विधिशास्त्रमा अपराध हुनका लागि मूलतः आपराधिक मनसाय र आपराधिक कार्य दुवै अनिवार्य हुन्छ। अन्य फौजदारी कसूरझैँ नैतिक पतन हुने कसूरमा समेत यी दुई तत्व भए पनि यो अन्य कसूरभन्दा पृथक र यसको नतिजा समेत फरक हुँदो रहेछ।
लागुऔषधका कसूरमा आपराधिक मनसाय नभए तापनि लागुऔषधजन्य पदार्थ प्रतिवादीबाट बरामद भएको तथ्य शंकारहित तबरले स्थापित हुन आएमा कसूर भएको मानिन्छ। तर, लागुऔषध अन्तर्गत पर्ने सबै प्रकृतिका कसूरलाई नैतिक पतन अन्तर्गत लिन सकिन्न। खासगरी लागुऔषधको बिक्रिवितरण तथा ओसारपोसारको कसूर चाहिँ नैतिक पतन अन्तर्गत राखिएको पाइन्छ। त्यसो भए सबै कसूर नैतिक पतनको परिभाषाभित्र पर्दैनन् त? हो। अपराध र आपराधिक तत्वको उपस्थितिलाई हेरेर मात्र कानुन विपरीतको कसूरलाई नैतिक पतन अन्तर्गत राख्न मिल्दैन।
न्यायिक दृष्टिकोण
परम्परागत धर्म-नियमको परिधिबाट बाहिर गएको अवस्था, नैतिक व्यवहारको उल्लङ्घन, चारित्रिक पतन नै नैतिक पतन हो भनी नेपाली बृहत् शब्दकोशले शाब्दिक व्याख्या गरेको देखिन्छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०६३ दफा-१४ (ख) मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार लागुऔषध, बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, अपहरण सम्बन्धी कसुरलाई नैतिक पतन अन्तर्गतको फौजदारी कसुरको रूपमा लिइएको छ भने यस्ता कसूरमा कसूरदार करार भएका व्यक्तिलाई राजनैतिक जीवनमा प्रवेश निषेध गरिएको छ।
नेपालको संविधानको धारा ८७ र १७८ को संवैधानिक व्यवस्थालाई हेर्ने हो भने संघीय व्यवस्थापिका तथा प्रदेश सभाको सदस्य हुनका लागि नेपाली नागरिकले नैतिक पतन अन्तर्गतको कसूरमा सजाय पाएको हुनुहुँदैन।
'चलनचल्तीचल्तीको अर्थमा नैतिक पतन भन्नाले स्वच्छ र असल चरित्रको विपरीत चरित्र हुनु जस्तो कुरा लाई जनाउँछ। यस शब्दावलीको प्रयोग विशेषतः नीच, अधर्म, चरित्रहीनता तथा दुराचारिताको लागि हुने भएता पनि यथार्थमा यस शब्दभित्र नैतिकतासँग सम्बन्धित न्यायिक र विविध प्रकृतिको अवधारणाहरू पर्न सक्ने हुँदा सबै सामाजिक परिप्रेक्ष्यमा सबै प्रयोजन र स्थितिको लागि यस शब्दलाई परिभाषित गर्न नहुने' भनी सर्वोच्च अदालतबाट निवेदक राम एकवाल साहविरुद्ध जिल्ला शिक्षा कार्यालय बारा कलैया समेत भएको उत्प्रेषण मुद्दामा सिद्धान्त प्रतिपादन भएको पाइन्छ।
'जबरजस्ती करणी नैतिक पतन देखिने अपराध मानिन्छ। जबरजस्ती करणी गर्नु कानुनविपरीत मात्र होइन गम्भीर अपराध पनि हो। सभ्य मानव समाजले यस्तो कार्यलाई नैतिकताविहीन कार्य मान्दछ। यस्तो नैतिकता विपरीतको कार्यलाई नै नैतिक पतन देखिने फौजदारी अपराध मान्नु पर्छ' भनी बलात्कारको कसूरलाई सर्वोच्च अदालतले निवेदक ज्योति लम्साल पौडेल विरुद्ध नेपाल सरकार भएको उत्प्रेषण परमादेश मुद्दामा नैतिक पतन अन्तर्गतको कसूरमा राखेको छ।
'माथिल्लो प्रहरी कर्मचारीले दिएको कानुनी उर्दी नमानेको कार्यलाई नैतिक पतन देखिने कसुर मान्न मिलेन। जरिवानाको मात्र सजाय भएको कुरालाई नैतिक देखिने फौजदारी कसुर गरेको मानी सुनुवाइको मौका समेत प्रदान नगरी सेवाबाट बर्खास्त गर्दा कानुनी त्रुटिपुर्ण हुने' भनी सर्वोच्च अदालतबाट पुनरावेदक हरिनाथ प्रसाद विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतमा व्याख्या भएको देखिन्छ।
मनसाय प्रेरित र क्रूरतापूर्वक घटाइएको ज्यान सम्बन्धी अपराधलाई नैतिक पतन अन्तर्गतको कसूरमा रूपमा लिन हुने भनी निवेदक मुक्ति प्रधान समेत विरुद्ध उपन्यायायधिवक्ता चन्द्रकुमार पोख्रेल भएको उत्प्रेषण मुद्दामा सर्वोच्च अदालतबाट व्याख्या भएको पाइन्छ।
कानुन र न्यायिक अभ्यासले नैतिक पतनको विषयलाई कसूरको प्रकृति, विषय र प्रसङ्गको आलोकबाट हेरिनुपर्ने आवश्यकतालाई औँल्याएको देखिन्छ। 'फौजदारी विवादमा अमुक कसुर ठहर हुन्छ वा हुँदैन भनी निरूपण गरिन्छ, व्यक्तिको नैतिक-स्तरको निर्धारण गर्ने अवस्था रहँदैन। विषय र प्रसङ्ग अनुसार सापेक्षिकरूपमा सामाजिक सन्दर्भमा नैतिक चरित्रसम्बन्धी कुराहरूको निर्धारण गर्नुपर्ने अवस्था रहने भए पनि केही अवस्थामा नैतिक पतन देखिने अवस्थाको निर्धारण न्यायिक प्रक्रियाबाट हुन सक्दछ' भनी निवेदक ओमप्रकाश अर्याल विरुद्ध राष्ट्रपतिको कार्यालय भएको उत्प्रेषण मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासबाट व्याख्या भएबाट समेत प्रष्ट हुन आउँछ कि नैतिक पतनको विषयलाई सीमित परिधिभित्र राख्न मिल्दैन। यो विषयको दायरा मुद्दाको प्रकृति र विषयवस्तुले थप निर्धारण हुने हो।
यसै सन्दर्भमा 'कसूरको गम्भीरता-मात्रा विशेष रूपमा विचारणीय विषय बन्दछ। जुनसुकै कसूरजन्य कार्य पनि सामाजिक नैतिकता प्रतिकूलका कार्य मानिन्छन्। तर यस्ता सबै कार्यलाई कानुनी प्रयोजनका लागि नैतिक पतन देखिने कार्य भन्न नमिल्ने,' भनी निवेदक ओमप्रकाश शर्मा विरुद्ध प्रहरी प्रधान कार्यालय भएको संयुक्त उत्प्रेषण मुद्दामा सर्वोच्च अदालतबाट व्याख्या विश्लेषण भएको अवस्था छ।
कानुनी व्यवस्था
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा- ३२ (ञ २) ले अभियोजनकर्तालाई अभियुक्तको कसूर नैतिक पतन अन्तर्गतको पाइएमा सोको लागि माग दाबी लिनका लागि मार्ग प्रशस्त गरेको छ।
प्रतिनिधिसभा नियमावली,२०७९ को नियम २४८ ले प्रतिनिधि सभा सदस्यको हकमा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेको अवधिभर वा थुनामा बस्नु पर्नेमा फरार रहेको सदस्य निलम्बनमा रहने व्यवस्था गरेको छ।
निजामती सेवा ऐन, २०४९ ले नैतिक पतन देखिने कसूरमा कसूरदार ठहर भएको व्यक्तिलाई निजामती सेवामा प्रवेशमा रोक लगाएको छ। त्यसैगरी, शिक्षा नियमावली, २०५९ को नियम १३८(२)(क) ले नैतिक पतन देखिने कसूरमा सजाय पाएका व्यक्तिलाई नोकरीबाट हटाउने अर्थात् शिक्षण सेवाबाट अलग गरिने स्पष्ट कानुनी व्यवस्था गरेको देखिन्छ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २२ ले यस ऐन बमोजिमको कसूरमा अदालतमा मुद्दा दर्ता गर्दाका बखत सम्बन्धित सरकारी वकिलले अभियुक्तउपर नैतिक पतन देखिने फौजदारी कसूरको दाबी समेत लिन सक्ने व्यवस्था गरेको देखिन्छ।
अझ, बालबालिका सम्बन्धी ऐन, २०७५ दफा ६७(२) ले यस ऐन वा प्रचलित कानुन बमोजिम बाल यौन दुर्व्यवहारमा कसुरदार ठहरेको व्यक्तिले नैतिक पतन देखिने फौजदारी कसुर गरेको मानिनेछ भन्ने प्रष्ट कानुनी व्यवस्था उल्लेख गरेबाट बाल यौन दुर्व्यवहारलाई हाम्रो कानुनले जघन्य कसूरकै रूपमा लिएको प्रष्ट हुन आउँछ।
लिखतहरूको गोप्यता सम्बन्धी ऐन, २०३९ को दफा-१२(२) ले निषेधित लिखत, अति गोप्य लिखत, गोप्य लिखतको अनिधिकृत गोपनीयता भंग गरी सजाय पाउने ठहरिएको कुनै व्यक्ति सरकारी वा सार्वजनिक संस्थाको कर्मचारी भई आफ्नो जिम्मामा वा कार्यालयमा रहेको लिखतको सम्बन्धमा सजायभागी ठहरिएको रहेछ भने निजले नैतिक पतन देखिने अभियोगमा सजाय पाएको मानिनेछ र निज आफ्नो पदबाट भविष्यको लागि अयोग्य ठहरिने गरी स्वतः बर्खास्त हुनेछ भनी उल्लेख गरेको देखिन्छ।
सामाजिक दृष्टिकोण
नैतिकता हाम्रो समाजमा सर्वत्र चर्चा हुने विषय हो। अधिकांशले अरुमा खोज्ने आफूभित्र थौरैले खोज्ने विषय हो यो। नैतिकताले नियम-कानुनको पालना गर्न, अनुशासित हुन, आस्था-धर्मको अनुसरण गर्न, शास्त्रसम्मत कर्म गर्न, समय, देश र परिवेश अनुकूलको आचरण पालना गर्न प्रेरित गरिरहेको हुन्छ।
खासगरी, सामाजिक परम्परा र संस्कृतिका मूल्य मान्यतामा आधारित सिद्धान्त नै नैतिकता हो। विधिशास्त्री लोन फुलरले कानुनको जग नैतिकतामा नै बसेको भनी विश्लेषण गरेका छन् भने जेरेमी बेन्थमका अनुसार कानुन र नैतिकताको केन्द्रविन्दु पृथक रहे तापनि परिधि एउटै हुन्छ।
सामाजिक जीवन तथा सार्वजनिक जीवनमा मात्र नभई मानवपुँजी निर्माण, सामाजिक सुशान्ति एवं सभ्य समाजको लागि पनि नैतिकता उत्तिकै आवश्यक छ। अनैतिक प्राणी समाजका लागि हितकर होइनन्। नैतिकवान हुनु भनेको आफनो दायित्व, जिम्मेवारीप्रति निष्ठावान हुनु हो। राष्ट्रसेवक कर्मचारीमा नैतिकता खोज्दा सेवा, स्रोत, नीति व्यवस्थापनमा संवेदनशीलताको मापदण्डलाई अनुशरण गरियो कि गरिएन भन्ने हेरिन्छ।
सामान्य र सतही अर्थमा भन्दा, नैतिक पतन भनेको न्याय, इमान्दारी वा नैतिकता विरुद्धको आचरण हो। जसले मानवीय मूल्य, सिद्धान्त र असल आचरणमा ह्रास हुनु समेतलाई चित्रण गर्दछ।
यो एक सापेक्ष विषय हो जुन समाजको आर्थिक, सामाजिक, शैक्षिक स्तर, धार्मिक एवं सामाजिक मान्यतासँग सम्बन्धित रहेको हुन्छ। समाजमा मुख देखाउन कठिन हुने अपराधहरूलाई सामान्यतया नैतिक पतन हुने कसुरको रूपमा मानिन्छ।
'नैतिक पतन' लाई आमरूपमा मानिसहरूले सजिलै बोल्ने, बुझ्ने, महसुस गर्ने गरेको देखिए पनि कानुनीरूपमा यसको अर्थ निश्चित परिधिभित्र रहेको अवस्था छैन। कानुनी निगाहबाट बुझ्न र परिभाषित गर्नका लागि नैतिक पतनलाई विभिन्न कानुन र फरक-फरक मुद्दामा सर्वोच्च अदालतले समयानुकुल व्याख्या गरेकोले सोको अध्ययन हुनु पनि उत्तिकै आवश्यक छ।
नेपाली समाजमा अपराध वृद्धि हुनुको प्रमुख कारक तत्वको रूपमा शिक्षा प्रणालीमा नैतिकताको अभावलाई लिन सकिन्छ। सामाजमा नैतिकताको ह्रासले धर्म संस्कृतिको उपेक्षा, भौतिक विलासको मानसिकता बढेर गएको छ भने हाम्रो मौलिक संस्कृति छायामा परेको अवस्था छ। कानुनमैत्री समाज, विधिको शासन तथा सक्षम र सबल लोकतन्त्रको लागि पनि प्रत्येक नागरिक नैतिकवान हुनुपर्ने प्रथम सर्त हो। अनैतिकताले भरिएको समाजमा त फगत अपराध बढ्ने, र कानुन निर्माण हुने हो। कानुनको पालना हुने होइन।
नैतिक पतन देखिने कसूरमा अदालतबाट कसूरदार ठहर भएका व्यक्तिहरू न त नेता बन्नका लागि योग्य हुन्छन् न त शिक्षक, न त कर्मचारी नै। हुन त त्यस्ता व्यक्तिहरू कम्पनीका सञ्चालक समेत हुन नसक्ने कानुनी व्यवस्था समेत रहे भएबाट त्यस्ता व्यक्ति सरकारी र निजी सेवा दुवैका लागि अयोग्य हुन्। त्यसो भए यस्तो अपराधको भागिदार किन बन्ने त? बेलैमा सोचौँ र होस पुर्याऔँ।
(लेखकद्वय मोरङ जिल्ला अदालत, विराटनगरमा कार्यरत शाखा अधिकृत हुन्)
Shares

प्रतिक्रिया