ब्लग


घोडा चढेर दामोदरकुण्डको तीर्थ गर्न पुग्दा

घोडा चढेर दामोदरकुण्डको तीर्थ गर्न पुग्दा

निर्मल खत्री
साउन ३, २०८२ शनिबार १०:२६, काठमाडौँ

असार २६ गते साँझ ८ बजेतिर मेरो फोनको घण्टी बज्यो। प्रिय साथी सागर भट्टराईको नम्बर देखेँ र फोन उठाइहालेँ। साथीको योजना रहेछ दामोदरकुण्डको धार्मिक यात्रा गर्ने! सँगै मलाई पनि लैजाने।

फोन उठाउनेबित्तिकै साथीले भने, म भोलि बिहान ५ बजे पर्वतबाट हिँडदैछु। 

मैले भनेँ, हस्, बिहान भेटौँला। 

उनले भने, ‘बेनी बजारसम्म होइन अलि माथि मुस्ताङसम्मै पुगेर फर्किनु पर्ने छ। अलि न्यानो कपडाहरू राखेर तयारी भएर बस्नुहोला।’

बिहान सात बजे साथी सागर बेनी पंक्तिकारको पसलमा आइपुग्छन् र यात्रा प्रारम्भ हुन्छ मुस्ताङको!

बेनीबाट सुरु भएको हाम्रो यात्रा तिप्लाङमा पुगेर बिहानको नास्तामा तरकारी, दुनोट खाएर पुनः अगाडि बढ्यो। बेनी जोमसोम सडकबीचमा पर्ने वारिपारिका विभिन्न मनोरम दृश्यहरू अवलोकन गर्दै केही समय अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रूप्से झरनामा तस्बिर लिँदै बितायौँ। पुनः हाम्रो यात्रा सुरु भएको केही समयमै म्याग्दीको सिमाना काभ्रेभिर पार गरी हिमालपारिको जिल्ला मुस्ताङ पुगियो। 

मौसम पनि निकै सफा भएकोले लेते कालापानीबाट देखिएको हिमशृंखलाका दृश्यहरूले हामीलाई मोहित तुल्यायो। जब हामी दुवैजना बेनीदेखि ८६ किलोमिटर पार गरी जोमसोम पुग्यौँ, अरु ६ जना साथीहरू कुरिरहनु भएको रहेछ। 

जोमसोममा सागरका साथीहरू सञ्जय कोइराला, प्रेम पौडेल, किसान पौडेल, सविन पौडेल, रमेश बलायर र रविन गुरुङ खाना बनाएर पर्खिरहेका रहेछन्। मेरो पनि सबैसँग चिनापरिचय भयो। हामी पुग्नेबित्तिकै सबैले सँगै सञ्जय कोइरालाकोमा खाना खायौँ। आवश्यक सामग्री तयार पारेर जोमसोमबाट अगाडि बढ्नै लाग्दा मेरा पुराना साथी महेन्द्र थकालीसँग भेट भयो। अनुभवी भएकाले उनले केही सल्लाह दिए। सोहीअनुसार हामी बाटो लाग्यौँ, सागर भट्टराई, पंक्तिकार र किसान पौडेल एउटा गाडीमा र अन्य साथीहरू अर्को गाडीमा सवार भएर।

खुला बाटो भए पनि सागरको पहिलो अनुभव भएकाले विस्तारै गयौँ भने रविन गुरुङले चलाएको गाडी रफ्तारमा थियो। बीचबीचमा रोकिँदै मुस्ताङको विभिन्न ठाउँहरूको अवलोकन गर्दै, तस्बिर खिच्दै करिब दुई घण्टा ३० मिनेटको यात्रा पछि चराङ गाउँ पुगियो। जुन मुस्ताङ जिल्लाको दामोदरकुण्डको नामले बनेको पालिकाको केन्द्र पनि रहेको छ। लो घेकर दामोदरकुण्ड गाउँपालिका। सोही ठाउँको लुम्बिनी रेस्टुरेन्टमा खाजा खाएर बाटोमा खाने केही सामग्री किनमेल गरी हामी चराङबाट लोमान्थाङ–कोरला सडक छाडेर दायाँतर्फ लाग्यौँ। ५०० मिटर अगाडि बढेपछि कालिगण्डकीको ध्ये गाउँ जाने बाटो छाडेर पुनः दायाँतर्फ नै लाग्यौँ।

कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ। घारा गाउँको अन्तिममा यस क्षेत्रकै बौद्ध धर्मलम्बीहरूको प्रख्यात लुरी गुम्बा छ। गुम्बामा प्रसिद्ध धर्मगुरु आउन लागेकोले स्वागतको व्यापक तयारी समेत थियो। गुम्बाबाट २० मिनेट गाडीको यात्रापछि पुगियो गाडीको यात्रालाई बिट मार्ने नौजोम डाँडामा। घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले धेरै जस्तो भक्तजन यारा–घाराबाट घोडाको यात्रा गर्ने पनि गर्दछन्।

गाडीलाई दुई दिनसम्मको लागि त्यहीँ व्यवस्थापन गरी आ–आफना सामान बोकेर सुरु भयो पैदल यात्रा! नौजोम डाँडाबाट करिब एक घण्टाको हिँडाइपछि पुगिन्छ पहिलो दिनको आश्रय स्थल घिमीठाँटी। 

घिमिठाँटी पुग्दा केही तीर्थयात्रीहरू पहिल्यै पुगिसकेका थिए भने केही दामोदरकुण्ड पुगेर फर्किएका यात्रीहरूसँग भेटघाट भयो। पुगेर आएका केही व्यक्तिहरूका कुरा सुनियो। आएका सबै साथीहरू मिले खाना बनाउन तर्फ लाग्यौँ। केही साथीहरू तरकारी केलाउन लागे भने रविन गुरुङले भान्सा सम्हाले। खाना खाएपछि केही रमाइला कुरा गर्दै बिहान छिट्टै उठ्ने सल्लाहका साथ पहिलो दिन घिमिठाँटीमा विश्राम गरियो।

बिहान पाँच बजेदेखि नै सबैजना उठ्ने, उकालीओराली कसरी हिँड्ने कुराकानी भएको थियो। तर सबैजनालाई घोडाको व्यवस्था गरिएको थियो। घिमिठाँटीबाट ५२ सय र दुधखोलाबाट ५७ सय मिटर जानको लागि कठिन उकाली रहेकोले उकालीमा घोडा र ओरालीमा पैदल हुँदै दामोदरकुण्ड पुगिन्छ। दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ। घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले जानकारी गराए। यारा र घारामा एक घरमा ३ देखि ८ वटासम्म घोडा रहेछन्।

मलाई घिमिठाँटीबाट दामोदरकुण्ड हिँडेर जानु नै मूर्खता जस्तो लाग्छ। हाम्रो टोलीले त्यो मूर्खता गर्ने आँट गरेन। एकदुई हिँडेरै पुगेकाहरूको पनि अनुभव सुनियो। बिहान सात बजे नै साथीहरूले खाना बनाइसकेका थिए सबैजनाले आफ्नो बिहानी नृत्यकर्म सकेपछि भात, बन्दा, सोयाविन र गुन्द्रुकको तरकारी त्यो पनि टिमुर हालेको झोलसँग बिहानीको खाना खाएर तयारी भयौँ। पेमा दाइ लगायतका तीनजनाले ८ वटा घोडालाई दाना खुवाएर तयारी अवस्थामा थिए ठिक साढे ७ बजे घोडामा हाम्रो उकाली यात्रा सुरु भयो। 

केही साथीहरूसँग घोडा चढेको पुरानो अनुभव रहेछ भने म लगायत केही साथीहरूलाई नयाँ अनुभव लिने मौका थियो। तर कहालीलाग्दो भिरको बाटो, मनको कुनामा डर थियो। करिब २ घण्टाको घोडचढीपछि ५२ सय मिटरको उचाइमा। जहाँ पुग्दा चिसो हावा, समथर भूभाग, लोभलाग्दा दृश्यहरू अवलोकन गर्ने अवसर मिल्यो तर लेक लाग्ने हुनाले पेमा गुरुङले धेरै समय नबस्न आग्रह गरिरहेका थिए। तर पनि ठाउँ हेर्दा जानै मन नलाग्ने दृश्य थियो। सबै जना आ–आफ्नो क्यामेरामा तस्बिर कैद गरेर पुन करिब एक घण्टा ३० मिनेटको लागि पैदल ओराली लागियो। केही हिँड्न सक्ने साथीहरू अगाडि बढे, केही बिस्तारै हिँड्दै पछिपछि। फेरि ४७ सय मिटरको उचाइमा रहेको दुध खोला (स्थानीय बोलीमा भार्से खोला) पुगियो। सो खोला घिमिठाँटीबाट र दामोदरकुण्डको बीचमा रहेछ।

आउनेजाने दुवैतिरका तीर्थयात्रीहरूले सोही खोलामा बसी चिसो पानीसँगै लगेका खाजाका पोका फुकाउने गर्दछन्। हामीले पनि लगेका खाजाहरू खायौँ र करिब ३० मिनेट ओरालो हिँडाइको थकान मेटायौँ। फेरि सुरु भयो ५७ सय मिटरको लागि घोडामा उकालो यात्रा! करिब साढे दुई घण्टाको यात्रापछि पुगियो ५७ सय मिटरमाथि डाँडामा। धेरै साथीहरूको फोनको ब्याट्री सकिएको थियो सिमसिम पानी पनि परेको र लेक लाग्ने हुनाले हामी छिटोभन्दा छिटो दामोदरकुण्ड पुग्ने निधो गर्‍यौँ। पुनः एक घण्टा ३० मिनेटको ओरालो झर्‍यौँ। 

दामोदरकुण्ड पुग्नै लाग्दा त्यो मरभूमि जस्तो बालुवा नै बालुवाको पहाडबाट कुशको हरियालीमा पुग्दा मन त्यसै प्रफुल्ल भयो। कठिन पूर्ण यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदियो सबैजना प्रकृतिसँग रमाउँदै चिसो मौसममा तातोपानीको चुस्की लगाउँदै दृश्य अवलोकनमा लोभियौँ। वरपरका सेता हिमचुचुरोले घेरिएको दामोदर कुण्डको उपत्यका सुन्दर र मनमोहक थियो।

केही साथीहरूलाई लेक लागेर टाउको दुखेकोले आराम गर्नु भयो। सोही दिन करिब ४३ जना यात्रीहरू दामोदरकुण्डको धर्मशालामा पुग्नु भएको थियो। हामी दिउँसो ३ बजेतिरै पुगेकोले पूजाआजा तेस्रो दिन बिहान गर्ने भने पनि सोही दिन कालिगण्डकीको शिरसम्म पुगेर शालिग्राम खोज्ने निर्णय गरि मुहानतर्फ लागियो। सबै साथीहरूले शालिग्राम पाएर मन प्रफुल्ल पार्दै पुनः धर्मशाला फर्कियौँ।

धर्मशालाका कर्मचारी थन्डु गुरुङले आर्थिक र जनशक्ति अभावका कारण धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताए। दिनको करिब ३० देखि ५० जनासम्म तीर्थयात्री आउने गरेको उनले बताए। गुरुङका कुराकानी सुन्दै साँझको खानाको तयारीको लागि जुट्यौँ। प्रेम पौडेल लगायतका साथीहरू तरकारीको तयारीमा लाग्नुभयो, म खाना बनाउनतर्फ लागेँ र भान्सा तयार गरेर सोही दिन पुगेका ४३ जना तीर्थयात्रीहरूलाई खाना बनाएर खाना दिने काम सम्पन्न गरियो। 

तेस्रो दिन बिहानै घामको पहिलो किरणसँगै सबैजनाले दामोदरकुण्डको धारामा स्नान गरी चक्र कुण्ड र दुध कुण्डको बीचमा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोकरकुण्डको मन्दिरमा पूजाआजपछि सोही बाटो हुँदै करिब ७ घण्टाको घोडा र पैदल यात्रा गरेर घिमिठाँटी फर्कियौँ। 

दुईवटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ। लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा तीन वर्षअघि बनाएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको रहेछ। दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा चिन्ता लाग्ने घोडामार्फत दामोदरकुण्ड लाने ल्याउने गरेका पेमा गुरुङले भने। घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन।

आवासका साथै सञ्चारको पनि असुविधा रहेको उनको भनाइ छ। देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न पनि समस्या भएको उनले बताए। वडा, गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारमा समेत समस्याहरूको बारेमा जानकारी गराएको उनले सुनाए। 

मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुन्छ। पाँचवटा कुण्ड रहेको दामोदरकुण्डमा स्नानका लागि जनैपूर्णिमा र चैते दसैँका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ। कुण्डवरिपरि कुशको हरियाली छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad