छ। त्यसलाई अनन्त सरले किन त्यसरी ध्यानपूर्वक हेर्नुभयो होला भन्ने मलाई खुलदुली लाग्यो र निम्न हरफ प्रविष्ट गरेँ-

     खप्टेनीमा अनन्त सर क्या दंग परेको  
     किन होला त्यसरी नि साइनबोर्ड हेरेको।
     केले पार्‍यो हाम्रो सरलाई गहिरिएरै सोच्ने
     राम्रै कुरा पत्ता लाग्ला खप्टेनीलाई पोस्ने।।

तस्बिर प्रविष्ट गर्ने कार्य निरन्तर भइरहेका थिए। अन्य स्थानमा खटिनुभएका साथीहरूका समूहबाट पनि आफ्नो समूहले गरेका गतिविधि जानकारी गराउने कार्य भइरहेका थिए। यसै क्रममा सुनिलबाबु सरले अर्को तस्बिर प्रविष्ट गर्नुभयो जसमा विद्यालय जाने उमेरकी एकजना बहिनी घरायसी काममा तल्लीन भएकी थिइन्। ती बहिनीको तस्बिरबाट उनी विद्यालय जाने अवसरबाट बञ्चित भएको स्पष्ट देखिन्थ्यो। यस्तो तस्बिर देखेपछि मैले भाइबरमा निम्न लाइन प्रविष्ट गरेँ-

     म हुँ कर्णधार आखिर यो देशको
     फरक भूगोल फरक परिवेशको।
     मलाई भेदभाव यहाँ फेरि किन
     कहिले आउँछ त म स्कुल जाने दिन?

बाग्मती गाउँपालिकाको अहिलेको सदरमुकाम झुरझुरे हो। यसभन्दा पहिले फापरबारी थियो। हेटौँडाबाट मदन भण्डारी राजमार्ग हुँदै जाँदा पहिले फापरबारी बजार आउँछ भने त्यहाँबाट करिब बीस मिनेटको बाटो पूर्व हिँडेपछि अहिलेको सदरमुकाम पुगिन्छ। एकदिन हामी पुरानो सदरमुकाम कस्तो थियो, अहिले त्यसको अवस्था केछ भनी हेर्न मन लाग्यो। हामी त्यतातिर गयौँ। मदन भण्डारी राजमार्गबाट फापरबारी जान बीचमा एउटा खोला तर्नुपर्ने रहेछ। त्यस खोलालाई चौराहा खोला भनिने रहेछ। चौराहा खोलामा हामी जाँदा घुँडासम्म आउने सङ्लो कञ्चन पानी वारपार भई बगेको थियो। खोला तर्न विचारै पुर्‍याउनुपर्ने अवस्था थियो, खोला अलि ठूलै र वेगले बगेको थियो। खोला तर्ने क्रममा हामीलाई त्यहाँको सफा, सङ्लो, कञ्चन पानीले खुब लोभ्यायो। यति सफा पानीमा कसरी खुट्टा टेकेर फोहोर बनाउनु, यस्तो पानी कसरी कुल्चनु जस्तो अनुभव भयो।

तर के गर्नु, आखिर खोला तरेर पारि त जानै थियो। हामी खोलामा पस्यौँ। हामी खोलामा तस्बिर लिनमै रमायौँ। त्यसपछि फापरबारीको पुरानो बजार हेर्‍यौँ। स्थानीय परिवेशमा बजार ठूलै रहेछ। झुरझुरेमा प्रशासनिक गतिविधि मात्र हुने र आर्थिक गतिविधि फापरबारीमै बढी हुने रहेछ। दैनिक गुजाराका मालसामान सबै फापरबारीमा किनमेल हुने रहेछ। चौराहा खोला तर्दा खिचिएका विभिन्न तस्बिर दुर्गा म्याडमले सामाजिक सञ्जाल भाइबरमा प्रविष्ट गर्नु भयो हाम्रो समूहको तर्फबाट। ती तस्बिर हेरेर मैले प्रतिक्रिया लेखेँ-

     खोलाको पानी हजुर कति सफा कञ्चन
     पानी माथि जीवन हुन्छ सबै यसो भन्छन्।
     कलकल बग्ने पानी हजुर उपयोग गरौँ
     जलस्रोतको विकास गर्न अब लागि परौँ।।

एक दिन बिहानै चितवनको कालिका-५ क्षेत्रमा खटिनुभएको समूहबाट लीला म्याडमले तस्बिर प्रविष्ट गर्नु भयो। तस्बिर उहाँले योग गरेको, कसरत गरेर पसिनाले निथ्रुक्कै भिजेको देखिन्थ्यो। उक्त तस्बिरमा धेरै साथीहरूले आ-आफूलाई लागेको कुरा व्यक्त गर्नुभएको थियो। मैले भने कवितात्मक शैलीमा यसरी प्रतिक्रिया जनाएँ-

      पसिनाले स्वास्थ्य बन्ने पसिनाले देश
      बगाई दिऔँ पसिनालाई रोग रहन्न शेष।
      बिहानीमा योग कसरत सबैभन्दा बेस
      पसिनामै हजुरको यो कति राम्रो भेष।।

मेरो उपरोक्त प्रतिक्रियाका सम्बन्धमा लीला म्याडमले रमाइलो पाराले लेख्नुभयो- 'म धेरै आभारी छु। पसिनाको कति महत्त्व रहेछ, थाहै नपाएरै पनि स्वस्थ हुँदै रहेँछु।' अझ, यही प्रतिक्रियामा हो कि अर्को कुनैमा हो, वहाँले लेख्नुभएको थियो- 'सर त आशुकवि नै हुनुहुँदो रहेछ। यो भ्रमणबाट सरको प्रतिभा थाहा भयो।'

तस्बिर प्रविष्ट गर्ने क्रम साथीहरूबाट निरन्तर जारी थियो। तस्बिरबाट नै हामी खटिएको स्थानमा दैनिक समुदायसँसँगै भएको, उनीहरूका जीवनयापनका गतिविधिसँग आवद्ध भएको र ती गतिविधिबाट समुदायका पीर मर्का, समस्या, खुसी लगायतमा समानुभूति गरेको जानकारी गराउनु थियो। हाम्रा गतिविधि स्टाफ कलेजले यही सामाजिक सञ्जाल र अन्य सम्पर्क सूत्रबाट नियमन गरिरहेको थियो। हामी कति इमानदारीपूर्वक दिइएको कार्य गरिरहेका छौँ भन्ने अनुगमन भइरहेको थियो। यसैक्रममा सुनिलबाबु सरले अर्को तस्बिर प्रविष्ट गर्नुभयो जसमा दुईजना नानीले खाना खाइरहेका थिए। घरको अवस्था सामान्य भन्दा पनि सामान्य देखिन्थ्यो भने नानीहरूको जीवनशैली तथा अवस्था पनि साधारण देखिन्थ्यो। यस्तो अवस्थाको तस्बिर हेरेर मैले लेखेँ-

    भोक मीठो कि भोजन मीठो लौन हजूर भनौँ
    यी नानीले भात खाए कि ढिँडो खाए चिनौँ।
    बाल सुलभ सन्तुष्टि त्यो थालीमाथि खाना
    पेट भर्न पाए हुन्छ छैन क्यै बहाना।।

समुदायमा घुम्ने क्रममा राप्ती भण्डारा क्षेत्रको बाटोमा भेटिएका विविध रङ्गीविरङ्गी फूलहरूका तस्बिरहरू अनन्त सरले प्रविष्ट गर्नुभयो। सुन्दर फूलहरूको तस्बिर हेर्दा त त्यति आनन्द आउने थिए भने साक्षात् भई हेर्दा कति मन लोभियो होला सरको अनि त तस्बिर प्रविष्ट गर्नु भयो। यी फूलहरूका तस्बिर माथि मैले यस्तो प्रतिक्रिया लेख्न पुगेँ-

     प्रकृतिको देन हजुर अनेकथरि फूल
     विविधता विचित्रता प्रकृतिको मूल।
     रङ्गीचङ्गी फूलै फुल्ने वनै पाखाभरि
     प्राकृतिक सौन्दर्यले नेपाल स्वर्गसरि।।

झुरझुरे क्षेत्रमा समुदायसँग खेतबारीमा गएर जोत्ने, डल्ला फोड्ने, घाँस काट्ने, खेतबारी गोड्ने लगायतका कार्य पनि गरियो जुन मैले पहिले आफ्नो गाउँमा अलिअलि भए पनि गरेकै काम थिए। तर लामो समयको अन्तरालमा यी काम गर्दा ज्यादै रमाइलो र फरक अनुभूति हुँदो रहेछ। यसका केही तस्बिरहरू पनि सामाजिक सञ्जाल भाइबरमा प्रविष्ट गरियो र तस्बिरको तल यसरी लेखियो-

    घाँस पनि काटेँ मैले हलो पनि जोतेँ
    बारी गई डल्ला फोरी खेत पनि गोडेँ।
    समुदायको सम्मिलनमा समानुभूति गरेँ
    समुदायका समस्यालाई व्यवहारमै पढेँ।।

पहरी समुदायको आफ्नै स्वामित्वको जग्गा जमिन नभएको कुरा माथि उल्लेख गरेँ। उनीहरूको आफ्नो जग्गा नभएकोले सुकुम्वासी जीवन बिताइरहेका छन्। उनीहरूको पेट पाल्ने कार्य केही मजदूरी पेसा र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हुने अल्पकालीन रोजगारी हो भने खेती गर्नका लागि बाग्मती नदीको बगर हो। बाग्मती नदीको बगरलाई समुदायका हरेक घरले बाँडफाँट गर्ने र त्यसमा मकै लगाउने प्रणाली रहेछ। वर्षामा बाढीका कारण बिग्रेको बगर गाउँपालिकाले डोजर लगाएर केही सम्याइदिने रहेछ। त्यसमै मकै, तरकारी लगाएर आएको उब्जनीले वर्षभरि पुर्‍याउनुपर्ने बाध्यता रहेछ।

त्यहाँका जेष्ठ नागरिक पहरी बुबाले भन्नु भयो- 'पहिले पहिले बाग्मती नदीमा खुव माछा हुन्थे। माछा मार्ने पेशाबाट मनग्ये आम्दानी हुन्थ्यो। बाग्मती नदीमा यति धेरै माछा हुन्थे कि गाई-गोरु नदी तर्दा खुरमा माछा च्यापिएर आउँथे। अहिले काठमाडौको फोहोरले नदी पनि सुक्यो। फोहोरको विषादीले माछा पनि मरे, सकिए। हाम्रो खाने पेसा बन्द भयो।'

पहरी समुदायको खेतीपाती गर्ने व्यवस्थाका बारेमा यति सुनेपछि समुदायले खेतीपती नै गर्ने बगर हेर्न मन लाग्यो। हामी समुदायका सदस्यहरूसँग बाग्मती बगरमा गयौँ। बगरमा काँस फुलेर सेताम्य थियो। लाग्थ्यो, बगरभरि हिउँको तन्ना बिछ्याइएको छ, आकासबाट सेतो बादलको वर्षा भइरहेको छ । अझ भनौं, बगरभरि पूरै कपास सुकाइएको छ। यसले खुब आनन्द दिएको थियो। बगरको सौन्दर्य बढाएको थियो। त्यहाँ हामीले केही तस्बिर लियौ र हाम्रो भाइबरमा प्रविष्ट गर्‍यौ। तस्बिरको बारेमा मैले यसरी लेखेँ-

    बाग्मतीको बगर हजुर सेताम्य छ काँस
    बगरको छेउमै पर्ने भैँसे पहरी बास।
    यही बगरमा मकै फल्ने यही बगरमा घाँस
    धन्य बगर धानेकै छ गाँउ वस्तीको सास।।

बगर हेरेर आउँदा त्यही बगरको बाटोमा एकजना बहिनीले सेलरोटी पकाएर बेच्ने रहिछन्। यसबाट उनको आर्थिक गर्जो टर्ने रहेछ। यस्तो स्थानमा बहिनीको उद्यमशीलता तारिफयोग्य थियो। मलाई सेलरोटी खाना मन लागेको थियो। रोटी खाना मन पनि लागेको र यसरी हामीले रोटी खाइदिँदा बहिनीको व्यापार व्यवसायमा योगदान पुग्ने भएकोले म त्यतातिर गएँ। म भन्दा अगाडि एउटा गाडीबाट आएका यात्रुहरूले सबै रोटी हातहातै सकिदिए। हाम्रो समूहलाई पुगेन भन्ने मैले टाढैबाट बुझेँ। तर मलाई खुसी लाग्यो, बहिनीको त्यसदिनको व्यापार भयो। पिठो मुछेर फेरि सेल पकाउन्जेल ढिला हुने भएकोले हामी हिँड्यौँ। एउटा तस्बिर भने प्रविष्ट गर्‍यौं। तस्बिरलाई मैले यसरी बयान गरेँ-

     पस्केकी छु सेलरोटी तरकारी चनाको
     मेटाएकी छु भोक प्यास बटुवा जनको।
     भोक पनि मेटिजाने आर्थिक गर्जो टर्ने
     उद्यमशील बनेरै हो समृद्धिलाई भर्ने।।

बाग्मती गाउँपालिकाको झुरझुरेको भैसे भन्ने स्थानका पहरी समुदायको समानुभूति गर्न हामी पाँच दिन त्यस ठाउँमा बस्यौं। सुरुमा सबैभन्दा दुर्गम ठाउँमा परियो, बस्न सकिन्छ कि सकिन्न, समुदायले सहयोग गर्छन् कि नाइँ, स्थानीय तहका पदाधिकारीहरूले समन्वय, सहयोग गर्नुहुन्छ कि हुन्न जस्ता विविध शंका उपशंका मनमा नआएका होइनन्। तर त्यहाँ पुग्दा हामीलाई कुनै कुराको समस्या भएन। स्थानीय तहबाट पूर्ण सहयोग, समन्वय रह्यो। समुदायले पनि आफ्नै घरका सदस्यको रूपमा व्यवहार गरे, कुनै कुरा नलुकाई सम्पूर्ण समस्याहरू, अपेक्षाहरू प्रस्तुत गरे। हामी उनीहरूको घरदैलोमा पुगेकोमा खुसी भए। यसले एउटा यस्तो सामीप्यता बढ्यो कि बाग्मती छोड्दा ज्यादै नरमाइलो लाग्यो। विदाइ हुँदाका दिनका क्षण स्मरणीय रहे र केही तस्बिर प्रविष्ट भए। ती तस्बिरमा मैले आफ्ना भावना यसरी व्यक्त गरेँ-

    बाग्मतीको सम्झना यो रहनेछ मनमा
    कति शिक्षा पायौ हाम्ले पुग्दा जनजनमा।
   पालिकाको सहयोग पनि रह्‍यो कतिकति
    बयान गरी साध्यै छैन हाम्ले सिक्यौँ अति।।

    नौलो थियो भूगोल यो नौलै परिवेश
    यहाँ पुग्दा पायौँ हाम्ले आनन्द र वेश
    छोड्दा भने नरमाइलो बाग्मती यो गाउँ
    सधैँ यतै घुम्ने अवसर यसरी नै पाऊँ।।

समुदायसँग सम्मिलन कार्यक्रममा गरेका समानुभूतिको प्रतिवेदन बनाई समूहमा प्रस्तुतीकरण गर्नुपर्ने थियो। यसका लागि सबै साथीहरूले आ-आफ्नो समूहले गरेको समानुभूति एक-अर्कामा आदानप्रदान गर्ने कार्यक्रम थियो। हाम्रो समूहबाट पनि प्रतिवेदन तयार भएको थियो। प्रतिवेदन बनाउन दुर्गा म्याडम र शिरिष सरको मेहनेत सराहनीय थियो। उहाँहरूले निकै दु:ख गर्नुभयो उत्कृष्ट प्रतिवेदन बनाउन। समूहका सबै सदस्यले प्रतिवेदनको प्रस्तुतीकरण पालैपालो गर्नुपर्ने थियो। हाम्रो तालिम सकिएको भोलिपल्टबाटै दसैँ विदा हुने थियो। हामी बाग्मती गाउँपालिका गएका तीन जना साथीहरूको नामको पहिलो अक्षरबाट छुट्टै भाइबर समूह बनाएको थियौँ- 'दुइसि।' प्रतिवेदन प्रस्तुत गर्ने क्रममा मैले कवितात्मक शैलीमा नै यस प्रकार सुरु गरेको थिएँ-

     नमस्कार छ दुइसिको यस कोसी हलमा
     धेरै कुरा सिक्न पाइयो सीटुसी पलमा।
     समानुभूति कति कति यात्रा नि रसैको
    शुभकामना दुइसीको यो बडादसैँको।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .