नाच्न, गाउँन, अभिनय गर्न र ‘लाइरे’ नाम गरेको एक प्रकारको बाजा बजाउँनमा सिपालु शासक थिए- रोमन सम्राट निरो। हुन त जनजिब्रोमा शासकहरुको अकर्मण्यता वा बेवास्तालाई छेड हान्न `रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे´ भन्ने आहान प्रचलित छ। तर वास्तविकता त्यो होइन।
रोममा बाँसुरी बाजा सातौँ शताब्दीमा मात्र पुगेको हो। जबकी निरोको जन्म सन् ३८ मा भएको थियो। सन् ५४ मा निरो रोमको सम्राट हुन पुगे। प्राचीन रोम साम्राज्य जसको सीमा हालको स्पेनदेखि उत्तरी बेलायत हुँदै पूर्वमा सिरियासम्म फैलिएको थियो।
शक्तिशाली साम्राज्य रोममा गणराज्य र राजतन्त्रको एकसाथ अभ्यास गरेको देखिन्छ। त्यहाँ सिनेट पनि थियो। संसदीय अभ्यास पनि गरिन्थ्यो। तर संसदले सम्राट नियुक्त गर्दा दस वर्षका लागि सम्पूर्ण राज्यशक्ति सम्राटमा निहित रहने गरी शासक निरङ्कुश हुन पाउँने ढङ्गले नियुक्त गर्ने अचम्मकै ब्यबस्था त्यहाँ रहेछ।
यसरी नियुक्त भएका शासकहरु शासन अवधि लम्ब्याउँनका लागि दस वर्षको अवधी सकिन लाग्दा नियोजित ढङ्गले देशमा कृतिम सङ्कटहरु खडा गरिदिने र शासन सत्ता लम्ब्याएर अकण्टक पदाशीन हुने ध्याउन्नमा लाग्दा रहेछन्।
आफ्नी आमा अग्रिपिनाको कुटिल चालले सम्राट हुने योग्यता नभए पनि सम्राट हुने सौभाग्य पाएका निरोको पदावधि सकिनै लाग्दा सन् ६४ मा रोम सहरमा भयङ्कर आगलागी भयो। सहर दावानलमा परेको थियो। सारा रोमबासीहरु त्राही त्राही भएका थिए।
सर्वसाधारणको बास र गाँस हेर्दाहेर्दै खरानी भएको थियो। यता आगोको चपेटाबाट जोगिने गरी अलग्गै विशाल क्षेत्रफल र पटाङ्गिनीमा फैलिएको राजदरबारमा विराजमान निरो आफ्नै आँखा अगाडि रोम जलेर ध्वस्त हुँदा पनि कुनै वास्ता नराखी चुपचाप मानौँ केही भएकै छैनको भावमा लाइरे बाजा बजाएर आफैँमा हराइरहे।
प्राचीन रोमका विषयमा गहिरो अध्ययन भएका इतिहासकारका भनाइमा त्यो आगलागी निरोकै इसारामा भएको थियो। यसका दुई कारण थिए। पहिलो कारण देशमा सङ्कट देखाएर सत्ता लम्ब्याउने र दोस्रो कारण जलेको रोम सहरको पुननिर्माण गरी आफ्नो लागि भब्य राजमहल स्वर्ण दरबार बनाउँने। चाहे निरोको स्वार्थले होस् या अन्य भबितब्य परेर, नजल्नु पर्ने रोम सहर क्षणमै ध्वस्त भयो।
निराे र राेमकाे याे सन्दर्भमा अब विगत अट्ठाइस दिनदेखि चलिरहेको शिक्षकहरुको आन्दोलनलाई जाेडाैँ!
हुन त मैले हाम्रा शासक प्रशासकलाई ठ्याक्कै निरो भन्न खोजेको होइन। उहाँहरुले आन्दोलनलाई सम्बोधन गर्न केही प्रयास त अवश्य गर्नु भएकाे छ, तर ती पर्याप्त भएका छैनन्। पटक-पटक राज्यसँग वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने विगतको परिपाटीबाट शिक्षकहरु सत्ता सञ्चालकसँग विश्वस्त हुन नसकेका पनि हुन्।
शिक्षक आन्दाेलन पनि दिनानुदिन सङ्गीन बन्दै गैरहेको छ। राज्य सञ्चालकहरु शिक्षकका माग र मुद्दामा गम्भीर बन्न नसक्दा शैक्षिक सत्रको सुरुवात नै बिग्रेर ठूलो शैक्षिक क्षति हुने अवस्था देखिँदै छ। कक्षा १२ को अन्तिम परीक्षा समयमा हुन सकेको छैन ।
उता भैसकेको एसईई को उत्तर पुस्तिका परीक्षण गरी नतिजा दिनुपर्ने काम हुन सकेको छैन। कक्षा कोठामा हुनुपर्ने शिक्षकहरु झन्डै महिना दिनदेखि सडकमा बैशाखको रापिलो घाममा `मर्ता क्या नही कर्ता´ को अवस्थामा आन्दोलित हुनु परेको छ। शिक्षकमाथि धरपकड सुरु भएको छ। टाउको फुटाइने , हात भाँचिने र पत्रकारसमेत घाइते हुने अवस्था सिर्जित भएको छ।
झन्डै झन्डै जलिरहेको रोमको अवस्थामा शैक्षिक क्षेत्र पुग्ने खतरा मडारिरहेकै छ। शिक्षकहरुका जायज मागलाई एउटा विश्वासिलो ढङ्गले नयाँ ऐनबाट सम्बोधन गरिने सहमती गरेर आन्दोलनलाई सुरक्षित अवतरण गर्न अब एक दिन पनि ढिला गरिनु हुन्न।
यसका लागि सम्म्ननीय प्रधानमन्त्रीज्यू को अगुवाइमा सत्ता सहयात्री दलका शीर्षस्थ नेतृत्व, प्रतिपक्षी नेतृत्व दुबै सदनका सम्माननीय सभामुख र अध्यक्षज्यूको समुपस्थितिमा बैठक गरी आन्दोलनरत शिक्षक नेतृत्वलाई आश्वास्त पारी आन्दोलनको अन्त्य हुने वातावरण बनाउँन सकिने देखिन्छ।
ऐन कानुन बनाउँदाका प्रक्रिया, संसदीय अभ्यासमा लाग्ने समय, छलफल आदिले गर्दा अझै केही दिन लाग्नेनै देखिन्छ। युद्ध स्तरमा काम गर्दा पनि केही हप्ता खर्चनु पर्ने नै भएकाले हामी शिक्षकले पनि सडकबाटै ऐन लिएर मात्र स्कुल फर्कन्छौँ भन्ने मतबाट एक स्टेप ब्याक त हुनै पर्छ। पाकेको भात थालमा हाल्न पनि प्रेसर कुकरकाे ग्यास बाहिरिउन्जेल पर्खनै पर्छ। हामी गुरुहरूले त्यति धेर्यता त राख्नै पर्ला कि?
बरु एउटा डेड लाइन तोकेर जाउँ र सबै पक्ष गम्भीर भएर समयमै काम पूरा गरौँ। तोकिएको समयमा काम पूरा भएन भने थप सशक्त आन्दोलन गर्दा पो हुन्थ्यो कि!
अब स्कुल खोल्न कसैले पनि ढिला नगरौँ। हामीलाई विश्वास छ, हाम्रो कार्यपालिका, व्यवस्थापिका प्रमुख ज्यूहरू कुनै निरङ्कुश शासक निरो जस्ताे हुनुहुन्न, जसले जलिरहेको रोम हेरोस्! सङ्घीय गणतान्त्रिक नेपालको बदलिँदो परिवेशअनुसारको शिक्षा ऐन दिएर आगामी पचास वर्षको मार्गचित्र कोर्ने र स्वर्ण इतिहास लेखाउने यो अवसलाई उहाँहरूले कदापी गुमाउनु हुन्न भन्ने विश्वास गराैँ।
(गाैतम महाेत्तरीकाे मावि भंगाहा सीतापुरका स्थायी शिक्षक हुन्।)
Shares

प्रतिक्रिया