सधैँ जस्तै सोमबार बिहान वनस्थली चोकमा सवारी जाम थियो। सीमित ट्राफिक प्रहरी भएकोले व्यवस्थापनका लागि हम्मे भइरहँदा सडकमा निस्किए श्याम रञ्जित (श्याम दाइ)। पहेँलो आउटरसहित सडकमा पुगेका उनले ट्राफिक प्रहरीसँगै सिठी फुक्दै सवारी आउजाउलाई सहज बनाउन थाले।
प्रायः वनस्थली चोकमा यसरी खटिनु उनको दैनिकी जस्तै बनेको छ।
कुनै बेला काठमाडौँमा जहाँ जाम त्यहाँ सिताराम भनिन्थ्यो! ट्राफिक व्यवस्थापनमा सीताराम हाछेथुले निकै काम गरेका थिए। उनी जहाँ ट्राफिकको जाम छ त्यहाँ पुगिहाल्थे र यातायात आवतजावत सहज बनाउथे। जाम पर्यो कि सीतारामलाई नसम्झने अहिले पनि कमै होलान्।
काठमाडौँको रिङरोड क्षेत्रमा कार्यालय समय, आन्दोलन/प्रदर्शनको समय, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ। अत्याधिक यातायात चाप र सवारी चालकमा लेन अनुशासन नहुँदा घण्टौसम्म जाम हुने गरेको छ।
सीमित ट्राफिक संख्या, अधिक सवारीका कारण साघुँरा सडक अनि लेन अनुशासन उलंघन गर्दा भनेको समयमा गन्तव्यमा पुग्न नसकेको भुक्तभोगी हामी सबै छौँ। यस्तो बेला स्वंयमसेवक ट्राफिक अर्थात नागरिक ट्राफिकको महत्व निकै हुन्छ। श्याम रञ्जित त्यस्तै नागरिक ट्राफिक हुन्।
बसन्तपुरमा जन्मिएका श्याम २०५० साल तिरै वनस्थली सरेका हुन्। त्यतिखेर गाडीको चाप निकै कम थियो। वनस्थलीतिर ट्राफिक जाम नै हुन्थेन। 'अहिले मान्छे धेरै भए, सवारी साधन बढे ट्राफिक जाम हुन थाल्यो,' उनले भने।
श्याम प्राय सधैँ कार्यालय समयमा वनस्थली चोकमा झरेर ट्राफिक व्यवस्थापनमा खटिन्छन्। सडकमा सवारी जाम हुँदा कति हैरान हुन्छ भन्ने भोगेका उनले एम्बुलेन्सलगायत अत्यावश्यक सवारी जाममा परेको देखेदेखि पहेँलो आउटर लगाएर सिठी फुक्न थालेका हुन्।
'सडकमा सवारीको चापसँगै अस्तव्यस्त देख्दा मन मान्दैन अनि आइहाल्छु,' उनी भन्छन्, 'कतिपय चालकले गाली गर्ने थर्काउने समेत गर्छन तर म उनीहरूलाई ट्राफिक नियम सम्झाउँछु।'

घामपानी जे सुकै होस् श्याम सवारी जाम हुँदा वनस्थली चोक आइपुग्छन्। 'आफू बाटो हिडदा जहाँ जाम देख्छु त्यहाँ ट्राफिक व्यवस्थापनको काम गरिहाल्छु' उनी भन्छन्।
ट्राफिक नियम उलंघन गर्दा दुर्घटना परेर आँखै केहीले ज्यान गुमाएको देखेका छन् उनले। त्यसैले उनी जीवनको महत्वबारे पनि चालकहरूलाई बुझाउँछ्न्। उनी भन्छन्, 'चालकले कहिल्यै हतार गर्न हुन्न ट्राफिक नियम सधै पालना गर्नुपर्छ।'
उनको सहयोगले ट्राफिक प्रहरीसमेत खुसी छन्। 'ट्राफिक प्रहरीलेसमेत धन्यवाद भन्छन्। म पनि उनीहरूलाई सहयोग गर्दा र सडकमा जाममा परेर दिक्क भएकाहरूलाई सहज बनाउन पाउँदा खुसी छु,' उनले भने।
Shares

प्रतिक्रिया