आदरणीय गभर्नर पदका दाबेदारहरू!
जो कोही छनोट हुन लागे पनि यात्रा सुरुदेखि नै अस्तव्यस्त हुनु दुर्भाग्यपूर्ण छ। नियुक्ति हुनु भन्दाअगाडि नै छनोट अत्यधिक राजनीतिकरण भएको, नियुक्ति घुसखोरीको रेकर्ड तोड्नेगरी १ अर्ब रूपैयाँ कबुलिएको, स्वार्थको द्वन्द्वका निर्णयहरूमा पूर्व–प्रतिबद्धता गरिएको आदि आरोप र विवादमा हुनु सामान्य होला नहोला, शुभ चाहिँ पक्कै नहोला। छनोट प्रक्रिया अशुद्ध भएको आरोप र भागबन्डाको द्वन्द्वले गर्दा छनोट हुने तपाईं जो कसैलाई पनि धेरै प्रश्न र स्पष्टीकरणहरूले लखेट्ने पक्का छ।
बलियो राजनीतिक समर्थन, पीएचडी वा सो सरह डिग्री, र सामान्य अनुभवको अलावा, तपाईंसँग विशेष क्षमताहरू पक्कै धेरै होलान्। तपाईं केका लागि प्रसिद्ध हुनुहुन्छ? नेपालको अर्थतन्त्रमा तपाईंले के–कस्ता महत्वत्पूर्ण योगदान पुर्याइसक्नुभएको छ? विश्व–जगतमा तपाईंको परिचय कस्तो छ? हालैका केही यस्तै नियुक्तिहरूमा देखिएको इमानदारीको कमीको निरन्तरता नबनोस् भन्न तपाईंको आचरण र नैतिक साहसका के–कस्ता उदाहरण र प्रतिबद्धताहरू छन्?
तपाईं निगरानीमा हुनुहुन्छ, तपाईंलाई नेपाली सरोकारवालाहरूले नजिकबाट नियालिरहेका छन्।
साथै, केही अग्रिम शंकास्पद सम्झौताहरू गरेको र केही असमर्पणीयको समर्पण गरेको एक शंकास्पद ठूलो व्यक्ति र एक ठूलो राजनीतिक अनुहारको कठपुतलीको रूपमा प्रस्तुत हुन पनि कृपया तयार रहनुहोस्। यद्यपि, तपाईंले त्यो छवि धुने र आफूलाई प्रमाणित गर्ने समय पाउनु हुनेछ, तर तपाईंसँग दोहोरो चुनौती हुनेछ। आफ्नो छवि सफा गर्ने, जसका लागि ठूलै नैतिक साहस चाहिन्छ र गभर्नरको रूपमा अब्बल काम गर्ने, जसका लागि कार्य–कौशल र नतिजा चाहिन्छ।
गरिमामय देश नेपालको आर्थिक पहिचानको महायुद्धमा स्वागत छ। यो युद्ध क्षेत्रमा धेरै शत्रुहरू हुनेछन्, नयाँ र पुराना, प्राकृतिक र प्रायोजित। बैंकिङ क्षेत्रमा भएको सम्पत्तिको गुणस्तरमा व्यापक गिरावट, उच्च मुद्रास्फिति, उदार मौद्रिक नीतिको अतिअपेक्षा, आप्रवासी श्रमिक आम्दानीको आन्तरिक रेमिट्यान्समा अत्यधिक आर्थिक निर्भरता, एफएटीएफको खैरो सूची, आदि ललकारहरूको बीचमा यो आर्थिक तथा मौद्रिक युद्धलाई कौशलता र बहादुरीका साथ लड्न सही रणनीति, ऊर्जा र अस्त्र–शस्त्रहरू यथेष्ठ लिएर आउनुभएको छ भन्नेमा म पक्का छु।
अनि काठमाडौँको हालैको प्रदूषणले भरिएको आकाश जस्तै, तपाईंको परिदृश्य पनि शंका, आलोचना, सरोकारवालाहरू बीचको असहिष्णुता र सद्भावको अभाव अनि निराशै–निराशाले आँखा पोल्नेगरी भरिभराउ भएको त तपाईं अवगत नै हुनुहुन्छ। साथै तपाईं राजनीतिक स्रोतबाट आउनुभएको हुनाले तपाईंसँग सम्बन्धित राजनीतिक दलको अकार्यक्षमताको आलोचना पनि तपाईंमाथि अप्रत्याशित मात्रामा तेर्सिने थप झमेला छँदैछ। यी केही परिधीय चुनौती मात्र हुन्। जनता र सरोकारवालाहरूले तपाईंको क्षमताहरूको परीक्षण धेरै आयाम र तहहरूमा लिनेछन्, जस्तै :
तपाईंले मौद्रिक नीति र वित्तीय नीतिबीचको द्वन्द्वको अनन्त बहानालाई अगाडि बढाउन सक्नुहुन्छ कि नाइँ?
तपाईंले हाम्रो ‘नेपाली रूपैयाँ’ गह्रौँ बनाउने आशा गर्न सकिन्छ?
तपाईंमा विदेशी लगानीकर्ताहरूलाई प्रवद्र्धन गर्ने क्षमता र अनुभव छ? कम्तीमा राष्ट्र बैंकको नियन्त्रण क्षेत्रमा ‘नियामक झमेला’ रोक्न सक्नुहुन्छ?
के तपाईंले आफ्नो कार्यकालमा राजनीतिक उथलपुथलका बाबजुद केन्द्रीय बैंक डिजिटल मुद्रा स्थापित गर्न सक्नुहुनेछ?
के तपाईं नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्न सह–नेता बन्न सक्नुहुनेछ?
के तपाईंसँग बैंकिङ क्षेत्रमा महामारी जस्तो फैलिएको भ्रष्टाचार र बिचौलिया रजगज सफा गर्ने शक्ति छ?
के तपाईंसँग तपाईंलाई नै गभर्नर नियुक्त गर्ने व्यक्ति वा दलले लगाएको अनुपयुक्त कामहरूलाई ‘नाइँ’ भन्न सक्ने र नगरी थेग्न सक्ने वीरता छ?
सर्वप्रथम तपाईंमा त्यो ‘करिस्मा’ चाहिन्छ, जसले अर्थतन्त्रमा आशा र सकारात्मकताको किरण फैलाओस्, भ्रष्टाचारविरुद्ध शुद्धीकरणको एन्टिबायोटिक चलाओस्। अनि तपाईं एक सामान्य, १८औँ रोल नम्बरको गभर्नर होइन, एक असाधारण, आजको नेपालको माग अनुसारको गभर्नर हुनुपर्छ।
तपाईं गहिरो आर्थिक अनिश्चितता र राजनीतिक उथलपुथलको समयमा अर्थतन्त्रलाई अगाडि बढाउने मारियो द्रागी भन्दा कम गभर्नर हुनुहुँदैन। अथवा तपाईं रघुराम राजन जस्तै स्थिर र लचिलो राष्ट्रिय अर्थतन्त्र सिर्जना गर्न सक्षम गभर्नर हुनुपर्छ। तपाईं स्वर्गीय हिमालयन शमशेरले जस्तै परिवर्तनको अग्रणी भूमिका खेल्ने गभर्नर हुनुपर्छ वा अविकसित अर्थतन्त्रलाई उकास्दै ‘लो– प्रोफाइल’ बसेर राष्ट्रलाई नै रूपान्तरण गर्ने रणनैतिक नेतृत्व लिने डा. मनमोहन सिंह जस्तो दूरगामी गभर्नर बन्नुपर्छ।
अथवा तपाईं आफू नै वित्तीय, आर्थिक र मौद्रिक नवाचारको प्रतीक बनी नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्ने गौरवशाली व्यक्तिको रूपमा राष्ट्र बैंकको गभर्नरहरूको ‘वाल अफ फेम’को सबैभन्दा चम्किलो र ठूलो तस्बिर बन्नुपर्छ। तर कृपया ध्यान दिनुहोस्, यसपटक, अपेक्षाहरू उच्च छन्, ने. रु. १०० करोडभन्दा उच्च।
मेरो यो परम्परागत धारणा छ कि गभर्नरजस्ता राष्ट्रिय महत्त्वका पदहरूमा नियुक्ति निवेदन मागेर होइन, निर्विवाद निमन्त्रणाद्वारा हुनुपर्छ। मेरो पूर्वाग्रह हो, तर पनि मेरो विचारमा गभर्नरजस्ता पदहरूमा नेता रिझाउने, भनसुन गर्ने, पैसा भाकल गर्ने त कुरै छोडिदिऊँ, निवेदन मात्र दिने व्यक्ति पनि अयोग्यजस्तै हुन्छ। जसलाई विशेष अनुरोध गरी निमन्त्रण गरिन्छ, त्यो मात्र योग्य हुन्छ।
अनि जसलाई अनुरोध गरिन्छ, तर उसले अस्वीकार गर्छ, त्यो अतिरिक्त योग्य हुन्छ, ऊ झन् विशेष हुन्छ, उसलाई मनाएर ल्याइनुपर्छ। यहाँ कस–कसलाई कुनकुन उदेश्यले अनुरोध गरिएको छ र कस–कसले अनुरोध गर्दा अस्वीकार गरेको छ, त्यो मननयोग्य छ। तर अल्छी र पक्षपाती खोजी प्रणालीका कारण राष्ट्रिय पुरस्कारहरू समेत सबैभन्दा नजिकका र ख्याति खासै नभएका लोकप्रियहरूलाई दिइने हाम्रो जस्तो राष्ट्रमा मैले यो अपेक्षा गर्नु अव्यावहारिक मात्र होइन, मूर्खता नै हो। बाहिरिँदै गरेका गभर्नरको केही महिना बाँकी हुँदै कुन नेताको कुन सिफारिस हो भनेर खुलेआम हुने लज्जास्पद तँछाड–मछाडको एक साक्षी म पूरै स्वीकार्छु– राज्यले सक्षम व्यक्तिलाई आमन्त्रित गर्ने सम्भावना हाललाई निकै पर छ।
तर कृपया केन्द्रीय बैंकको गभर्नरको पदलाई कम आकलन नगरौँ। यो महत्त्वपूर्ण छ। किनकि यो स्वतन्त्र छ, मुद्रा नोट र डिजिटल सिक्का मार्फत राष्ट्रिय अर्थतन्त्रको परिसंचरण प्रणाली बनेको छ र पुँजीमा पहुँच, मुद्रास्फिति लगायत अन्य धेरै कुराहरू मार्फत प्रत्येक नेपाली नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित छ। यो एकदमै शक्तिशाली पद हो र यो गभर्नर नै बनेर पनि तपाईं वास्तवमा राष्ट्रलाई परिवर्तन गर्न सक्नुहुन्छ। मैले माथि उल्लेख गरेका केही सहित धेरै उदाहरणहरू यत्रतत्र छन्।
राष्ट्र परिवर्तन गर्न सधैँ प्रधानमन्त्री, मन्त्री वा मेयर बनिराख्नु पर्दैन। राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन विशेष हस्तक्षेपहरू मार्फत गभर्नरले पनि राष्ट्र परिवर्तन गर्न सक्छन्– यो विगतमा र धेरै राष्ट्रहरूमा धेरैपटक भएको छ। प्रधानन्यायाधीशले न्यायको ज्योतिको रूपमा दृढ भएर उभिएर, दशकौँदेखि निष्कर्षमा नपुगेका मुद्दाहरू फर्छ्यौट गरेर र न्यायिक प्रक्रियाहरूलाई पूर्ण रूपमा डिजिटलाइज गरेर राष्ट्रलाई रूपान्तरण गर्न सक्छन्। निर्वाचन आयुक्तले निष्पक्ष निर्वाचन सुनिश्चित गरेर मात्र नभई सरल र अनभिज्ञ मतदाताहरूलाई मतदानको शक्तिको बारेमा शिक्षित गरेर राष्ट्रलाई बचाउन सक्छन्।
लोकसेवा आयुक्तले सही छनोट विधिहरू प्रयोग गरेर उच्च आचरण भएको, उच्च कार्यसम्पादन भएको कर्मचारीतन्त्र निर्माण गर्न सक्छन्, जुन छनोट–विधिहरू वर्तमान लोकसेवामा खासै उपलब्ध छैनन्। राष्ट्रिय मानव अधिकार आयुक्तले आदर्श र सशक्त ‘नागरिक’ उत्पादन गर्न सक्छन् तर तिनीहरू निलो ज्याकेटमा सीमित छन्।
अख्तियार दुरूपयोग अनुसन्धानका प्रमुख आयुक्तको शक्ति कल्पना गर्नुहोस् त? यदि लोकमानको जस्तो साहस र दृढता भएको व्यक्तिले देशको पक्षमा सबै सही निर्णयहरू गरेको भए, भ्रष्टाचारको के हालत हुन्थ्यो? लोकमान कुबाटोमा लागे, तर उनी जत्तिकै शक्ति अभ्यास गर्न जान्ने सुबाटोमा लाग्ने पनि खासै आएनन्। महान्यायाधिवक्ताले निर्दोषलाई सत्तामा रहेकाहरूबाट बचाउन सक्छन् र महालेखा परीक्षकले सार्वजनिक पैसाको अनुपालना र सदुपयोगलाई राष्ट्रिय एजेन्डा बनाउन सक्छन्। तर यी सबै पदेनहरू खास के गर्दैछन्? उनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, हाम्रो सम्मानित संविधानले दिएको शक्ति रास्त्रोदयका लागि प्रयोग गरिरहेका छन्? के उनीहरू नियुक्तकर्ता र बिचौलियाको दायित्वको छायामा परेका त छैनन्? नियुक्ति गरिदिनेको नुनको सोझो गर्दै छन् कि राष्ट्रको जयमा दिनरात लागिपरेका छन्?
राजनीतिक नेताहरूसँगै, राष्ट्रको स्रोत चलाएका यी विशेष पदमा बसेकाहरू पनि वर्तमान नेपालका लागि जवाफदेही छन्। सबै दोष राजनीतिज्ञहरूलाई मात्र लगाइनु गलत हुन्छ। गभर्नर लगायत माथिका जस्तै विशेष पदधारक सबैलाई अक्षमताको लागि, कायरताको लागि वा दुवैका लागि र यदि होइन भने अर्थहीन रूपमा पद ओगटिबसिरहेका लागि निरन्तर मूल्याङ्कन गरिरहनुपर्छ, बहसमा ल्याइरहनु पर्छ।
‘राज्यको सिन्दूर’ एक यस्तै पुराना पदधारीले उल्लेख गरेथे। अति शक्तिशाली यो वाक्यांशले मलाई सधैँ जगाउँछ। सरकारमा वा राष्ट्रिय समृद्धिका प्रवेशद्वार यी महत्त्वपूर्ण पदहरूमा हुनु भनेको राज्यको सिन्दूर लगाउनु हो रे। ‘पैसा भन्दामाथि राज्यको सिन्दूर, यो एउटा ठूलो जिम्मेवारी हो– त्यसैले त उनीहरूलाई राष्ट्रिय कोष र संयन्त्रको सुरक्षा, पद, पावर, प्रोटोकल दिइन्छ,’ उनी भन्थे। राज्यको सिन्दूर लगाउन योग्य हुनुपर्छ। राज्यको सिन्दूर लाग्ने यी पवित्र पदहरूका लागि दलालहरू अछूत हुन्। जति भार आमाको दूधको लाग्छ, त्यति नै भार राज्यको सिन्दूरको लाग्छ।
प्रिय महत्त्वाकांक्षी गभर्नरहरू, म तपाईंलाई निरुत्साहित गरिरहेको छैन, म वास्तवमा तपाईंलाई तयार पारिरहेको छु र सही बाटोमा स्वागत गर्न पर्खिरहेको छु। तपाईं अहिले खुसी र पक्कै केही विलासी जीवन बिताइरहेका हुनुपर्छ। विगतका गभर्नरहरूसँग एकपटक व्यक्तिगत रूपमा परामर्श लिनुहोस्– उहाँहरूले तपाईंलाई पीडा र संघर्षको बारेमा अझ राम्ररी बताउनुहुने छ। गभर्नर पद जति देखिन्छ, त्यस्तो कस्मेटिक छैन। साँच्चै धेरै ठूलो र महत्त्वपूर्ण जिम्मेवारी हो।
नियुक्ति, बधाई, गाडी, भीआईपी औपचारिकता, डेलिगेसन, नमस्कार, चाकरी, नेताको निम्ता आदि दुई–तीन महिनामै वाक्क लाग्न थाल्छ। १०० करोड पैसा फिर्ता निकाल्न हुने कठिनाइ एक ठाउँ छ, लगानीको प्रतिफल त पूरै बिर्सिदिनुहोस्। तपाईंको जीवन कडा परिश्रम, विभिन्न दबाब, काम–जीवनको असन्तुलन, अफ्ठ्यारा संघर्ष, थप शत्रु, अलोकप्रियता र मिडिया अनुसन्धानले भरिएको हुनेछ।
यो कुनै आलंकारिक पद होइन, यो वास्तवमा एउटा महत्त्वपूर्ण तर बोझिलो पद हो, जुन केवल अत्यन्तै सक्षम व्यक्तिले मात्र लिनुपर्छ। जसले केही वर्षको व्यक्तिगत जीवन छेउ लगाएर राष्ट्रको लागि दत्तचित्त भएर लाग्नुपर्छ। ‘राज्यको सिन्दूर’ मा पवित्र शक्ति हुन्छ– यसले राष्ट्रको राम्रो सेवा नगर्नेको कुभलो र राम्रो सेवा गर्नेको भलो गर्छ, यही जुनीमा र जुनीजुनीसम्म लागू हुनेगरी। राष्ट्रलाई यथाशक्य रूपान्तरण गर्ने दृढ उद्देश्य, प्रेरणा र क्षमता भए मात्र कृपया प्रयास नगर्नुहोस्। मेरो सावधानी र शुभकामना दुबै।
Shares

प्रतिक्रिया