ad ad

ब्लग


कोसी धाम मेलाको जुलेबी र अर्कैको बाइकमा चढेकी मेरी प्रियतमा

कोसी धाम मेलाको जुलेबी र अर्कैको बाइकमा चढेकी मेरी प्रियतमा

ज्ञानेन्द्र राई ‘ज्ञानु’
फागुन १०, २०८० बिहिबार १८:१५, उदयपुर

आजभोलि मेला–महोत्सवको सिजन छ, देशका कुना कुनामा आयोजना भैरहेछन्। थोरबहुत व्यापार पनि भैरहेको देखिन्छ। कलाकार, व्यापारी, आयोजक लगायतले पनि थोरबहुत कमाइ गरिरहेकै होलान्। यही मेलाको मेसोमा सुदूर सम्झना गरिल्याउँदा घरछेउ र छिमेकी गाउँमा लाग्ने एक या दुई राते मेलाको विशेष सम्झना आउँछ। 

तिनताक मेला कुनै तिथि या कुनै महिनाको सङ्क्रान्तिको छेको पारेर लाग्ने गर्दथे। अहिलेजस्तो महोत्सव भन्ने सुनिएको थिएन। म आज दुई वटा मेला र प्रसंग कोट्याउन गएरहेको छु। चालीसको दशकको अन्तिमतिरको मेला सम्झँदा खुब नोस्टाल्जिक बनाउँछ। पचासको दशकको अन्तिम वर्षको अर्को मेलाले भने उरन्ठेउलो या भनौ कच्चा प्रेमको सम्झना गराउँछ। 

तिनताक हाम्रो गाउँमा त्रियुगा नदी किनारको चौरमा पुस पूर्णिमाको छेको पारेर दुई राते मेला लाग्दथ्यो। हामी त्यो मेलालाई ‘धाम’ भन्थ्यौँ। मेला त धेरैपछि मात्र सुनिन थालेको हो। सायद थारु पहाडे मिश्रित बस्तीको प्रभाव होला, थारुहरू अझै पनि धाम नै भन्छन् सबै मेलालाई। त्यो मेला हामीलाई त्यतिखेर भव्य लाग्थ्यो, हराइन्छ कि जस्तो। कोसी धाम नाम दिइएको थियो मेलाको। 

भेद्रु दास चौधरी भन्ने वृद्धले आयोजना गर्थे मेला। दौडधुप राम्रै गर्थे होला किनकि भारतदेखि नटुवा ल्याउँथे। खर्च पनि राम्रै हुन्थ्यो होला। तर मेलाको लागि भनेर कुनै नगद मागेको, उठाएको थाहा छैन। उनी थारु मात्र नभएर हामी पहाडे समुदायका लागि पनि मान्य व्यक्ति थिए। 

मेलाको लागि भनेर करिब एक महिना अगाडिबाटै मूर्ति बनाउन सुरु गरिन्थ्यो। सुरुमा पराललाई बाँसको भाटामा बाँधेर मानिसको आकरमा ढालिन्थ्यो। त्यसपछि अलिअलि माटो भर्दै लगेर मेलाको दुई दिनअगाडि रंगरोगन गरेर रंगीचंगी वस्त्र लगाइदिएर शृङ्गार गरेर कसैले नदेख्नेगरी कोठा बन्द गरेर राखिन्थ्यो र मेलाको दिन विभिन्न पूजा अर्चना गरेर मात्र दर्शनको लागि सार्वजनिक गरिन्थ्यो। अहिले सम्झदा केही समय अगाडि भारतको अयोध्यामा रामको मूर्तिको प्राणप्रतिष्ठा गरेजस्तै त्यो पनि प्राण प्रतिष्ठा नै थियो क्यारे। अनि दुई दिनको लागि मन्दिर हुन्थ्यो त्यो अस्थायी कटेरो।

मूर्ति बनाउने कलाकार छिमेकी गाउँ जोगीदहका पलटु दास चौधरी थिए। निकै सिपालु कलाकार थिए उनी तर दूरदराज गाउँको भएकाले उनले पाउनु पर्ने जति अवसर नपाए झैँ लाग्छ। मेलामा आउने सबैले पहिले मन्दिरको दर्शन गरेर सुकामोहर भेटी चढाएर ढोग्थे र प्रसाद ग्रहण गर्थे। प्रसादमा मकैको सातुमा चिनी मिसाएर बाँडिन्थ्यो। मन्दिरमा निरन्तर भजनकीर्तन हुन्थ्यो। भजन मण्डली चाहिँ स्थानीय थारु समुदायका थिए र त्यो थारु भाषामा हुन्थ्यो। मन्दिर दर्शन पश्चात् मात्र मेला प्रवेश गर्थे मानिसहरू। अनि मेलाको अन्त्यपछि त्यति सुन्दर मूर्तिहरूलाई त्यही त्रियुगामा लगेर बगाइन्थ्यो। यो कार्यलाई मूर्ति भसाउने भन्थे। हामी केटाकेटी त्यो दृश्य देखेर नराम्रो मान्थ्यौँ। हामीलाई दिए घरमा लगेर सजाएर राख्न हुन्थ्यो भन्ने लाग्थ्यो। 

त्यो मेलाको विशेष दुई वटा आकर्षण थिए। पहिलो, त्यहाँ बनाइने जुलेबी। मान्छे अचेल जेरी भन्न थाले। अर्को मेलामा देखाइने रात्रिकालीन नाटक। मेलामा परपरबाट व्यापारीहरू बयलगाडामा सामान हालेर ल्याउँथे र आफ्नो आसन जमाउँथे दुई दिन दुई रातको लागि। रातभर लालटिनको पिलपिल उज्यालोमा उङ्ग्दै पसल रुङ्गेर बस्थे। अलिक उमेर पुगेका तन्नेरी तरुनीहरूको लागि अहिलेको भाषामा भन्दा डेटिङ गर्ने मौका हुन्थ्यो मेला र रातिको नाटक। खोला बगरतिर ती जोडि लुकीलुकी प्रेममा लीन भयका देखिन्थे आक्कलझुक्कल। 

तिनताक मानिसहरू तुलनात्मक रुपमा अहिलेभन्दा सरल र सोझो नै थिएजस्तो लाग्छ एकाधबाहेक। प्रहरी परिचालन त हुन्थे तर त्यस्तो खासै लफडा परेको याद छैन एक सालबाहेक। एकजना थिए भुवनेश्वर चौधरी नामका। तर प्रचलित नाम भुने थियो। अलिक विद्रोही स्वभावका, ठूलो ज्यानका। मानिसहरू भुनेको हातको नारीमा जोर हड्डी छ कसैले जित्न सक्दैन भन्थे। उनको खुनमै विद्रोही रगत थियो सायद किनकि उनकी आमाले जो पहाडे क्षेत्रीको छोरी थिइन्, आजभन्दा साठीपैँसट्ठी वर्षअगाडि समाज र परिवारसँग विद्रोह गरेर एउटा थारु युवकसँग विवाह गरेकी थिइन्। र उनैको सन्तान थिए भुने। 

अहिलेको भाषामा भन्दा त्यो एरियाको डन भन्न मिल्ला सायद तर कसैलाई अनाहकमा कुटपिट या नराम्रो गरेको याद छैन। अहिले बुढा भइसके। दारुपानीको राम्रो सौखीन छन्। उनले रक्सी हैन, रक्सीले उनलाई खाएजस्तो देखिन्छन् अचेल। 

तिनै भुनेले एकपटकको मेलामा हंगामा मच्चाए। कारण के थियो हामी बबुरो केटाकेटीले बुझ्न सकिएन। भन्नेहरू भन्थे, ‘पुलिसको हवल्दार र भुनेको दुश्मनी बढ्यो र हवल्दारले भुनेलाई लाठी हान्यो। भुनेको निधार फुट्यो, रगत बग्यो अनि त के चाहियो भुनेले हवल्दारलाई गोद्नु गोद्यो।’ अरु पुलिसको भागाभाग भयो। नाटक चलिरहेको तीनचार बजेको रातको समयमा तिनै भुने मञ्चमा चढे र माइक समाएर भन्न लागे, ‘अब यहाँ जे पनि हुन सक्छ, आफ्नो ज्यान आफै जोगाउनू।’ 

अनि त रोकिएको नाटक सुरु हुन र भुनेलाई सम्झाउन बडो गाह्रो परेको थियो। त्यतिखेर पुलिसले बन्दुक बोकेर हिँडेको देखिँदैन थियो त्यसैले भुनेको ज्यान केही भएन भन्ने लाग्छ अहिले सम्झँदा। 

मेलाको एउटा आकर्षण जुलेबी थियो, माथि पनि भनेँ। त्यो मेलामा पुग्ने जोकोहीले जुलेबी किनेकै र खाएकै हुन्थे, घर लगेकै हुन्थे। मानौँ जुलेबी खाइएन भने मन्दिर गएर दर्शन नगरे जस्तो। अहिले त्यो मेला छिमेकी गाउँ देवधारमा सरेको छ र केवल एक दिनेमा सीमित भएको छ। तर अहिले पनि मेलाको मुख्य आकर्षण जुलेबी नै हो। पुसमाघको खोलाको चिसो सिरेटो चलिरहेको बेला तातोतातो जुलेबी खानुको छुट्टै मजा थियो÷छ। 

हामी केटाकेटी को लागि त खेलौना नै मुख्य वस्तु हुन्थे। अलिअलि पैसा हुनेलाई डाइस (लङ्गुरबुर्जा), रिङ्ग हान्ने लगायतका खेलहरू पनि थिए। कसैले दुईचार रुपियाँ जिती पनि हाल्थ्यो। त्यतिखेर मनोरञ्जनका साधन सीमित थिए। 

त्यो मेलाको मुख्य आकर्षण चाहिँ रात्रिकालीन नाटक प्रदर्शन नै थियो। छरछिमेकका भएभरका खाट बटुलेर अलिक अग्लो मञ्च बनाइन्थ्यो। अनि मञ्च घेर्न र छानो बनाउन सबैबाट तन्ना भेला गरिन्थ्यो। मञ्च ठूलै बन्थ्यो। त्यसैले प्रत्येक खाट र तन्नामा नाम लेखिन्थ्यो ताकि पछि फिर्ता गर्न सजिलो होस्। 

त्यो समयमा बिजुली हुने कुरै भएन। मञ्चमा दुई वटा पेट्रोम्याक्स बालिन्थ्यो। त्यसले मनग्गे उज्यालो दिन्थ्यो। त्यति ठूलो उज्यालो हामीले पहिलो पटक त्यहीँ देखेका थियौँ। त्यो पेट्रोम्याक्सको पनि आफ्नै दुःख थियो। घरीघरी दम दिइरहनु पर्ने। पटकपटक त्यसको जाली फुटिरहने, फेरिरहनु पर्ने। त्यसैले पनि होला दुई वटा बालिन्थ्यो, एउटा बिग्रँदा अर्कोले काम गरिरहोस्। त्यति गर्दा पनि कुनै बेला दुई वटै एकै पटक बिग्रन्थे र अँध्यारोको राज हुन्थ्यो केही समय। 

हामी केटाकेटी चाँडो खाना खाएर भुइँमा ओच्छ्याउन परालको मुठो बोकेर छिटोछिटो जान्थ्यौँ र मञ्चको अगाडि नजिकै बस्थ्यौँ। नाटक रातभरि चल्ने भएकोले र पुसको खोला किनारमा आउने चिसो सिरेटो छल्न सानोतिनो बर्को पच्छ्यौरा साथमा हुनु अनिवार्य थियो। कोहीकोही हेर्दाहेर्दै निदाएर त्यही ओढ्नेमा गुँडुल्की पर्थे। 

लाइभ ब्यान्डजस्तै वाद्यवादन सहितको नटुवा टोली हुन्थ्यो। हिन्दी मैथिली भाषामा प्रस्तुत हुने ती नाटक कलिलो मस्तिष्कले हेरेको भए पनि स्मरणमा पूराका पूरा ताजा छ अझै। टोलीमा महिला कलाकार थिएनन्। पुरुषले नै महिला बनेर अभिनय गर्थे। तैपनि पेट्रोम्याक्सको उज्यालो र विभिन्न खाले रङको पर्दा भएर होला उनीहरूलाई रंगीन र सुन्दर देखिन्थ्यो। 

नाटकको मुख्य पात्र जंगली भाषा थियो। पात्रको नाम अरु केही थियो होला तर हामी सबै उसलाई जंगली भाषा नै भन्थ्यौँ। अनि अरु थिए राम सिंह, वीर सिंह, नैना लगायत। नैना नायिका थिइन्। राम सिंह र वीर सिंह खलनायक थिए। रामायणको सीता अपहरणको प्रसंगलाई समेत जोडजाड पारेर बनाइएको त्यो नाटक सालैपिच्छे मेलामा मञ्चन हुन्थ्यो। तैपनि नाटकप्रति मानिसको मोह रत्ति पनि घट्दैन थियो। राम सिंह, वीर सिंह र उसका आसेपासेहरूले जंगली भाषा र नैनालाई दुःख दिएको मारपिट गरेको दृश्य बडो मार्मिक, भावुक हुन्थ्यो। नैना कोक्किई कोक्किई रुन्थिन्। दर्शकदिर्घाका महिलाहरू सबै आँसु पुछिरहेका हुन्थे। वातावरण पूरै भावुक हुन्थ्यो। अझ नैनालाई अपहरण गरेको दृश्य झन् कहालीलाग्दो लाग्थ्यो। नैनाको चित्कारले सबैको श्वास रोकिएजस्तो हुन्थ्यो। त्यो रातमा नैनाको चीत्कार परपरसम्म सुनिन्छ भन्थे नाटक हेर्न नजानेहरू। 

हिरोको खेल पछि भने झैँ अन्तमा जंगली भाषाले अनेकौ विलाप गर्दै रुँदै कराउँदै अपहरणमा परेकी नैनालाई पत्ता लगाइछोड्थ्यो र राम सिंह, वीर सिंह लगायतको वध गरेर आफ्नी प्रियतमा नैनालाई ल्याइ छाड्थ्यो। हामी सबैको हिरो हुन्थ्यो ऊ। तिनीहरूले देखाउने नाटकको यति जबर्जस्त प्रभाव पर्थ्यो कि हामीलाई धेरै दिन या भनौँ त्यो हिउँदभरि त्यसको ह्याङ रहन्थ्यो। त्यसको रिहर्सल हामी खेतबारी गोठालो तिर गर्न सुरु गर्थ्यौं। तर राम सिंह, वीर सिंह कोही हुन नचाहने सबै उही जंगली भाषा हुन चाहने। अहिले पनि मैले त्यो नाटकको नाम सम्झन सकिनँ। थुप्रै बुढा पाकाहरूलाई सोधी हेरेँ, कसैले पनि मुख्य पात्रको नाम र नाटकको नाम भन्न सकेनन्। सबैले त्यही जंगली भाषा हो भने। त्यसैले मैले पनि त्यही उल्लेख गरेँ। रामायणसँग मेल खानेजस्तो धार्मिक प्रकृतिको नै थियो नाटक। मेला आयोजना गर्ने भेद्रु दासको देहान्तपछि त्यो मेला को रौनक हरायो र त्यसपछि छिमेक गाउँमा स¥यो। तर पहिलेजस्तो रौनक छैन, केवल परम्परा धानेजस्तो मात्र छ। 

अब अर्को मेलाको कुरा। पचासको दशकको अन्त्यतिर उदयपुरको कटारी बजार र सिन्धुलीको दुधौलीबीचको नदी किनारमा माघे सङ्क्रान्तिमा लाग्ने त्रिवेणी मेला महिना दिनसम्म लाग्ने भव्य मेला हो। जुन हाम्रोबाट टाढा छ। पहिले त दुईतीन दिन पैदल हिँडेर जान्थे मान्छेहरू त्यो मेलामा, अहिले यातायातको सुविधा हुनाले केही घण्टाको दूरी हो। बुढापाकाहरूले सुनाए अनुसार त्यो मेलामा पहिले भोटे कुकुर, राडीपाखी, घोडा लगायतको ठूलो प्रदर्शन तथा व्यापार हुने गर्दथ्यो। तर हामीले त्यो देख्न पाएनौँ। कौडा खेल्नेहरूको ठूलो जमघट हुन्थ्यो रे। र, जुवाको निहुँमा काटाकाट मारामार हुन्थ्यो भन्छन् बुढापाकाहरू। एक पटक सानोमा त्यो मेला पुग्दा जुवा खेलेको चाहिँ मैले पनि देखेको थिएँ। टाढा भएकोले एकाध पटक मात्र पुग्ने मौका मिलेको छ मलाई पनि। अहिले ती सबै एकादेशका कथा भैसके। विभिन्न आधुनिक मेसिनद्वारा चलाइने खेलहरूले अरु परम्परागत खेलहरूलाई विस्थापित गरिसक्यो। माघ १ गतेबाट सुरु भएर महिना दिनसम्म लाग्ने भएकोले कसैकसैले मैनी मेला पनि भन्थे। 

यही मेलाको नमिठो सम्झना छ मसँग चाहिँ। बाल्यकालदेखिको मेरो प्रेमको धागो चुँडिएको तितो विगत त्यही मैनी मेलासँगै जोडिएको छ। पाँचछ घण्टाको यातायात गरी गाईघाट–लहान–मिर्चैया हुँदै चुरे कटेर कटारी बजार पुग्नु पर्ने भएकोले सधैँ जाने अवसर मिल्थेन। एकसाल तिनै प्रियतमासँगै मैनी मेला जाने सल्लाह भयो। मसँग त्यो साल मोटरसाइकल भएकोले त्यस्तो सल्लाह भएको थियो। उनका आफन्तहरू कटारीतिर भएकोले उनी केही दिन उतै बस्नेगरी प्रत्येक साल त्यो मेला जान्थिन्। 

त्यतिखेर मेरा साथीभाइ कसैसँग नभएको काकताली परेर हातलागेको यामाहा कम्पनीको आरएक्स मोटरसाइकल थियो। त्यो मोटरसाइकल पनि बडो गज्जब तरिकाले मेरो हात लागेको थियो। हाम्रो पहाड पुर्ख्यौली थलोमा तिप्पा (बडाबा) हुनुहुन्थ्यो। वहाँ रक्सी–बियरको यति धेरै सौखिन हुनुहुन्थ्यो कि त्यत्तिको पियक्कड मान्छे देखेको छैन अझै। छोराहरूले कमाएर पठाएको पैसा पनि सायद त्यसैमा खर्च गर्थे बुढाले। तिनताक ढाकरमा बोकेर पहाड तिर सबै समान लगिन्थ्यो त्यसरी बोकेर लगेको महंगो बियर तथा रक्सी पैसा हुन्जेल र उधारो पत्याएसम्म खानु हुन्थ्यो रे। पैसा नहुँदा मात्र घरको आराखाको पालो आउँथ्यो।

त्यतिखेर बियरहरूमा विभिन्न उपहार हुने गर्दथ्यो र त्यति धेरै खाने मान्छेलाई चिने जस्तो गरेर बुढालाई नै मोटरसाइकल उपहार परेछ। त्यो जमानामा मोटरसाइकल हुनु ठूलो कुरा थियो। उपहार कुपन बोकेर बुढा मधेस (हाम्रोमा) तिर झरे। हाम्रोतिर आउँदा बुढालाई म ग्य्रान्ड ड्रङ्कार्ड तिप्पा भन्दै जिस्काउँथे। बुढा मुसुमुसु हाँस्थे। मोटरसाइकल परेको कुपन देख्नासाथ मेरो दिमागमा कतै झिलिक्क गरे झैँ भयो र मनमा आइहाल्यो– यो त जसरी पनि हात पार्नु पर्छ। बुढालाई पहाडमा के काम, लान मिल्ने पनि हैन। त्यसैले बुढालाई फकाउनतिर लागेँ म। जता गए पनि पछिपछि धाउँदै रुँदै कराउँदै गर्दै यतै छोड्न अन्त नबेच्न भन्न लागेँ। र, बुढालाई मञ्जुर गराइछाडेँ। 

एकदिन हामी दुवैजना लहान गयौँ। केही दिनको पर्खाइपश्चात मोटरसाइकल हात लाग्यो। तर कुदाउन जाने पो! उतैको एक व्यक्तिलाई पारिश्रमिक दिने सर्तमा उसैको पछाडि बसेर घरसम्म ल्याइयो। उसैले सामान्य यान्त्रिक ज्ञान र चलाउन सिकायो। लडाउँदै पडाउँदै आफै सिकेँ बाँकी चलाउन। अहिलेजस्तो कालोपत्रे बाटो थिएन। गाडी कुद्ने बाटो थिएन। हिउँदमा बयल गाडा र ट्रयाक्टरसम्म मुस्किलले हिँड्ने बाटोमा अलिअलि लड्दैमा केही हुँदैन थियो। बुढा पहाड घर गैहाले। मोटरसाइकल मेरो भय पछि मेरो सान नै अर्को भयो। तर त्यही मोटरसाइकल कालान्तरमा प्रेमिका छुटाउने घाँडो भयो। 

गाउँ अलग भए पनि उनको र मेरो स्कुल एउटै र घर पनि खासै टाढा नभएको कारण बाल्यकालदेखि नै चिनजान थियो। तर कसरी प्रेमी–प्रेमिका भइयो, यो भेउ नै पाइएन। अचेल उनलाई सम्झँदा हरियो कुर्तासुरुवालमा सेतो सल पहिरिएर अगाडिपट्टिको एक लर्को केस अनुहारमा झरिरहने र देब्रे हातले घरीघरी कानमा अल्झाउन कोसिस गरिरहने एउटी लजालु किशोरीको आकृति दिमागमा आउँछ। अहिले उनी घर गृहस्थीमा जमिसकेको महिला भए पनि मेरो मनले त्यही किशोरी सम्झन्छ। अरु सम्झन चाहँदैन सायद। विद्यालयको पढाइपछि यदाकदा सुटुक्क मोटरसाइकलमा गाईघाट, बेलटारतिरको फिल्म हलसम्म पुगेका थियौँ। 

र अब यो साल सँगै मेला जाने सल्लाहले बडो उत्साही थिएँ म। कहिले पुस मसान्त आउला भन्ने भैरहेको थियो। तर विडम्बना के भैदियो भने मेला सुरु हुनुभन्दा एक हप्ता जति अगाडि उनै मोटरसाइकलवाला तिप्पा आइपुग्नु भो। केही दिन बसेपछि एक दिन भन्नुभो– केटा यो सालको मैनी मेला घुम्ने, रमाइलो गर्ने। तैँले मलाई यो मोटरसाइकलमा लाने ल्याउने गर्नु परो।

कहाँ आफ्नो प्रेमिकासँग जाने सपना, कहाँ बुढा कबाबमा हड्डीजस्तो भिलेन बन्न आइपुगे भनेर भाउन्न छुट्यो। बहाना त बनाइ हेरेँ तर बुढा डेग चले पो। फसाद प¥यो। बुढालाई छोडेर उनीसँग जान त झन सम्भव नै नहुने भो। उनलाई सम्झाउने कोसिस गरेँ, सँगै जान सकिएन। अब गाडीमा जानू, उतै भेटौँला भनेर। तर उनको केही जवाफ आएन। 

बडाबा र म पुस मसान्तको दिन गयौँ। रातभर मेलामै घुम्यौँ, बिहानपख सानो कटेरोमा सुतेर रात गुजा¥यौँ। मेलाभरि पनि र भोलिपल्ट पनि दिनभरि उनलाई खोजेँ, पक्कै भेटिन्छ भनेर। निराश भएर दिउँसो घर फर्कन लाग्यौँ। चुरेको बाटो जंगल छेउको छाप्रे पसलमा बडाबाले सिगरेट खाने मन गर्नु भो। थकाइ पनि मारिने सोचेर मोटरसाइकल रोकेर म पनि सुस्ताउन थालँे।

त्यति नै खेर चिनेचिने जस्तो लाग्ने एकजोडी केटाकेटी मोटरसाइकलमा हामीतर्फ आउँदै गरेको देखेँ। चनाखो भएर हेरेको, भाउन्न भो, आँखा तिरमिरायो। मोटरसाइकलको पछाडि बस्ने त्यो केटी अरु कोही नभएर उनै मेरी प्रियतमा पो छिन्। कि भ्रम भयो भन्ने लागेर बडबालाई त्यहीँ छाडेर उनीहरूलाई पच्छ्याउन थालेँ। अलिक नजिक पुगेर मजाले हेरेँ, उनै थिइन्। पक्का भएपछि त्यहीँ रोकिएर थचक्क बसेँ। आधी मुटु नै चिरिएजस्तो भो। घाउमा नुनचुक छरेजस्तो त तब भो, जब उनीसँग गएको केटो मेरो प्रतिद्वन्द्वीजस्तो केटा हो भन्ने थाहा भो। 

मलाई लाग्छ उनी मसँग भेट नहोस् नदेखोस् भनेर नै एक दिनपछि त्यो केटासँग जाँदै थिइन्। दुःख त अवश्य लाग्यो तर मलाई बेसी रिस उठ्यो उनीसँग। यस्तो लाग्यो कि मिल्दो हो त म त्यतिखेरै उनको गालामा दुईचार थप्पड हानूँ। तर उनी आँखाबाट ओझेल परिसकेकी थिइन्। कच्चा उमेरको मलाई के भो भो, उनको अनुहार नै हेर्न नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो। सोधीखोजी गर्न पनि जाँगर चलेन। एकदम बदला लिनुजस्तो, ईर्ष्या जस्तो भैरह्यो। विशेष त जोसँग मेरो मिल्ती थिएन उसैसँग हिँडेको देखेपछि मेरो मन एकदमै भड्कियो। 

उनीसँगको भेटको व्यग्र प्रतीक्षामा थिएँ। निकै दिनपछि भेट भयो। सधैँ तिमी भनेर बोलाउने मैले एक्कासि ‘तँ किन त्यो फलानोसँग हिँडिस्’ भनेर झपार्दै झापड हान्न मेरो हात उठ्यो। तर उनको आँसु टिलपिल गर्दै गरेको आँखा देखेर हात रोकियो। ‘तपाईंले नलगेपछि उसले लगिदिन्छु भन्यो, म उसैसँग गएँ, गल्ती भयो’ भन्दै थिइन्। 

मलाई त झन रिस उठ्यो, औडाहा भयो। ‘त्यसो भा अब त्यहीसँग जा’ भन्दै फन्किएर म उनीतर्फ हेर्दा पनि नहेरी हिँडेँ। मलाई कस्तो रिस उठ्यो उठ्यो, त्यसपछि मैले उनलाई बोलाउन छोडेँ, उनले मौका खोजेर बोल्न नखोजेको हैन तर मै त्यतिखेर भाउ खोज्दै टाढा भएजस्तो गरेँ। 

उनी उच्च शिक्षाको लागि काठमाडौँ गइन्। जानेबेला मलाई भेट्न खोजेकी थिइन् तर म यति एकोहोरो भएको थिएँ कि भेट्न पनि गइनँ। उता त्यो केटाले तेरो गर्लफ्रेन्ड लाई घुमाएँ नि भनेजस्तो लाग्थ्यो मनमा। त्यसैत्यसै त्यो गाढा सम्झेको माया पातलो बन्दै गयो। उनी सहरतिर गएपछि चाहिँ कताकता पश्चाताप लाग्यो। त्यस्तो गर्न हुन्न्थ्यो कि भन्ने लाग्यो। सोचेँ, अब उनी गाउँ आएपछि सबै मिल्नेछ। 

अर्को वर्ष अचानक सुनेँ, उनको दाजुले उतै पश्चिम सिन्धुलीतिरको आफ्नो साथीसँग उनको विवाहको टुङ्गो गराइदिएछ र उनको बुबाआमाहरू विवाहको लागि उतै जाने भएछन्। र उतै मन्दिरबाट विवाह हुने भएछ। एकोहोरिनु बाहेक विकल्प केही थिएन। चुपचाप सहेर बसेँ, आफ्नै अहंलाई धिक्कारेँ। 

धेरै पछि एउटा हाते चिठी हात लाग्यो। उनले दुःख पोखेकी थिइन्। मैले बेवास्ता गरेकोमा र त्यो मेलामा त्यो केटा सँग जानु गल्ती भएको भनेर माफी मागेकी थिइन्। आफ्नो विवाहबारे केही लेखेकी थिइनन्। बल्ल यतिखेर आएर मेरो रिस शान्त भएको थियो। उनीप्रति अथाह प्रेम उर्लिएको थियो, तर के गर्नु, ढिलो भैसकेको थियो। उनी कलिलो उमेरमा नै अरु कसैको भैसकेकी थिइन्। मसँग टोलाउन उनको सम्झना मात्र बाँकी थियो। अरु तरुनीतन्नेरी को माया गाँस्ने स्थान मेला हुने गर्दछ। तर मेरो चैँ बिछोडिने माध्यम बन्यो त्यो मेला र त्यो सित्तैमा पाएको मोटरसाइकल। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .