–माछा खाने?
लोकल हो र!
–बबईको। एक प्लेट दिऊँ?
आधा प्लेट लिनुस्, १० वटा हुन्छ।
अफिसबाट छुट्टिएर हिँडेका साथीहरुलाई घरमै दसैँ लागिरहेको थियो। हामी भने मध्यदसैँमा बबईको खोला किनार पुगेका थियौँ। होटलमा लोकल माछाको स्वादसँगै सुरु भयो कर्णाली यात्रा।
हरिलाई माछाको धित मरेको थिएन। मैले अब कर्णाली नदीको माछा चाख्नुपर्छ भन्दै उठाएँ। सुर्खेत र नेपालगन्जको बीचमा पर्ने बबईबाट भेरी हुँदै सुर्खेत निस्कियौँ।
बीचमा बर्दिया राष्ट्रिय निकुञ्ज। सीमित गति। ४० किलोमिटर/प्रतिघण्टाभन्दा बढीमा कुद्न पाएनौँ। छिन्चुपछि भने आफ्नै गति। बाइकको रफ्तारमा करिब २ घण्टा लाग्यो।
सुर्खेत बजारले नजर तान्यो– निकै व्यवस्थित। फराकिला सडकका बीचमा हरियालीयुक्त डिभाइडर।

सुर्खेत पुगेपछि बुलबुले ताल नहेरी कसरी अघि बढ्नु? ६५७ मिटरको उचाइमा रहेको यो ताल कर्णाली प्रदेशकै गहना भनेको सुनेको थिएँ।
गेटैमा बगैँचा। बुल्बुल गर्दै पानी आउने। पानीमाथि दुईवटा जेटबोट। त्यसमाथि चढ्नेको लामो लाइन। यहीँ भेट्ने योजनासाथ जहाजमा काठमाडौंबाट आएको अर्को साथी शुक्र कुरिरहेको थियो।
ऊसँग भेट भयो। पहिलोपटक लगातार ८ घण्टाको बाइक कुदाइ। निकै थाकिसकेका थियौँ। हरि र म सुर्खेतमै बस्न चाहन्थ्यौँ। शुक्रले दैलेखसम्म जाने भन्यो। तालमा आधा घण्टा थकाइ मेटाएर बगैंचामा केही समय भुल्यौं।
एउटा बाइकमा २ जनाको झोला बाँधियो। अर्को बाइकमा २ जना चढेर दैलेखतिर अघि बढ्यौँ। सुर्खेतबाट ४० किलोमिटर गुड्दा स–साना छाप्रा देखिए।
शुक्र जिज्ञासु भयो। भिडिओमा देखिराखेकाले मैले अनुमान लगाएँ– राउटे बस्ती हो यो।
केही बालबालिकाहरु सडकका गाडीसँग पैसा मागिरहेका देखिन्थे। झम्के साँझ परिसकेकोले बस्तीको फोटो खिच्यौँ र हिड्यौँ। साँझ पर्दै जाँदा बस्ने चिन्ता थियो– कति टाढा पुग्दा होटल भेटिएला?

६ बजे राउटे बस्ती छोडेर अघि बढ्यौँ। राति पौने ९ मा दैलेखको तल्लो डुंगेश्वर पुगियो। ठाडो लोहारे खोला र तेर्सो कर्णाली नदीको तीर। होटल भेटियो।
‘अब माछा खानुपर्छ। कर्णालीको लोकल माछा’, हरिले बबईको स्वाद सम्झियो।
५० रुपैयाँ बाजीमा लुडो खेल्दै ३ जनाले ३ प्लेट फ्राई माछा र ५ प्लेट साँधेको भटमासको सितन कतिखेर सक्यौँ। पत्तो पाइएन।
१० बजे खाना खायौँ। जुम्ली स्याउ चाख्न पाइयो। साथीहरुले खानाको साटो स्याउ थपे। भटमास र स्याउको स्वाद बेग्लै थियो।
***

असोज २९ को बिहान।
सुर्खेत छाडेको दोस्रो दिन बाइक कुदाउँदा सिधै रारा पुग्न सकिन्थ्यो। तर हामीलाई के बितेको थियो र! हतार नगर्ने भयौँ।
जुम्ला पुगेर बस्ने योजना बन्यो। ६ बजे नै बाइकमा झोला बाँधेर हुइँकियौँ।
दैलेखकै ढाब बजार पुग्नै लाग्दा एउटा चिया पसल भेटियो। छेउमा कर्णाली नदी। चिया भनेर कर्णालीको तीरमा फोटो खिचाउन गयौँ।
काठमाडौं फर्केपछि मात्रै ख्याल गर्यौँ– माथिल्लो कर्णालीको जलविद्युत् आयोजना बन्ने त्यही ठाउँ रहेछ।
१०/१२ वर्षका दुई बालक ट्युब बोकेर नदी तर्दै थिए। ४/५ सय मिटर तल बगेपछि हामीले हेर्दाहेर्दै कर्णाली पार गरे। अचम्म लाग्यो।
चिया पिएर फेरि एक्सिलिरेटर बटार्यौँ। सुर्खेतबाटै कर्णाली राजमार्ग सुरु भए पनि राकमसम्म पुग्दा सामान्य नै लागेको थियो। बाइक कुदाएको बल्ल ७–८ महिनाको अनुभवले सक्छु कि सक्दिन भन्ने थियो। 
राकमसम्म कतै कतै कालेपत्रे उक्किए पनि गाह्रो भएन। हरिको बाइकमा पेट्रोल सकिन लागेको थियो। राकममा ग्यालनबाट हाल्ने कि भन्ने सल्लाह भयो। कालीकोटको सदरमुकाम मान्मामा पेट्रोलपम्पमै राखौँला भनी अघि बढ्यौँ।
अब सुरु भयो– तल नीलो कर्णाली देखिने पहाड काटेर बनाएका साँघुरा सडक। एक पटक पिच भएको बाटोमा अधिकांश कच्ची।
साँघुरो बाटो। त्यसमाथि बाइक चिप्लिने ढुंगा र गिट्टी। मुश्किलले कट्यौँ। कर्णाली किनारमा भए पनि भूबनोटअनुसारको उकालो र ओरालो।
मान्मा जोड्ने कर्णाली पुलमा आएपछि अप्ठ्यारो बिर्सियौँ। तर पुल तर्नासाथ झन् बाइक चढाउनै हम्मे हम्मे पर्ने सडकको यात्रा सुरु भयो।
अलि माथि लागेपछि फेरि ‘अधकल्चे’ पिच सडक भेटियो। घुम्ती मोड्दै सदरमुकाम निस्कियौँ।
सदरमुकाम त पुगियो तर पेट्रोल पम्प नै रहेनछ। बोटलमा पाउने ‘ठूलै पम्प’ भए पनि पेट्रोल पाइएन। पेट्रोल नथपे हरिको बाइक जुम्ला पुग्ने कुनै सम्भावना थिएन। पर बजारमा पाइने आशामा खाना खाएर लाग्यौँ। करिब २० किमि कुदेपछि १९० रुपैयाँ प्रतिलिटरमा हाल्यौँ। जुम्ला बजारमा पाइने भनेपछि ट्यांकी पनि भरेनौँ।

मान्मापछि शुक्र र हरिको रफ्तारमा कुदेका हामी जुम्लाको सेरावडा बजार नपुग्दै ठाडो कर्णाली नदीमा रोकियौँ। फोटो र भिडिओ खिचेर नाग्मा हुँदै जुम्ला बजार छिर्यौँ। जुम्लाको उपत्यकामा गोधूलि साँझ।
बाक्लो बस्तीमाथि अस्ताउँदै गरेको घाम र छायाँको लुकामारी र तल खेतका फाँटमा रमाउँदै जुम्ला बजार पुग्यौँ।
मार्सी धान भित्र्याउने गाउँ हुँदै जाँदा दिउँसोको दुःख कष्ट भुलिएछ। जुम्ला बजार पुग्यौँ। यहाँ पनि पेट्रोलपम्प बन्द रहेछ। अर्को दिन बिहान खुल्ने आशामा बास खोज्न हिँड्यौँ।
जुम्ला बजार पूरै सहर बनिसकेको रहेछ। तर इन्टरनेट, फोनका तारले काठमाडौंकै याद दिलाइदियो– अस्तव्यस्त। फराकिलो बाटो तर फोहोर। होटलभन्दा होमस्टे खोज्यौँ। भेटिएन।
आधुनिक होटल भए पनि मार्सीको भात, च्यांग्राको मासु। कर्णालीको स्वाद। अर्को दिन नाग्मा नफर्की जुम्लाबाट छोटो पर्ने सडक लाग्यौँ। अप्ठ्यारो तर ३ घण्टा छोटो पर्ने सुनेपछि जसरी पनि जाने अठोट गर्यौँ।

१० किलोमिटर के गुडेका थियौँ, नाम मात्रैको सडक रहेछ। दिनमा १/२ वटा फोरह्विलर कुद्ने। ठूला ढुंगा, गिट्टी, ठाउँ ठाउँमा खोला। वर्षातमा बाटो र खोला छुट्याउन नसकिने। बाइक थेग्नै हम्मे हम्मे। आधा बाटो पुगेपछि ढुंगा गिट्टीमा मैले बाइक घिसारेँ। शुक्रले बाइक हाँक्यो।
कहिले ओर्लिने कहिले चढ्ने गरेर ठूलो चउर पुगियो। भेडा चरिरहेका थिए। जडीबुटी चिया खाएर करिब डेढ घण्टा चउरमै बिताइदियौँ।
रारा हाम्रो गन्तव्य थियो। चउर छाडेर ओरालो झर्नुपर्ने भयो। तर ठूला ढुंगामाथि बाइक कसरी हाँक्नु? पछाडि बस्ने हुत्तिने, बाइक कुदाउनेचाहिँ च्यापिने।
समाइदिँदै हिँड्नुपर्यो। करिब ६५ किमि कुदेपछि बल्ल नाग्माबाट सिन्जा हुँदै आउने सडकमा पुग्यौँ। पूरै कच्ची भए पनि नियमित गाडी कुद्ने भएकाले धूलो उडाउँदै आफ्नो रफ्तारमा। खासै गाह्रो भएन।
बाइक पुग्ने अन्तिम विन्दु सल्लेरी थियो। राराकै छेउ। साँझ ५ बजे त्यहाँ पुग्यौँ।

नेपाली सेनाको क्याम्पमा बाइक राख्यौँ। राराको मुर्मा टप जाने लक्ष्य थियो। बाइक नजाने बाटो। कि हिँड्ने कि घोडा चढ्ने विकल्प। घोडावालले ४ घण्टा लाग्ने बताए।
‘पैसा कति नि!’, हामीले सोधिहाल्यौँ।
उनले ३ हजार लाग्ने भए पनि २५ सयमा लैजाने बताए।
‘३ जनाको?’, शुक्रले सोध्यो।
उनले टाउको हल्लाए, ‘होइन। एक घोडाको!’
९ हजार तिरेर घोडामा नजाने विचार गर्दै थियौँ। घोडावालाले तालको छेउसम्म ६ सयमा लगिदिने बताए। घोडाचढेको अनुभव लिन पनि तालछेउसम्म घोडा चढ्यौँ।
साँझ परेको थियो। पहिलोपटक केही मिटर टाढाबाट रारा देखियो। पहिलो झलक। मन आनन्दित भयो। त्यसपछि हिँडेरै मुर्मा टप पुग्ने निधो गर्यौँ। सेनाको सहयोगमा मुर्मा टपमा एक रिसोर्टको नम्बर लिएर कोठा बुक गरायौं। ताल छेउबाट करिब साढे २ घण्टामा मुर्मा टप पुग्यौँ।

मुगुको रैथाने ८० घरधूरीको मुर्मा गाउँ हुँदै गयौँ। अँध्यारो भएकाले होमस्टे गरेनौँ।
मुर्मा गाउँ पार गरेपछि जंगलको बाटो हुँदै रिसोर्ट पुगिन्छ। बाटोबाट तलतिर आँखा घुमाउँदा पूर्णिमाको कान्तिभित्र टल्किएको रारा ताल देखियो। गज्जबको दृश्य। सफा आकाश र जुनेली रातमा रारा निकै सुन्दर देखिन्थ्यो।
मोबाइलले आँखाको तस्बिर कहाँ कैद गर्न सक्थ्यो! ८ बजे रिसोर्ट पुग्यौँ। नाम रिसोर्ट भए पनि घरजस्तै देखिन्थ्यो– इको रिसोर्ट। रिसोर्टमा एक जना अंकल र भाइ कुरिरहेका थिए।
तल पूरै भीडभाड भए पनि माथि खाली नै थियो। खुल्ला आकाश। चिसो मौसममा अंकलले आगो बाले। करिब डेढ घण्टा रसिला गफ भए। चिसो प्रकृतिसँग तातोपानीको सुर्कीसँगै गाउँको रहनसहन र अंकलका तन्नेरी अनुभव सुन्यौँ।
उनले घतलाग्ने कुरा सुनाए।
‘पहिला हामीले रारालाई राष्ट्रिय निकुञ्ज बनाउनुहुँदैन भनेर नेपाली सेनासँग भिड्यौँ’, उनले सुनाए, ‘२ जना स्थानीयले ज्यानै गुमाउनुपर्यो। कालिज, बँदेल मार्न नदिएकोमा भिडेका थियौँ तर अहिले त्यही चरा र बँदेल देखाएर हाम्रो दैनिकी चल्छ।’

रिसोर्ट छेउमै डाँफे आउने गरेको उनले बताए। नेपालको राष्ट्रिय पन्छी। मारे एक छाक हुँदैन तर त्यही देखाएर स्थानीयले रोजीरोटी पाएको उनको भनाइ थियो। प्रकृति र मानव मिले झन् सुन्दर हुने रहेछ संसार। गज्जब लाग्यो।
मुर्मा गाउँमा ठूलो मेला लागेको रहेछ। राति अंकल र भाइ मेलामा रमाइलो गर्न झरे। हामी भने शिरक खप्ट्याएर निदायौँ। बिहानै उठेर ६ जिल्ला देखिने मुर्माको टुप्पो पुग्यौँ। १० मिनेटको बाटो। तर तुवाँलोले हामीलाई भने अवसर दिएन। ९ बजेसम्म कुरेर फर्कियौँ।
फापरको रोटी खाएर रारा ताल झर्यौँ। सेनाको ब्यारेकमा छिरेर चिया खायौँ। रारामा रिसोर्ट नभएकाले सेनाको सम्पर्कबाट जाँदा सजिलो हुने सुनेर सहयोग मागेका थियौँ।
अहिले त पर्याप्त होटल र मुर्मा गाउँ होमस्टे नै भएकाले रारामा खाना बस्नलाई समस्या रहेनछ। जुम्लामा स्याउ टिपेर खाने रहर सिजन सकिएकाले पूरा भएन। क्याम्पभित्र एक बोटमा स्याउ देख्न पायौँ। खान नपाए पनि फोटो खिचायौँ।

चिया खाएर टिकट काटी डुंगा चढ्यौँ। निलो पानीमा डुंगा सयरको मज्जा नै बेग्लै। करिब ४५ मिनेट डुंगा सयरपछि अघिल्लो दिन घोडाले छाडेको ठाउँ पुग्यौँ। करिब डेढ घण्टा ताल किनारमा रमायौँ। कवि मविवि शाहले भनेजस्तै ‘रारा कि अप्सरा!’ छुट्याउन मुस्किल थियो। कति सुन्दर गन्तव्य!
प्रकृतिको रमणीयता अवलोकनसँगै आफ्नो गन्तव्यमा फर्किनु पनि थियो। मनचाह गन्तव्यलाई त्यहीँ राखेर हामी झर्ने भयौँ।
फर्किँदा नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जामा बस्ने लक्ष्य थियो। रिसोर्टमा बसिसकेका थियौँ। होमस्टेको अनुभव लिन बाँकी थियो। सिञ्जा पुगेर गाउँ छिर्यौँ। तर न त होम स्टे न होटल नै भेटियो। एक छिन भित्री बाटोमा भौतारिएपछि मूल सडककै गठज्युएला बजार पुगिएछ।
ठूला होटल भेटिए। बाइक राखेर कोठा हेर्यौँ। तर पैसा कसरी तिर्ने? होटलवाला दाइले आजै इन्टरनेट नचलेको बताए।
के गर्ने त अब? होटलवाला दाइले बस्नु न भने।
‘तपाईंहरुले खाएर भाग्ने होइन। बिहानसम्म इन्टरनेट नआए जहाँ चल्छ त्यहीँबाट हाल्दिनु!’, ती दाइले क्यूआर दिए। प्रविधिको करामत। कति सहज!
बिहानै निस्किने भयौँ। १५ सय मात्र भएको रहेछ। नगदै तिरेर हिँड्यौँ। सुर्खेत पुग्ने लक्ष्य पूरा भयो। त्यहाँ पुगेपछि कर्णालीलाई सहरको हावाले अझै नछोएको अनुभूति भयो।
रारा ताल होस् वा मानिसको बोली, लगाइखवाइले यात्रामा फरक अनुभूति दियो। प्रकृतिसँग रमाउने र दुःख कष्ट सामना गर्नेलाई कर्णाली अझै प्राकृतिक स्वर्ग छ। सुर्खेतको होटलमा यस्तै फतफताउँदै रात बित्यो।
अर्को दिन मध्यपहाडी राजमार्ग कुद्न मन लाग्यो। धेरैले सडक राम्रो भएको सुनाएका थिए। सुर्खेतबाट सल्यान हुँदै घुम्ने रहरले जाजरकोटको खलङ्गा, पूर्वी रुकुम, पश्चिम रुकुम हुँदै बाग्लुङको बुर्तिबाङ पुगियो।
दिउँसो खलङ्गाबाट पूर्वी रुकुममा मध्यपहाडी राजमार्ग भेटाउने चक्करमा करिब २ घण्टा हरायौँ।
पुल तरेर मध्यपहाडी राजमार्गमा जानुपर्ने रहेछ। हामी भने पुल कटेपछि फेला परेको चिल्लो सडकमा लोभिएछौँ। १५ किमि कुदेपछि कच्ची आयो, त्यसपछि झनै साँघुरिन थाल्यो। अघि बढ्दै जाँदा जाजरकोटको नलगाडाको कालीमाटी पो पुगेछौँ!

फर्कियौँ त्यहाँबाट। बाइक झोलुंगे पुलबाट तार्नुपर्ने रहेछ। मोटरेबल पुल हुँदै जाँदा बाटो भुलिएछ। झोलुङ्गे पुलबाट बाइक मध्यपहाडी राजमार्गमा ल्याएपछि पूर्वी रुकुमको मुुसिकोट, पश्चिम रुकमको रुकुमकोट हुँदै आउँदा अँध्यारो भयो।
सडक पूरै कच्ची। दिउँसो जस्तै बाटो बिराएको डर भयो। कतै घर पनि थिएन। जंगलको बीच। पिचको नामोनिशान थिएन। यहाँ गुगल म्यापले सहयोग गर्यो। एक छिनको अलमलपछि पर बाइकको लाइट बलेको देखियो।
रोकेर सोध्यौँ– बुर्तिबाङ निस्किने बाटो यही हो? से–फोक्सुन्डो ताल हिँडेका उनीहरुले १० मिनेटपछि पिच आउने बताए। ढुक्क भयौँ। बुर्तिबाङ छेउमै दिदीको घरमा बस्यौँ।
अर्को दिन पोखरा आएपछि बाइक देखाएर काठमाडौं फर्कियौँ।
सडक विस्तार हुँदै गरेको बाटो। कर्णालीभन्दा बढी सास्ती। राति ११ बजे आइपुग्यौँ। ऐनाअगाडि उभिँदा आफैँलाई चिन्न मुस्किल!
Shares

प्रतिक्रिया