खेल


फ्रान्सविरुद्ध फ्रान्समै जन्मेका ६ खेलाडी लिएर मैदानमा उत्रिन सक्छ मोरक्को

फ्रान्समा जन्मेका ९९ जना खेलाडी विभिन्न टोलीबाट खेलिरहेका छन् विश्वकप
फ्रान्सविरुद्ध फ्रान्समै जन्मेका ६ खेलाडी लिएर मैदानमा उत्रिन सक्छ मोरक्को

नेपालखबर
असार २५, २०८३ बिहिबार १७:२७,

अय्युब बौआदी विश्वकपको क्वार्टरफाइनल खेलमा बिहीबार राति मोरक्कोको जर्सी लगाएर मैदानमा उत्रिँदै छन्। तर, १०१ दिनअघि मात्र उनी फ्रान्सको जर्सी लगाएर फुटबल खेलिरहेका थिए। त्यति मात्र होइन, फ्रान्सको यू२१ टोलीको उनी क्याप्टेन नै थिए, जसले आइसल्यान्डलाई २–१ ले हराएको थियो।

तर, मोरक्कोले उनलाई फकायो। त्यही भएर सो खेलअघि उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको भविष्यबारे सोच्न अलिकति समय चाहिने बताएका थिए। ‘म हतार गर्न चाहन्नँ,’ उनले भनेका थिए।

त्यसको ६ हप्तापछि विश्वकप खेल्ने मोरक्कोको टोली घोषणा हुँदा उनको नाम पनि समेटियो। 

फ्रान्सेली टोलीका टेक्निकल डाइरेक्टरले यसलाई ‘ठूलो क्षति’ भने। फ्रान्सका सहायक प्रशिक्षक गाइ स्तेपानले गत साता मात्र भने, ‘उनी एकदम राम्रा खेलाडी हुन्। उनले (मोरक्को) रोजे। त्यसका लागि हामी उनको आलोचना गर्दैनौँ। किनकि अर्कै राष्ट्र रोज्ने उनी पहिलो होइनन् र अन्तिम पनि हुने छैनन्।’

उनको कुरा सही हो। किनभने यो विश्वकप खेलेका विभिन्न टोलीमा समावेश ९९ जना खेलाडी फ्रान्समा जन्मेका हुन्। यो दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको भन्दा ३२ जना बढी हो।

मोरक्कोको टोलीका ७ जना खेलाडी मात्र मोरक्कोमा जन्मेका हुन्। सो टोलीका ३ जना खेलाडी नेदरल्यान्ड्समा जन्मेका हुन्, जसलाई टप ३२ को खेलमा मोरक्कोले पेनाल्टीमा हरायो। मोरक्कोका ६ जना खेलाडी फ्रान्समा जन्मेका हुन्।

फ्रान्समा पनि पेरिस क्षेत्रमा जन्मेका ५२ जना विश्वकप टोलीमा छन्। तीमध्ये १२ जना मात्र फ्रान्सेली टोलीका हुन्।

२०१८ को विश्वकपमा यो क्षेत्रका ८ खेलाडी थिए भने चार वर्षअघिको कतार विश्वकपमा १२ जना। चार वर्षमै पेरिस क्षेत्रले ठूलो छलाङ मारेको प्रस्ट छ। जसरी कुनै समय खेलाडी विकास गर्ने विश्वकै केन्द्र मानिन्थ्यो ब्राजिलको साओ पाउलो। 

फ्रान्सले गरेको यो प्रगतिको फाइदा मोरक्कोलाई पनि भइरहेको छ। क्वार्टरफाइनलको खेलमा फ्रान्सविरुद्ध फ्रान्समै जन्मेका ६ खेलाडी लिएर मोरक्को मैदानमा उत्रिन सक्छ। उसो त सो टोलीका १९ खेलाडी विदेशमा जन्मेका हुन्। समग्रमा विश्वकपमा सहभागी खेलाडीमध्ये २३ प्रतिशत अहिले खेलिरहेको देशमा जन्मेका होइनन्।

२०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको हुनाले पनि मोरक्कोले खेलाडी आकर्षित गर्न सक्छ। उसले युरोपलाई टक्कर दिनेगरी एकेडेमीहरू पनि खोलेको छ।

अफ्रिकामा उपनिवेश बनाएको हुनाले फ्रान्सको जनसंख्याको एउटा हिस्सा अफ्रिकी छ। बहुसांस्कृतिक जनसंख्या र विविधताको विरोध जतिसुकै भए पनि त्यसको फाइदा फ्रान्सले उठाइरहेको छ।

हालै पाराग्वेकी एक सिनेटरले केलियन एम्बाप्पेलाई नस्लभेदी टिप्पणी गरेपछि त्यसको व्यापक विरोध भएको छ। पछिल्लो समय फ्रान्समा हुर्किंदो चरम दक्षिणपन्थको विरोध गरेपछि एम्बाम्पे राजनीतिक बहसको केन्द्रमा छन्।

जे भए पनि यो विश्वकपमा मुलुकहरूले विविधताको फाइदा प्राप्त गरिरहेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad