ad ad

ब्लग


पवि भाउजूको रागले छोएको मन

पवि भाउजूको रागले छोएको मन

इन्द्रबहादुर देवकोटा
फागुन १२, २०८० शनिबार १६:१३, काठमाडौँ

हिँ माथि अगला लेक बासिग्या न्यावला
अभागी राजैका मुलुक नबसे क्या होला।

बटुकीमा तातो दूध भाइ मेरो साउनेलाई
क्या मेजमानी लाउने होला कैल्यै नआउनेलाई।

यी माथिका दुई गीत पवि भाउजूले मलाई ठाडो भाकामा टेलिफोनबाटै सुनाउनु भएको हो। पवि भाउजू, साधारण र निरक्षर महिला हुनुहुन्छ। तर वहाँको स्वरमा जादु नै छ। गायनमा राष्ट्रिय तहमा चर्चित आवाज भने यो होइन। यो आवाज हाम्रो गाउँको चाहिँ चर्चित आवाज हो।

पवि भाउजूको विगत, सङ्घर्षका कथाको अर्कै लेख तयार हुनजान्छ। कुनै दिन अर्कै प्रसङ्‍गमा लेखूँला। सल्यानको साविक दार्माकोट, भल्चौर र ढाकाडामलाई दार्माक्षेत्र भनेर चिनिन्छ र त्यहाँको जनजीवनलाई दर्माली जीवन, रहनसहन, संस्कार भनिन्छ। त्यस क्षेत्रमा विभिन्न लोकभाका गाइन्छ। यी भाका पुस्तान्तर भएर सर्दै आएका हुन्। दर्माली लोकजीवनमा गाइने गीतहरूमा पवि भाउजूको स्वर सुन्दा सबै मख्ख पर्छन् नै।

मैले पवि भाउजूलाई नभेटेको लामो समय भयो। उहाँको स्वरको मलाई यति छाप परेको छ कि म हरेकपटक घरपरिवारमा फोन गर्दा होस् कि घरपरिवारका सदस्यसँग भेट हुँदा होस्, मेरो सोधपुछको विषय पवि भाउजू नै हुनुहुन्छ। उहाँले गीत गाउँदै हुनुहुन्छ कि छोड्नुभयो भन्ने मेरो जिज्ञासा सधैँ रहन्छ।

गत मंगलबारको कुरा हो, म कार्यालयबाट घर आउनेक्रममा बाटोमा हिडिरहेको थिएँ, घरतिरको खवर के होला भनेर मेरो भतिजालाई फोन गरेँ। कुशलमंगलको हालखबर सोधपुछपछि मैले पवि भाउजूको खबर के छ भनी सोधेँ।

मेरा भतिजले भने- अंकल आज त पवि ठूलीआमा यहीँ हुनुहुन्छ। ल कुरा गर्नुहोस्। पवि भाउजूले फोन समातेर बोल्न सुरू गर्नुभयो। मैले उहाँको सञ्चो, कुशल-मंगल, उहाँका छोराछोरी जो मेरा बालसखा थिए, उनीहरूको हालखबर सोधेपछि जिज्ञासा राखें- गीत गाउन छोड्नु भयो भाउजू!

पवि भाउजूले भन्नुभयो- कान्छा, अब त बुढी भएँ, राग तान्न सक्दिनँ, गाउन छोडेँ।

मैले सोधेँ- कति वर्षको हुनुभयो र?

उहाँले ठ्याक्कै यति वर्ष भन्न सक्नुभएन तर वृद्ध भत्ता पाउन थालेँ भन्नु भयो। हो पनि, भाउजू कम्तीमा ७५ वर्षकी त हुनुभयो होला भन्ने अनुमान गरेँ।

हाम्रोतिर गीत गाउन लामो आवाज⁄स्वर निकाल्नु वा स्वर छोड्नु⁄तान्नुलाई राग छोड्नु भनिन्छ स्थानीय भाषामा। नेपाली बृहत् शब्दकोशमा 'राग' को अर्थ 'सङ्‍गीत-शास्त्रअनुसार स्वर र गायन प्रक्रियाद्वारा सुव्यवस्थित, सुन्दर र आकर्षित ध्वनिहरूको विशेष संयोजन, ध्वनिराग' भनी अर्थ्याइएको छ।

हाम्रोतिर लामो भाका, ठाडोभाका वा घाउटा भन्ने भाका गाइन्छ। त्यस्तै, सिँगारू भाका, लहरे नाचमा गाइने ख्याली भाका, वनगाडी भाका, झाँप्रे भाका, सिलोक, भजन आदि गाइन्छ। ठाडो वा लामो भाकामा लामो र ठूलो स्वर तान्नुपर्ने हुन्छ। यसलाई नै पवि भाउजूले राग तान्न सक्दिन भन्नु भएको हो। भाउजूले मलाई सल्यान आउन पनि भन्नुभयो। मैले भाउजूलाई अर्को वर्ष आउँछु भन्ने आश्वासन दिएँ। हाम्रो कुरा टुङ्गियो।

एकछिन पछि फेरि भतिजाले फोन गरे र भने- पवि ठूलीआमाले हजूरलाई फोनबाटै गीत सुनाउने रे, कता हुनुहुन्छ अंकल? त्यतिबेला म एकजना साथीसँग चिया पिइरहेको थिएँ। मैले भतिजलाई भनेँ- म एकछिनमा फोन गर्छु है।

भाउजूलाई उहाँको गीतप्रतिको मेरो मोह सुनेर माया लागेछ क्यारे फोनबाटै एक⁄दुइटा गीत सुनाउँछु भन्नु भएछ। भाउजूले फोनबाटै गीत सुनाउने भनेपछि मैले साथीसँगको बसाइ तुरुन्तै छोट्याएँ र हल्ला नहुने बाटोमा हिँड्दै फोन गरेँ। फोन भाउजूको हातमा पर्‍यो अनि उताबाट भाउजूको गीतको 'राग' छुट्यो।

उही स्वर थियो जुन मैले करीब ४० वर्षअघि सुनेको थिएँ। भाउजूले माथिको पहिलो गीत गाउनुभयो, आवाज यति प्रिय थियो कि म छक्क परें, चकित भएँ। मलाई यति खुसी लाग्यो कि एकछिन के गरूँ के गरूँ भएँ। मलाई भाउजूको आवाजले गाउँमै पुर्‍यायो। मेरा बाल्यकालका सम्झनाले छोयो।

म हिँड्दाहिँड्दै टक्क रोकिएँ। आँखाबाट तरर खुसीका आँसु बगे। मेरा ओठ काँपे, आवाजमा  गाउँघर सबै झलझली अगाडि आयो। भाउजूले दोस्रो गीत गाउनुभयो। दोस्रो गीतमा मलाई नै इङ्गित गरेर गीतबाटै भन्नु भयो-

बटुकीमा तातो दूध भाइ मेरो साउनेलाई
क्या मेजमानी लाउने होला कैल्यै नआउनेलाई।

उहाँले 'क्या मेजमानी लाउने होला कैल्यै नआउनेलाई' भनेर म त्यतातिर लामो समयदेखि नगएकोले नआउने मान्छेलाई के भन्नु, के माया गरेको छ भन्नु, आउँछु मात्र भन्ने नआउनेलाई कति आइज भन्नु भनेर गीतबाटै गुनासो पोख्नुभएको थियो। म गीत गाउन नजान्ने भएकोले पढेजस्तो गरेर गीति लवजमा उहाँलाई भने-

माथि पर्‍यो खैराबाङ तल पर्‍यो झिर
क्या खाया छौ क्या लाया छौ क्या छन् तिम्रा पीर।

मैले गीतबाट केही सोधेको छु भन्ने मेसो भाउजूले पाउनुभएन। अझ भनौँ, मैले टेलिफोनबाट भनेको बुझ्नुभएन सायद। मैले भाका हालेर गाएरै भनेको भए बुझ्नुहुन्थ्यो होला। मैले साधारण कुरा गरेजस्तो लाग्यो क्यार उहाँलाई। त्यसैले गीतबाट यसको जवाफ फर्काउनुभएन। मलाई लागेको थियो, उहाँले यस्तै केही जवाफ दिनुहुनेछ-

जिउली धान भकारी भरी भोलिलाई साँच्या छ
के सुनाउँ मनैका बह परानी बाँच्या छ।

अथवा, मैले कुरा गरेको होइन, गीत भनेको हो भन्ने उहाँले बुझेको भए, अझ भनौँ गीतबाटै मैले उहाँलाई सोधेको छु भन्ने बुझेको भए यसप्रकार पनि जवाफ दिनसक्नुहुन्थ्यो होला सायद-

तल पर्‍यो जिउली खेत माथि ठूलो भीर
आउन्या होइनौ हेर्ने होइनौ क्या सुनाउँ पीर।

गीतको जवाफ जसरी नि दिन सकिन्छ। यसलाई दु:ख, पीडा, असन्तुष्टि आदिबाट पनि जवाफ दिन सकिन्छ। त्यस्तै, सुख, खुसी, सन्तुष्टि जनाउँदै नि दिन सकिन्छ। मैले भाउजूलाई सोधेको गीत उहाँले बुझेको भए यसप्रकार पनि जवाफ दिन सक्नुहुन्थ्यो होला-

माली गाई चरनै गयो माथितिर वनमा
खाना लाउना पुग्याकै छ चिन्ता छैन मनमा।

जे होस्, गीतको जवाफ समय, सन्दर्भ, परिस्थिति, गाउने व्यक्तिले भोगेका सुख-दु:ख, खुसी-पीडा, सन्तुष्टि-असन्तुष्टि, गायकले गर्ने अनुभूति, समानुभूति, अर्को पक्षले मोड्न खोजेको सन्दर्भ आदिले जवाफ कस्तो दिने भन्ने तय हुन जान्छ। भाउजूले गीत बुझेको भए जे पनि जवाफ हुनसक्थे। मैले पेस गरेका सम्भावित जवाफ त मेरै सोचका भए।

पवि भाउजूको सुमधूर आवाजले साँच्चिकै नै मलाई छोयो। भित्री मनसम्म छोयो। मलाई मेरो बालापन, म हिँडेका उकाली ओराली, डाँडाकाँडा, भीरपाखा, खोलानाला, मेरा नातागोता एकसाथ झलझली याद भए। जंगलमा गएको, ऐँसेलु काफल खाएको, बाटोको त्यो तिरतिरे धारो, पीपल चौतारी, पानी ल्याउने पँधेरो, पँधेरोमा बस्ने तर पानी भर्न मान्छे जाँदा छोडिदिने नाग, गोगनको बोट, वैँसको रूख, माथि सिँगारीकोटको विशाल वन, पारिको चिप्ले भीर, ठिन्केरीको काफलको रूख, हिलेखोलीमा छेलो फ्याँकेको र सबैलाई जितेको, वारपार सरोवर भएर बग्ने दार्मागार (दार्मा खोला), साउगाउलेको ताल, आदि झलझली याद आए।

म स्कुलबाट एक्लै घर फर्कँदा जङ्गली जनावरको डरले खन्नेटाकुराबाट एक सुरमा पातिहाल्नासम्म प्राण जानेगरी दौडिएको याद आयो। अनि याद आयो, स्कुलबाट जंगलमा वनभोज गएको र वनभोजमा वार्षिक परीक्षाको नतिजा प्रकाशित हुँदा सधैँ म विद्यालय प्रथम भई पुरस्कार थापेको अनि अबिरले रङ्गिएको।

पवि भाउजूको स्वरमा मैले त्यसदिन मेरो गाउँ पाएँ, मेरो चिनारी पाएँ, पहिचान पाएँ, विगत पाएँ र पाएँ मेरो संस्कार। मैले मेरा सारा दिदीबहिनीका स्वर पाएँ, मेरा सबै भाउजूका स्वर पाएँ। मेरो गाउँको स्वर पाएँ, मेरो माटोको बास्ना पाएँ। सिँगारीकोटको साल र सल्लाको जंगलमा चलेको सिरसिर हावाको सुसेली पाएँ, दार्माखोलामा बगेको पानीको अविरल लहर पाएँ। दार्माकोटको मेला, कुमाखको मेला, तङ्माराको मेला, हिलेखोली मेला र चिप्लेको मेलामा गाइने विभिन्न साँस्कृतिक गीत-नाचको सुमधूर आवाज पाएँ। रोपाइमा गाइने 'झारी गीत' को झल्को पाएँ। अनि सम्झिएँ कुनैबेला मैले गाउँको बारेमा लेखेको कविताको सानो अंश-

गोगनबोट बैँसको रूख पानी त्यो कुवाको
सुन्दर वस्ती सिंगारीकोट क्या राम्रो सुहाको।
माथि जंगल तल बस्ती मिलेको त्यो गाउँ
प्यारो लाग्ने चिप्लेभीर र ठिन्केरीको ठाउँ।।

भाउजूको त्यो आवाजले पूरै बाल्यकालको परिवेश याद गरायो। स्कुलका साथीभाइ, पढेको वातावरण, हुर्केको परिवेश, रमाइला क्षण, कठिन क्षण लगायत सबै स्मृतिमा आए। मैले मेरा स्कुलका साथीहरूका बारेमा लेखेको कविताको अंश पनि याद आयो-

कहाँ होलान् बालसखा अनिता र सुधा
कति राम्रो हुन्थ्यो होला हाम्रो भेटघाट हुँदा
अन्जना ती चञ्चले कमै बोल्ने चन्दा
बाल्यकालको मित्रता त्यो राम्रो सबैभन्दा।

सूर्य, हरि, कृष्णजी अति मिल्ने साथी
आजसम्म बसेका छन् मेरो दिल माथि
कोइ बने शिक्षक त कोइ समाजसेवी
हाम्रो भेटघाट भाको छैन स्कुल छोडेदेखि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .