ad ad

ब्लग


फूर्तिफार्ति सकिएको कठै जिन्दगी!

फूर्तिफार्ति सकिएको कठै जिन्दगी!

इन्द्रबहादुर देवकोटा
चैत ३, २०८० शनिबार १६:४१, काठमाडौँ

मैले कक्षा छ मा पढ्दा महेन्द्रमाला पुस्तक पढ्नुपर्दथ्यो। त्यस पुस्तकमा एउटा रमाइलो कथा थियो- 'मान्छेको आयु'। कथाको सार यस्तो थियो- भगवान् ब्रह्माजी सम्पूर्ण जगत् सृष्टि गरिसकेर सबै प्राणी खुसी छन् भन्ने विश्वाससाथ ध्यान मग्न हुनुभयो। धेरै वर्षपछि वहाँको ध्यान खुल्यो र सुखदु:खबारे छलफल गर्न सभा बोलाइयो। भगवान् ब्रह्माजीले बोलाएको सभामा सबै प्राणीको उपस्थिति थियो। सभामा अरू सबै जसो प्राणी खुसी देखिन्थे तर मान्छे, गोरु, गधा र लाटोकोसेरो भने अँध्यारो मुख लगाएर बसेका थिए। मान्छेलाई ब्रह्माजीले सृष्टि गर्दा दिएको आयु कम भयो भन्ने असन्तोष थियो भने अरू तीन प्राणीको आफ्नो आयु लामो भएकोमा अन्याय गरियो भन्ने गुनासो थियो।

आफ्ना सन्तानको अँध्यारो मुख देखेर ब्रहमाजीले भन्नुभयो- मैले सबै प्राणी सुखी रहून् भनी यो संसार सृष्टि गरेको हुँ। यहाँ कोही दु:खी छ भने अथवा कसैलाई कुनै कुरामा चित्त बुझेको छैन भने यसै सभामा त्यो कुरा भन्नु। म त्यसको उपाय गरिदिनेछु।

भगवानको यस्तो कुरा सुनेर गोरुले आँट गरी भन्यो- हामीले हलोमा जोतिनुपर्ने, गाडामा नारिनुपर्ने र भारी बोक्नुपर्ने हुँदा हामीलाई दिएको चालीस वर्षे आयु लामो भयो। हाम्रो आयुबाट बीस वर्ष काटियोस्। ब्रह्माजीले भन्नु भयो- ठीक छ, तिम्रो आयु त काटिदिन्छु तर त्यो आयु यस सृष्टिमा कसलाई थपिदिऊँ? भगवानको कुरा सुन्नसाथ मान्छेले भन्यो- त्यो आयु मैले पाऊँ प्रभु! भगवानले भन्नु भो- तथास्तु। अनि गधा र लाटोकोसेरोले पनि आ-आफ्ना कामको प्रकृति अनुसार आफ्नो आयु आधा काटिदिन अनुरोध गरे। सबैको आयु आधा काटियो र त्यो सबै आयु मान्छेले लियो। त्यसैले अब मान्छेको आयु सयवर्ष हुन गयो।

त्यसै कथाका आधारमा भन्ने गरिन्छ- चालीस वर्षसम्म मान्छेको सृष्टिबाट पाएको आफ्नो आयु हो। यसमै सबै वृत्तिविकास लगायतका कार्य गर्नुपर्दछ। चालीसदेखि साठी वर्षको आयु गोरुबाट पाएकाले काममा जोतिइरहनुपर्ने, चिन्ता, बोझ, तनाव बोक्नुपर्ने हुन्छ। साठीदेखि असी वर्षसम्मको आयु गधाको थपिएकोले यस अवधिमा मान्छेले दु:खसुखले दिन काट्ने र अरूको काम अह्राएपछि मात्र गर्ने भयो। त्यस्तै, असीदेखि सय वर्षसम्मको आयु लाटोकोसेरोको थपिएकोले शरीर शिथिल हुने, आँखा धमिलो हुने र रातिमा निन्द्रा नलाग्ने, आफ्नो जिन्दगी आफैलाई बोझ लाग्ने हुन गयो।

यो एउटा धार्मिक नीति कथा हो। मान्छेको उमेरअनुसार शरीरको क्षमता, सोचमा परिवर्तन आउने कुरा त प्रकृतिको नियम नै हो र यो वैज्ञानिक पनि छ। यस नीति कथाका कतिपय कुरा व्यवहारमा मिल्छन् पनि। ब्रह्माजीले थपथाप पारेर मान्छेको आयु सय वर्ष बनाए पनि सबै सय वर्ष नै बाँच्छन् भन्ने छैन। मान्छेको आयुको कुनै निश्चित समय छैन, यो अर्कै लीला हो। हुन त विज्ञानले मान्छेको आयु एकसय चालीस वर्षसम्म पुर्‍याउन सकिने, आयु बढाउने औषधिको विकास भएको जस्ता समाचार विज्ञान, औषधि विज्ञानका जर्नलमा प्रकाशित भएका पनि छन्। यो सम्भव होला नहोला, सम्भव भए पनि विश्वका कति मान्छेको पहुँचमा पुग्ला, औषधि खाएर लम्बिएको आयुले मान्छेको जीवनचर्या कस्तो होला जस्ता विषय जिज्ञासामै सीमित छन्।

आज मैले जोड्न खोजेको विषय आयुअनुसारको क्षमता हुने तर आँट, जोस, जाँगर, सोच, विचार भने युवावस्थाकै लाग्ने पक्षसँग सम्बन्धित छ। यो मानव चोलाको सर्जक अदृष्य शक्ति चाहे भगवान् भनौँ वा प्रकृतिले अचम्मको शक्ति मान्छेमा भरिदिएको छ। मान्छेले आफूलाई कमजोर कहिल्यै सोच्दैन। ऊ आफू सधै युवा वा तन्नेरी नै भएको ठान्छ। आफ्नो शरीरको क्रमिक विकाससँगै आफ्नो क्षमतानुसार कार्य गर्ने, ज्यानको उचित हेरचाह गर्ने लगायतका काममा मान्छे कम ध्यान दिन्छ र आफ्नो विगतको पौरख, वीरता, सक्षमता, कार्यकुशलता सधै कायमै रहेको सोच्दछ। त्यसैले कठिन कार्यमा पनि लागेकै हुन्छ।

मैले नि एउटा काममा आँट गर्दा म हिजोजस्तो छैन है भन्ने कुरामा झल्यास्स भएँ। युवावस्थामा ठूलाठूला भारी पनि बोकिन्थ्यो। दुई धार्नीको छेलो छत्तीस हात परसम्म फ्याँकिन्थ्यो नै। गाउँका बलवानलाई छेलो खेल्न जितिन्थ्यो। भारी बोक्न प्रतिस्पर्धा, ढुङ्दा उचाल्न प्रतिस्पर्धा, दौडिन प्रतिस्पर्धा, सबैभन्दा ठूलो खोला तर्न प्रतिस्पर्धा गरिन्थ्यो र जितिन्थ्यो नै। भिरालो जग्गामा सबैभन्दा बढी गरा कस्ले नाघ्ने प्रतिस्पर्धा नै हुन्थ्यो।

जङ्गलबाट सबभन्दा ठूलो मुढो कसले बोकेर ल्याउने बाजी नै थापिन्थ्यो। गोरू जुधाउने र राँगा जुधाउने मेला नै लाग्द्थ्यो। हार्ने गोरु र राँगालाई लखेट्दै गएको जित्ने गोरु र राँगाका सिङ च्याप्प समातेर रोक्ने काम पनि गरिएकै हो। गाउँमा घर बनाउँदा आवश्यक पर्ने भराइनो, दलिन, थाम, खाँबो जङ्गलबाट बोकेर ल्याउने काममा सहयोग गर्न अग्रस्थानमा रहेर काँध थापेकै हो।

मैले पढेको विद्यालयका गारो लगाउने ढुङ्गा र छानो छाउने ढुङ्गा आधिजति हामी विद्यार्थीले बोकेको हो। आधा दिन पढ्ने र बाँकी आधा दिन ढुङ्गा बोक्ने गरी पढ्ने स्कुलको भवन तयार भएको थियो। घरमा घाँस दाउराका भारी बोक्ने, मलका भारी बोक्ने, खेतबारीबाट अन्नका भारी बोक्ने काम त सामान्य नै भए। मल बोक्दा नि दुई डोका एकैपटक खप्ट्याएर बोकिएकै हो। यी काम अहिले दन्त्य कथा हुन पुगे। त्यस्तो काम गर्ने शक्ति, ताकत, बल अहिले कहाँ गयो होला!

हालैको एक घटनाले जीवन परिवर्तन भएको, ज्यान हिजोजस्तो नभएको, नजानिँदो पाराले कमजोर भएको विषयमा सोच्न बाध्य बनायो। कौसीमा गरिएको खेतीका लागि किनेर ल्याएको पचास किलो प्राङ्गारिक मल तेस्रो तलामा लैजानुपर्ने भयो। मैले हिजोकै जोस, जाँगर देखाउदै म लिन्छु भनी फूर्ति लगाइहालेँ। भर्‍याङको खुटकिलामा राखेर बोक्ने प्रयास गरें। बोकेर उठ्न सकिएन। निकै प्रयास गरियो डेग चलेन। अहिले पचास किलोको मलको बोरा बोकेर उठ्न नसकिने अवस्थामा पुगिएछ।

त्यसलाई लिनु त थियो नै, इज्जतको कुरा नि भो, फूर्ति लगाइएको छ। घरमा कोही नभएको बेला थियो र अरूले हाँस्ने मौका पाएनन्। बल्लबल्ल घुँडाको टेको लगाउँदै भर्‍याङका तहतह सार्दै माथि पुर्‍याइयो। मेरो श्वास यति बढ्यो, स्वाँस्वाँको रफ्तार यति छिटो थियो कि हावा उत्पादनका लागि मेरो फक्सोमा कुनै अत्याधुनिक मेसिन जोडिएको छ। पहिलेपहिले गाउँमा कसैले पिटाइ खायो वा लडेर सहनै नसकिने गरी चोट लाग्यो अथवा कठिन काम गर्न सकेन भने उसले तीन तारा चौध भुवन देख्यो, तोरीका फूल देख्यो भन्ने गरिन्थ्यो। वास्तवमा यो काममा मैले पनि तीन तारा चौध भुवन देखेँ, तोरीका फूल देखेँ।

जीवन हिजोजस्तो कसैको छैन। समय, परिस्थिति, आहारव्यवहार, दैनिक कार्यको प्रकृति, पारिवारिक वातावरण, रहनसहन आदिको कारण हिजोको जस्तो स्वस्थ जीवनशैली छैन नै। अहिलेको अवस्था र जीवनयापन शैलीले मानव स्वास्थ्यलाई ज्यादै ठूलो असर पारेको छ। यस्तो परिवेशमा आफ्नो ज्यानको आफै मूल्याङ्कन गरी सोहीबमोजिमका दैनिक कार्य गर्नुपर्दछ। कार्य सञ्चालनमा विवेकशील भएर वैकल्पिक उपायहरूको अवलम्बन गर्नुपर्दछ। हिजोको जस्तै छु भनी जोसमा होस् गुम्यो भने दु:ख पाइने अवस्था आउँछ नै। बाँकी जीवन कठिन हुने र पछुताउनुपर्ने पनि हुन सक्दछ। अत: अवस्थाअनुसारको काम गर्नु नै बुद्धिमानी हो।

एउटा सानो कामले मलाई आफ्नो शरीरको स्फूर्ति, क्षमता, तागत हिजोको जस्तो छैन, यो परिवर्तन भइसक्यो भन्ने बोध गरायो। अब हरेक शारीरिक मेहनत पर्ने काममा विचार पुर्‍याउनुपर्छ भन्ने ज्ञान दियो। अझ भनौं, मान्छेको आयु भन्ने कथामा भनेजस्तै मेरो वास्तविक आयु त पार भइसक्यो। वास्तविक आयुसँगै शक्ति पनि गइसक्यो। अहिले बाँचेको त अर्काको आयु पो हो। यसमा आफ्नो पुरानै शक्ति खोज्नु हुन्न। तानतुन पारेको आयुमा शक्ति, क्षमता पनि तानतुनकै हुन्छ र काम पनि तानतुन गरेरै गर्नुपर्दछ भन्ने लाग्यो। अनि जिन्दगी मलाई थाहै नदिई कहिले बद्लियो भन्ने जिज्ञासा मनमा आयो र जिन्दगीलाई सोध्न मन लाग्यो। अनि मैले यसरी जिन्दगीलाई सोध्दै गीति हरफ तयार पारें-

जिन्दगीलाई सोध्न हुन्थ्यो...

जिन्दगीलाई सोध्न हुन्थ्यो भेट्या छैन मैले
थाहै नदिई बद्लियो आफै आफै कहिले।।

भन्नु पर्थ्यो कहाँनेर कोल्टो फेर्ने होला
भोग्नुपर्ने के के थियो कस्तो कस्तो चोला
जिन्दगीले भन्या भए फेर्थें होला बानी
कर्म लेख्न सक्थेँ कि त मनैदेखि तानी।।
जिन्दगीलाई सोध्न हुन्थ्यो...

हतार हतार राम्रा काम सकेजति गर्थें
अजर अमर हुने काममा अघि अघि सर्थें
सुख खोज्दै खुसी हुने जीवन मैले रोज्थेँ
जन्मनुको औचित्य नि के हो भनी खोज्थेँ।।
जिन्दगीलाई सोध्न हुन्थ्यो
...

मान्छेले जिन्दगीमा बालयकालदेखि नै अनेक सपना बुनेको हुन्छ। एकपछि अर्को प्रगतिका भर्‍याङ चढ्दै जाने र समयक्रमका आवश्यकता, चाहाना, इच्छा, आकांक्षा पूरा गर्दै जाने योजना बुनेको हुन्छ नै। जीवन सुखमय बनाउने, सुखसुविधा भोग गर्ने, ख्याति उच्च राख्ने र समग्रमा प्रतिष्ठित जीवनयापन गर्ने चाहना राखेको हुन्छ।

तर यी सबै योजनाबमोजिम कमैका मात्र पूरा हुन्छन्। धेरैजसो मान्छेका योजना, इच्छा, चाहना पछि गर्छु भन्दैमा बित्छन्। सपना हराउँछन्। अझ भनौं, सपना पछि पूरा गर्छु भन्दाभन्दै सपनाले विपनाको रूप लिन पाउँदैनन्, सपाना साकार हुन पाउँदैनन् र उपलब्धि हासिल हुन सक्दैन। मान्छे परिस्थति र परिबन्दको चंगुलमा परेपछि गर्न खोजेको काम पनि गर्न सक्दैन र गर्छु भन्दाभन्दै समय घर्केको पत्तो नै पाउँदैन।

जब पत्तो पाउँछ, समय गइसकेको हुन्छ। गर्ने आँट, साहस, जोस्, जाँगर कमजोर भइसकेको हुन्छ। अनि यस्तै रहेछ भन्नुबाहेक अरू केही गर्न नसकिने हुन्छ। अनि फूर्तिफार्ती सकिएको जिन्दगीलाई बोकेर बस्न बाध्य हुन्छ मान्छे। यसै सन्दर्भलाई लिएर चिन्तन मनन् गर्दागर्दै केही कवितात्मक गीति हरफ तयार हुन पुगे-

बाल्यकालमा सोच्थेँ मैले म ठूलो हुनेछु
अरूले झैँ सफल भई आकाश नि छुनेछु
जिन्दगीले भनेन नि म ठूलो भएको
आशै आशमा ऊर्जाशील समय गएको।।

युवक भई सोचेँ मैले म पछि गर्नेछु
सारा खुसी यो जीवनमा सजिलै भर्नेछु।।
जिन्दगीले भनेन नि आयो बेला अब
पछि भन्या कहिले रैछ बितेपछि सब।।

जोस थियो जाँगर थियो केही काम गर्ने
सुख सयल जीवनमा सके जति भर्ने
भोलि भोलि भन्दाभन्दै बितेछ नि सब
सिकाएन जिन्दगीले कसो गर्ने अब।।

कसैलाई त जिन्दगीले दिने सोचेजति
सुख सयल ऐस आराम अरू कति कति
हाँसो दिने खुसी दिने सकेजति दिने
कोइलाई भने जिन्दगीमा क्यै गरी नहुने। ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .