ब्लग


सामाजिक सञ्जालले एलिना चौहानलाई पारेको आघात र ज्योति मगरको गल्ती

सामाजिक सञ्जालले एलिना चौहानलाई पारेको आघात र ज्योति मगरको गल्ती

नेहा शर्मा
माघ ५, २०८१ शनिबार १३:२६, काठमाडौँ

समाजिक सञ्जालमा यतिबेला गायिका एलिना चौहानको दाम्पत्य सम्बन्धको विषय भाइरल बन्न पुगेको छ। नेपाली सांगीतिक क्षेत्रमा राम्रै जमेकी कलाकार एलिना चौहानको विवाह केही समयअगाडि अस्ट्रेलियामा बसोवास गर्दै आएका व्यवसायी विष्णु सापकोटासँग भएको थियो।

प्रेमपश्चात् विवाह गरेको यो जोडीको सम्बन्धलाई लिएर विवाहअगाडि पनि केही नकारात्मक समाचार बाहिरिएका थिए। तर उनीहरूको विवाहसँगै यस्ता नकारात्मक प्रतिक्रिया दिनेहरूको मुखमा बुझो लागेको थियो। 

विवाहपश्चात आफ्नो श्रीमान् बसोवास गर्ने देश अस्ट्रेलिया पुगेकी एलिना अचानक नेपाल फर्केपछि धेरैले चासो देखाए। त्यसो त एलिना नेपाल फर्कंदैमा आश्चर्य मान्नुपर्ने केही थिएन। किनकि उनी अत्यन्तै लोकप्रिय गायिका भएकोले व्यावसायिक कामले नेपाल आउनु स्वाभाविक थियो तर नेपाल आउनेबित्तिकै उनलाई ओशो तपोवनमा देखेपछि धेरैको लागि यो बिकाउ समाचार बन्यो। 

समाजिक सञ्जालतिर उनी तपोवनमा गुरुको अगाडि हात जोडेर ध्यानमग्न भएको, नाचेको, रोएको भिडिओ छ्याप्छयाप्ती देखिन थाले। कुनै पनि व्यक्तिको नितान्त व्यक्तिगत कुरालाई बढाइचढाइ मात्र होइन, नभएको कुराहरू समेत जोडेर आफ्नो च्यानल भाइरल बनाउने र कमाउने धन्दामा लागेकाहरूका लागि यो विषय बिकाउ बन्न पुग्यो। उनीहरूले एलिनालाई गीतसंगीतको विषयमा अन्तर्वार्ता गर्छु भनेर बोलाउने अनि किन अस्ट्रेलिया छाडेर ओशोमा लाग्नुभो, तपाईं र श्रीमानबीच राम्रो सम्बन्ध छैन रे नि भन्दै बारम्बार कोट्याइरहने गर्न थाले। 

एलिनाले बडो संयमित भएर यस्ता प्रश्नहरूको जवाफ कूटनीतिक तरिकाले दिइरहिन्, जुन हामीले युट्युबतिर प्रशस्त भेट्न सक्छौँ। उनी व्यक्तिगत सम्बन्धको बारेमा खासै बोल्न चाहेको देखिँदैन तर मिडियाले यही विषय निकालेर उनलाई बारम्बार घोच्न भने छाडेन। 

यतिबेला फेरि एकपटक उनको सम्बन्धको विषयले सामाजिक सञ्जाल तातेको छ। टिकटक र युट्युबतिर उनको विषय कसले कति बढी खोतल्ने भन्ने होड देखिन्छ। गायिका ज्योति मगरले कुनै गायिकाले अत्यन्तै विश्वासका साथ दिदी मानेर आफ्नो व्यक्तिगत जीवनको पीडा पोखेको र कुटपिट समेत भएको भनी फोटो देखाएको भन्दै लेखेपछि यसकै आधारमा टेलिभिजनको समाचारको हेडलाइन बन्यो र यो विषय समाजिक सञ्जालको मुख्य गफ बन्न पुग्यो।

समाचार भाइरल बन्यो यसबाट धेरैले आफ्नो फलोअर्स बढाए होलान्। पैसा पनि कमाए होलान्। तर यो समाचारले गायिका चौहानलाई राहत दियो कि थप पीडा? यो विषयलाई हेडलाइन बनाउनेहरूले सोच्नुहोस् त? 

ज्योति मगर जो आफैँ पनि संघर्ष गरेर स्थापित कलाकार हुन्। उनको संघर्ष र मेहनतको कथा सुन्दा मेरा पनि आँसु खसेका थिए। उनको संर्घषप्रति मेरो सलाम छ। तर यतिबेला एलिनाको विषयमा सबैभन्दा अगाडि उनी जोडिन आइपुगिन्। ज्योति मगरले कसका बारेमा बोलिन्, स्पष्ट छैन। तर, कसैले विश्वास गरेर पोखेको मनको बहलाई उनले घरेलु हिंसासँग रोकौँ भन्दै पोस्ट गर्दा उसलाई कस्तो असर पर्छ भन्नेबारे उनले सोच्नुपर्थ्यो।

मैलै झण्डै २२ वर्षको पत्रकारितामा लैंगिकताकै विषयमा लेखेँ अनि बोलेँ। हिंसा सहनु हुन्न, बाहिर ल्याउनुपर्छ भन्ने वहाँको कुरामा म सहमत छु। तर हामीले बोलेको, लेखेको कुराले हिंसामा परेकालाई थप जोखिममा पार्छ कि पार्दैन भनेर ख्याल गर्नुपर्छ। जसमा यतिबेला उनी अत्यन्तै कच्चा ढंगले प्रस्तुत भएको देखिन्छ। 

समाजिक सञ्जालमा स्टाटस हाल्दैमा हिंसा कम हुने होइन। उनले यस विषयमा सम्बन्धित व्यक्तिकै मनोबल बलियो बनाउन मद्दत गरेर यस्ता विषय कसरी अगाडि ल्याउने भन्ने तयारी गर्नुपथ्र्यो। फेरि कसैले विश्वास गरेर मन पोखेको कुरा उनकै अनुमतिबिना समाजिक सञ्जालमा पोस्ट गर्ने गल्ती गर्नुहुन्थेन। 

उनको स्टाटस यदि एलिनाकै विषयमा थियो भने पनि एलिना यतिबेला नेपालमा छिन् र आफूलाई आध्यात्मिक बाटोमा डोर्‍याउँदै आफ्नो सांगीतिक कार्यहरूलाई सहज तरिकाले अगाडि बढाउन प्रयासरत देखिन्छिन्। सम्बन्धमा केही समय ग्याप राखेर त्यो सम्बन्ध राम्रो बन्न सक्छ कि भन्ने पर्खाइमा पो थिइन् कि? अथवा आफू मानसिक रूपमा बलियो बनेपछि यो विषयलाई बाहिर ल्याउने तयारीमा पो थिइन् कि? उनी र उनका पतिबीच यो विषयमा केही आन्तरिक समझदारी पो बन्दै थियो कि? 

ज्योति मगरले विचारै नपुर्‍याई भावनात्मक रूपमा स्टाटस राख्नु अनि त्यसलाई अर्का सचेत वरिष्ठ सञ्चारकर्मीले हेडलाइन बनाउनुले एलिना चौहानलाई तनाव दिएको खबर बाहिर आई नै सकेका छन्। ज्योति मगर र ती पत्रकारको आशय गलत नहोला तर व्यक्तिगत जीवनका बारेमा बोल्न र बाहिर ल्याउन नचाहेको कुरा स्वयं एलिना चौहानले विभिन्न अन्तर्वार्तामा अप्रत्यक्ष रूपमा बताइरहेको देख्दादेख्दै यसरी बाहिर ल्याउँदा यसले उनीमाथि परेको मानसिक आघातको मूल्य कसले चुकाउने? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad