ब्लग


गगन दाइ, एकचोटि अर्थ मन्त्रालय सम्हालेर विकृति हटाइदिनोस्!

गगन दाइ, एकचोटि अर्थ मन्त्रालय सम्हालेर विकृति हटाइदिनोस्!

सुरेश गिरी
बैशाख ९, २०८२ मंगलबार १८:२६, काठमाडौँ

आदरणीय गगन दाइ,

आशा छ, तपाईं स्वस्थ हुनुहुन्छ र सधैँझैँ ऊर्जा र उत्साहले भरिपूर्ण हुनुहुन्छ। हामीबीच धेरै दिनदेखि भेटघाट र संवाद हुन सकेको छैन। राजनीतिबाट म टाढा भएकोले पनि हाम्रो सम्पर्क पातलिएको हुनसक्छ। तर, तपाईंप्रतिको सम्मान र तपाईंले देखाउनुभएको साहसिक नेतृत्व सधैँ मेरो मनमा रहिरहन्छ।

हाम्रो यदाकदा हुने भेटमा पनि देश निर्माणप्रति तपाईंले देखाउने अठोट र विचार सधैँ असाधारण र प्रेरणादायी लाग्थ्यो। अझै पनि तपाईंको विचार र लक्ष्यले धेरै नेपाली युवालाई प्रेरणा दिएको महसुस गर्न सक्छु। तपाईंले देशलाई सही दिशातिर डोर्‍याउने क्षमता राख्नुहुन्छ भन्ने विश्वास जनताले अझै पनि कायम राखेका छन्।

हाम्रो देश जहिले पनि कुनै न कुनै संकटमा छ, यस्तो लाग्छ मानौँ हाम्रो राजनीतिक संक्रमण कहिल्यै सकिने छैन। अहिले हाम्रो देश आर्थिक, सामाजिक र राजनीतिक चुनौतीहरूको चाङमा उभिएको छ। अन्तहीन निराशासँग जुधिरहेको जनताले यस बेला विभिन्न क्षेत्रमा सुधार, परिवर्तन र दीर्घकालीन समाधानका लागि बलियो नेतृत्व आवश्यक रहेको महसुस गरेको छ। यो पृष्ठभूमिमा मैले तपाईंको नाम अर्थमन्त्रीका रूपमा चर्चामा रहेको सुनेको छु। मलाई खुसी लाग्यो र यो पत्र लेख्दै तपाईंलाई केही सुझाव र अनुरोध गर्न चाहन्छु।

देशको वर्तमान आर्थिक अवस्था हेर्दा केही सकारात्मक सङ्केतहरू देखिए पनि चुनौतीहरू अझै गम्भीर छन्। रेमिट्यान्सको वृद्धि, वैदेशिक मुद्रा सञ्चितिको सुधार आदिले देशको अर्थतन्त्रलाई केही हदसम्म सहज बनाएको छ। तर, सही नीति, दीर्घकालीन योजना र रणनीतिक नेतृत्वको खाँचो अझै छ।

विश्व बैंकको प्रक्षेपणले आर्थिक वर्ष २०२५ र २०२६ मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ५.१% र ५.५% पुग्ने देखाएको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमा लचकता देखाइरहेको यो समयमा निजी क्षेत्रलाई अझ सशक्त बनाउन तपाईंको भूमिका निर्णायक हुनेछ। तपाईंको कुशल नेतृत्वले अहिलेको चुनौतीपूर्ण अवस्थालाई आर्थिक पुनरुत्थानको अवसरमा बदल्न सक्छ।

प्रिय गगन दाइ,

‍'म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ। तर बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने अवस्था बनिसकेको छ। नेतृत्वको बेडरुमसम्म हस्तक्षेप गर्न सक्ने संरचना बनिसकेको छ – मलाई यो अहिलेसम्म थाहा थिएन।' यो तपाईंको अभिव्यक्तिले मेरो अन्तरमन हल्लायो। तपाईं स्वयम् सत्ता सञ्चालन गर्न बनाइएको संयन्त्रको एउटा जिम्मेवार सदस्य हुनुहुन्छ, नीति निर्माण र कार्यान्वयनको केन्द्रमा हुनुहुन्छ, अनि जब तपाईंले नै यस्तो असहायता र निराशा पोख्नुहुन्छ, हामीजस्ता ‘केही गर्छु’ भन्ने सपना बोकेका युवाहरूको आशामा झनै अँध्यारो लाग्न थाल्छ।

तपाईं र तपाईंको टिमलाई राम्रोसँग थाहा छ, अब देशलाई कुन दिशामा लैजानुपर्छ, आर्थिक नीति कस्तो हुनुपर्छ र पारदर्शिता कसरी स्थापना गर्न सकिन्छ। तपाईंहरूलाई थाहा छ सुधार कसरी सम्भव छ। तर प्रश्न यहीँ उठ्छ: अब जब तपाईं स्वयम् सत्तामा हुनुहुन्छ भने यस्ता कुराहरू समाधान हुनेवाला छन् कि छैनन्? जनता यस्ता विकृति हटाउने नेतृत्वको प्रतीक्षामा छन्।

नेपाल राष्ट्र बैंकको गभर्नर को बन्ने भन्ने प्रश्न आउँदा यस्तो लाग्छ, के नेपालमा योग्य, सक्षम र इमानदार व्यक्ति नै छैनन्?

तपाईंको नेतृत्वमा अर्थ मन्त्रालयले सही योजना र रणनीतिक कदम चाल्यो भने यो नेपालका लागि मात्र नभई तपाईंको राजनीतिक यात्राका लागि पनि ऐतिहासिक अवसर बन्न सक्छ। यसले तपाईंलाई नेपाली कांग्रेसको सभापति पदका लागि बलियो उम्मेदवार बनाउनुका साथै प्रधानमन्त्री पदको यात्रामा ठोस जग खडा गर्नेछ। तपाईंको स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय क्षमता र जनतासँगको निकटता तपाईंको प्रमुख शक्ति हो।

यी सबैलाई उपयोग गरेर, तपाईंले आर्थिक क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन सक्नुहुन्छ। मलाई थाहा छ, तपाईंले अर्थमन्त्रीको जिम्मेवारी लिनुहुन्छ कि लिनुहुन्न भन्नेबारे अहिले नै निर्णय गर्न गाह्रो हुन सक्छ। तर, मेरो विनम्र सुझाव छ, तपाईंले यसबारे गम्भीरतापूर्वक विचार गर्नुहोस्। तपाईंले अहिले सही निर्णय गर्नुभयो भने यो नेपालका लागि परिवर्तनकारी क्षण हुनसक्छ। तपाईंप्रतिको जनताको विश्वासलाई अझ सशक्त बनाउन, सही नीति तर्जुमा, कार्यान्वयनमा पारदर्शिता र दीर्घकालीन सोचको आवश्यकता छ। तपाईं वर्षौंदेखि विभिन्न क्षेत्रका विज्ञहरूसँग निरन्तर अन्तरक्रिया गरिरहनु भएको छ। त्यसैले तपाईंले सही टिम निर्माण गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ।

त्यस्तो टिमवर्कमार्फत निजी क्षेत्र र सरकारी संयन्त्रबीचको सहकार्यलाई थप मजबुत बनाउन सक्नुहुन्छ। तपाईंजस्तो ऊर्जावान् नेतृत्वले नेपाली कांग्रेस मात्र होइन, सिङ्गो देशलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउने छ। तपाईंले यो चुनौतीपूर्ण तर ऐतिहासिक अवसरलाई स्वीकार गर्नुभएको खण्डमा नेपालको इतिहासमा यो निर्णय एउटा कोसेढुङ्गा साबित हुनेछ। तपाईंले यो पत्रलाई सुझाव मात्र नभई तपाईंप्रतिको जनताको भरोसा र विश्वासको प्रतिबिम्बका रूपमा लिनुहुनेछ भन्ने विश्वास लिएको छु।

यो देश अझै बाँच्न चाहन्छ। यो मुलुकका युवाहरू अझै सपना देख्न चाहन्छन्। तर त्यसका लागि राज्यसत्ताबाट जिम्मेवार र स्पष्ट प्रतिबद्धता चाहिन्छ। अब निर्णायक नेतृत्व दिनुहोस्, आशावादी विचार होइन। तपाईंको एउटै कामले सयौँ युवाको ऊर्जा पुनः जाग्न सक्छ। अनि त्यो दिन, हामी पनि गर्वका साथ भन्न सक्छौँ—

'हो, अब मुलुक बदलिन्छ। अब आशा गर्ने समय आएको छ।'

तपाईंको अनुज।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad