खेल


स्टार भित्र्याएर खेल जित्ने पीएसजीको योजना फेल, मेस्सी-नेयमार-एम्बाप्पेसँगै सवा अर्ब डलर गयो खेर

स्टार भित्र्याएर खेल जित्ने पीएसजीको योजना फेल, मेस्सी-नेयमार-एम्बाप्पेसँगै सवा अर्ब डलर गयो खेर

नेपालखबर
फागुन ५, २०८० शनिबार १९:३०,

फुटबलर केलियन एम्बाप्पेले फ्रान्सेली क्लब पीएसजी छाड्ने बताएका छन्। उनले हालै क्लबलाई सिजनको अन्त्यमा आफू बाहिरिने बताएको खबर छ। 

उनी रियल मड्रिड जाने अपेक्षा गरिएको छ। किनभने सानैदेखि एम्बाप्पेले रियलका लागि खेल्ने इच्छा व्यक्त गर्दै आएका छन्।

उनको बहिर्गमनसँगै पीएसजीको ‘सुपर–टिम’ युग समाप्त हुनेछ। जसमा एम्बाप्पे, नेयमार जुनियर र लियोनल मेस्सीजस्ता स्टारहरुको दबदबा थियो।

पीएसजी विश्वको सातौँ मूल्यवान फुटबल टोली हो। जसको मूल्य ४.२१ अर्ब डलर रहेको अनुमान छ। तर यो टोली सानो खर्चले तयार भएको थिए।

पीएसजीले मेस्सी, नेयमार र एम्बाप्पेलाई किन्न र तलब दिन मात्र १.३ अर्ब डलर खर्चेको थियो।

सुरुमा नेयमार आइपुगे। २०१७ मा उनलाई २६ करोड डलर तिरेर बार्सिलोनाबाट किनिएको थियो। हालसम्म कुनै पनि खेलाडीलाई तिरिएको यो सबैभन्दा उच्चतम शुल्क हो। 

पीएसजीमा ६ सिजन रहँदा उनले तलब र बोनसबापत ४१.५ करोड डलर लिए।

नेयमार भित्र्याएको महिना दिन नपुग्दै पीएसजीले एम्बाप्पे किन्यो। साढे २१ करोड डलरमा। ७ सिजन क्लबमा बस्दा उनले ३१ करोड तलब र बोनस कमाए। जसमा यो सिजन उनले पाउने ९ करोड डलर पनि सामेल छ।

यो योजनाको अन्तिम कडी थिए मेस्सी। २०२१ मा उनी निशुल्क आइपुगे। यी अर्जेन्टिनी स्टारले क्लबमा दुई वर्ष बिताए। यो अवधिमा उनले १३ करोड डलर कमाए।

यी तीन हस्तीका अलावा क्लबमा सर्जियो रामोस र मार्को भेरातीजस्ता खेलाडी पनि आए। जसका कारण यो टोलीको तुलनामा २००० को दशकको मध्यतिरको रियल मड्रिडसँग गर्न थालियो। जहाँ डेविड बेक्ह्याम, लुइस फिगो, ब्राजिली रोनाल्डोजस्ता हस्ती थिए। 

तर, पीएसजीको सुपर टिम अपेक्षा पूरा गर्न असफल भयो।

क्लबले २०२१ देखि २०२३ सम्ममा दुई वटा लिग १ उपाधि जित्यो तर घरेलु कप जित्न सकेन। च्याम्पियन्स लिगमा त शीर्ष १६ बाट माथि उक्लिन पनि सकेन। 

यी तीन खेलाडीको तालमेल पनि खास मिलेन। उनीहरु तीन जना एक साथ १०० खेल खेल्न सक्थे। तर, मात्र ३९ खेल खेले। 

क्लब छाड्ने पहिलो स्टार बने मेस्सी। जुन २०२३ मा सम्झौता सकिएपछि उनी इन्टर मायामी गए। दुई महिनापछि नेयमार साउदी क्लब अल हिलालतर्फ लागे। उनलाई बेच्दा करिब १० करोड डलर पीएसजीले प्राप्त गरेको थियो।

एम्बाप्पेले क्लब छाड्ने प्रयास गरेको धेरै भयो। २०२२ मा एम्बाप्पले न्युयोर्क टाइम्सलाई बताएअनुसार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले नै उनलाई पीएसजीमा बस्न फकाएका थिए।

साउदीको अल हिलालले तलब र ट्रान्सफर मूल्यसहित उनका लागि १.१ अर्ब डलर खर्चिन खोजेको थियो। इङ्गलिस क्लबहरु आर्सनल र लिभरपुल दुवैले उनलाई किन्न खोजेका थिए।

खेलाडीको तलब अझ बढ्दैछ। खासगरी साउदी अरबको पैसाले। त्यसैले अब एम्बाप्पेलाई अनुबन्ध गर्ने क्लबले निश्चय नै ठूलो रकम खर्चिनुपर्ने हुन्छ। तर, रियलका लागि यो कुनै समस्या होइन। रियल विश्वकै सबैभन्दा मूल्यावन् क्लब हो। जसको मूल्य ६.०७ अर्ब डलर अनुमान गरिएको छ। फोर्ब्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .