ad ad

ब्लग


कर्णालीको समृद्धिका गाथा लेखौँ प्रिय कवि

कर्णालीको समृद्धिका गाथा लेखौँ प्रिय कवि

इन्द्रबहादुर देवकोटा
फागुन ५, २०८० शनिबार १८:१२, काठमाडौँ

कर्णाली घुमाउरो पर्‍यो लौरी बगाउँदैन
साइ तिम्रो रूप्से मुहार हेरी अघाउँदैन।

यो गीत मैले सानोमा सुनेको थिएँ। गाउँगरमा मेलापात, चाडपर्व र पूजाआजामा नाच्ने गाउनेहरूले गाउने गीत थियो यो।

हाम्रो ठाउँ सल्यान र कर्णालीतिर केटाकेटीले एकआपसमा प्रेममय भाषामा 'साइ' भन्ने चलन छ। यसमा आफूलाई मनपरेको मान्छे (केटाले केटीलाई र केटीले केटालाई) को सुन्दर अनुहार हेरिरहेर मन नअघाउने भाव व्यक्त गर्ने गीत हो। यसलाई मैले कर्णालीको हकमा यसरी भन्ने गर्छु-

कर्णाली घुमाउरो पर्‍यो लौरी बगाउँदैन
कर्णालीको बयान गरी यो मन अघाउँदैन।

हो, कर्णालीको बयान गरी साध्य छैन। यसका आर्थिक, समाजिक, साँस्कृतिक, भौगोलिक,  वातावरणीय आदि विविध पक्षको बयान गरिनसक्नुछ। समृद्ध कर्णालीको बयान पनि समृद्ध नै हुन्छ। कर्णाली अनुपम छ। यसको अनुपम पक्षलाई लिएर श्रष्टाहरूले उत्कृष्ट रचना सिर्जना गर्नुभएको छ। कर्णालीको अनुपम विशेषतालाई लिएर मैले लेखेको थिएँ-

प्रकृतिकी उपहार हौ सौन्दर्यकी खानी
अविरल प्रवाहित छ स्वच्छ कञ्चन पानी।
संस्कृति र सभ्यताको अनुपम थलो
कर्णालीको समृद्धिमै राष्ट्रको छ भलो।।

कर्णालीमै आसीन छिन् फोक्सुण्डो र रारा
हरियाली वन हजुर मन लोभ्याउने सारा।
सुन्दर लाग्छन् डाँडाकाँडा अग्ला अग्ला माथि
पृथ्वीको स्वर्ग हेर्न पुग्नुपर्छ साथी।।

अनुपम छ संस्कृति नि बेग्लै भाषाभेष
कर्णाली उपहार पाउने भाग्यमानी देश।
संरक्षण गर्दै जाऔँ जोगाउन सभ्यता
देशकै लागि पहिचान हो कर्णाली भव्यता।।

आज कुरा गरौँ कर्णालीका प्रिय कविका। कला, संस्कृति, साहित्य र आधुनिक भाषाको जननी मानिने खस भाषाको उद्‍गमस्थल हो कर्णाली। कर्णाली संस्कार र संस्कृतिको खानी हो। कर्णालीका ढुङ्‍गा ढुङ्गामा संस्कृति छ, संस्कार छ र यो अहिलेसम्म पनि अर्ग्यानिक (जैविक) रूपमा छ। कर्णाली नदीको वरिपरिका सभ्याताको महत्त्व विशिष्ट छ।संस्कार र सभ्यताका गीत सुसेल्दै अविरल बग्ने कर्णालीमा अथाह सम्भावना रहेका छन्। गरिबी, अशिक्षा र पछौटेपनको बिम्ब बनेको कर्णाली राष्ट्रको समृद्धिको ढोका खोल्ने ताकत र ल्याकत राख्दछ।

कर्णाली जे हो, त्यो हिजो सबै लेखिएन, कर्णालीको सम्भावना हिजो जति देख्नुपर्दथ्यो, त्यति देखिएन। भौगिलिक विकटताको खोल ओढाएर त्यसको अपार सम्भवनालाई हेरिएन। अब हिजो लेख्न बाँकी रहेका र देख्न नसकिएका कर्णालीका सम्भावना र समृद्धिका भण्डारलाई उजागर गर्नुपर्दछ। कर्णालीको सम्भावनाको परिचालनमै राष्ट्रको समृद्धि छ।

अविरल बग्ने स्वच्छ जलवाहिनी कर्णाली र भेरीद्वारा सिञ्चित भू-भाग हो कर्णाली। जीवनदायी मृतसञ्जिवनीको भण्डार हो कर्णाली। विश्वको जीवित संग्राहालय हो कर्णाली। अझ भनौF, प्रकृतिको अनुपम उपहार हो कर्णाली। यहाँको भाषा, भेषभूषा, कला, संस्कृति, लवाइखवाइ, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा आदिको विशिष्टता आफ्नै खालको छ र अहिलेसम्म शुद्ध छ।

यार्सागुम्बा र प्राकृतिक सौन्दर्य कर्णालीको पुँजी हो। जिज्ञासै जिज्ञासाले भरिएको कर्णाली नदीको सौन्दर्य एवं सभ्यता, मुगुको रारा ताल, डोल्पाको शे-फोक्सुन्डो ताल, सिङ्गो पहाडझैँ अग्ला ढुङ्‍गा⁄पत्थर विश्व पर्यटनका केन्द्र हुन सक्छन्।

कर्णालीको परिचय त्यहाँको अनुपम भौगोलिक सुन्दरता, भाषा, कला, संस्कृति, रहनसहन, संस्कार, चालाचलन र अहिलेसम्म परिचालन हुन नसकेको प्राकृतिक स्रोतले दिन्छ। कर्णालीलाई मुगुमा जाँदा रारामा भेटिन्छ। डोल्पा जाँदा शे-फोक्सुण्डोमा भेटिन्छ। सुलीगाड झरना र कालीकोटको पचाल झरनाले स्वर्गको सौन्दर्य खन्याएको अनुभूति गराउँछन्। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा नीलो भेडा, कस्तुरी, मृग, जंगली याक, तिब्बती ग्याजेल, हिमचितुवा र नाउरसँग कर्णाली बुर्कुसी मार्छ।

मुगु कर्णाली, हुम्ला कर्णाली, सानी भेरी, ठूली भेरी र तिलामा प्रवाह हुने जलवाहिनीमा कर्णाली आफ्ना गाथा सुसेल्छ। कर्णालीको महिमा र सौन्दर्य यहाँका तालतलैयाम पोखिएको छ। छिनछिनमा पानीको रङ्‍ग परिवर्तन हुने रारा ताल, शे-फोक्सुण्डो ताल, कुभिण्डे ताल, बुलबुले ताल र स्यार्पु तालमा छाएको छ कर्णाली। जनमानसमा कर्णाली भन्नासाथ रारा तालकै सम्झना हुन्छ। कर्णालीको साँस्कृतिक विशिष्टता चन्दननाथ, शे-गुम्बा, देउती बज्यै, त्रिपुरासुन्दरी, पञ्चदेवल, काँक्रेविहार, खैराबाङ् भगवती, सिद्ध कुमाख र छायाक्षेत्रमा पाइन्छ। त्यस्तै, देउडा, वनगारी नाच, सोरठी नाच, तेराली जातिको चैती, रत्यौली आदिमा नि विशिष्ठ परम्परा⁄संस्कार भेटिन्छ।

नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख, विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती छार्काभोटको 'द्यो गाउँ', नेपालको उच्च स्थानको सदरमुकाम सिमीकोट र विश्वको उच्च स्थानमा फल्ने अन्नबाली मार्सी धानमा कर्णालीले आफ्नो सान कायम गरेको छ। मार्सी, चिनो, उवा र स्याउ त कर्णालीका अर्ग्यानिक उत्पादन हुन्।

खस भाषाको उद्‍गमस्थल सिँजा, लिमी उपत्यका, डोल्पो जातिको विशिष्ट परम्परा, फिरन्ते जाति राउटे संस्कृति र हिमाली संस्कृतिको बेग्लै महत्त्व छ। कर्णाली करिब पाँचसय प्रकारका विशिष्ट जडिबुटीको भण्डार हो। यार्सागुम्वा त विश्व चर्चित नै छ। कर्णालीका यिनै विशेषताहरू नै यसका सम्भावना हुन्। यहाँको जलप्रवाहको उपयोग, प्राकृतिक सौन्दर्यका कारण हुने पर्यापर्यटन, साँस्कृतिक पर्यटन, विशिष्छ जडिबुटीको उचित प्रयोग र जैविक खेती आदि कर्णालीका सम्भावनाका खम्बा हुन सक्छन्।

कर्णालीलाई ओझेलमा पर्न नदिन पछिल्लो पुस्ता सक्रिय भई लागेको छ। भाषा, साहित्य, कलामा पुर्खाको सानलाई फेरि ब्युँताउन कम्मर कसेका छन्। कला, संस्कृति, गायनमा छत्र शाही, इब्सल सञ्ज्‍याल, विपना सिंह राष्ट्रिय चर्चामा छन् भने अन्जु विश्वकर्माको पनि भविष्य उज्ज्वल देखिन्छ।

त्यसैगरी कर्णालीबाट पछिल्लो पुस्ता आशालाग्दो र भरपर्दो गरी आर्थिक, सामाजिक, साँस्कृतिक,  राजनीतिक र प्रशासनिक क्षेत्रमा सक्रिय भई अघि बढेका छन्। कर्णालीको विकासका लागि हरेक क्षेत्रबाट  योगदान गरिरहेका छन्। 'कर्णाली उत्सव-कुडा कर्णालीका' मार्फत कर्णलीको विकासलाई राष्ट्रिय मूलधारमा ल्याउनमा पछिल्लो पुस्ताको योगदान सह्रानीय छ।

कर्णालीको छोटो सन्दर्भ पछि अब लागौं, शीर्षकमा भनिएको विषयमा। 'कर्णालीका समृद्धिका गाथा लेखौँ प्रिय कवि' भन्ने शीर्षक मैले राखेको छु। हो, मेरा र धेरै साहित्यप्रेमी अझ भनौँ, कविता प्रेमीका प्रिय कवि अहिले इत्राममा छन्। राष्ट्र सेवाको विशिष्ट अभिभारासहित इत्राममा रातदिन खटेका छन्। हुन त उनी यसभन्दा पनि पहिले इत्राममा काम गरिसकेका राष्ट्र सेवक हुन्। तर यसपटकको भूमिका अझ विस्तारित छ। कर्णाली विकासका योजना बनाउने, कर्णालीलाई स्रोत जुटाउने र कर्णालीको सम्भावनालाई प्रस्फुटन गर्ने नीति तथा कार्यक्रम बनाउने काममा कुशलतापूर्वक लागेका छन्।

असल कविताहरू पनि मन्त्र हुन् र मन्त्र पनि कविता हुन् भन्ने विचार राख्ने पछिल्लो समयका चर्चित कवि हुन्- रमेश क्षितिज। 'अर्को साँझ पर्खेर साँझमा' बाट कृति प्रकाशन गर्न सुरू गरेका प्रिय कविका 'घर फर्किरहेको मान्छे' हुँदै 'पर्वत पर्वतमा बटुवा घाम' हालै प्रकाशित भएको कविता कृति हो। उनका 'आफै आफ्नो साथी भएँ' गीत संग्रह र 'क्षितिज' गीति एलबम समेत प्रकाशित छन्।

सबैका प्रिय कवि क्षितिज सरल र मार्मिक कविता लेख्छन्। उनका कवितामा प्रेम-अध्यात्म, दर्शन, इतिहास, संस्कृति र समकालीन परिवेश अति सुन्दर शैलीमा झल्कन्छन्। उनका कवितामा समकालीन यथार्थलाई झल्काउने गरी पाठकका मनका कुरा सुसेलेका हुन्छन्। त्यसैले सबै पाठकका लागि प्रिय भएका छन्। उनी कविताका शिल्पी हुन्।

श्रष्टाले आफूले प्रत्यक्ष वा अप्रत्यक्ष भोगेका, देखेका, समानुभूति गरेका, अनुभूति भएका र फराकिलो ज्ञान-दर्शनको दिव्यचक्षुबाट परिकल्पना गरेका सन्दर्भलाई सुन्दर तवरले पस्कन्छन्। युद्ध देख्दा युद्ध साहित्य लेखिन्छ। प्रेम देख्दा प्रेम साहित्य लेखिन्छ। भोगेर लेख्ने, देखेर लेख्ने, कल्पनाबाट लेख्ने, इतिहास-दर्शन अध्ययन गरेरे लेख्ने सन्दर्भ विविध हुन सक्छ। तर श्रष्टाको आफ्नो मौलिकता हुनुपर्छ नै। यस्तै आफ्नो मौलिकता बोकेका कवि हुन् क्षितिज।

अब प्रिय कविलाई कर्णालीले अथाह विषय दिनेछ। विश्वको कुनै पनि विश्वविद्यालय कर्णालीभन्दा ठूलो र ज्ञानको खजना हुन सक्तैन। कर्णालीले अनगिन्ति कथा दिनेछ, कर्णालीले अथाह सम्भावना दिनेछ र आफू सबैपक्षमा समृद्ध⁄सम्पन्न भइकन पनि उजागर हुन नसक्नुका केही व्यथा दिनेछ। यिनै अथाह सम्भावनालाई प्रिय कवि श्रष्टाले सिर्जनामा रूपान्तरण गर्नेछन् र पस्कनेछन्।

कर्णालीको ज्ञान र सम्भावनाको महासागरबाट एक अञ्जुली सबलताका कथा, एक झोला सम्भावनाका पोका, एकमुठी सुधारका खाका र अलिकति विकासका ढोका बोकेर थप सिर्जना गर्नेछन्। यी सिर्जना समृद्धिका गाथा हुनेछन्। कर्णालीले कथा, सम्भावना दिनेछ भने बदलामा साहित्यिक दर्शन र मार्गदर्शन लिनेछ। राराका गीत, हुम्लाको साँस्कृतिक कथा, रहस्यमय डोल्पोका लुकेका कथा आदि लेख्नेछन् श्रष्ठा कवि।

माथि नै भनेँ, कर्णाली भन्नासाथ रारा सबैको मानसपटलमा आउँछ। राराको सौन्दर्यमा सबै मोहित हुन्छन्। जीवनमा एकपटक रारा हेर्ने धोको सबैमा हुन्छ। राराको सौन्दर्यलाई कतिपयले त्यहीँ पुगेर प्रत्यक्ष हेरेर आनन्दित हुन्छन् त कतिपयले पढेर आनन्द लिन्छन्। अहिलेको विज्ञान प्रविधिको युगमा कतिले भिडियो दृष्यबाट पनि आनन्द लिन्छन्। राराको सौन्दर्य झल्काउन तयार पारिएको छोटो गीति रचना प्रस्तु गर्दछु-

धर्तीकी अप्सरा रारा

धर्तीकी अप्सरा रारा सुन्दर जिल्ला मुगु
सुन्दरताकी खानी हेर्न सधैँ सधैँ पुगुँ।

छिनछिनमै रङ्ग फेर्ने कस्तो तिम्रो बानी
प्रकृति नै स्नान गर्ने स्वच्छ सफा पानी।
यता हेर्‍यो सुन्दर वन उता शुभ्र हिमाल
सुन्दरताको भण्डार नै हौ रूप तिम्रो कमाल।।
धर्तीकी अप्सरा रारा..........

कर्णालीकी गहना हौ प्रकृतिकी सान
तिम्ले गर्दा बढेको छ कर्णालीको मान।
के छ तिम्रो स्वरूपमा लोभ्याइदिने मन
भन रारा के खन्यायौ हिरा हो कि सुन।।
धर्तीकी अप्सरा रारा..........

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .