ब्लग


आफ्नै संस्कृति र पहिचान जोड्न जब ६० देशका नेपाली काठमाडौँ आए

आफ्नै संस्कृति र पहिचान जोड्न जब ६० देशका नेपाली काठमाडौँ आए

प्रज्ज्वल चापागाईं
जेठ ३१, २०८२ शनिबार १४:५५, काठमाडौँ

‘दसैँ मजैले मनाइन्छ। देउसी–भैलो नेपालमा झैँ खेलिन्छ। पोर्चुगलको लिस्बनमा ५१ हजारभन्दा बढी नेपाली छन्। सडक–पेटीमा बट्टाबट्टामा राखेर सेल रोटी, मःम, थुक्पा, चाउमिन र चटपटे बेच्छन्। नेपाली चमेनागृहहरू ६ सयवटा जति छन्। नेपालमै भएजस्तो लाग्छ। त्यसैले नेपाली समुदाय, संस्कृति, नेपालीपन र पाराको त्यति न्यास्रो लाग्दैन। तर परिवारका सदस्य र नातागोताको चाहिँ औधि न्यास्रो लाग्छ।’

यो भनाइ हो पोर्चुगलको राजधानी लिस्बनमा १० वर्षदेखि बसोबास गर्दै आएकी ३३ वर्षीया शोवु केसीको। उनी मेरो भ्वइस युनिभर्समा सहभागी हुन लिस्बनदेखि काठमाडौँ आएकी छिन्। त्यो अर्कै कुरा हो, उनी दोस्रो चरणमै प्रतियोगिताबाट बाहिरिनु पर्‍यो। 

उनको वर्णनले अस्ट्रेलियाको सिड्नीस्थित किङ्ग्स स्ट्रिट, अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइट, भर्जिनियाको मनासस, मेरिल्यान्डको बाल्टिमोर, टेक्ससको डालास, क्यानडाको टोरन्टो, ब्राम्पटन र मिसीसागा अनि बेलायतको लन्डनवरिपरिका सहरहरूमा नेपालीहरूको सघन बसोबासको याद आयो। 

त्यसमाथि बर्मा, भुटान, थाइल्यान्ड र भारतको उत्तरपूर्वी राज्यहरूमा बसोबास गर्ने नेपालीभाषीलाई बिर्सने कुरै भएन। तिनले अवलम्बन गर्ने कला, साहित्य, संस्कृति र चाड–पर्वहरूको रौनकता र तिनले प्रयोग गर्ने नेपाली भेषभुषाको झझल्को आयो। संसारभरि फैलिएका नेपालीले आफ्नो भाषा, साहित्य, कला र संस्कृतिलाई कति प्रेम गरेर संरक्षण र सम्बर्द्धन गर्छन्, त्यो स्वदेशमा बसेका नेपालीलाई भन्दा विदेशमा बसोबास गर्ने नेपालीभाषीलाई प्रगाढ अनुभूत हुन्छ।

त्यसो त परराष्ट्र मन्त्रालयका अनुसार संसारका १ सय ९५ देशमध्ये १ सय १० देशमा जान नेपालीलाई सरकारको तर्फबाट अनुमति प्राप्त छ। यसैपनि नेपालीहरू कहाँ पुगेका छैनन् र! भन्नै नपर्ला नेपालीहरू ऐतिहासिकरूपमै फिरन्ते लाहुरे जातिमा दरिएकै छन्।

तर संसारमै फैलिएका नेपालीलाई भाषा, साहित्य, कला, संस्कृति र पहिचानसँगै जोडनु धेरै जोखिमपूर्ण कठिन काम हो। हो! ठ्याक्कै त्यही काम गर्दैछ इन्ट्रा फाउन्डेसनले। केही वर्षदेखि नेपाल टेलिभिजन र युट्युबमा प्रसारित मेरो भ्वइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम हाल जारी छ। ती दुवैमा सहभागी हुन संसारभरिका ६० देशहरूबाट करिब २ सय २० जना नेपाली काठमाडौँ आएका छन्। 

नेपालीहरूको एकता, सद्भाव, मायाप्रेम र सहयोगी भाव अक्षुण छ। हाम्रो आफ्नै भाषा छ। हाम्रो आफ्नै संस्कृति छ। हाम्रो आ–आफ्नै जातीय पहिरन र पहिचान छ। हामीसँग आफ्नै संस्कृतिका अनेकौँ अनेक आयाम छन्। यिनको प्रवद्र्धन र सम्बद्र्धन गर्न संसारभर छरिएर बसेका नेपालीहरू आआफ्नो ठाउँबाट निरन्तर लागिपरेका छन्।

यसै पनि भनिन्छ, ‘कला, साहित्य र संस्कृतिको कुनै सीमा हुँदैन।’ संसारभरि छरिएर रहेका नेपालीलाई कला र सांस्कृतिका माध्यमले जोड्न मनकारी डिल्ली अधिकारीले खर्च गरिरहेका छन्।

८ वर्षको उमेरमा भुटानबाट खेदिएका उनी नेपालको शरणार्थी शिविर झापामा हुर्किएका हुन्। २८ वर्षको उमेरमा उनी तेस्रो देश पुनर्स्थापना भएर अमेरिका पुगे। उनैले हो इन्ट्रा फाउन्डेसन स्थापना गरेको। नेपालमा दोस्रोपटक आयोजन गरिएको यो कार्यक्रममा सहभागी हुन विदेश वा स्वदेशबाट आउनेहरूको यात्रा, आवास र खाना खर्च अधिकारीले नै बेहोर्छन्। विजयीहरूले प्राप्त गर्ने पुरस्कार रकम पनि।

निर्णायक टोलीमा नेपालीका अब्बल गायक एवं संगीतकार दीप श्रेष्ठको अगुवाइमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, लावनी चक्रवर्ती र कर्मा ग्याल्जेन बमजन छन्। इन्ट्रा फाउन्डेसनले अमेरिकाका सातवटा राज्यहरूमा करिब १ हजार ३ सय नेपालीहरूलाई नियमित नृत्य सिकाउने क्रम उपक्रम थालेको पनि केही वर्ष भइसकेको छ।

एकदिन नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रे कुनै भारतीय टेलिभिजनमा भन्दै थिए, ‘नेपालीको छुट्टै पहिचान छैन।’ त्यो सुनेपछि यो पंक्तिकारको कनपारा तातेको थियो। उनले र उनको सोच पाल्नेहरूले बुझून्, ‘नेपाल आदिम देश हो। नेपाल बनिसक्दा भारत ५ सय ६५ वटा राजा रजौटाबाट शासित थियो। नेपालको संविधान घोषणापछि भारतको संस्थापन पक्षले लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय बेइज्जतीपछि फिर्ता लिनु परेको थियो। अझ भन्न मन लाग्छ, भारतले नेपालमा सूक्ष्म व्यवस्थापन गर्ने रणनीति तत्काल बन्द गरोस्।

पछिल्लो समय तहल्का मच्चाएका लेखक एवं इतिहासका प्राध्यापक युभल नोह हरारीको किताब सेपिएन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमान काइन्डका प्रत्येक पृष्ठहरू बोल्छन्, मानव जाति कति धेरै फिरन्ते हो।

होमो सेपिएन्सको उत्पत्ति अफ्रिकाको कुनै स्थान विशेषमा भएको थियो। तिनले संसारै चहारे। कोही काला कहलिए, कोही आर्यन भए, कोही मंगोलियन भए। हिमवत क्षेत्रमा जन्मे, हुर्के र बढेकाहरू गोरा भए। सुख, सुविधा, रोजगारी र सहज जीवनको खोजीमा मानिसको हिँडिरहनेक्रम जारी छ। सायद योक्रम कहिलै टुंगिदैन र अनित्य चलिरहनेछ। 

यो क्रमसँगै सांस्कृतिक पहिचान र अन्तर्घुलन पनि जारी रहन्छ। तर नेपालीपन र संस्कृति अहिलेको आँखाबाट हेर्दा हजारौँहजार वर्षसम्म कायम हुने देखिन्छ। अझै कतिपयले नेपालीहरूलाई होच्याउने प्रयास गर्छन्। तर नेपाली नेपालभित्रै र संसारमा कति बलियो भइसके, तिनले आकलन समेत गर्न सकेका छैनन्। 

जहाँसम्म नेपालीले नेपाल छोड्ने र फर्कनेक्रम छ, त्यो सयौँ सय वर्षदेखि जारी छ। कहिले ठूलो संख्यामा, कहिले सानो संख्यामा।

नेपालको आन्तरिक व्यवस्थापन र सुशासन कायम हुने हो भने शनैःशनै धेरै नेपालीहरू स्वदेश फर्कने छन्। जसरी यो क्रम चीन, भारत र अफ्रिकी देशहरूमा जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad